कविता : यमराजको अदालतमा: ल्हाक्पा तामाङको बयान

  • मौलश्री लिम्बू / झापा, हाल- पेराक, मलेसिया

maulshree-limbu

यमलोकका ख्वामित !

मृत्युपछि स्वर्ग र नर्कको फैसला गर्नु हुने

यस अदालतका प्रधानन्यायाधीश

यमराज ज्यू ! 

००००००००००००००००

श्रीमान !

म- ल्हाक्पा तामाङ

ठेगाना- सिम्जुङ-छ,गोरखा,नेपाल

उमेर- ६२ वर्षीय

राष्ट्रियता- धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपाल

अभियोग- गोरु काटेर खाएको

सजाय- प्रहरीद्वारा गोलि ठोकि मृत्युदण्ड

००००००००००००००००

श्रीमान !

मेरो शारीरिक बनावटलाई

एक पटक राम्ररी नियालीओस्

नाक थेप्चो छ,आँखा चिम्रो छ,अनुहार गोलो छ

मेरो नामलाई उच्चारण गर्नु होस्

तपाईंको जिब्रो लर्बरिने छ

र पनि शुद्ध उच्चारण गर्न सक्नु हुने छैन

मतलव,अझ भनौ

यहाँ विराजमान हजुरका भारदार,सिपाही,समुदायहरु भन्दा

म धेरै नै भिन्न देखिएको छु

तपाइले अनुमान लगाई सक्नु भएको होला

म- तपाईहरु हुँदै होईन

तपाईहरु- म हुँदै होईन

सायद, कुनै समुदायको गुप्तचर सम्झी रहनुभएको छ होला ?

तर नडराउनु होस्

म कुनै गुप्तचर होईन

न त तपाईको समुदायको हिस्सा नै हुँ

००००००००००००००००

श्रीमान !

मेरो परम्पराको बारेमा संक्षिप्त विवरण पेश गर्दछु-

“ मेरो पितापुर्खाहरु

सदियौंदेखि नेपालको पहाडी इलाकाहरुमा

बसोबास र भोगचलन गर्दै आएका छौ

हाम्रो आफ्नै मौलिक संस्कार,परम्परा,चालचलन चलिआएको छ

त्यो बेला

पशु-पंक्षी,जनावरहरुको शिकार गर्ने गरेका थिए

परापूर्वकालमा यसरि नै जीविकोपार्जन गर्दै आए

मैले मान्ने सृष्टिकर्ता,भगवान,कुलदेवताहरुले

यी सबै प्राणीहरु,वनस्पतिहरु

मान्छेले आफु अनुकुल उपभोग गरोस् भनि सृष्टि गरेका हुन्

यसर्थ

मेरो पितापुर्खाहरुले

पशु-पंक्षी मारेर खाए मैले पनि खादै आएँ

काटेर खाएँ गाई,गोरु,राँगा,बाख्रा,परेवा आदि

खाई नै रहेकाछन् मेरो अधिकांश समुदायहरुले

००००००००००००००००

श्रीमान !

मेरो पितापुर्खाहरुलाई समायोजन गरेर

भाषा,धर्म,परम्परा,चालचलनलाई खलल नपुर्याउने भनि

मेरो अघिल्ला पुस्ताहरुलाई

नेपालको नागरिक बनाईएको हो

नेपाल बनाउनेहरुले नेपाली बनाएका हुन्

र म पनि नेपाली कहलिएँ

तर मैले मान्दै आएका

अनि मान्नै पर्ने धर्म,संस्कार,परम्परालाई

म कसरि लत्याउन सक्छु ?

र बनुँ म कसरि उनीहरुले लाद्याउन खोजेको

नेपाली नागरिक ?

००००००००००००००००

श्रीमान !

मेरो आत्माले दिएन

मेरो स्वाभिमानले दिंदैन

००००००००००००००००

श्रीमान !

मैले गोरु छिनालेर खाएकै हो

पहिलो पटक होईन अनेकौ पटक

हिजो एक झुण्ड समाजदेश परिवर्तन गर्छु भन्दै

मेरो गाउँघर पसेका थिए

आफ्नै समुदाय,धर्म,संस्कारको बागी बन्छु भन्दै

अनगिन्ति गाई-गोरु काटेर खाए

पछि ति झुण्डहरु सरकारमा पुगे

अझै पनि पहुज मै छन्

००००००००००००००००

अहँ !

ति झुण्डहरुलाई न हिजो न आज

गाई-गोरु काटेर खाएकोमा अभियोग लागेको छ

न त कसैलाई सजाय भएको छ

किन कि ति झुण्डहरुसंग बन्दुक थियो

आईलाग्नेसंग जाईलाग्ने अस्त्र थियो

त्यसैले मनपरी भोज खाए

गाई-गोरु कति हो कति छिनाले

विडम्बना

म,छुट्टै जाती,धर्म र संस्कार भएको मान्छेलाई

तपाईहरुको संस्कार,मान्यतालाई नमानेको आरोपमा

धर्मनिरपेक्ष संघीय गणतन्त्र नेपालका प्रहरीले

२०७१ साउन २९ गते सोमबार

सिधै गोलि ठोकियो

सजाय- मृत्यु

कारण- मैले गोरु छिनालेर खाएँ

००००००००००००००००

श्रीमान !

म नि:शस्त्र

मेरो समुदाय नि:शस्त्र

००००००००००००००००

श्रीमान !

तपाईको सामुन्ने उभिएको “चित्रगुप्त”

जसले तपाईहरुको समुदायको लेखा-जोखा राख्ने गर्छ

मेरो कर्मकाण्डको नालीबेली खोजि सकेको होला

तर ऊ नतमस्तक भई उभिएको छ

किनकि

उसले तयार पार्ने पुस्तिकामा

न त मेरो नाम छ न त मेरो समुदायको नै

००००००००००००००००

ए चित्रगुप्त !

यस लोकमा इन्टरनेटको व्यवस्था गर

अनि गूगल,फेसबूक, ट्विटरको आईडी बनाऊ

र खोज म,मेरो समुदायलाई

सक्छौ/मिल्छ भने राख तिम्रो पुस्तिकामा

तर

मैले आफ्नो संस्कार-चालचलनलाई मान्न पाउनु पर्छ

होशियार है !

यतिबेला मेरो समुदायहरु

बिच्किएका छन्,आक्रोशित छन्

तर नि:शस्त्र छन्

००००००००००००००००

श्रीमान !

म मरेपछि या मेरो समुदाय मरे पछि

हजुरको कठघरामा हाजिर हुने चलन छैन

मैले मान्ने कुलदेवताहरुले

तपाईको नाम र लोकको वर्णन गरेकै छैन

म यहाँ कसरि आईपुगें

कारण तपाईलाई स्पष्ट भैसक्यो होला

००००००००००००००००

म यहाँ आईपुग्दा

कागको हुलमा बकुल्ला बनेर आएको हुँ

बीच बाटोमा हजुरको बारेमा खुब सुनेर आएको छु

अब मलाई हजुरले फैसला गरेर

तपाईको समुदायहरुलाई जसरि

स्वर्ग या नर्क पठाउनु हुन्छ होला !

००००००००००००००००

श्रीमान !

म- तपाईहरु हुँदै होईन

तपाईहरु- म हुँदै होईन

यसर्थ,

अब मलाई कहाँ पठाउनु हुन्छ ?

तपाइँको प्रतिक्रिया