विदेशिँदाको पिडा

-लालीगुराँश

 

मुटुभरि मातृभूमिको याद सँगालेर

 

आँखा चिस्याउँदै

 

अबेर राती बल्लतल्ल निदाउँछु म

 

सपनामा उकाली ओराली गर्न पुग्दा

 

आधारातमा निद्रामै बर्बराउँछु म ।

 

 

वरपरका डाँडा-काँडा अनि भन्ज्याङ चौतारी सम्झेर

 

मन कूँड्याउँदै

 

घरि ओल्लो-घरि पल्लो कोल्टो फेर्छु म

 

कहिले र कसरी पुगिएला प्यारो मातृभूमि

 

मनमा गुन्दै

 

आकासका तारा हेर्न थाल्छु म ।

 

 

बाख्राका पाठालाई साथी मान्दै उफ्री उफ्री खेलेको

 

परेवा कै आवाज निकाली आ-आ भन्दै

 

चारो खान डाकेको अनि

 

पिपलको फेदमुनि चौतारीमा गर्मी छल्न सुस्ताएको

 

सबै यादहरुलाई हृदयमा ताजा पार्दै पुनः निदाउँछु म

 

सपनामा पल्लाघरे मिठ्ठु र शान्तिलाई देख्दा

 

निद्रामै मिठा मिठा बात मार्न थाल्छु म ।

 

 

 

टलक्क टल्कीने सेता हिमाल अनि हरिया पहाड हेर्दै

 

ढकमक्क फूलेका लालीगुराँस सँग भुल्दै

 

छम्छमी नाच्ने डाँफे र मुनाल सँग नाच्दै

 

सपनाको नगरी छाडी खाटबाट खस्दा

 

आधा रातमा विपनामै सुक्सुकाउँछु म ।

 

 

मुटुभरि मातृभूमिको याद सँगालेर

 

आँशु पुछ्दै

 

अबेर राती बल्लतल्ल निदाउँछु म

 

सपनामा लेक बेसी गरेको देख्दा

 

निद्रामै भर्याङ्ग उक्लने-ओर्लने गर्छु म ।

 

 

यि सबै यादहरु हृदयमा ताजा भइदिँदा

 

बिदेशको भाग्यलाई धिकार्दै

 

बिपनामै छाती पिट्दै रुन्छु कराउँछु म ।

 

मुटुभरि मातृभूमिको याद सँगालेर

 

आँखा चिस्याउँदै ।

 

अबेर राती बल्लतल्ल निदाउँछु म ।

 

सपनामा उकाली ओराली गर्न पुग्दा

 

निद्रामै बर्बराउँछु म ।

(साथीहरु, नेपालप्लसलाई यति धेरै गजल, कविता र गित प्राप्त भएका छन् कि ति सबै तत्कालै राख्न सक्ने कुनै संभावना छैन । पहिलो पटक पठाउने पाठकको हकमा भने एक पटककालागि तत्कालै राखिदिने नेपालप्लसको नीति छ रचना स्विकार्य भएको अवस्थामा । पहिलो पटक पठाउने पाठकको हकमा बाहेक अन्य मित्रहरुलाई आफ्ना रचना प्रकाशित हुनको लागि पालो कुर्नु हुन आग्रह गर्छु । कविता, गित र गजल मात्रै नभएर साहित्य वा अन्य बिधाका विषयमापनि कलम चलाउनुहुन आग्रह छ । त्यस्ता लेख रचना छिटो प्राथमिकतामा पर्छन्-नेपालप्लस)

तपाइँको प्रतिक्रिया