बिदेशमा पनि नेपालीको यत्रो प्रतिष्पर्धा ?
एनआरएनए फ्रान्सले यो बर्ष पनि भलिबल प्रतियोगिता आयोजना गर्यो । यो बर्षको आयोजना गएको १६ र १७ मे मा भएको थियो । गत बर्ष बिश्व साइकल यात्री पुष्कर शाह फ्रान्सको भ्रमणमा आएका बखत उनकै सहभागितामा भलिबल खेलिएको थियो । यो बर्ष खेलकुदलाई निरन्तरता दिँदै अझ व्यवस्थित रुपले र पुरस्कार सहित एनआरएनए फ्रान्सले भलिवल खेल सन्चालन गर्यो ।
तुलनात्मक रुपमा यो बर्ष १६ तारिखका दिन खेलाडी तथा दर्शक दुबैको बाक्लो उपस्थित रह्यो । पहिलो चरणको खेलमा छानिएका तीन टोली बिच भोलिपल्ट फाइनल प्रतिस्पर्धा भयो । बाहिर जाडो भएको र पानी परेकोले यो बर्षको भलिवल खेल इन्डोर खेलका रुपमा पेरिस नजिकैको लाकुर्नभ शहरको खेल हलमा खेल्नु पर्यो । लाकुर्नभ शहर सबैभन्दा धेरै नेपालीहरु बसोबास गर्ने क्षेत्र हो ।
फाइनल खेल यसरी शुरु भयो । सेतो लुगा एनआरएनए फ्रान्सको टीम र नीलो तथा रातो लुगा नेपाली एकता समाजको टीम ।
एनआरएनए टीमलाई जिताउन पानीको बोतल ठोकेर उत्साह जनाइरहेका दर्शकहरु ।
नेपाली एकता समाजलाई जिताउन उसैगरी पानीको रित्तो बोतल ठोक्दैछन् दर्शकहरु ।
यस्तैमा खेल हलमा फर्सी फुटालेको जस्तो डरलाग्दो ढ्वाँग आवाज आयो । मानिसहरुले नेट मुनिबाट कसैलाई खेल मैदानबाट पाखामा उतारे । सबैजना वरिपरि झुम्म भएर हेर्न थालेपछि भिडबाट कसैले भन्यो ए ए हावा नछेक । भिड गर्न भएन ।
अनि कोही भन्दैथिए होस छ कि छैन हेर हेर । आदि आदि । ल ल छिटो एम्बुलेन्स बोलाउ ।
एकैछिनमा उनलाई झक्ल्याक्क झुक्लुक पारेर उठाएर हिडाउने कोशिष भयो । वास्तवमा उनी बसन्त मल्ल थिए । खेल जारी रह्यो । मल्ल घाइते हुँदा एनआरएनए टीमको एक र एकता समाजको दुइ खेलको नतिजा आआफ्नो पक्षमा थियो । अब एक खेलको नतिजाले भाग्य निर्धारण हुने वाला थियो । त्यसैले यता खेल जारी रह्यो उता एकैछिनमा पाँ पुँ पाँ पुँ नि याँ गर्दै एम्बुलेन्स आयो र मल्ललाई अस्पताल लग्यो । अस्पतालमा डा ले उनलाई जाँच पड्ताल गरेपछि दुइ हप्ता हलचल नगरिकन घरमै आराम गर्न भनि नक्कली खुट्टा बोकाएर घर पठायो । दैव सँयोग उनको घुँडामा ठूलो चोट परेको रहेनछ । दुइ हप्ता उनी काममा जान नसक्नु भनेको उनको काम गर्ने क्षमता र आम्दानी गर्ने क्षमता दुबै केहि समयकालागि गुम्नु हो ।
यता नेपाली एकता समाजले पाँच खेलमा तीन खेल जित्यो र एनआरएनए फ्रान्स कप लग्न सफल भयो । पहिलो पुरस्कार बिजेताहरुले तक्मा र एकजोर लुगा सहित कप समेत पाए । एनआरएनए फ्रान्सको उक्त कप आँफैसँग राख्ने सपना यो बर्ष अधुरो रह्यो । एकता समाजका खेलाडीहरु साँच्चैका तगाडा र हेर्दा समेत खेलाडी जस्ता देखिन्थे । यता एनआरएनए फ्रान्सका खेलाडीहरु पढ्दा पढ्दा थाकेका बिद्यार्थी जस्ता देखिन्थे । तरपनि एनआरएनए फ्रान्सका खेलाडीहरुले सारै मेहनतसाथ मैदानमा कडा प्रतिस्पर्धा गरे ।














