कविता : दोधार

  • डा. लेखनाथ काफ्ले / शिन्चु, ताइवान

Dr Lekhnath kafle-taiwan-22121234

नयाँ बर्षको शुभकामना पढी नसक्दै

पढेकाले आफ्नो जवाफ लेखि नसक्दै

खाडीबाट घरमा खर्च पठाउन नभ्याउँदै

देश कै जग हल्लाउने गरि

घर गोठ, मठमन्दिर, सम्पदा भत्काउने गरि

एउटा कम्प आयो

महाभूकम्प आयो

लाखौं घर भत्कियो

हजारौंको जीवन सकियो

त्यो महाविपत्तिको घाउ निको नहुँदै

यो हतप्रत मष्तिस्कले कस्तो कविता लेखौं

म दोधारमा छु

कताको कविता लेखौं ।

+++++++++++++++

सात दशको लामो पर्खाइ पछी

संविधानको सपना पुरा हुदा नहुँदै

छिमेकीको स्वार्थ पुरा नहुँदा

देशबासीको खोलमा बिदेशीका खेतालाहरूले गरेको उपद्रो

तिनका सास्तीहरु भोगेका सच्चा नेपालीहरुको पीडा

लेख्न र बोल्न नसक्ने

म दोधारमा छु

कुन कविता लेखौं ।

+++++++++++++++

दशैं, तिहारमा घर जान नपाएर पनि

देशको अवस्थालाई देखेर शान्त बस्ने लाखौं देशबासीहरु

दुखमा पनि भारतसंग नझुक्न आव्ह्वान गर्ने गृहणीहरु

देशभक्तिको आवजलाई संसारभर फैलाउने युवाहरु तिम्रो

यो महान कार्यको समर्थनमा दुई शब्द लेख्न नसक्ने

नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने

नाकाबन्दी बिरुद्ध बोल्न, लेख्न नसक्ने

म दोधारमा छु

कस्को कविता लेखौं ।

+++++++++++++++

आफ्नो देशमा काम नपाउदा

राज्यले धपाएका

देशले ठगेका

बध्यतामा मुग्लान पसेका

४० लाख देशबासीको दशैं, तिहार हराउँदा

४० लाख नेपालीका घरमा दशैं, तिहार नआउँदा

म दोधारमा छु

किन कविता लेखौं ।

+++++++++++++++

लाखमा आफ्नो मत बेच्ने सभासदहरु

करोडमा आफ्नो निर्णय बेच्ने मन्त्रीहरु

अर्काको देशको लागि काम गर्ने कर्मचारीहरु

नाम, पद र शक्तिको लागि सर्वकर्म उचित मान्ने केहि मान्छेहरुको बिरोधमा

दुई शब्द लेख्न नसक्ने

म दोधारमा छु

कहिले कविता लेखौं ।

+++++++++++++++

दु:खमा हाँस्न सक्ने

पीडामा पनि पनि सहयोगी बन्न सक्ने

परदेशमा पनि देश सम्झिने

नाकाबन्दी बिरुद्ध देशभक्ति दर्शाउने

लाखौं नेपाली जन

तिमीहरुलाई लाखौं लाख नमन गर्दछु

भनेर समेत भन्न नसक्ने

म दोधारमा छु

कहाँको कविता लेखौं ।

तपाइँको प्रतिक्रिया