विश्व उल्टो साइकल यात्रीहरु लण्डनमा
विश्वमा शान्ति, भाइचारा र नेपाली पहिचानका निम्ति पर्यटन प्रबर्द्धन गर्दै विश्व साईकल यात्रामा निस्किएको उल्टो साइकल यात्री बिरेश दाहाल, बरुण अधिकारी र बजिन्द्र महराको टोली शनिबार लण्डन आइपुगेको छ ।
शनिबार नै उक्त टोलीले मध्य लण्डनस्थित बीबीसी केन्द्रीय कार्यालयको भ्रमण गरेको थियो ।
सो टोलीले आइतबार फार्नबरोमा भैरहेको एनआरएनए काउन्सिल मिटिङमा नेपाली समुदायका अगुवाहरुसंग भेटघाट गरेको थियो। उक्त अवसरमा साइकल यात्रीहरुकालागि केही सहयोग संकलन पनि गरिएको थियो ।
उक्त टोलीले लण्डनस्थित नेपाली दूतावासमा गइ आफ्नो भ्रमणको उद्देश्यबारे बताउने टोलीका सहभागीहरुले जनाएका छन् ।
त्यसैगरी यसैसाता लण्डनस्थित गिनिजबुक अफ वर्ल्ड रेकर्ड्सको कार्यालयमा गै आफ्नो अहिलेसम्मको यात्राबारे जानकारी दिने पनि दाहालले बताए ।
नेपाली ढाकाटोपी दौरासुरुवाल र नेपाली झन्डा फरफराउँदै विश्वमा उल्टो साइकल यात्रा गरेर नेपाललाई चिनाउने उदेश्य बोकेर उल्टो साइकल यात्रामा २००४ अप्रिल २७ देखि निस्किएका उल्टो साइकल यात्रीटोलीले बेलायतस्थित गैर आवासीय नेपाली संघ, तमु धिं युके, मगर संघ युके लगायत सबै संघसंस्थालाई सक्दो सहयोग प्रदान गर्न आग्रह गरेका छन् ।





