फोन गर्न कि रुखमा कि त डाँडामा
- गोपाल पोखरेल / उदयपुर
नगर क्षेत्रमै रहेरपनि टेलिफोन गर्न कि त अग्लो रुखमा चढ्नुपर्छ या त एक घन्टाको बाटो हिँडेर चुरेको डाँडाँमा पूग्नुपर्छ भन्दा जो कोहीलाई अनौठो लाग्नसक्छ । तर, त्रियुगा नगरपालिका-९ स्थित दमौति गाँउमा बस्ने करिव दुई हजार स्थानीयले बर्षौदेखि यो नियति भोग्नु परिरहेको छ ।
नगरपालिका भएको पन्धौं बर्ष पुगिसक्दापनि सरकारी बेवास्ताकै कारण यहाँका सर्वसाधारण संचार सम्पर्कबिहीन अवस्थामा बस्नु परेको हो । गाविसबाट नगरपालिका बन्न सडक, विजुली, खानेपानी, टेलिफोनलगायतका आधारभूत आवश्यकता पुरा भएको हुनुपर्छ । तर दमौतिका सर्वसाधारण यी सबै सुविधाबाट बन्चित छन् । पर्याप्त पानीकै अभावमा कतिपय सर्वसाधारणको घरमा शौचालयसमेत छैन ।
बिजुली पुगेपनि भोल्टज कम आउँछ । संचार सम्पर्क गर्न आधारभूत तथा मोवाइल दुवैले सेवा दिँदैनन् । नगरबासी भएरपनि दुर्गमकै नियति भोगेका स्थानीय भन्छन् “नगर क्षेत्र भनेर मात्रै हुँदो रहेनछ” ।
“दमौतिमा सडक, बिजुली र स्वच्छ खानेपानीको राम्रो विकास अझै हुनसकेको छैन” स्थानीय देवबहादुर राईले भने “संचारको अबस्था त अत्यन्तै नाजुक छ ”। संचार सम्पर्ककोलागि एक लाईन टेलिफोन पनि नभएको उनले बताए । “आधारभूत र मोवाईल दुवै फोन सेवा छैन, मोवाइल फोनबाट कुरा गर्न कि त अग्लो रुखमा चढ्नुपर्छ कि त एक घण्टा हिँडेर चुरेको डा“डामा पुग्नुपर्ने अवस्था छ” राईले भने ।
नगरपालिका अन्य सवै वडामा टेलिफोन सम्पर्क हुन्छ । तर दमौतिमा अहिलेसम्म संचार सम्पर्क नभएको स्थानीयको गुनासो छ । “पटक पटक प्रयास गरियो, नगरपालिकालाई भनियो, टेलिकमलाई गुहार मागियो । तर कसैले वास्ता गरेनन्” अर्का स्थानीय कुवेर मगरले भने “ सुविधा दिए स्थानीय वासिन्दा पैसा तिर्न तयार छन् भन्दा पनि वास्तै भएन” । निजी टेलिफोन कम्पनीलाई गुहार गर्दा समेत वास्ता नगरेको उनले बताए ।
“युवा, युवति र सर्वसाधारण गरेर यहाँका झण्डै एक हजार सर्वसाधारणको हातमा मोवाइल फोन छ” मगरले भने “तर नेटवर्क कुनैपनि कम्पनीको आउँदैन” । गाँउमा नेटर्वक नआएपछि दैनिक झण्डै २ सय सर्वसाधारण फोनकालागि चुरे पहाडको टुप्पोमा पुग्ने गरेको मगरले बताए ।
“दमौतिमा टेलिफोन सेवा उपलव्ध गराउन पटक पटक प्रयास गरियो” नेपाली कांग्रेसका त्रियुगा नगर सभापति सरोज बस्नेतले भने “त्यस क्षेत्रमा टेलिफोन टावर राख्न टेलिकम गाईघाटलाई मागसमेत गरियो । तर अहिलेसम्म खासै वास्ता गरेको छैन” । स्थानीयको आवश्यकतालाई ध्यानमा राखि आफैं सिफारिस लिएर टेलिकम क्षेत्रीय कार्यालय विराटनगर पुगेको उनले बताए । ३ सय ७८ घर परिवार रहेको दमौतीमा १ हजार ८ सय २५ जनसंख्या छ ।




