माओवादीले सदन र सरकार दुबै चल्न नदिने
“माओवादीलाई सडकमा छोडेर सरकार टिक्दैन”
अपडेट-प्रधानमन्त्री प्रचण्डले राजिनामा दिएपछि नयाँ सरकार तत्कालै बनाईएला भनेर हौसिएका दलहरु शुरुमै जिल्लिएका छन् । आज डाकिएको माओवादी बाहेकको सर्वदलिय बैठकमा सरकार बनाउन निर्णायक मानिएको मधेशी जनअधिकार फोरमनै उपस्थित नभएपछि कांग्रेस र एमाले हिस्सिएका थिए । त्यसबाहेक पनि नेपाल मजदूर किसान पार्टीसमेत बैठकमा उपस्थित नभएपछि उनिहरु थप झस्किएका थिए । नेपालप्लस काठमाडौं स्रोतका अनुसार बैठकमा नेपाली कांग्रेस र तराई मधेश लोकतान्त्रिक पार्टीले अबको सरकारको नेत्रित्व गर्न एमालेलाई प्रस्ताब गर्न छलफल थाल्नासाथ साना दलहरुले माओवादीहरुलाई सडकमा छाडेर सरकार नटिक्ने र संबिधानपनि नबन्ने बताएका थिए । संसदकै सबैभन्दा ठुलो दल माओवादीलाईनै बाहिर राखेर कसरि सरकार चल्छ ? संबिधान कसरि बनाउन सकिन्छ भन्दै प्रश्न गरेका थिए । साना दलले माओवादीलाई सरकार बाहिर राख्नै नहुने अडान लिएको र सरकार बनाउन निर्णायक मानिएको फोरम बैठकमा नआएपछि पुन छलफल गर्ने भन्दै बिना कुनै निर्णय बैठक टुंगिएको थियो ।
सर्वदलिय बैठकमा फोरम अनुपस्थित
ठुल्ठुला पद, पैसा र प्रतिष्ठा पाउँला भन्दै सरकारको कुर्सी ताकेका नेताहरुले कुर्सी सजिलै नपाउने देखिएको छ । सरकार बनाउन खुट्टा उचालेर बसेका नेपाली कांग्रेस र एमाले पनि जिल्लिने हुन कि भन्ने देखिँदै छ । नयाँ सरकार बनाउन भनेर आज माओवादी बाहेकका दलको सर्वदलिय बैठक डाकिएकामा मधेशी जनअधिकार फोरम नगएपछि कांग्रेस र एमाले तत्कालकालागि जिल्लिएका छन् । तर पदका लागि मरि जाने फोरमको त्यो अडान कतिञ्जेल रहने हो भन्ने चाहिँ अनुमान गर्न सजिलो छैन । उनीहरुलाई बहुमत पुर्याएर सरकार बनाउन फोरमको पनि आवश्यकता पर्छ । फोरमले भने सरकारको नेत्रित्व आफुले गर्न पाए सरकारमा जाने अडान राखेको बताइएको छ ।
उता माओवादीको संसदिय दलको बैठक उक्त पार्टीको संसदिय दलको कार्यालय सिंहदरबारमा बस्यो । माओवादी संसदिय दलले प्रधान सेनापती रुक्मांगत कटुवाललाई बर्खास्त गर्ने आफ्नो माग पुरा नभएसम्म कुनै पनि हालतमा सदन चल्न नदिने र सरकार गठन गर्न नदिने निर्णय गरेको छ ।




