कमिशन खाएर कलाकार ओसार्नेमाथि कारवाही, केहीले गरे आपत्ती

Belgium-dance-1संगित साँझ आयोजना गर्न भनेर नेपालबाट कमिश्न खाँदै कलाकार ल्याउने काममा संलग्न रहेको भन्दै अन्तराष्ट्रिय कलाकार मंच यूरोपले संस्थाका सचिव बेल्जियमनिवासी बेनी ढुंगानालाई निस्कासन गरेको छ । ‘नाच्न ल्याएका कलाकार युरोपमै बेपत्ता, निर्देशक नेपालतिर’ भन्ने शिर्षकमा केहीदिन अघि समाचार प्रकाशित थियो । कलाकार ल्याउन नेपालबाट कमिशन खाएर मुछिएका, सहयोग गरेका, संलग्न रहेका भनिएका मध्ये केही मानिसहरुले आफू संलग्न नभएको भन्दै आपत्ति जनाएका छन् । केहीले खण्डन गरेका छन् ।  

ढुंगानालाई कारवाही गरेर मञ्चबाट निस्कासन गरेको मंचले पठाएको जानकारीमा उल्लेख छ । तर मञ्चका सदस्य दीपक पौडेल भने कहिँकतै संलग्न नरहेको मञ्चले जनाएको छ । राजन घिमिरेको नामसमेत उल्लेख भएकामा यस अघि अनलाईनमै सम्पादन गरेर नेपालप्लसले उनको नाम हटाएको छ । उनी संलग्न नरहेको कुरा नेपालबाट सँगै आएका गायक जेबी ओलीलेसमेत बताएका छन् । “उहाँले त बरु मलाई सहयोग गर्नु भएको थियो । पीडितको पैसा कसरी उठाउने भनेर सल्लाहसमेत दिनुभएको थियो । सहयोग गर्नेकै नाम मुछेको देखेर दु:ख लाग्यो “जेबी ओलीले भने ।

अन्तराष्ट्रिय कलाकार मंच यूरोपका महासचिव दयाराम पौडेलले संस्थाका तर्फबाट पठाएको खण्डनमा उल्लेख गरेका छन् – नेपाल प्लसमा प्रकासित भएको समाचार “नाच्न ल्याएका कलाकार युरोपमा बसे” भन्ने शीर्षकमा प्रकाशित समाचारमा यस सस्थाका सदस्य दिपक पौडेल ज्यूको नाम उल्लेख गरिएकोमा हाम्रो हाम्रो ध्यान आकर्षण भएको छ  । मानब ओसार पसार जस्तो कार्यमा यस संस्था अन्तर्गतका जो कोहिलाई पनि हामीले दोषी भेटे कारवाही गर्ने जानकारी गराउदै हाल गत सातानै सचिव बेनी ढुंगाना व्यक्तिगत रुपले सो कार्यमा संग्लन देखिएकोले निजलाई कारवाही गरि सस्थाबाट निष्कासित गरि सकिएको छ । बेनी ढुंगाना बाहेक युरोपका अन्य कुनै सदस्यको यो कार्यमा कुनै पनि संलग्नता नरहेको स्पष्ठ  पार्न चाहन्छौं । यदि छान बिन गर्दा अन्य कोहि दोषी साबित भएमा निजलाई पनि तुरन्तै कारवाही गरिने प्रतिबद्धता समेत ब्यक्त गर्दछौं ।”

तपाइँको प्रतिक्रिया