लघुकथा : प्रायश्चित
- रन्जु मार्ग / अमेरिका
उसले आफ्नो बिगतमा गरेको पापकर्मको सजाएँ भोगीसकेको थियो । त्यसैले ऊ अबको बाँकी जीवनलाई नयाँ तरिकाले जिउने विचारका साथ अघि बढिरहेको थियो | यही क्रममा ऊ यदाकदा सार्वजनिक कार्यक्रममा जान थालेको थियो ।
आज पनि उसलाई एउटा प्रतिष्ठित कार्यक्रममा जानु थियो । त्यस कार्यक्रममा देशका नाम चलेका गन्य मान्य बहुप्रतिष्ठित व्यक्तिहरु पनि सहभागी हुने निम्तो थियो । यसपल्ट उसले आफ्नी पत्नीलाई पनि लिएर जाने विचार गर्यो । उसकी पत्नीपनि आफ्नो पतिले धेरै दिनपछि यति ठूलो कार्यक्रममा लैजान लागेको देखेर फुरुङ्ग भई । कपडा लगाउन गई ।
दुवै जना कार्यक्रममा जानको लागि तयार भए । पत्नी सम्पूर्ण पहिरहन अनि सिङ्गारका साथ पतिको नजिक आई । उसले आफ्नी पत्नीलाई निकैबेर हेरिरह्यो । आफ्नो पतिले यस अघि यसरी कहिल्लै नहेरेको पत्नीले महशुस गरी र लजाउँदै भुईंतिर निहुरीई, मुस्कुराई ।
‘हेर, तिमीलाई यो लुगा अनि गरगहना लगाएको पट्टक्कै सुहाएन । जाऊ, यो सबै फुकाल !’-अचानक पतिको यो आदेशले पत्नीको मृदुल मुस्कान एकाएक हरायो र उसले शशंकित हुदै सोधी –‘
‘किन र हजुर ? हजुरले नै यो सबै किनेर ल्याइदिनु भएको होइन र ?”
‘त्यो त हो । तर पनि किन किन आज मैले तिमीले यो लुगा, गहना लगाएको पट्टक्कै सुहाएको देखेको छैन । ‘पतिको बचन स्वीकार्दै पत्नी सबै गरगहन लुगा फुकालेर सामान्य पहिरनमा सजिएर आई र परै बसी । पति उनको नजिक गए र मलिन अनुहारमा बसेकी पत्नीलाई सुम्सुमाउँदै भने –
‘आज म तिमीलाई साँच्चै नै सुन्दर देखिरहेछु । केहि वर्ष अगाडी तिमीलाई यतिको सुन्दर देखेको भए सायद म किन देशको सम्पति दुरुप्रयोग गरेर तिमीलाई यो गहना, कपडाले सिंगार्ने चेष्टा गर्थे होला र ? महँगो लुगा, गरगहना त नलगाउँदा पनि सुन्दर देखिदो रहेछ । तर निधारमा लागेको दाग चाँही कहिल्लै नमेटिने रहेछ !




