अमेरिकामा धेरै भो प्रार्थना
अमेरिकामा धेरै छन् नेपाली । नेपालको लागि खटिएर लाग्नेपनि धेरैनै छन् । तर यहि बेला अमेरिकामा केही संस्था उद्दारकालागि सहयोग जुटाउन भन्दा प्रार्थनामा केन्द्रित देखिएका छन् । अमेरिकामा यस्ता केही प्रार्थना देखे भोगेका ससाङ लामा लेख्छन –
प्रार्थनाले भुकम्प पीडितहरुको समस्या सल्टिने भए त, म रातदिन प्रार्थना गर्थें । न्युयोर्केली नेपालीहरु पैसा जम्मा गर्न छोडेर प्रार्थनातिर पो लागेका छन् । हिजो मात्र हेलेम्बुली युवाहरुले ज्याक्सन हाईट डाइभर्सिटी प्लजामा प्रार्थना गरे । आज त्यहि ठाउँमा अधिकार संस्थाले फेरी प्रार्थना गर्दै रहेछ । उता सेर्पा सामुदायिक भवनमा शेर्पाहरुको प्रार्थना पनि आजै बिहान सम्पन्न भयो ।
जनसम्पर्क, प्रवासी मंच, संघिय समाज र जनजातिले पनि अलग अलग प्रार्थना गर्ने हो कि ? पुग्यो प्रार्थना ! अब पैसा जम्मा गर्नेतिर लागौं । काठमाडौ त येनतेन बाँच्छ । तर दुर्गम गोर्खेली र जुम्लेलीहरु आफ्नै घरमुनी दबिएर फत्र्याक फत्र्याक परेर बसेका होलान । बिगतका नजिरले गर्दा एक नेपालीले अर्को नेपालीप्रति अविस्वास गरेको अवस्था छ । त्यसो हो भने , यी अन्तर्राष्ट्रिय संस्थालाई पैसो उठाएर दिइ दिऔ । उद्दार कार्यमा यिनको दशकौंको अनुभव छ र बिस्वभरि नै यिनको संजाल छ ।
तर उता जर्मनीमा भने गज्जबको तरिका निकालेका छन् केही नेपालीले । शान्तिका प्रतिक गौतम बुद्दको मूर्तिमा प्रार्थना गर्ने । त्यसो गर्दा आत्मशान्ती मिल्छ । शान्तिको कामना गर्दा सन्तुस्टि हुन्छ । तर त्योसँगै नेपालकालागि शान्त मनले सहयोगको जोहोपनि गर्ने । जर्मनी निवासी यज्ञराज सुबेदी अहिले त्यही गरिरहेका छन् । त्यसैले यो प्रार्थनाले मात्रै हुन्न । प्रार्थनानै गर्नु छ भने गर्ने । तर नेपालकालागि केही सहयोगपनि जुटाउने हो कि ? सुबेदीले जस्तै ।
(तस्विर ससाङ लामा र सुबेदीको फेसबुकबाट)







