ज्ञानेन्द्रले कू गरेको बेला
● मिशेल जोलिभे
राजाले ‘कु’ गरेपछि उनको मुख्य आशय, दृष्टिकोण के हो भनेर खोजियो । हामीले राजनीतिक बन्दीहरूको सुरक्षाको निश्चितता गर्नुपर्थ्यो । मानवअधिकारकर्मीलाई समर्थन गर्नुपर्थ्यो । फ्रान्सेली समुदायलाई आफन्तसित सम्पर्कमा रहन सञ्चारको व्यवस्था गरिदिनुपर्थ्यो । सुरक्षाको जानकारी दुरुस्त पार्नुपर्थ्यो । रिपोर्टर्स विदआउट बोडर्सका नेपालस्थित प्रतिनिधिलाई खोज्नुपर्थ्यो । पर्यटकको सुरक्षाबारे विभागलाई आश्वस्त पार्नुपर्थ्यो ।
राजाले शक्ति लिएपछि देश राम्रोसित चलाउँछन् भनेर आश्वस्त पार्न खोजिन्थ्यो हामीलाई । सरकार बदलिइरहन्थ्यो । र, परराष्ट्रमन्त्री फेरिन्थ्यो । तिनले राजाको शासनकालमा देश राम्रोसित चल्छ । नागरिकले राहत पाउँछन् भन्थे । भनेर मात्रै के गर्नु ? तगडा बिरालो त त्यो हो जसले मुसा राम्रोसित समात्न सक्छ’ भनिदिएँ मैले ।
जनयुद्धकै बेला म विनाअवरोध घुमिरहन्थेँ । एकपटक शेर्पाहरूको मूलद्वार भनेर चिनिने लुक्लामा विमान कुरेर बसेको थिएँ । नेपाली पत्रकार आए । अकस्मात केही प्रश्न सोध्न थाले । त्यसबेला युरोपेली मिडियाले नेपालमा खतरा छ भनेर प्रचार गरेका थिए । तर, मैले आफू पूर्ण सुरक्षित रहेको बताएँ । ‘मेरै पाइला पछ्याउन फ्रान्सेली पर्यटकलाई सुझाव दिनुहुन्छ ?’ उनले सोधे ।
त्यहाँको एक मुख्य दैनिक पत्रिकाले मेरो जवाफ लेख्यो ‘यदि एउटा राजदूत पदयात्रामा सुरक्षितसाथ जान सक्छ भने अरू हरेक व्यक्ति जान सक्छ । नेपालमा पर्यटकलाई कुनै खतरा छैन’ यो कुरा ज्वालासरि फैलियो, खुब प्रचार–प्रसार भयो । टिभीले पनि मेरो फोटोसहित प्रसारण गरे । मैले सम्मेलन नै आयोजना गरेर अन्तर्वार्ता दिए“ । सय वटाजति वेबसाइटले त्यो प्रचार गरे । त्यसबेला मैले नौ दिनको छुट्टी लिएको थिएँ । यसरी म सबैतिर प्रचारित भएँ ।
राजाले शक्ति हत्याएपछि मुख्र्याइँबाहेक केही गरेनन् । माओवादी र अन्य दलले गोप्य बैठक गरे । काठमाडौंमा भयानक आन्दोलन सुरु भयो । राजधानीका सडक आन्दोलनकारीले सुरक्षाकर्मीलाई हानेका इँटा र ढुंगाले भरिए । प्रहरीविरुद्ध मानिस सडकमा ताँती लागे । संकटकाल घोषणा गर्दा पनि मानिस बाहिर निस्किए । मानिसले ढुंगा र इँटा हानेर छपक्कै बनाए । अन्तिम द्वन्द्वको अवस्था सिर्जना भएजस्तो देखियो काठमाडौंमा । तर, सामान्य नागरिक जसरी मलाई काठमाडौंमा ओहोर–दोहोर गर्न रोकिएन ।
माओवादी शान्तिवार्तामा आउने चर्चा चल्यो । म आफैँ माओवादी सर्वोच्च नेतासित भेट्न चाहन्थेँ । तर, पेरिसस्थित परराष्ट्र मन्त्रालयका मेरा हाकिम त्यो चाहँदैनथे । एसियाली क्षेत्र हेर्ने, निर्देशन दिने र नीति बनाउने पेरिसमा अलग्गै विभाग थियो । त्यसको निर्देशन आयो, होइन माओवादी सर्वोच्च नेतालाई भेट्नु पर्दैन । मेरो विभागको माथिल्लो तहका अधिकारीलाई एसियामा के भइरहेको छ भन्ने वास्तविकताको जानकारी पटक्कै थिएन । उनीहरु युरोपेली परिषद्को कार्यालय ब्रसेल्सको निर्देशनमा निर्णय गर्थे । युरोपेली परिषद्ले नभेट्न निर्देशन दिन्थ्यो । तर, मैले प्रचण्डलाई भेट्ने प्रस्ताव गरिरहेँ । आफ्नो माग गरिरहेँ, अडान लिइरहेँ र अन्ततः स्वीकृति लिएरै छाडेँ । पेरिसबाट स्वीकृति त पाएँ । तर, यसो गर्नुहुने, यसो गर्नु नहुने भन्ने केही शर्तसहित ।
अब प्रचण्डलाई कसरी भेट्ने ? गुरिल्लाहरू काठमाडौं उपत्यका छिरिसकेका थिए । मसित उनको सम्पर्कमा पुग्ने सूत्र र माध्यम प्रशस्तै थिए । करिब २४ घन्टाको अन्तरालमा प्रचण्डसित भेट्ने आधार बन्यो, सम्पर्क भयो । भेटघाटको समय तोकियो ।
प्रचण्ड राजधानी भित्रिसकेको खबर आयो । म र मेरो सहायक काठमाडौंबाहिरको जंगल क्षेत्रनजिक गएर कुर्यौँ । एक जना गाइडले लिन आए । उनले काठमाडौंको एकदम जनघनत्व भएको क्षेत्रमा लिएर गए । हामी त्यहाँ पुग्दा त प्रचण्डले सबैथोक आयोजना गरेका, तारतम्य मिलाइसकेका रहेछन् । जता मोडिँदा पनि यता जानुस्, उता जानुस्, अब यहाँबाट यसरी जाने हो भनेर देखाउनेहरू ठाउँठाउँमै थिए ।
उनीहरूले एउटा होटेल छाने भेटघाट र छलफलका लागि । चारैतिर माओवादी सेनाले पहरा दिए । त्यहाँ नेपाली सेनाले आक्रमण गर्न सक्दैनथ्यो । आक्रमण गर्न लागेमा प्रतिकार गर्न सक्ने ठाउँ रोजेका थिए र त्यसका लागि गुरिल्लालाई तम्तयार राखिएको थियो । नेपाली सेनाले हेलिकोप्टरबाट आएर आक्रमण गर्न पनि त्यहाँ हेलिप्याड थिएन । जमिन र आकाश कतैबाट आक्रमण गर्न नसक्ने ठाउँ रोजेका थिए ।
त्यो पुरानो घर, जसलाई होटल बनाइएको थियो । करिब ५० जना महिला र पुरुष गुरिल्ला थिए । हातहतियार र तालिमले सुसज्जित । शरीर हेर्दै थाहा हुन्थ्यो कि ती शारीरिक रूपमा तगडा र तन्दुरुस्त छन् ।
रेस्टुरेन्टको सिँढीबाट भित्र छिर्दा केहि सैनिकले त टेबलटिनिस (पिङपोङ)खेल्दै बसेका थिए । एक मिनेट पर्खिएपछि नै म असाध्यै खुशि भएँ । मानसिक र सबै किसिमले । प्रचण्ड माओवादीका अर्का दोस्रा नेता डा बाबुराम भट्टराईको साथ लागेर हामीतिर नजिकिए । उनी बिभिन्न कुरामा ब्यस्त भए जस्तो देखिन्थे । तर असाध्यै सजिला, रसिला, दयालु र मित्रवत जस्तो देखिन्ते । हाम्र अगाडि उनी कूटनितिक भाषा, शैली र प्रस्तुतिमा प्रस्तुत हुनुपर्ने । तर थिएन । सानो पेट पुट्ट उठेका, दयालु लाग्ने, कपाल काटेका प्रचण्डले जे भन्नुपर्ने हो हाकाहाकि भने । त्यहि त्यसरिनै प्रस्तुत भए ।
कपाल चट्ट काटेको । जुँगा स्टालिनको जस्तो । अलि उज्यालो खालको खैरो रङ (ग्रि फँसे) को सर्ट लगाएका । भियतनामी सिद्धान्तवादीले जसरी घन्टौँ बोल्थे । डेढ घन्टासम्म हामीले नरोकिईकनै छलफल गर्यौँ । मैले पनि कूटनीतिक भाषा र शैली (लाङ दु ब्वा) प्रयोग गरिनँ । नढाँटीकनै जे–जे भन्न मन लागेको थियो त्यो भनेँ ।
प्रचण्ड वास्तविक कुरा भन्थे । तर, सतर्कतापूर्वक । मैले उनीहरूसित वार्ता गरेर असहमति जनाउँदा वा केही भन्दा प्रचण्ड तर भन्दै आफ्नो तर्क अगाडि सार्थे र मार्क्सवादी धारणा घुसाइहाल्थे । प्रचण्डमा भावना पनि थियो । मैले भनेँ, ‘मकालु हिमाल जाँदा हाम्रो नागरिक दुईवटा अनाथ बच्चासहितकी मेडम लाफाईसित तपार्इंका गुरिल्लाले सय डलर कर मागे, त्यो त सामान्य र उचित होइन नि !’ प्रचण्डले मेरो कुरा राम्रोसित सुने, आँखीभौँ उचाल्दै । भोलिपल्ट कसैको हातमा सय डलर नगदमै फिर्ता पठाए ।
दरबारमा ज्ञानेन्द्रलाई एक्लै छाडेर सबै दल एक ठाउँ सहमतिमा आए । राजनीतिक समाधानका लागि । उनी दरबारभित्र कम्प्युटरमा समय काट्थे । अनलाइन खेल खेलेर समय बिताउँथे ।
एक पटक चार जना युवा फ्रान्सेली हिमालमा बेपत्ता भए । खबर आएपछि दुई दिनसम्म एउटा हिमालमा उद्धार गर्न खटियो हेलिकोप्टर । तर, तिनको अर्कै हिमालमा मृत्यु भएछ । तिनले आरोहणको इजाजत सानो हिमालका लागि लिएका र कम खर्चिलो प्रवेशाज्ञा किनेका थिए । तर, अनुमति लिएको हिमालको छिमेकको अर्को हिमाल चढे जुन बढी उचाइको थियो । ती केही दिनदेखि हिम पहिरोमा मृतावस्थामा थिए ।
त्यस घटनाले फ्रान्समा धेरै संवेदना पैदा गर्यो । मृतकका केही आफन्तलाई अझै जीवित छन् कि भन्ने आशा थियो । मृतकनिकट केहीले रक्षामन्त्री मिसेल आरियो मारीका कान फुके । त्यो बेला यु एम पी पार्टी (हालको मुख्य प्रतिपक्षी पार्टी) का तर्फबाट निकोला सार्कोजी राष्ट्रपतीय निर्वाचनका लागि प्रतिस्पर्धामा थिए (सन् २००७ मा निकोला सार्कोजीले टिकट पाए र उनी राष्ट्रपति बने) । फ्रान्समा चिनिएका, प्रसिद्ध गाइड, आरोहण विशेषज्ञ, स्पोट्र्स मन्त्रीलगायत राजदूतले समेत तिनलाई खोजी गर्न अब जरुरी छैन । आवश्यक उद्धार र खोजी गरिसकिएको छ भन्दाभन्दै मानेनन् । उद्धार कार्यमा खटिने केही कुकुर, उच्च हिमाली क्षेत्रमा उद्धार गर्ने केही उद्धारकर्ता, उद्धार सामग्री र टेलिभिजन पत्रकारको एक टोलीसहित उद्धारका लागि भनेर एउटा छुट्टै विशेष विमान पठाए । जुन अनावश्यक थियो । जबकि उनले त्यो विमान पठाउँदा ती आरोहीको मृत्यु भइसकेको थियो । त्यो आफू लोकप्रिय हुन मात्रै थियो । त्यसरी विमान पठाउन फ्रान्सलाई त्यहाँ खटिने कर्मचारीको तलबविनै पाँच लाख युरो खर्च लाग्यो । त्यो बेला फ्रान्सको छवि देखेर म दिक्क भएँ । मलाई धोकाजस्तो लाग्यो ।
दूतावासको काम त्यत्तिमै सीमित थिएन । कुनै पनि देशमा राजदूतावासले गर्ने विशेष काम अन्य पनि हुन्छन् । त्यसमध्ये हरेक वर्ष लागुऔषधका फ्रान्सेली अम्मलीहरूको पनि हो । शमा दे काठमाडौं (काठमाडौं स्वर्ग हो भन्दै स्वच्छन्दता र गाँजा भाङ खान जाने स्वतन्त्रवादी फ्रान्सेलीबारे लेखिएको पुस्तक । यस्ता अम्मलीलाई अझै पनि ‘समा दे कातमाँदु’ अर्थात् ‘काठमाडौं मार्ग’ भन्ने चलन छ) का करिब ६÷७ जना अम्मली हुन्थे हरेक वर्ष । ती काठमाडौंमा बस्छन् स्वच्छन्दतापूर्वक । कोही जेल परेर बाहिर निस्किन्छन् तर पैसो हुन्न साथमा । अन्ततः तीसित खाने, बस्ने केही हुन्न र आपत परेपछि दूतावासको शरणमा सहयोगको याचना गर्दै आउँछन् । ती बिरामी हुन्छन् कहिलेकाहीँ । तिनलाई अस्पताल लैजानुपर्छ । लागुऔषध नदिएर शान्त बनाउने औषधि दिनुपर्छ । यो पनि दूतावासकै काममा पर्थ्यो ।
(मिसेल जोलिभे नेपालका निम्ति राजदूत थिए, फ्रान्सका तर्फबाट । माओवादी शान्ति वार्ताको मेलोमेसो चल्दै गर्दा पश्चिमेली राजदूतमध्ये सबैभन्दा पहिले प्रचण्ड र बाबुरामलाई जनआस्था सम्पादक किशोर श्रेष्ठमार्फत भक्तपुरमा भेट्ने पहिलो उच्च कूटनीतिज्ञका रूपमा उनलाई चिनिन्छ । पश्चिमेली परराष्ट्र मन्त्रालयबाट नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न सूचना जारी भइरहेका बेला पहाडी र तराई क्षेत्र विनाकुनै अवरोध घुमेर सुरक्षा छ, घुम्न सकिन्छ भनी सन्देश दिने जोलिभे सबैतिर निकै चर्चामा थिए । त्यसबेला उनको क्रियाकलापलाई स्वयं फ्रान्सको परराष्ट्र मन्त्रालयले समेत आलोचना गरेको हालै प्रकाशित पुस्तक ‘आँ नाम्वासाद स रबिफ (एक राजदूत विद्रोह गर्छन्) बाट बुझिन्छ । बुरुन्डी, न्युजिल्यान्ड, कम्बोडिया, ब्राजिललगायत दर्जनौं मुलुकमा कूटनीतिज्ञ भएर गएका उनले पुस्तकमा ३६ पेज नेपालबारे खर्चेका छन् । आफ्नो सबैभन्दा रमाइलो र सम्झनायोग्य क्षण नेपालमा बिताएको उल्लेख गरेका छन् । यो अंश त्यसैको दोस्रो भाग हो ।) (२०७० जेठ १४ गते बुधवारको जन आस्था साप्ताहिकमा प्रकाशित)
–ददि सापकोटा




