कथा : दोहोरीभित्र प्रेम र धोका

  • प्रेम पुन / बेल्जियम

prem-pun-belgium-2“फूल फुलेर पयाँलै भयो

आधी जोबन हाँसखेलमै गयो,

आधी जोबन मायालाई भैगयो ।”

पोखरा शहरको एक चर्चित दोहोरी साँझको गेटमा ऊ पुग्दा बाहिरको गल्ली सम्मै सुनिने गरी यो गीत गुन्जी रहेको थियो। ती अधबैशे दोहोरी छिर्नै खोज्दा ढोका बाहिर उभिएको गार्डले, मन्त्री सवारी भएझै बडो फुर्तिको साथ बुट बजार्दै सलूट ठोक्यो । उसलाई यो अनौठो लाग्यो।जब ऊ नेपालमा थियो । त्यतिबेला सम्म प्रहरी र सेनामा कार्यरत बाहेक अन्य सरकारी या गैर सरकारी सेक्टरमा काम गर्ने सेक्यूरिटी गार्डहरु कसैले सलुट मारेको देखेको थिएन । पहिलोचोटी अरु कसैबाट सलूट पाँउदा उसले हल्का आनन्द महशुस भने गर्यो ।

जव ऊ दोहोरीभित्र पस्यो उसलाई गाँउको रोधीघर गए जस्तो भान भयो । माथि स्टेजबाट कलाकारहरुले दोहोरी गाउदै थिए भने तल दोहोरीका पारखीहरु कोही नाची रहेका थिए । कोही रक्सीमा चुर्लुम्म दुबेर गफ लडाई रहेका थिए । कोही भने धिमा प्रकाशमा स्वर्गकि परि जस्ता लाग्ने वेट्रेर्ससंग जिस्किदै गरेका देखिए । दोहोरी भित्रको माहोल अचम्मको थियो । लोकदोहोरी गीत अचेल रक्सी र जवानीमा साटिएको हो’कि यो समयको माग हो उसले भेउ पाउन सकेन । ऊ भित्र पस्न बितिकै सारीमा सजिएकि एउटी वेट्रेसले कुनातिरको टेबल खाली रहेको देखायो । ऊ सरासर त्यै टेबलमा गएर बस्यो।एकैछिनपछि हातमा मेन्यू बोकेर सिट देखाउने वेट्रेस आईन ।

उसले बियरमा आफूलाई मन पर्ने काल्सबर्ग र सिटनमा चिकन चिल्ली,साँधेको सुकुटी आदी अर्डर गर्यो । वेट्रेस त्यँहाबाट अर्डर लिएर फटाफट गईन।करिब पाँच मिनेटमा चिसो बियर बोकेर आईन र आफैले सर्फ गरि दिईन । सितन आउन केहि बेर कुर्नु पर्ने भयो।उसले सितन बिना एक गलास बियर एकै घुट्कोमा पियो । छेउमा उभिएकि वेट्रेसले मृदुमुस्कान छर्दै फेरि गलास भरिदिई । पहिलो चोटी दोहोरी छिरेको मान्छे त्यो पनि कुनै साथीसंगी बिना । त्यसैले उसलाई भित्रैदेखि अलिकति अप्ठयारो महसुस भएरनै होला उसले बियरले लाज पचाउने प्रयास गरेझै देखिन्थ्यो । क्षणभरमै बियरको एक बोटल खाली भयो । फेरि आर्को अर्डर गर्यो ।

गाउने कलाकारहरुले गीत पुरा गरे । नाच्नेहरु पनि आ-आफ्नै ठाँउमा फर्किए । वेटर्सहरु ग्राहकका अर्डर बोकेर यंताउता दौडिए । अघि उता ग्राहक संग नाच्दै गरेकि अर्की वेट्रेर्स उसको टेबल अघि देखा परिन ।

‍‍”‘ओई…sss पातली!यो त मेरो टेबल हो नि।तँ के गर्दै छस याँ ?” -उसले अलिकति झर्रो पारामा बोलि ।

‘हेया…तेरो टेबलमा ग्राहक आएर बसेको तँलाई थाहै हुँदैन । कता हराउछस-हराउछस । झन मैले त तँलाई सहयोग’पो गरेकि त ।”-पातलीले असुन्टुष्टी पोखिन !

“ल,ल!धेरै गफ नगर।उता जा तँ,!म आफै सर्फ गर्छु।”-दोस्रोले फेरि हकारिन।

हेर्दा आर्यन समुदायको देखिने,पातली र चिटिक्क ज्यान मिलेको पहिलो वेट्रेर्स उसको टेबलबाट अलप भईन ।

त्यतिबेला सम्म सितन आई सकेको थियो । उसले सितनसंग बियर अझ छिटो पिउन थाल्यो । अब उसको लाज र अप्ठेरो हटी सकेको थियो । छेउमा उभिएकि वेट्रेर्सलाई उसले बियर पिउन आग्रह गर्यो । वेट्रेर्सले पिउन अनुमति नभएको बताई । बियरको बदलामा जुस पिउने मनसाय उनले देखाईन । वेट्रेर्सले जुस पिउने भईन । आफ्नो लागि जुस लिन जाँदा उनले अरु वेटर्सहरुसंग कानेखुसी गरिन । त्यसपछि एकैचोटी पाँच जना वेटर्सले उसको टेबल घेरा लगायो । त्यस मध्य अघिको पातली बोलिन-“के हो लाहुरे दाई ! प्रियालाई मात्रै जुस । हामीलाई नदिने ?”

“लाहुरे” संबोधनले ऊ अचम्मित भयो र एकछिन अक्मकायो । अरु कसैलाई’पो बोलाको हो’कि भनेर यताउति हेर्यो ।

“को लाहुरे?मत लाहुरे होईन।”-उसले एकै सासमा बोलेर सक्यो ।

‘ए..त्यसो भए तपाई आकासबाट झरेको हो ?”-आर्को मंगोल अनुहारकि वेट्रेर्स बिचमै प्वाक्क बोलिन ।

सबै वेटर्स ग…ल…ल.. हाँसे ।

उसलाई सर्फ गरि रहेकि प्रियाले उनिहरुलाई धेरै नजिस्काउन झपारिन ।

“बिदेशबाट आएकोलाई लाहुरे भन्ने चलन छ नि ।”-उसैले प्रस्टाईन ।

पहिला झस्किए पनि”लाहुरे” भनेर केटीहरुले बाराम्बार बोलाउदा उसलाई आनन्द लाग्न थाल्यो।उसले त्यो सत्र-अठारको उमेरमा ब्रिटिस लाहुरे हुने सपना बोकेर धेरै दुख,कष्ट काटेको, भोगेको सम्झ्यो । पोखराको ब्रिटिस क्याम सम्म ऊ तीनचोटी सम्म फाईनल लडेको थियो । तर छनोटमा परेन । आफ्नो ‘बा’ ईन्डिया लाहुरे भए पनि उसलाई ब्रिटिस लाहुरे बन्ने ठूलो सपना थियो।  ईन्डिया आर्मीमा भन्दा ब्रिटिस आर्मीमा भविस्य राम्रो भएको उसको आमाले सम्झाई रहन्थिन ।’ हो..त्यो टुटेको सपना अनि लाहुरे कहलिने उसको ईच्छा पुरा नभए पनि आज उसलाई लाहुरे भनेर अरुले बोलाई दिदा भित्रैदेखि आनन्दित बनायो । सोच्यो-“समय बदलिएको छ । आर्मीलाई मात्रै नभएर जो कोही बिदेश जानेलाई पनि लाहुरे भन्न थालिएको छ । त्यसैले लाहुरे नभएकोमा पहिले पछुटो लागे पनि अब उप्रान्त त्यस्तो सोच आउने छैन । अब म दुखी बन्ने छैन ।”

लाहुरे दाई ! “यिनीहरु पनि सफ्ट ड्रिङस लिने रे ! “प्रिया बोलेपछि मात्रै ऊ झसंग भयो।ठिकै छ । उनिहरु जे पिउछन,जे खान्छन सबैलाई दिनु भनेर आफ्नो मन ठूलो र पैसावाल भएको घमण्ड देखायो । रक्सी पिएको बेहोसीमा प्राय सबै जसो मान्छे सजिलो बन्छन । पैसा गजबले उडाउछन । अघिपछि चुतिया भनिनेहरु पनि यै समय उदार बन्छन । मानौ उनिहरु आफै पैसा बनाउने मेशिननै बोकेर हिडेका हुन । वेटर्सहरु ड्रिङस बोकेर आ-आफ्नो ग्राहकको टेबुलतिर हानिए । जाँदै गर्दा आर्की फुच्ची देखिने वेट्रेसले दुखेसो पोखिन-“लाहुरे त प्रियाको भागमा मात्रै पर्छ । हाम्रो त भाग्यनै छैन !”

अब लाहुरे बियरले मातिन सुरु गर्यो।अघिसम्म मुर्ति जस्तो चुप बसेको मान्छे बर्बराउन थाल्यो । प्रियाले नसोधे पनि उसले आफ्नो नाम “अनिल” बतायो । बिदेशदेखि ‍‍‍‍एघार बर्ष पछि मात्रै आफू २ महिने बिदामा आएको पनि बताउन छुटाएन उसले । आफूले देखेको,जानेको, भोगेको र अलिकति आफैले फूलबुट्टा भरेर बिदेश बारे बयान गर्यो अनिलले । प्रिया मौन बसेर सुनि मात्रै रहि ।

माथि स्टेजबाट एघार बज्नै लागेकोले अबको अन्तिम कोशेली स्वरुप भन्दै गीत गाउन सुरु भयो।प्रियाले तानेर अनिललाई नाँच्ने ठाँउसम्म पुरायो । दुबै जना जमेर नाचे।गीत सकियो । एघार बजेकोले दोहोरी बन्द हुने भयो । दुईजनाले टेलिफोन नम्बर साटासाट गर्न भ्याए । सबै ग्राहकहरु हुलका हुलसंगै बाहिरिए।प्रियाले अनिललाई बाहिर सम्म छोड्नलाई संगै आईन । रातकों एघार बजे लोडसेडिंले बाहिर गेटतिर बत्ति थिएन । त्यसैले अलि अध्याँरो थियो । दोहोरीको गेट बाहिरिने बेला सुरक्षा गार्डले अघिझै कडासगं बुट बजारेर सलुट दोहोरायो।यस पाली अनिल उफ्रिने गरी तर्सियो।रक्सीको मातमा त्यँहा गार्ड उभिएको छ भन्ने सम्म उसलाई होस थिएन । संगै आएकि प्रिया हाँसेपछि मात्रै अनिल सम्हालियो । यसपाली प्रियाले मुखै फोरेर गार्डलाई टिप्स दिन आग्रह गरिन । अनिलले केही नबोली हजारको नोट आफूलाई तर्साउनेको हातमा थमाई दियो।भोली भेट्ने बाचा गरेर ती दुई छुटिए ।

हिजोको ड्रिङसले हयाङओभर भएर अनिल बिहानको दश बजे मात्रै उठ्यो र ऊ सिधै बाथरुमतिर पस्यो । यता उसको मोबाईलमा फोन बज्यो।धेरै बेरसम्म फोन नउठेपछि रिङ बज्न छाड्यो । करिब दुई मिनेटपछि मेसजको टोन सुनियो । उसले बाथरुमबाट आएपछि मोबाईल टिप्यो । मेसज ईनबक्स खोलेर हेर्यो । लेखिएको थियो-“हजुर त कस्तो मान्छे ! हिजो भेटेर आजै बिर्सिने!आज बिहान दश बजे साराङकोट घुम्न जाने भनेको होईन ? किन फोन नगर्नु भा’को ? म पर्खेर बसेको छु छिटो आउनुहोस न प्लिज !”

प्रियाको मेसज पढ्न बितिकै उसले कपडा लगाउन सुरु गर्यो । यता भान्छा कोठामा खाना बनाउदै गरेकि भाउजुले चर्को स्वरमा सोधिन-“हैन, बाबु यति सबेरै कता जान लागेको हँ ? खाना खाएर गए हुन्न ? अनिलले पनि चर्कै आवाज निकालेर जबाफ फर्कायो “साथीको घरमा आज पूजा छरे । उतै बोलाएको छ नगई हुँदैन । “यति भन्दै ऊ घरबाट बाहिरियो । घरको अगाडीबाट ट्याक्सी लिएर हानियो न्यूरोडतिर जहाँ दुईजनाले भेटिने ठाँउ तय गरेका थिए।

ऊ सिधै न्यूरोड पुग्यो र प्रियालाई लिई साराङकोटतिर लाग्यो।  ती दुईले साराङकोटको डाँडाबाट सुन्दर नगरी पोखारालाई नियाले । फोटो लिए । बिहानको खाना उतै गरे।दिन उतै बिताएपछि उनिहरु बेलुकातिर पोखरा झरे । सिधै प्रियाको कोठातिर हानिए । प्रियाले आज काममा छुट्टी मागिन । अनिलले पनि आज साथीको घरमै बस्छु, भनेर फोन गर्यो ।

रात परी सक्यो । रेस्टुरेन्टबाट ल्याएको खाना सहित दुईजनाले वाईन पिए । वाईन जति तल भुडीतिर झर्यो । त्यतिनै कुरा उछालिएर मुखमा आउन लागे।दुबैले एक-आर्कामा धेरै कुरा बाँडे । प्रियाले आफ्नो भन्नु एउटा भाई रहेको । उसले अहिले काठमान्डौमा होस्टेल बसेर बोर्डिङ पढी रहेको बताईन । बा-आमा आफू सानो छँदा बितेकाले भाईलाई हुर्काउने जिम्मा आफ्नो काँधमा आएको र दोहोरीमा काम गर्नु ईच्छा नभए पनि भाईको पढाईको लागि काम गर्नु परेको मर्मस्पर्शी कुरा सुनाईन । प्रियाको पीँडादायी कुरा सुनेर अनिल भावुक बन्यो।  अनिलले घरमा भाउजु र भतिजा-भतिजी रहेको बतायो । आफूले बिहे गरेको एक बर्षमै बिदेशिएको र धेरै समय उतै हराउदा आफ्नी श्रीमती कसैसंग कुलेलम ठोकेकि कुरा सम्म खोल्यो ।

रात छिप्पिदै गयो।रात छिपिए संगै वाईनको मात बढ्दै गयो । वाईनको मातसंगै ती दुई ज्यान नजिकियो । बन्द कोठाभित्र एक पुरुष र एक महिला टाढा रहि रहनु असम्भव जस्तै भयो। समय आयो एक-आर्कालाई अंगालो मार्ने, स्पर्स गर्ने र चुम्बन गर्ने । अंगालो,चुम्बन र स्पर्शले दुई ज्यान लाभाझै तातिए । अब बने दुबैजना निर्बस्त्र । बिना डर,त्रास र बिना लाज,संकोच दुई जवानबिच कामबासनाको खेल सुरु भयो । खेलमा दुबैजनाले जित्ने सक्दो प्रयास गरे । अनिलले आफ्नो पुरुषार्थ देखाउन कुनै कसर छोडेन । पुरुषहरु यो संभोगको खेलमा ऊ आफूमात्रै दरिलो, दक्ष, अब्बल र अनुभवी रहेको घमण्ड गर्छन । प्रियाले पनि भरसक आफ्नो जादु छोड्ने प्रयास गरिन।  उनले यी सबै कामसुत्र ब्लू फिल्म हेरेर सिकेको बताई । दुबै जनाले जितेको महसुस गरे । आज पूर्णरुपले आफू तृप्त भएको दुबै जनाले दाबी गरे ।

रात प्रियाको डेरामै बित्यो । दिउसो प्रियाको डेरामा चाहिने सामान खरिद गर्न ती दुई बजार लागे । डेरामा आवस्यक पर्ने फ्रिज, गलैचा सहित प्रियाकोलागि जुता-कपडा किनिदियो अनिलले । पैसासंगै उसले आफ्नो मन, मुटु पनि प्रियालाई दिन सुरु गर्यो ।

अचेल त अनिल कहिलेकाही मात्रै घर आउन थालेको छ । उसलाई बेलुका भएसंगै प्रियासंग दोहोरी जानु र त्यसपछि प्रियाकै डेरामा रात बिताउनु लत बसि सकेको छ । त्यसैले ऊ धेरै समय त प्रियासंगै बिताउछ । प्रिया अहिले उन्निस बर्षकि जवान भईन भने अनिल चाहीँ चौतिस बर्षका अधबैसे । उमेरले प्रिया र अनिल धेरै बर्षले फरक भएपनि उनिहरु निसंकोच हात समाएर हिडेको देखिन्छ ।

“-यथार्थमा अहिले नेपालीहरुको जीबनशैली पुरै फेरिएको छ । आजभोली हरेक मान्छेलाई  राम्रो लाउनु, मीठो खानु र मोज-मस्ति गर्नु अनिवार्यता जस्तै बनेको छ । बिशेष गरेर शहरी क्षेत्रमा बस्ने मान्छेहरुको हाउभाउ, तडकभडक, देखासिकी, मनोरन्जन चुलिएर सगरमाथा बनेको छ । आफ्नो कमाई या घरको खर्चले नधानिएपछि कतिपयले अवैधानिक बाटो रोजेका छन । भ्रष्टाचार, लुटपाट, जाल-झेल र ठगी बढेको छ । कलिला युवतीहरु अस्तित्व लुटाउदै ईन्जोय गर्न पैसावाल बुढोहरुको पछि दौडिएका छन ।”

यी दुई युगल जोडी पोखराका सवै चर्चित ठाँउ पुगे । उनिहरुले सारङकोट देखि लिएर देभिसफल, महेन्द्र गुफा, बेगनास ताल, शान्ति स्तुपा सबै चाहारे । फेवातालमा डुंगा चडे, वाटर साईकल खेलेर मजा लिए । प्याराग्लाईडिंङ गरे। अल्ट्रलाईट चडेर पोखरा माथि उडे । जिप फ्लायर र बम्कीजम्पको समेत अनुभव लिए ।

अनिलले प्रियालाई श्रीमती बनाउने सपना देखि सकेको छ । त्यसैले प्रियाको हर समस्याहरुमा मन खुलेर खर्च गर्न तप्पर रहन्छ । प्रियाले पनि मायाले “बाबा” भन्न थालेकि छे । लाग्छ दुबैतिर मायाको फूल फक्रेको छ । प्रिया आफूले चाहेको सबथोक किनिदिन आग्रह गर्छ र त्यसलाई अनिलले चुपचाप पुरा गरि दिन्छ । धेरै चोटी त सापटी भनेर प्रियाले पैसा मागेको छ । फर्केर आउदैन भन्ने थाहा हुँदाहुदै पनि अनिलले सापटीको नाममा थुप्रै चोटी सापटी दिएको छ । आफूले माया गर्ने प्रियाको लागि ज्यान दिन तयार जस्तो देखिन्छ अनिल !

अनिल आज घर फर्क्यो । उसलाई बिदेश लैजाने कागजपत्र र सामान तयारी गर्नु थियो । ऊ बिदेश फर्किन दश दिन मात्रै बाँकी छ । ऊ घर आएको केही घन्टामै प्रियाले फोन गरिन । “बाबा!तपाई छिटो आउनुहोस न ! भाईलाई बसले ठक्कर दिएर हस्पितलको आईसियूमा छ रे ! अप्रेशन गर्न तिनलाख भन्द बढी लाग्छ रे ! हजुरले जसरी पनि त्यति ल्याईदिनु पर्यो । पछि म जसरी पनि फिर्ता गर्ने छु । म अहिल्यै काठमान्डौ जानु पर्ने भयो ।”

प्रियाको आग्रहले उसको मन नौनी भन्दा नरम बन्यो । घरमा रहेको पैसा गनेर गोजीमा हाल्यो र नपुगेको चाही बाटोमै पर्ने एटीएमबाट निकाल्यो । ऊ प्रियाको डेरामा पुग्दा प्रियाको अनुहार अँध्यारो र केही डराए जस्तो देखिन्थ्यो । प्रिया तयारी थिईन ।अ निलले काठमान्डौको लागि माईक्रो चडने ठाँउसम्म पुरार्यो । त्यँहा कुनै ब्यापारीझै देखिने एक अधबैसे मान्छे प्रियालाई पर्खि रहेको थियो । अनिलले जिज्ञासा राख्नु भन्दा पहिल्यै त्यो मान्छे आफ्नो आफन्त रहेको र उसैसंग काठमान्डौ जाने प्रियाले खुलाईन । माईक्रो चल्न सुरु गर्यो । “बाबा!आई लव यू”!काठमान्डौ पुगेपछि फोन गर्छु भन्दै प्रिया आफ्नो गन्तब्यतिर लागिन।अनिल घर फर्क्यो ।

अनिललाई अहिले कताकता प्रियामाथि शंका लाग्न सुरु गरेको छ । मेरो भाई होस्टेल बसेर पढ्छ भने पनि उनिहरु कहिल्यै फोनमा बोलेको सुनेको थिएन । भन्नलाई प्रियाले आफन्त भने पनि माईक्रोमा पर्खेर बस्ने त्यो मान्छे को होला भनेर मनमा अलिकति खुल्दुली पर्यो ।

छुटिएको सात घन्टा हुन लाग्यो तर प्रियाको फोन आएन । ऊ आफैले नम्बर डायल गर्यो तर फोन लागेन । सोच्यो,- “सायद नेटवर्कले काम नगरेको होला । “त्यसपछि उसले सयौ चोटी फोन लगायो । तर लागेन । नत उताबाट प्रियाले फोन गरिन । त्यो रातभरी अनिललाई निद्रा लागेन । मनभित्र थुप्रै आँधीबेरी चलि रह्यो । बिहान एकैछिन निदाएपछि उज्यालो भयो । उसले आँखा मिच्दै फेरि फोन लगाउने प्रयास गर्यो । तर अफसोच फोन स्विचअफ थियो । तैपनि प्रियाबाट फोन आउने आशा मारेको थिएन । त्यो दिनको साँझसम्म पनि फोन नआएकोले ऊ प्रियाले काम गर्ने दोहोरीसाँझ पुग्यो । त्यँहा प्रियाका साथीहरुबाट केही त थाहा लाग्ला भन्ने झिनो आशा थियो उसलाई ।

जब ऊ दोहोरी पुगेर त्यँहा पातली वेट्रेर्सलाई प्रियाको बारेमा सोध्यो तब पातलीले यसरी बेलिबिस्तार लगाईन-“लाहुरे दाई ! तपाई यहाँ आउनु अगाडीदेखि उसको हिमचिम एउटा ग्राहकसंग हुन्थ्यो । त्यो मान्छे हप्ताको एकदुईचोटी आई रहन्थ्यो । ऊ आँउदा हामी सबै वेटर्सलाई पैसा कमाउने हो भने बिदेश जानु पर्छ है भन्थ्यो । बिदेसको अनेक लालसा देखाउथ्यो । अहिले सम्म सयभन्दा बढी केटीहरुलाई बिदेश लगेर राम्रो आम्दामी हुने ठाँउमा लगाई दिएको छु । तिमीहरुले पनि मौका नफाल है भन्ने गर्थ्यो । त्यै मान्छेसंग ऊ त केन्या भन्ने देशमा जानको लागि हिजो रातीकै बसमा डिल्ली गईन।ऊसंगै अरु चारजना केटीहरु पनि मुग्लिनमा जोडिएर जाने कुरा गर्दैथ्यो ।”

अनिलले अखबारहरुमा पढेको थियो – “नेपालका मानब तस्करहरु आजभोली केटी फकाउन दोहोरी, डान्सबार; मसाज सेन्टर र क्याबिन रेष्टुँराहरुमा धाउने गर्छन । यहाँ काम गर्ने प्राय केटीहरु निरक्षर र सोझी हुने हुँदा दलाललाई फकाउन सजिलो भएको छ । त्यसैले दलालहरुको बिश्वासमा परेर केटीहरु कोही पारी भारतिय बजारमा बिक्री हुन्छन।  कोही चाईनाका ल्हासा, खासा, केरुंङ बेचिन्छन । कोही दुबई र खाडीतिर लगिन्छन ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई) ले दुबईमा रोजगारीको प्रलोभन देखाएर आठ हजारभन्दा बढी नेपाली महिलालाई देहव्यापारमा लगाइएको दाबी गरेको छ । अहिले त अफ्रिकाको केन्या र तान्जानियासम्म नेपाली युवतीहरु पुगेका छन।  यी देशहरुमा बेचिएका युवतीहरुो काम डान्सबारमा नाच्ने र धनि पैसावालहरुसंग रात बिताउने सम्म हुने गर्छ ।”

अब अनिल पछुटाउनु र छटपटाउनु बाहेक आर्को बिकल्प केही थिएन । अनिलसंग केवल बाँकी थियो त चोरिएको निस्पट खाली हृदय । उसले सम्पति र दिल दुबै गुमाएको थियो । जब पातलीको कुरा सुन्यो तब अनिलको गिदी हल्लियो । मुटुमै कसैले बन्चरो हानेझै आभास भयो । उसको पुरा शरिर थरर काम्न थाल्यो मानौ हुरीले रुख जोडतोडले हल्लाई रहेको होस । ऊ दोहोरीबाट निस्केर बाहिर सडकसम्म आयो र ढुनमुनिदै त्यही ढल्यो । उसको मुखबाट रगत मिसिएको फिज निस्किएको देखियो । एकैछिनमा रमितेहरुको भिड जम्मा भयो । त्यहाँ अनिल ढलेको एक चिनेको ट्याक्सी ड्राईबरले देख्यो र उसले उठाएर हस्पिटलतिर डौडायो ।

ट्याक्सी ड्राईबर भन्दै थियो – “आफ्नो कर्तब्य,दायित्व भुलेर पसिनाको मूल्य बिर्सेर मोजमस्ति गर्ने  र पैसा उडाउने मान्छेहरुको दशा यस्तै हुन्छ ।”

 

 

तपाइँको प्रतिक्रिया