कुम्ला बोकेर यौनवर्दक बुटी खोज्दै हिमालतिर

-योगेश “निराशी‘, लमजुङ

 

yarsagumba-lamjung-342500बहुमुल्य जडिवुटी यार्सागुम्बा संकलनका लागि मानिसहरु आफ्नो गाउँघर छोडेर कुम्लोकाम्लो बोकेर हिमालको फेदतिर लागेका छन् । गर्मी महिनाको शुरुवतासंगै हिमालका हिउँहरु पग्लिएकाले लमजुङ, कास्की र मनाङका हिमाली फेदतर्फ यार्सागुम्बा संकलनका लागि मानिसहरु गएका हुन् । वर्षेनी हजारौँको संख्यामा लेक तथा हिमाली क्षेत्रमा जाने गरेपनि यसवर्ष बाहिरी जिल्लाकालाई पनि कुनै रोकतोक नगरेपछि यार्सागुम्बा संकलनका लागि हिमालको फेदतिर जानेहरुको अत्याधिक भीड लागेको छ । उनीहरु बास बस्नका लागि बन्दोवस्तका साथ टार, गुन्द्री, कम्बल, ब्ल्याङ्केट लगायत लत्ताकपडा साथै खानाका लागि पिठो, चामल अनि पकाउन डेक्ची, ताउके, थाल लगायतका भाँडाहरु लिएर हिँडेका छन् । यतिवेला लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङतर्फ दैनिक दैनिक ५० भन्दा बढी मानिसहरु यार्सागुम्बा संकलनका लागि मनाङतर्फ जाने गरेकाछन् ।

 

लमजुङको घनपोखरा, पसगाउँ, भुजुङको लेकहुदै पनि मानिसहरु यार्सागुम्बा संकलनका लागि हिमालका फेदतिर मानिसहरु लागेका छन् । त्यस्तै, कास्कीको ताङतिङ र सिक्लेसको लेक हुँदै पनि यार्सागुम्बा संकलनका लागि हिमालको फेदतिर मानिसहरु गएका स्थानीयवासिन्दाको भनाई छ । यार्सागुम्बा संकलनका लागि धादिङ, गोरखा, तनहुँ, चितवन, लमजुङ, मनाङ लगायत जिल्लाका ब्यक्तिहरु विशेषगरि हिमालतिर जाने गर्दछन् ।

 

उनीहरुले संकलन गरेका यार्सागुम्बा त्यहीँ सुकाएर ठेकेदारलाई बेच्ने गर्छन् । यार्सागुम्बा खरिदका लागि हिमालका फेदमा चीनको तिब्बतदेखि लिएर विदेशी एवं स्वदेशी ठेकेदारहरु पुग्ने गर्छन् । आधा जीब र आधा वनस्पतिको रुपमा रहने बहुमल्य जडिवुटी यार्सागुम्बा यौनबर्धक औषधीको रुपमा प्रयोग हुन्छ । बिदेशी बजारमा राम्रो माग रहेको यार्सागुम्बालाई गतवर्ष सर्वसाधारणले सुकाएर प्रतिकेजी २ देखि ३ लाखसम्म ठेकेदारलाई विक्री गरेका थिए ।

तपाइँको प्रतिक्रिया