पेरिसवासी घनश्यामलाई ‘सुनको काँटा’ पुरस्कार

बिदेशमा एक नेपालीको सफलताको कथा” 

 

dscn1978

(‘सुनको काँटापुरस्कार उचाल्दै सबै भन्दा देब्रे घनश्याम पौडेल दाई र अन्य उनका सहकर्मीहरु)

बिदेशमा बस्ने नेपाली भाँडा माझ्छन् । कोइला खानीमा काम गर्छन् । सिप र पढाई हुन्न । तिनले अरुले छोडेको काम मात्रै पाउँछन् भन्नेआम विश्वास छ धेरैमा । तर पुराना ति विश्वासहरुलाई चुनौती दिने नेपालीहरु धमाधम निस्किरहेका छन् बिदेशमा । आफु बसेको देशका रैथाने वासिन्दालाईपनि उछिनेर आर्थिक र सामाजिक प्रगती गर्ने नेपालीपनि छन् भन्ने धेरैलाई जानकारी नहुन सक्छ । हो, त्यस्तै ब्यापारी र हैसियत कमाएका ब्यक्तिमा पर्छन् घनश्याम पौडेल ।

 

shree-ganesh-002

 

(यहि हो सुनको काँटापुरस्कार जुन उनको रेस्टुरेन्टको ढोकैमा झुण्ड्याईएको छ)

सानै रे लौ , उनी सफल ब्यापारी हुन् । पेरिसको स्तरिय वडामा र त्यो वडाकोपनि अझ स्तरिय ठाउँमा उनले सफलताका साथ भारतिय खानाको रेस्टुरेन्ट चलाईरहेका छन् भन्ने थाह त थियो नै । तर उनको व्यवसाय, सिप र क्षमता अन्तर्राष्ट्रिय पर्यटन तथा खानपिन कमिटीले दिने पुरस्कार नै हात पार्ने स्तरको होला भनेर त धेरैले अनुमान पनि गरेका थिएनन् ।

 

shree-ganesh-050

(यो चाहिँ अन्तर्राष्ट्रिय खानपान तथा पर्यटन कमिटीले दिएको प्रमाणपत्र)

उनमा टाईफाई छैन । हाट्टहुट्ट गर्न पनि जान्दैनन् । त्यो खोजि हिड्ने चाख र चासो अनि फूर्सदपनि छैन उनको । त्यहि भएर सन् २००४ मा उनले पाएको त्यत्रो पुरस्कार बारे अन्यत्र त के यहिँका नेपालीलेपनि चाल पाएनन् । भाई बसौं गफ सफ गरौंन” उनले यसो भनेको वर्ष दिनसम्म समय मिलाउन सकिएको थिएन । दशौं पटक कोसिस गर्दा गर्दा बल्ल तल्ल गत हप्ता उनका स्रिजनशिल हात, मेहनत र लगनशिलताले हात पारेको त्यहि पुरस्कार र उनको व्यवसाय नियाल्ने अवसर मिलाईयो

 

घरको चार किल्लाबाट बाहिर निस्किएर भला कुसारी थालेपछि धेरै कुरा हेर्न, जान्न, बुझ्न, सिक्न र सुन्न पाइन्छ । देख्दै हेर्दै र बोल्दै आईएकै हो यि दाईसित । तर अहँ यिनको बारेमा यति बिघ्न थाह थिएन ।

 

shree-ganesh-011

                  (बाहिरबाट हेर्दा यस्तो छ उनको श्री गणेश रेस्टुरेन्ट)

पन्ध्र सोह्र वर्षको लाठे हुन्जेल बाबु आमाको काखमा बसेर क्वाँ क्वाँ रुने समाजमा यि दाई बसेर के भो ? पश्चिम नेपालको स्याङ्जामा जन्मेका यिनी आफु चाहिँ जुँगाका रेखीले बाटो नखोज्दै बम्बैतिर हानिएका रहेछन् । १४ वर्षमै थाले काम गर्न । मेहनत, ईमान्दारिता, लगनशिलता, अडिग भएर आफ्नो ईलम नछोडे सफलता हात लाग्छ भन्ने अल्लारे हुँदै बुझेका रहेछन् यिनले । उनले त्यसलाई भुलेनन् । त्यो बिचारलाई अँठ्याउँदै हिँडेका उनी झण्डै २० वर्ष पहिले छिरेका रहेछन् यूरोप । त्यो बेलाको अल्लारे ठिटो । आफन्त त के नेपालीको अनुहार सिलो खोज्दै हिँड्दा बल्लतल्ल भेटिन्थ्यो । कम्ति हण्डर खाएनन् । छोरो भएर बरु चरेस खानु हरेस नखानु भन्ने उखान छ । यिनी परे उखान बनाउनेलाई पनि चुनौती दिने ज्याद्रो । उनले त त्यो दुबै खाएनन् । डटिरहे, खटिरहे । उनीमाथि जाईलाग्न आएको समस्याको थुप्रो बरु एक दिन आफैं झुक्यो ।

 

shree-ganesh-005

 

बम्बैमा बसेकाले उनको हिमचिम यहाँ आएपछिपनि भारतियसितै हुनु स्वभाविकै भयो । फाट्टफुट्ट फेला परेका नेपाली कहाँपनि उनी नपुगेका होइनन । तर कोहि ठस्किए त कोहि कोल्टे फर्किए । आफु भन्दा पहिल्यै आएर एकाध भोटा फटालिसकेकाको ब्यवहार निकट नलागेपछि मन कुँड्याउँदै तर्के । भारतियहरुसितै हेलमेल भए फेरि ।

 

shree-ganesh-051

         

                (घनश्याम दाई र यमूकला भाउजुको जोडी)

सधैं अर्काको काम के गर्ने ? चाहिने जति सिप बटुलेकै थिए । निर्णय गरे आफैंले सानो भएपनि रेस्टुरेन्ट खोल्ने । शान्त मानिस बस्ने । स्तरिय ठाउँ । सानो रेस्टुरेन्ट । पेरिसको महँगो र स्तरिय भनेर चिनिने वडा नं १७ मा फेला पर्‍यो । एकाध साथीभाई लिएर खुत्रु खुत्रु आफ्नै पाखुरी धसारौंला । आफ्नै गरौंला भन्दै हात हाले । बैंकले हत्त पत्त के ऋण दिने ? केका आधारमा दिने ? योजना त बनाए तर पाएनन् । जे पर्छ पर्छ भन्दै चारैतिर टक्टकाएर शुरु गरे नगदमै ।

 

shree-ganesh-026

 

(उनको रेस्टुरेन्टमा बन्ने एक खाले विशेष परिकार। मुख रसाउला जस्तो छैन त ?)

अहिले उनी संझन्छन्, त्यहि वर्ष कुवेतमाथि भएको आक्रमणमा फ्रान्सपनि संलग्न भएकाले यहाँको आर्थिक अवस्था बिग्रियो । अनि ब्यापार पनि घट्यो । रेस्टुरेन्ट खोलेको पहिलो छ महिना त यस्तरि चलेको थियो कि उनले आँखा झिम्लिक्क गर्न र शरिर यस्सो अड्याउनपनि भ्याएनन् । “त्यहि छ महिनाको कमाईले म धानिएँ । आच्छु आछु भैसकिएको थियो नी” संझिन्छन् ।

 

shree-ganesh-004

 

                                               (रेस्टुरेन्टको भित्रि रुप)

 

समयले धोका दिएन । चल्दै गयो । स्तरियतामा उनले कहिल्यै एक चिम्टीपनि तलमाथि पर्न नदिएको सुनाउँछन् । त्यसैको प्रतिफलले एक दिन उनलाई झसंगै बनायो। चिठि आयो-हाम्रो खानपान र पर्यटनको गुणस्तर हेर्ने अन्तर्राष्ट्रिय कमिटीले तपाईको रेस्टुरेन्टलाई पुरस्कार छनौटमा पारेको छ । ए बा ! के यि जासुस हुन् कि क्या हो ! मेरोमा के के पाइन्छ ? के के पाक्छ यिनलाई के थाह ? यिनी मेरोमा खोइ आका छैनन् क्यारे ! हामी फलानो हौं भनेनन् त । आफ्नै तालले कतै टाईफाई नगरि, खबर खाबर नगरि चलाको रेस्टुरेन्ट यिनले कसरि पत्ता लगाए हँ ।

 

shree-ganesh-003

 

(थरी थरीका देवताहरुले यसरि गोडा नचाउँदै पनि बसेका छन् उनको रेस्टुरेन्टमा)

संसार लाटो छ ? गोज्यांग्रे छ ? निगरानी गर्नेहरु उनले पत्तो नपाइकनै सुटुक्क आए । खाएर गए। तिनले छानबिन गरेका हजारौं रेस्टुरेन्ट मध्ये परेछ उनको श्री गणेश रेस्टुरेन्ट । हुरुरु कमिटीका मान्छे एक दिन आएर रेस्टुरेन्टमै पुरस्कार दिए । काम त न लुकाएर गरें भनेर लुक्दो रैछ न राम्रो काम गरेको कसैले देखेनन् भन्नु पर्ने रहेछ । हावाको छिद्रबाटपनि थाह हुने। पुरस्कारपनि एक वर्षलाई हो र ? सन् २००४ मा पाएको पुरस्कार सन् २००९ सम्मलाई रहेछ । त्यो बिचमा अरु कोहि छनौटनै नहुने । दंगदास परेका दाई पुरस्कार पाएको काँटा देखाउँदै भन्दै थिए “यो काँटा हाम्ले किन्ने हो भने त कति पर्छ पर्छ । पुरस्कार पाएको भएर पो यहाँ झुण्ड्याएको ।” पुरस्कारको नाम पनि फुर्सेत दोर् । अर्थात् सुनको काँटा । रेस्टुरेन्ट पस्ने ढोकैमा झुण्डिएको उनको त्यहि सुनको काँटापुरस्कार र प्रमाणपत्रले उनलाई आनन्द र सुखद अनुभूती त दिन्छ नै , भित्र पस्ने ग्राहकलाईपनि स्तरियताको भर । त्यसैमा यसो आँखा डुलाउँदै लुसुक्क छिर्छन् ति ।

 

shree-ganesh-014

 

(पर्यटकलाई फर्कौं फर्कौं लाग्ने गरि खाना बनाउने मुख्य देब्रेतिरका बंगलादेशका मुजिम र दाहिनेतिर सदाबहार हाँसो बोकेका बुटवलका मित्र नरेन्द्र)

आफुले हण्डर र ठक्कर खाईयो, त्यसैले आफ्ना कर्मचारीसित कर्मचारीसँग जस्तो नभएर साथी भाईको जस्तो हुन्छ रे उनको ब्यवहार । घनश्याम दाईले यो सुनाउँदै गर्दा उनको रेस्टुरेन्टका मुख्य भान्छे वंगलादेशका मुजिम “म त दश वर्ष भयो यहाँ काम गरेको” भन्दै थिए । वंगलादेशका ति नेपाली बोल्ने भैसकेछन् तिनै घनश्याम दाईको हिमचिमले ।

 

shree-ganesh-007

 

(तेत्तिसकोटी देवता भएका न पर्‍यौं हामी । हेर्नुस त घनश्याम दाईको रेस्टुरेन्टमा पनि कति हुन् देउता)

खोलेदेखि ब्यवसाय नचलेर लौन कसरि भाडा तिर्ने होलाभन्दै खासै पछाडी फर्केर उनले टाउको कन्याउनु परेको छैन । यो देशले आर्थिक समस्याका थुप्रै झड्का ब्यहोर्नु पर्दापनि उनलाई आफ्नो ब्यवसाय नचलेर पिरोलिनु नपरेको किन होला ? त्यसको जस आफु मात्रै लिँदैनन् उनी । उनलाई साथ दिने तिनै दशौं वर्षदेखिका मुजिम, हरेक काममा दौडिँदै साहस दिने उनैकी पत्नी यमूकला, कहिल्यै हाँसेर नथाक्ने बुटवलका नरेन्द्र अनि चङ्गाझैं यता र उती कुदिराख्ने राजीव भाई सबैको सामूहिक प्रयत्न हो भन्छन् उनी ।

 

shree-ganesh-039

(बा बा, खतरा छैन त दाईको मुस्कान ? खानाको स्वादले मात्रै होइन । उनको व्यवशाय यो मुस्कानले पनि तानेको छ है !)

त्यहि व्यवसायले उनलाई फ्रान्समा मान, सान र आर्थिक सबै राम्रैसँग जुरायो । अहिले उनीसित दुइ तिन वटै अपार्टमेन्ट छन् । सवारी साधन त यहाँ सामान्य नै भयो । ब्यापार छ । त्यो भन्दा बढि सिप र ज्ञानको पर्खाल ठडियो । “दाई अब त यतै जमियो हैन ? नेपाल त के”। यतै जमेको मान्छेलाई नेपाल अब खासै के मतलब र हैन ? भन्ने आशय के सुनाउँदै थिएँ म । यसो भन्दा उनले कस्सो झम्टिएनन् । आच्या, के भन्नु हुन्छ ? यो पाखुरा, यो बुद्दी, विवेक, यो सद्दे शरिर के यहाँ आएर बनाको हो र ? सबै नेपालले दिएको हो नी यार बिर्सिन हुन्छ यहाँ आएर पैसा अलि अलि कमाईयो भनेर ? अब जे गरिन्च लगानी सगानी नेपालमै गरिन्च केरे ” नमेटिइसकेको पश्चिमे लवजमा सुनाए उनले ।

 

 

तपाइँको प्रतिक्रिया