गजल
-भागवत भण्डारी
कसको दोष हुने भो र आफ्नै भाग्य फुटे पछि
अश्रु भेल रोकिदैन मनको बाँध टुटे पछि
कौडी कौडी जम्मा गर्दै धनी बन्ने प्रयासमा
कंगाली त लाग्ने नै भो आफन्तले लुटे पछि
बैरी सारा हराएर रणभुमी कब्जा गर्दा
मनोबल घट्ने नै भो आत्मियले कुटे पछि
जिन्दगीको उकालीमा होस्टे गर्दै चढ्या बेला
पाइलाहरु रुक्ने नै भो हैसे गर्ने छुटे पछि
पुष्प भेटी चढाएर पूजा पाठ गरे पनि
सुख टाढा भाग्ने नै भो साढे साती जुटे पछि
(साथीहरु, नेपालप्लसलाई यति धेरै गजल, कविता र गित प्राप्त भएका छन् कि ति सबै तत्कालै राख्न सक्ने कुनै संभावना छैन । पहिलो पटक पठाउने पाठकको हकमा भने एक पटककालागि तत्कालै राखिदिने नेपालप्लसको नीति छ रचना स्विकार्य भएको अवस्थामा । पहिलो पटक पठाउने पाठकको हकमा बाहेक अन्य मित्रहरुलाई आफ्ना रचना प्रकाशित हुनको लागि पालो कुर्नु हुन आग्रह गर्छु । कविता, गित र गजल मात्रै नभएर साहित्य वा अन्य बिधाका विषयमापनि कलम चलाउनुहुन आग्रह छ । त्यस्ता लेख रचना छिटो प्राथमिकतामा पर्छन्-नेपालप्लस) ।





