देउतासँग फोटो खिचाउँदै मुस्ताङी

villers-taking-photo-with-le-floche

 

गएको एक दशकमा सायद त्यो दिनजति म कहिल्यै हाँसेको थिईन । लगातार कम्तिमा ६ घण्टा त उनकि पत्नी र म हाँसेको हाँस्यै । हाँस्ने रोग लागे जस्तो । तर उनी चाहिँ पटक्कै हाँस्दैनन् । हसाउँछन् मात्रै । अहँ हत्त पत्त मुख पनि नखोल्ने । झण्डै एक वर्ष धुइँ पत्ताल लगाएर खोजेपछि बल्ल बल्ल उनको ठेगाना फेला पारेको थिएँ मैले । अहँ नत कुनै नेपाली सित न नेपाली दुतावाससित । कसैसितपनि थिएन उनको ठेगाना । उनी थिए नेपालको राजदरबारका पाईलट । फ्रान्सेली सेनाका कर्णेल ल फ्लक

 

नेपालका राजा वीरेन्द्रलाई उच्च हिमाली भागमा कसरि हेलिकोप्टर उडाउने भनेर त सिकाए नै । उनका पाइलट आर पी प्रधान समेतलाई हेलिकोप्टर तालिम दिने यिनै रहेछन् । पूर्व सैनिक कर्णेल स्व नारयणसिं पुन लगायतकाको हेलिकोप्टर उडान परिक्षा लिने पनि यिनै ल फ्लक रहेछन् ।

 

सन् १९७३ मा राजदरबारको आग्रहमा उनलाई नेपाल लगिएको रहेछ । अनि उनले कहिले मन्त्रीमण्डलका पुरै सदस्य लिएर कता पुर्‍याए । कहिले राजपरिवारका सदस्य लिएर लाङटाङ राष्ट्रिय निकुञ्जमा । कहिले कर्णाली नदीका किनारमा राजपरिवारका सदस्यसित वनभोज खाए । कहिले जाँडले दिउँसै झल्लु भएका नेपाली सेनाका  जर्नेल, कर्णेल, सेनापती र अन्य सैनिकको नाचगानको चर्तीकला हेरेर दंगदास परे । कहिले उनी चितवन रष्ट्रिय निकुञ्जभित्र राजाको जनावर शिकार गर्ने सवारीमा हात्तीमा चढेर बाघ खोज्दै हिँडे । राजपरिवार संबन्धि मात्रै होइन त्यो बेला राजपरिवार भित्रको कलह र ज्ञानेन्द्र अनि वीरेन्द्रबिचको मन मुनावका कथा ब्यथापनि यिनले राम्ररि देखेका, सुनेका रहेछन् ।

 

नेपालमा बसेर हरेक डाँडा काँडा छिचोल्दै बिताएका ६ वर्षको अनुभव यिनले म र यिनैकि पत्नी (जो त्यतिबेला नेपालमा यिनिसँगै थिईन) लाई सुनाउँदा हामी ६ घण्टा भन्दा बढि मुर्छित परेर हाँस्यौं । कहिलेकाहिँ पेट अति colonel-pierre-le-floche-9दुखेर लौन केहिबेर रोक्नुस् भनियो । हाँस्दा हाँस्दा कागजले आँशु त निकै पटक पुछ्यौं । हामीले सुन्दै नसुनेका, नदेखेका, नजानेका, नपढेका, कहि कतै फेला नपर्ने त्यस्ता मार्मिक र हाँसो लाग्दा क्षणहरु रहेछन् यिनिसित ।

 

मैले यिनलाई भेट्नुको कारण पनि त्यहि पुस्तक लेख्ने सिलसिलकालागि थियो । त्यस्तै एक पटकको उनको घटना के थियो भने उनले राजालाई लिएर मुस्ताङ जानु पर्ने रहेछ । राजाको सवारी रहेछ एक महिनाकालागि । मुस्ताङ जस्तो बिकट ठाउँका जनताले कहिले देख्ने हेलिकोप्टर ? कसरि देख्ने गाडी ? कहाँ भेट्न पाउने राजालाई ? त्यो पहिलो हेलिकोप्टर उडान रहेछ मुस्ताङको । किनभने नेपाली पाइलट जम्मा दुई जना रहेछन् यि ल फ्लकले तालिम दिएर अन्य नेपालीलाई पाईलट बनाउनु पहिले । अनि त्यो उचाईमा हेलिकोप्टर कसले लैजाने ? कोहि रहेनछ । त्यो बेलासम्म मुस्ताङीलेपनि हेलिकोप्टर देख्न पाएका रहेनछन् ।

 

 

राजाको भ्रमणकालागि केहि दिन पहिलेनै जाँचबुझ गर्ने, यता उति मिलाउने मानिसहरु लिएर हेलिकोप्टर लैजानु पर्‍यो । लौ हेलिकोप्टर आउँदै छ रे भनेपछि सात दिन भन्दा बढि हिँडेर अनेक डाँडा काँडा र कोप्चेराबाट वालवच्चा काखिमा च्याप्दै दौडेका रहेछन् कोहि । कोहि नांगै दौडिँदै आएका । बुढाबुढी केटाकेटी सारा । र्‍याल चुहाउँदै र सिँगान झार्दै झरे तल

 

मुस्ताङीहरु त्यो बेला हवाई जहाज र हेलिकोप्टरलाई देउता भन्ने रहेछन् । त्यो आफैं उड्छ आकाशमा भन्ने विश्वास रहेछ । “लौ देउता आउँछ रे फलानो दिन हेर्न जानु पर्छ” भन्दै सारा हल्ला फिँजिएछ । हेलिकोप्टर डाँडा पाखा छिचोल्दै पंखा घुमाएर ओर्लियो । त्यसलाई नजिकबाट हेर्नकालागि नजिक नजिक सर्दा कति त घाईते भएछन् एक अर्कासित ठोक्किएर । देउताको अगाडि को पुग्ने, देउतालाई नजिकबाट कसले बढि हेर्ने भनेर त्यस्तो होडबाजि भएछ । तिनलाई नियन्त्रण गर्नपनि निकै मुस्किल परेछ । त्यसले किच्न सक्छ, ठोक्किए दूर्घटना हुन सक्छ, मरिन्छ भन्ने त तिनलाई कुनै पत्तो नै नभएको रे । देउता त होभन्दै नजिक नजिक जाने रहेछन् ।

 

अनि मुस्ताङीहरु फूलका गुच्छा, माला र अबिर सबिर लिएर गए भगवानलाई लगाइदिन । कोहि फूलमाला लगाईदिएपछि केहि भन्छ होला देउताले भनेर पर्खि बस्ने रहेछन् । कोहि सारा नियाल्ने कसरि यहाँ आयो । किन आयो भन्दै । एक्कासि ककपिटबाट निस्किए पाइलट फ्लक । सारा मुस्ताङी जिल्लाराम । हेर्दा पुरा मान्छे । तर मुस्ताङी जस्तो नभएर सेतो छ । उनीहरुले सोचेछन्-यो त देउतालाईपनि चलाएर ल्याउने झन ठुलो देउता रहेछ । उनीहरुले त्यहि बेला ल देउतासित फोटो खिच्न पर्‍यो भनेर माग गरेका रहेछन् । अनि फोटो खिच्ने बेलामा पनि देउता भनेर उनीहरुले सिधा हेरेनन् भन्थे ति पाइलोट । उनले नेदेख्ने गरि यसो आँखा कर्काएर हेर्ने रे देउता साँच्चै कस्तो छ भनेर । उनको फोटोबाट फोटो खिचेकाले त्यति गतिलो छैन नै फोटो त । तरपनि देख्न त सकिन्छ नै ।

 

उनीसँगको सानो एउटा प्रसंग मात्रै राखेको हुँ यहाँ । यो भन्दा निकै गुणा घत लाग्दा प्रसंगहरु छन् उनले बताएका । त्यसको लागि केहि समयपछि फेरि अर्को राख्ने कोसिस गर्ने छु । तर पुरै पढ्नकालागि त मेरो प्रकाशोन्मुख पुस्तक नै पर्खिनुपर्छ । पुस्तक कहिले निस्कियो भनेर थाह पाउन नेपालप्लस हेर्दै गर्नुहोला ।

तपाइँको प्रतिक्रिया