तपाईकापनि कोहि परे की ईटालीको भूकम्पमा ?

27654164

 

अस्ति ईटालीमा भूकम्प गयो । छ दशमलव ३० रेक्टर स्केलको । त्यसमा परेर डेढ सय भन्दा बढि मारिएका छन् । बिचरा जिवन त सबैको समान हो नी हगि ! तर के गर्नु अंग्रेजीमा ‘ब्लड ईज थिकर देन वाटर्’ भनेजस्तो मेरो दिमाखमा भने हत्त न पत्त नेपालीको याद आयो । दुई चार पैसो कमाउन भन्दै गाईका बाच्छा, भैंसीको पाडो र बाख्राको पाठो समेत बेचेर दौडिएका नेपालीलाई झन् भूकम्पलेपनि लघार्‍यो कि भनेर। के गर्ने होला ? ईटालीमा त्यस्तो बुझिदिने कोहि मित्र थिएन निकट । नेपालप्लसका पाठक त थिए नै । तर सम्पर्क गर्न सकिन । ईटालीमा नेपाली दूतावास छैन । यसो पेरिसस्थित नेपाली दूतावासलाई घण्टी बजाएँ । भेट भए दूतावासका त्रितिय सचिव सागर फुयालजी । पहिले ईटाली पेरिसकै दूतावासको मातहतमा थियो । अहिले जेनेभाको दूतावासले हेर्ने रहेछ । सागरजीले तुरुन्तै फोन दिए दधिराम भण्डारीको । फोन रिँगाएँ हतार हतार । ट्वाक्कै उनैले फोन उठाए । सिधा परिचय दिएर आफ्नो कुरा एक सासमै बताएँ ।

 

नेपाली परेका छन् कि छैनन् । के छ खबर ? उनले अहिले सम्म एक जनापनि नेपाली परेको खबर नआएको बताए । त्यतिमै पनि सन्तोष लाग्यो । कुनै, दुखिया परेको रहेनछ झन परिवारलाई दुख थप्न जस्तो लाग्यो । उनले अझ थप जानकारि बटुल्न दूतावासले सोधखोज गरिरहेकोपनि बताए । केहि थप भए पठाइदिन्छु भनेर मेरो ईमेल र फोनपनि लिए । सम्पर्ककालागि अलि सहज रहेछन् कि जस्तो लाग्यो । जे होस, अहिलेसम्म कोहि परेका रहेनछन् नेपाली । अब अझै पुरिएका घर यताउति पल्टाउँदापनि नभेटिउन् ।

 

मलाई नरमाइलो के कुरामा लाग्यो भने यो मोरो पेट पाल्न कति चिन्ता है सबैलाई ? मर्ने गए । बाँच्नेलाई जति चोट परेपनि । आँखाबाट जतिसुकै बलिन्द्रा धारा बगेपनि । बेदनाले छट्पटिएपनि खानै पर्ने । त्यस्तो भागा भाग, कोलाहल, रुवावासी हुँदापनि भविष्यमा पेट भर्नुपर्ने बाध्यताले आफ्नो वरिपरि भएका झोला लिएर भागेका रहेछन् मानिसहरु खेत बारी र अलि फराकिलो ठाउँ खोज्दै । झोलामा पानी, बिस्कुट र रोटीका टुक्रा रहेछन् ।

 

तपाई ईटालीका पाठकहरुलेपनि त्यहाँ केहि फेला परे खबर गर्नुहोला है त ?

 

फ्रान्सपनि जोखिममा

 

ईटालीको भूकम्पपछि अहिले यूरोपभरिका मान्छे झस्किएका छन् । आज भूमिगत रेलमा चढ्दा सबैको मुखमा त्यहि भूकम्पको चर्चा थियो । कोहि ‘अब सुत्न सकिन्न । जागा बसेर भोली काम गर्नपनि सकिन्न। झ्याप लगाउने अनि लड्ने” भन्दै थिए । कोहि हप्तादिनमा मात्रै खाइन्थ्यो रक्सी, नत्र श्रीमति रिसाउँथी, यो भूकम्पले गर्दा चाहिँ दिनदिनै खाएर सुत्ने भइयो भन्दै थिए । एक हुल अर्ध बैंशेको समूह भूकम्प र रक्सी बारे छलफल गर्दै थियो । कोहि आफ्नो घर त थोत्रो छ के हो के हो भन्थे । कुनै चाहिँ आफु त जति खाए नी सुत्न सक्दिन अब, टेन्ट टागेर कतै खुला ठाउँमा सुत्न पाए हुन्थ्यो भन्ने थिए । एक जना महिलालाई चाहिँ मरिन्छ कि भन्ने यति डर लाग्ने रहेछ कि ‘हुस्, आ, स्स्, मर्ने भइयो कि क्या हो, म त सुत्नै सक्दिन’ भन्दै थिईन। २० मिनेट जति तिनका कुरा सुनेर खुब रस लिएँ मैलेपनि ।

 

आजै फ्रान्सेली मेडियाहरुले लौ फ्रान्सपनि भूकम्पिय जोखिममा छ भनेर लेखेका छन् ।

फ्रान्सेली भूकम्पिय केन्द्रका निर्देशक मिसेल ग्रानेको त्यस्तै प्रतिकिया देखें । उनले फ्रान्समापनि भूकम्पिय क्षती हुन सक्ने खसोखास संभावना छ भनेका छन् । तैपनि मेडिटेरानियन क्षेत्रमा जाने भूकम्प सित चाहिँ दाँज्नु उचित छैन भन्ने तर्कपनि दिएका छन् उनले । भविष्यमा फ्रान्समा ६ मेग्निच्युडको भूकम्प जाने बताएका छन् । र हरेक सय वर्षमा ६ मेग्निच्युडको भूकम्प जान्छ भन्ने विश्वास फ्रान्समापनि रहेछ ।

 

के के भयो ईटालीको भूकम्पमा ?

 

-अस्ति बिहान साँढे ३ बजे गएकाले धेरै मानिस मस्त निद्रामा थिए । त्यसले गर्दापनि धेरै क्षती भयो । भूकम्प गएको ठाउँ ईटालीको आकिला (Aquila) भन्ने ठाउँमा हो । मर्ने १५० जनामा १० जना वालवालिका परेछन् । कति दुखलाग्दो ! १५०० घाईतेहरु फेला पारे हिजो बिहान सम्ममै । दश हजार मानिसका त घर भत्किए । थोरै धेरै जे होस । एक लाखलाई उद्दार गरियो ।

 

-ईटाली यूरोपको सबैभन्दा उच्च भूकम्पिय जोखिममा भएको देश हो । यहाँ साना तिना भूकम्प त थुप्रै गए । तर सन् १९८० को २३ नोभेम्बरमा अहिले भन्दा धेरै ठुलो गएको थियो । त्यतिबेला कम्पानी (Campanie, ईटालीको मध्य भागमा पर्छ) र बासिलिकत (Basilicate,   देशको दक्षिणमा पर्छ) भन्ने ठाउँमा गएको त्यो भूकम्पले तिन हजारको ज्यान लिएको थियो । जान त सन् १९९७ मा पनि ठुलै गएको हो ईटालीमा भूकम्प । तर त्यो बेला ११ जना मारिएका थिए ।

 

-भूकम्पको केन्द्रिय भाग जुन हो त्यसमा करिब ६० हजार वासिन्दा बस्ने रहेछन् । ति घर कुनै न कुनै रुपमा क्षती भएछन् । विष्फोटन र आगलागी रोक्न सरकारले त्यो क्षेत्रमा पुरै काटिदिएको थियो बिद्दुत, पानी र ग्याँसको वितरण ।

 

-यूरोपभरि अहिले भवनहरुको मापदण्ड तोकिदिएको छ यस्तै भूकम्पले क्षती नगरोस। भूकम्प गैहालेपनि कम क्षती होस । उद्दारकर्ताहरुलाई सहज होस भनेर । त्यो सन् १९८० र सन् १९९० को दशकमा बनाएको हो । तर समस्या के भने ईटाली अति सांस्क्रितिक सम्पन्न देश हो । त्यहां अति पुराना भवन छन् । अहिले भूकम्पमा परेका भवनपनि १७ औं र १८ औं शताब्दीका हुन् । त्यहि भएर पनि ति पुराना भवन ६ रेक्टर स्केलको भूकम्पमै भत्किएका हुन् ।

 

नेपालसँग संबन्धित भूकम्प बारे तलको ब्लगपनि हेर्नुस-

 

ढोकैनिर आइपुग्यो भूकम्पको भय

 

(तस्बिर साभार-ईन्टरनेशनल हेराल्ड ट्रिब्युन) ।

तपाइँको प्रतिक्रिया