मकवानपुरमा करिब दश हजार घरमा क्षति, ३४ मरे, के भो त सरकारी सहयोग ?
- मणिराज गौतम
गत शनिबारको भूकम्पले मकवानपुरका ३५ गाविस र दुई नगरपालिकामा गरी करिब दश हजार वटा घरमा पूर्णक्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा बढी थाहानगरपालिका क्षेत्रमा घर क्षति भएको छ । त्यहाँ कम्तिमा एक हजार चारसय वटा घर पूर्णरुपमा क्षति भएको छ ।राईगाउँमा ८०, सुकौरामा एकसय २६, फापरबारीमा एक सय तीन, ठिंगनमा एकसय ८९, काँकडामा दुईसय ४८, बेतिनीमा दुईसय ४९, मार्खुमा ९९, सिस्नेरीमा तीनसय १२, मनहरीमा ९४ र सरिखेतमा एकसय ६१ घरमा पूर्ण क्षति पुगेको तथ्यांक छ । आमभञ्ज्याङमा दुईसय १३, खैराङमा एकसय सात, भार्तामा एकसय ६७, डाँडाखर्कमा एकसय १४, मकवानपुरगढीमा एकसय ७१, राक्सिराङमा दुईसय ८१, शिखरपुरमा एकसय ३९ र छतिवनमा दुईसय ४५ घरमा क्षति पुगेको छ ।
यसैगरी, कुलेखानीमा तीनसय एक, भीमफेदीमा दुईसय ९१, निबुवाटारमा एकसय ५५, चित्लाङमा ७३, मन्थलीमा एकसय सात, बुढीचौरमा ५०,कोगटेमा ७२, हाँडीखोलामा दुईसय ८०, इपामा दुईसय १५, भैंसेमा एकसय ८९, धियाँलमा १९ र नामटारमा दुईसय २५ वटा घर क्षतिग्रस्तहुँदा फाखेलका करिब तीनसय, टिष्टुङमा करिब एकहजार दुईसय, आग्रामा करिब सातसय र गोगनेमा करिब पाँचसय घरमा पूर्ण क्षति पुगेको छ । कालिकाटारमा भएको क्षतिको विवरण प्राप्त भएको छैन ।भूकम्पबाट भार्तामा एक,कालिकाटारमा एक, नामटारमा दश, आग्रामा छ, टिष्टुङमा पाँच, बुढीचौरमा एक, हाँडीखोला, सरिखेत र मकवानपुर गढीमा दुई÷दुई तथा थाहानगर क्षेत्रमा चार जना गरी ३४ जनाको मृत्यु भएको प्रशासनले जनाएको छ । बुढीचौर, सरिखेत र मकवानपुरगढीका गरी पाँच जनाको काठमाडौंमा मृत्यु भएको हो ।
‘उद्धार अन्तिममा, अब राहतको पालो’
शनिबारको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार कार्य अन्तिम चरणमा पुगेको र अब राहत वितरणतर्फ केन्द्रित हुने जिल्ला विपद् व्यवस्थापन समिति मकवानपुरले जनाएको छ ।
‘भूकम्प पीडित उद्धार कार्य अन्तिम चरणमा पुगेको छ । अब राहत वितरणलाई प्रभावकारी बनाउँदै क्षतिको वास्तविक तथ्यांक संकलनतर्फ लाग्नेछौं,’ विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले उद्धार कार्यमा खट्ने सबैलाई धन्यवाद दिँदै अब राहतमा जुट्न आग्रह गरे । थपलियाले राहत वितरण प्रक्रियासँगै सरकारबाट प्राप्त निर्देशनका आधारमा पुनस्र्थापनामा जुट्ने बताए । राजनीतिक दल, सभासद्, गैरसरकारी संस्था, विभिन्न सुरक्षा निकाय, सञ्चारकर्मी एवम् विभिन्न सरोकारवालाबीच भएको विहीवार क्षेत्रीय प्रशासक रामकुमार आचार्यको उपस्थितिमा भएको छलफलले जिल्लाका २० गाविस र थाहानगरलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न पहल गर्ने निर्णय भएको छ । बैठकले गाविस तथा नगरपालिकाहरुबाट प्राप्त क्षतिसम्बन्धि प्रारम्भिक बिवरण अनुसार करिब दश हजार भन्दाबढी घर पूर्णरुपमा क्षतिग्रस्त भएको तथ्यांक पुष्टि गरेको थियो । यसअनुसार समितिमा प्राप्त रकमबाट विभिन्न साइजका दश हजार थान त्रिपाल र १५ हजार थान रबर म्याट खरिद गरी पीडितलाई उपलब्ध गराइने भएको छ । खरिद कार्यलाई प्रभावकारी बनाउन समन्वय गर्ने जिम्मेवारी मकवानपुर उद्योग वाणिज्य संघ सदस्य राजेश बानियाँलाई दिने निर्णय बैठकले गरेको छ ।
पीडितका लागि राहत संकलन प्रक्रिया अपनाउँदा आआफ्नै संस्थाका सदस्यबाट गर्न प्रोत्साहित गर्ने, राहत वितरण गर्दा जिल्ला प्रशासन कार्यालयमा स्थापित आपतकालिन केन्द्रसँग सम्पर्क र समन्वय गरेरमात्र गर्न तथा स्थानीयस्तरमा सुरक्षा इकाईंसँग समन्वय गर्न आग्रह गरिएको छ । विभिन्न क्षेत्रमा क्षतिको बिवरण संकलन गर्न खटिएको टोलीको कार्य अनुगमन, समन्वय तथा सहजीकरण गर्न कार्यालय प्रमुखहरुको संयोजनमा सात वटा टोली गठन गरिने भएको छ ।हालसम्म प्राप्त सहयोगका आधारमा गैरखाद्यान्न सामग्री उपलब्ध गराइदिन प्रशासनले आग्रह गरेको छ । त्रिपाललगायत सरसामग्रीहरु अति आवश्यकीय परिवारले मात्र ग्रहण गरिदिन र चार÷पाँच परिवार मिलेर तत्कालका लागि उपभोग गरिदिन आग्रह गरिएको छ ।
- मकवानपुरमा राहत
नेपाल प्रेस युनियन मकवानपुरले भूकम्पबाट पीडित भएका जिल्लाका पाँच सञ्चारकर्मीलाई बिहीबार राहत वितरण गरेको छ । युनियनले मकवानपुर उद्योग वाणिज्य संघ र सुमार्गी ग्रुप अफ इण्डष्ट्रिजसँग समन्वय गरेर पाँच सञ्चारकर्मीलाई एक थान त्रिपाल, १ बोरा चामल, एक बोरा चिउरा, एक कार्टुन चाउचाउ र एक बोरा भुजाका दरले सहयोग गरेको हो । सञ्चारकर्मी शिव चौलागाईं, यमकुमार वाइबा, सुमन दुलाल, कपिल खड्का र सुनु थिङलाई राहत प्रदान गरिएको थियो ।सहयोग हस्तान्तरण कार्यक्रममा मउवा संघ अध्यक्ष राजकुमार न्यौपाने, सुमार्गी ग्रुपका सञ्चालक अरुणराज सुमार्गी, संघ महासचिव महेन्द्र राउत, युनियन केन्द्रीय सदस्य राममणि दाहाल, केन्द्रीय पार्षद् सुपेन्द्र बस्नेत र पत्रकार महासंघ मकवानपुर सचिव कृष्ण सारुमगरलगायतले मन्तव्य व्यक्त गरेका थिए । ‘भूकम्पबाट पत्रकारहरु पनि अछुतो रहेनन् ।
त्यसैले हामीले समन्वय गरेर सहयोग गरेका हौं,’ युनियन उपाध्यक्ष सविन न्यौपानेले भने । यस्तै नारायणी यातायात व्यवसायी संघले थाहा नगरपालिकाका भूकम्प पीडितका लागि बिहीबार ५० थान त्रिपाल बितरण गरेको छ । संघका महासचिव सरोजकुमार खनालले थाहानगरको सर्वदलीय संयन्त्रलाई ५० थान त्रिपाल प्रदान गरेका हुन् । संघ पदाधिकारी, कार्यसमिति, संघ कर्मचारीले स्थापना गरेको राहत कोषबाट ५० थान त्रिपाल हस्तान्तरण गरिएको महासचिव खनालले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा संघका कर्मचारी रामराजा नेपाल, समुन्द्र खड्का, गोबर्धन अधिकारी, कार्यसमिति सहकोषाध्यक्ष भीमसेन लामिछाने ९देवनारायण० को सहभागिता थियो । बुधबार चित्लाङमा संघले ६० थान त्रिपालसहित खाद्यान्न, औषधि राहत बितरण गरेको थियो । संघ अध्यक्ष बद्री चौलागाईं, महासचिव खनाललगायत टोली चित्लाङ पुगेर गाविसमा सर्वदलीय समितिमार्फत् राहत हस्तान्तरण गरेका हुन् । भूकम्पबाट भएका घाइतेलाई हेटौंडा अस्पतालमा उपचार गर्न ५३ हजार रुपियाँको औषधि सहयोग गरेको थियो । घाइतेको उद्दारका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको महासचिव खनालले बताए । यस्तै मारवाडी एसोसिएसन मकवानपुरले भीमफेदीका भूकम्पबाट पीडितलाई विहीबार राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।
मारवाडी महिला मञ्च र मारवाडी युवा मञ्चसहित भीमफेदी पुगेको एसोसिएसनले चिउरा पाँचसय केजी, भूजा दुईसय ५० केजी, दालमोठ एकसय केजी, चाउचाउ ७५ कार्टुन, बिस्कुट २० कार्टुन गरी कूल एक लाख रुपियाँ बराबरको राहत वितरण गरेको हो । राहत वितरणमा भीमफेदी इलाका प्रहरी, सशस्त्र प्रहरी, गाविस सचिव, राजनीतिक दलका प्रतिनिधि, रेडक्रस प्रतिनिधि र सामुदायिक मेलमिलाप केन्द्रका प्रतिनिधिसहितको टोलीले वास्तविक पीडित पहिचानमा सघाएका थिए । ‘हाम्रो योजनाअनुसार राहत वितरण सफल भयो’, एसोसिएसन अध्यक्ष बिजयकुमार अग्रवाल चाचानले भने । राहत वितरणमा एसोसिएसन महासचिव दामोदरप्रसाद अटल, सचिव मनिषकुमार रुंगटा, कार्यसमिति सदस्यद्वय सुनिल सिंघल र दीपक अग्रवाल, महिला मञ्च अध्यक्ष निर्मलादेवी जालान, महासचिव ललिता बलदेवा, कासस मीनादेवी जालान, मीरादेवी अग्रवाल, मोनिका मलानी, युवा मञ्च अध्यक्ष अजय अग्रवाल, युवा सहसचिव विष्णु केडिया, सदस्य राकेश अग्रवाल, एसोसिएसन सदस्य मनोज शर्मालगायत सहभागी थिए । यस्तै भुकम्प पिडतहरुलाई स्व माधबराज सुमार्गी ट्रष्टले हेटौडाका बिभिन्न स्थानमा राहत बितरण गरेको छ । मगलबार बाट हेटौडामा हेल्पडेस्क स्थापना गरेर करिब पाच सय जना लाई सेबा गरेको ट्रष्टका सरक्षक अरुणराज सुमार्गीले बताए । ट्रष्टले बुधबार मकवानपुरको लालझाडी मैनटारमा बिस घर परिबारलाई राहात बितरण रहेको छ भने बिहिबार मकवानपुरको नामटार झिरघारीमा भुकम्पबाट पिडित करिब डेढ सय घर परिबारलाई राहत बितरण थगरेको हो राहतमा त्रिपाल,खाध्न्अ, औषधी रहेको थियो ।
यस्तै मकवानपुरको नामटार गाविसको अघोर, झिरघारी र लामीडाँडाका भुकम्प पीडित स्थानीयबासीलाई यहाँका लायन्स क्लबहरुले सोमबार राहत वितरण गरेको छ । लायन्स क्लबआबद्ध सदस्यहरुले २० बोरा चिउरा, दालमोठ, ३० कार्टुन चाउचाउ, जीवन जललगायत सामग्री वितरण गरिएको कार्यक्रम संयोजक तथा लायन्स क्लब अफ मकवानपुर हेटौंडाका वर्ष २०१५–०१६ का अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिए । त्यस क्षेत्रमा प्रभावित ९२ घरधुरीका स्थानीयहरुलाई राहत वितरण गरिएको र उनीहरुलाई खाद्यान्नभन्दा त्रिपाल र लत्ताकपडा आवश्यक रहेको पीडितलाई उदृत गर्दै संयोजक कार्कीले बताए । लायन्स क्लब अफ हेटौंडा सिटी, लायन्स क्लब अफ मकवानपुर हेटौंडा, लायन्स क्लब अफ हेटौंडा भुटनदेवी, हेटौंडा बजार लायन्स क्लब, लायन्स क्लब अफ हेटौंडा ग्रिन सिटी, लायन्स क्लब अफ बसामाडी हेटौंडा र लायन्स क्लब अफ हेटौंडा ग्रेटर सिटीले सयुक्तरुपमा राहत संकलन गरेको संयोजक कार्कीले बताए । उता थाहा मिडिया ग्रुपले पनि भूकम्प पिडित सहयोग अभियानको अपिल गरेको छ ।यस अभियानले हालै आएको विनासकारी भूकम्पका पिडितहरुलाई जतिसक्दो सहयोग गर्ने अठोट लिएको छ ।
यस पवित्र कार्यका लागि सुमार्गी ग्रुप अफ ईन्डष्ट्रिजका तर्फबाट ५ करोड रुपैंया उपलब्ध गराईएको छ। जसमध्ये १ करोड रुपैंया प्रधानमन्त्री राहत कोषमा डिपोजिट गरिनेछ भने बाँकि रकममध्येबाट अति प्रभावित १२ जिल्लामा १२ वटा ठूल्ठूला सामुदायिक भवनको निर्माण गरिनेछ। बाँकि डेढ करोड रुपैंया दैनिक उपभोग्य बस्तुहरु खरिद गरि ५५ सय परिवारलाई यथाशिघ्र बितरण गर्ने बताईएको छ । साथै मिडियाले यो अभियानमा सहयोगीहरुलाई समेत सामाग्रिहरु डोनेट गर्ने आग्रह गरेको छ रकम डोनेट नभई सामाग्री मात्र डोनेट गर्न अनुरोध गरीएको हो यो जममा भएको सममाग्री सिधै पिडितसम्म पुर्याउने बताईएको छ ।
भुकम्पका कारण जेसिजको ख सम्मेलन स्थगित
यही वैशाख २० गतेदेखि दुई दिन मकवानपुरको पर्यटकीय क्षेत्र थाहा नगरपालिका ९दामन–पालुङ० मा हुने तय भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन स्थगित भएको छ । आतिथ्य शाखा पालुङ जेसीजले तयारीलाई तीव्रता दिइरहेको बेला शनिबार गएको भुकम्पको कारण देश नै शोकमा डुबेपछि अनुकूल अवस्था नहुञ्जेलसम्मका लागि नेपाल जेसीजले क्षेत्रीय सम्मेलन स्थगित गरेको हो । ‘अनुकूल अवस्था नहुञ्जेलसम्म सम्मेलन स्थगित गर्ने जानकारी आएको छ’, शाखा अध्यक्ष जर्म श्रेष्ठले बताए । जेसीजले सम्मेलन आयोजना गर्नको लागि सन् २००३ देखि निर्माण थालिएको सभाहललाई सम्पन्न गर्नुको साथै क्षेत्र ‘ख’ अन्तर्गत् पर्ने सबै २८ वटा जेसीज शाखाहरुलाई निम्तो दिइसकिएको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार करिब पाँचसय जेसीज युवाहरु भेला हुने कार्यक्रमका लागि खाना, आवासको व्यवस्था तथा स्मारिका प्रकाशनको काम सकिएको थियो । ‘देश नै शोकमा डुबेको बेला सम्मेलन आयोजना गर्दा हाम्रो लक्ष्य पूरा हुँदैनथ्यो’, पालुङ जेसीज पूर्वअध्यक्ष सुरेन्द्रमान प्रधानले भने– अनुकूल भएपछि उद्देश्यपरक ढंगले सम्मेलन आयोजना हुन्छ ।
मौकामा चौका
विनाशकारी भुकम्पका कारण पर्न गएको राष्ट्रिय विपत्तिमा सबैले आआफ्ना क्षेत्रबाट यथासम्भव सहयोग गर्नुको साटो सुमो व्यवसायीले मौकामा चौका हान्दै अचानक बृद्धि गरेको नयाँ भाडादर तत्काल खारेज गरी तोकिएकै भाडादर कायम गर्न आदेश दिइएको छ । पुनरावेदन अदालत हेटौंडाले विहीबार हेटौंडा–काठमाडौं रुटमा चल्ने सुमोले तोकिएकै चारसय ३६ रुपियाँभन्दा बढी भाडा नलिन अन्तरिम आदेश जारी गरेको हो । अदालतका न्यायाधीश डिल्लीराज आचार्यको एकल इजलासले तोकिएकै भाडा लिई सुमो यातायात सेवा सञ्चालन गर्न गराउन विपक्षीहरुका नाममा अन्तरिम आदेश दिएको हो ।
राष्ट्रिय विपत्तिमा सहयोग गर्नुको साटो कानुनी दायित्व एवम् मानवीय संवेदनायुक्त विषयसमेत देखिँदा अदालतले निषेधाज्ञा परमादेश निवदेन दर्ता भएकै दिन अन्तरिम आदेश जारी गरेको हो । राष्ट्रिय विपत्तिलाई बहाना बनाई कानुनविपरीत कार्य गर्न छुट दिनु सार्वजनिक हितविपरीत देखिँदा विपक्षीहरुबाट लिखित जवाफ परी प्रस्तुत निवदेनमा अन्तिम टुंगो नलाग्दासम्म तोकिएकै भाडा कायम गर्न अन्तरिम आदेश जारी गरिएको हो । हेटौंडाका धनराम लामासमेतले दिएको निवेदनका आधारमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरुका नाममा आदेश दिएको छ । लामाले मकवानपुर र पर्साका जिल्ला प्रशासन कार्यालय, बीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय, हेटौंडास्थित यातायात व्यवस्था शाखा कार्यालय, जिल्ला ट्राफिक प्रहरी मकवानपुर, नारायणी यातायत व्यवसायी संघ र हेटौंडा काठमाडौं छोटो मार्ग भएर चल्ने दशवटा सुमो कम्पनीविरुद्ध निषेधाज्ञा परमादेश निवेदन दर्ता गराएका थिए ।













