कथा : म पनि दोषी हुँ
● गौतम “उदय” / हवाई, अमेरिका
आफ्नै कक्षा कोठाबाट कहिले गाडीमा र कहिले फुच्चे जहाजमा हुलकाहुल गोरेहरु आएको देखिरहँदा उडेको अन्जनको मन यस पटक त झन भट्टाई कान्छाको छोरा धनेले साँच्चै उडाएर अमेरिकाको मेरील्याण नै पुर्याइदियो । नउडोस पनि कसरी ? आफ्नो टोल छिमेकका अधिकतर घरबाट कोही न कोही, कुनै न कुनै तरिकाले, कतै न कतै गैसकेको छ । बाँकी छन् त कैंयौं यत्न गर्दा पनि सफल नभई अझै कतै कोशिस गरिरहेकाहरु, र अन्जन लगायतका केही फाट्टफुट्ट घर । अब त नचाहेर पनि कतै न कतै नगई नहुने भैसकेको छ बाँकी युवाहरुलाई नत्र हुतिहाराको पगरी गुथ्नु पर्छ, समाजमा मुख देखाउन लाज हुन्छ ।
श्रीमतीलाई डिभी परेर दश बर्ष अगाडि नै अमेरिका बसाइ सरेको धनराज अहिले त उहीँको नागरिक “मिस्टर ड्यान” भैसकेको छ । नेपाल आउँदा पनि अमेरिकन राहदानी प्रयोग गरेर आउँछ रे ! खतरा खतरा कम्प्युटर, क्यामरा र अनेकथरी चीज बोकेर आउँछ । बाउआमालाई समेत अमेरिका घुमाउन लागिसक्यो | बुढाबुढीलाई दुईतले पक्की घर पनि बनाइदिएको छ | बेग्लै देखिन्छ उसको फूर्तिफार्ती ।
विडम्बनीय कुरा त खासै नछिपाउँदा पनि अति नै छिपेको यथार्थता र कतै पहरोमा टल्केको नागमणि न हो । भोग्नेले सितिमिति नबताउने र सुन्नेले जति सुने पनि आफै जाकिएरमात्र हो रहेछ भन्ने भेंडे प्रवृति बनिसकेको हाम्रो परम्परा । खाना खान निम्त्याइएको धनेले कसरी काममा जाने, के काम गर्ने, कहाँ बस्ने जस्ता अन्जनका सबै प्रश्नको उत्तर फटाफट दिन्छ । “ तिमी त कस्तो भाग्यमानी, अन्जनलाई पनि केही गर बाबु,” कान्छी भट्टाईनीले मुख फोर्छिन् | बिचरीलाई के थाहा विदेशमा बस्नेहरुका पनि धेरै बिबसता हुन्छन भन्ने । अनि कसरी भन्न सकोस धनेले हुँदैन र सक्दिन भनेर ।
पटकैपिच्छे नेपाल आउँदा उसले पाउने लन्च डिनरका निम्ताहरु नयाँ भैरहन्छन् । अघिल्लो पटककाले बोलाउँदैनन । तर कोही न कोही नयाँ प्रायोजक बनिहाल्छन् । प्रायोजकहरु आफ्नो भागै खोसिएलाझैं गरी एक-अर्कासँग चुहाउँदैनन् आफ्ना मनका भित्री गुह्य ।।तर सबैको एउटै साझा हुन्छ गुह्य “ हाम्रो फलानोलाई पनि अमेरिका लैजानु पर्यो” । धर्म संकट छ बिचरा धनेलाई पनि । नेपाल नआओस आउन मन लाग्छ, बाबुआमा भेट्न मन लाग्छ । बोलाएको ठाउँमा नजान नमिल्ने, जाँदा मन खिन्न र ठुलो ग्लानीमात्र हुने ।
“झन् गाह्रो र कडाकडा हुँदै आएको छ, तर कुनै चान्स आए म सहयोग गरिहाल्छु नि फुपू ……. ! “ धनेले बोली नसक्दै कान्छी भट्टाईनीले थपिन “बाबुले चाहेमा नहुने के छ र ?” उनको बबुरो मनले सिधै भनिरहेको छ ‘धनेले फलानोलाई ल्याउन चाहन्छु भनेमा अमेरिकी सरकारले नाइनास्ती गर्न सक्दैन । अमेरीका छिर्न पाए मेरो छोराले पनि बुटाबुटा चाहारी हरिया डलर टिप्न सक्छ । हाम्रो पनि सके ठुलो नत्र भट्टाईको जस्तो पक्की घर बन्छ । ढिलो चाँडो हामीहरु पनि भट्टाईहरुझैं घुमेर आउन पाउने छौं ।’
तर विदेशभित्रको मर्म या त धनेलाई थाहा छ या त ऊ जस्तै अरुलाई । अन्जलीको बलियो पुर्पुरोले भिजाको कुनै टन्टो नपरे पनि खानसम्म खाएका अरु हण्डर घुम्दैछन उसको मानस्पटलमा अहिले पनि फनफनी । जहाजमा चढेर गन्तव्यसम्म पुग्न त के ठुलो कुरा भयो र, बुढाबुढी, नाबालक पनि त पुगेकै छन् । चाहेर पनि छुट्ने सम्भावना कहाँ हुन्छ र अन्तरास्ट्रिय उडानहरुमा । त्यसो हुने भए त विदेश जान चाहनेहरु सबै अफ्रिकाको टिकट काटेर हंगकंग, सिंगापुर, युरोप मै झर्थे होला नी ! ऊ पनि सजिलै पुग्यो अमेरिका । अनि बल्ल सुरु भए उसको सपनाको संसारका एकपछि अर्का उपयात्राहरु ।
डिभी परिसकेपछि पनि झन अमेरिकामा जिम्मा लिने कोही हुनु पर्ने । जागिरको आफै व्यवस्था गर्नु पर्ने लगायतका कुराहरु । धनेले अलिअलि नाता पर्ने वासु अंकललाई बनाएको थियो जिम्मा लिने व्यक्ति । सबै कुरा जिम्मा लिनेखाले नै थिए यी पनि । एयरपोर्टसम्म लिन पनि आए । आफ्नै अपार्टमेन्टमा लगेर पनि राखे झन्डै ३ महिनासम्म । अनि लगेको नगद र ट्राभल चेक पनि थन्क्याईदिए । तर आफ्नै खातामा । यिनको पनि ठुलै समस्या थियो । भिजा लागेपछि १२ लाख दिने शर्तमा कुनै कम्पनीको मार्केटिंग अफिसर भै ब्यापार प्रबर्धनमा जाने गरी कागजात तयार पारिदिएको थियो कुनै दलालले । चम्बु नै थिए यिनी । अन्तरबार्ता पनि राम्रै भए होला । यिनको पासपोर्टमा भिजा ठोकियो । चम्बुलाल त दलालले सुइँको नपाउने गरी बुढी लिएर हानिए अमेरिका र बिनाभिजा बसिदिए उतै ।
यता दलालले परिवारलाई अर्ध-बन्धक बनायो पैसाको लागी । शुरुमा वास्तविकता नै बताई २-४ जनासँग सापट गरी दलालको पैसा तिरे । पछिपछि त जोसँग पनि सापट लिँदै पैसा नेपाल छिराउँदै गर्ने थाले । समातिएर जानु परे कसैको पैसा तिर्नु पर्दैन भनेर होला सायद ।
वासुले आफू रेस्टुरेन्टको म्यानेजर भएको कुरा बताएकको थियो, हो रहेछ पनि । धनेहरु आएको एक महिना भैसकेको थियो । हरेक दिन बिहान ७ बजे काममा गई राती १२ बजे फर्किन्थे वासु अंकल । उनकी श्रीमती निर्मलाको डे केयर सेन्टरको काम पनि बिहानै सुरु हुँदो रहेछ । सबै बच्चाका अबिभाबक कामबाट आई बच्चा लैजाँदा राती नौ जति बज्दोरहेछ । बुझ्दै जाँदा आफ्नै घरमा डे केयर संचालन गरेको इन्डियनले घरको काम पनि सबै उनैलाई नै लादाउँदो रहेछ । अपार्टमेन्टमा आउने बित्तिकै सधै सुत्थिन बिचरी एक घण्टा जति त । निर्मलाको आइतबारको दिन सरसफाई र किनमेलमै बित्थ्यो । धनेहरु कहीं जाने भनेको उनीसँगै पसलसम्ममात्रै भैरहेको थियो । बस्दाबस्दा वाक्कविक्क भैसकेका धनेका श्रीमान श्रीमतीले कुनै आइतबार निर्मलालाई वासुको रेस्टुरेन्टमा लैजान कर गरे ।
“सबवे स्याण्डवीच” लेखेको टिलिली टल्केको क्यामरै क्यामरा जडान भएको । तर सानो कुचुक्कको २-३ जनालेमात्र काम गर्ने फास्ट फूड रेस्टुरेन्ट रहेछ त्यो । त्यहाँ पुग्दा वासुले हतारहतार फोहोरको बडेमानको पोको बोकेर कन्टेनरमा फाल्न गएको र एप्रन बाँधेर पोचा दलेको देखेर छाँगाबाट खसेजस्तो भयो धने । धनेको मनमा त थियो, अमेरिकाजस्तो देशमा सानै रेस्टुरेन्ट भए पनि अन्नपूर्ण होटेलको जस्तै होला । त्यस्तो नभए पनि कम्तिमा नाङ्लो जस्तो त होला भन्ने । पोचा लाउँदा लाउँदै केही मिनेटमात्र ठाठाडै २-४ कुरा गरेपछि “म बिजी छु भरेभोलि कुरा गरौंला, अहिले घर जानुस्” भनी स्वाँइस्वाँइती भाँडाका डङ्गुर धस्काउन थाल्यो वासुले फेरि ।
श्रमिकबाट अधिकतम काम कसरी लिन सकिन्छ भनी थुप्रै अनुसन्धानहरु गरी यति काम, यति जनाले, यस प्रकार गर्दा भ्याउँछ भनेर त्यही अनुसार कामदार राखिएको हुन्छ पुजीबादी समाजमा । कामदारले काम ठग्ने कुनै अवसर हुँदैन । निर्धारित काम निर्धारित समयमा सक्यो भने ठगेन सकेन भने ठग्यो । त्यतिकै थाहा हुन्छ । कसरी कुरा गरोस त धनेहरुसंग वासुले काम ठग बन्न । झन्डै उत्ती पैसामा ज्यान फालेर काम गर्नेलाई नै म्यानेजर भनिन्छ यहाँ । योग्यताले बन्ने होइन । आफ्नो पर्ने म्यानेजको त्यो हाल देखेर लाजले धनेलाई पनि एक मिनेट मन थिएन त्यहाँ बस्न ।
अर्को २ हप्तापछि” अंकललाई कति दुख दिने, हामीलाई पनि कतै कोठा पनि काम पनि खोज्नपर्यो । आएको पनि डेड महिना भैसक्यो” भनेर आफैले मुख फोर्यो एकदिन राति धनेले । सिंगल अपार्टमेन्टमा ४ वोटा पृष्ठभूमिका दुई परिवार त्यसरी बसिराख्न सबैलाई असजिलो भैरहेको थियो । सकस पार्यो यो कुराले । धनेहरु सर्दा चलाइदिएको पैसा फिर्ता दिनुपर्ने अनि आफ्नो सर्कलमा मान्छे राख्न नसकेका वासुले उनीहरुको कामको भनसुन कसलाई गर्ने । तर ठ्याक्क उपाय जन्मियो । त्यही रेस्टुरेन्टमा कसैले काम छाडी फिटिफिटि परेको त्यो बेला इन्डियन मालिकलाई सोधी त्यहीं तालिममा बोलाउने ।
स्याण्डवीच बनाउने, पोचा दल्ने, भाँडा धस्काउने, ट्वाइलेट टल्काउने तर तलब नपाउने तालिम महिनाभरि नै चल्यो धनेको । काम लगभग पुरै जान्यो । तर अब तलबमा काम दिने बेलामा अर्कै अनुभबीलाई राख्यो मालिकले । उसको तर्फबाट यो कुरा ठिकै पनि थियो किनकि वैध कामदारलाई काम दिंदा सबै अभिलेख राख्नु पर्ने, कर काट्नु पर्ने, अनि कानुनले तोके अनुसार ज्याला र सुबिधा पनि दिनु पर्ने भएकोले अनुभाबिलाई किन नछान्ने । छाप नहुनेलाई राख्दा पो तालिम पुगेको छैन भन्दै महिनौं बिनाज्याला जोताउन पाइने । त्यसपछि पनि आधा तलबमा जेसुकै काममा पनि दलाउन पाइने वासुलाई जस्तै । वैध कामदारले अन्यायको बिरुद्ध श्रम विभागमा उजुरी गरे मालिकबाट संपूर्ण क्षतिपूर्ति भराई पाउँछ । तर अवैधले उजुरी गरे आफै फस्छ । त्यसैले अमेरिकाभरिमा धेरैजस्तो यस्ता रेस्टुरेन्टका मालिक बनेका इन्डियन र पाकिस्त्तानीहरुले श्रम अनुमति नहुनेलाई नै रोज्छन् ।
काम त पाएन त्यहाँ धनेले । तर यो रेस्टुरेन्टले उसलाई ठुलो गुन लाएको ठान्छ उसले अझसम्म पनि । स्याण्डवीच बनाउन मात्र सिकाएन उसलाई यो रेस्टुरेन्टले, काम सनोठुलो हुँदैन भन्ने कुरा सिकायो । आफ्नै दाजुभाई दिदीबहिनीको बिबसतामा फाइदा लुट्ने नेपाली पनि हुन्छन रे भन्ने सुनेको कुरा छर्लंग बुझायो । जीवनमा संघर्ष कसरी गर्ने भन्ने कुरा सिकायो । अनि थुप्रैथुप्रै यस्तै कुरा । बिस्तारै उसको नेटवर्क बनी स्थापित हुनु पहिले कति कन्भिनियन्ट स्टोर, कति मिनीमार्ट, कति ग्यासटेशनमा बिनाज्याला दलिन पर्यो, कति हण्डरठक्कर खानु पर्यो उसको मनलाईमात्र थाहा छ, अनि अलिअलि उसकी अर्धांगिनीलाई |
कान्छी भट्टाइनीको घरबाट डिनर खाई फर्केपछि एकदम सोंचमा पर्छ धने । छ न त अहिले उसको कार छ, जागिर छ, घर छ, बैंक जम्मा पनि छ । तर मनमा गौरब छैन, शान्ति छैन, चैन छैन । आफैले आफैलाई दोषी ठहर्याई रहेको छ । दोषी हो पनि । अन्तर आत्मालाई साक्षी राखेर नढाँटी भन्ने हो भने कसको मन र अनुहारमा नूर रहिरहन सक्छ र आफ्नो मन, आफ्नो पन, आफ्नो संस्कार, आफ्नो रितिरिवाज, आफ्नो माटो, आफूले पहिले पाएको पन्चप्राण र आफूलाई तन्ग्राएको पन्चतत्वसंग गरिएको भौतिक सौदाबाजीमा ।
यस्तैयस्तै कुराले उसको मन भुटभुटिंदै गर्दा राती १० बजेको समाचार आयो । रेडियोले फुक्दै गयो दैनिक १,५०० युवाले देशको सीमा काटिरहेको, सरदर दिनमा ३ वोटा लास नेपाल आईरहेको आदिआदी । आईफोन निकाल्यो र क्यालकुलेटरमा हिसाब गर्यो । करिब ३ करोड जनसंख्याको ४० प्रतिशत जति युवा भएको देशमा विदेशिइसकेका ३० लाख घटाउँदा बाँकी रहेका युवा १६ बर्ष जातिमा पलायन भैसकेपछिको मातृभूमिको हालत सम्झ्यो । अत्यधिक बिचलित भयो मानसिक रुपले र लामो सास फेर्यो । त्यति बेलाको देशको नक्सा दिमागमा कोर्दै गर्दा समाचार सकिएर रेडियोमा गीत बज्न थाल्यो ।
कता फर्क्यौं हामी, कहाँ बन्यो गन्तब्य हाम्रो
नक्सा कस्तो बन्ला भोलि, यो रीतिले देशको हाम्रो ।
कसले खान्ला बाटोघाटो, कसले सोहोरला कुलोकुलेशो
कसरी चल्ला ऐचोपैंचो, कसरी फुक्ला अड्कोपड्को
कस्तो होला चित्र गाउँको, एउटै हाम्रा तन्नेरी बिनाको
लर्को लागी पलायन भइरहे, सबै बलिष्ठ पाखुरा देशको ।
कसले चलाउला घाट मलामी, कसले स्याहारला बृधहरु
कसरी चल्लान कर्म काण्ड, कसरी जुट्लान बरबधू
जगेर्नाबिना के हाल होला, हाम्रा कला र संस्कृतिको
नियति यस्तै रहिरहे, के हाल होला यो हाम्रो देशको ।
———————————–
गोली लागे जस्तै बनायो उसलाई गीतले । आफ्नै मातृभूमिको सीमा कटेरै जान मन लाग्ने अथवा जान बाध्य पार्ने यो दिमागमा लाग्ने सन्निपातज्वर कहाँबाट कहिलेदेखि सर्यो हामी नेपालीमा । अनि कसरी महामारीकोको रुपमा फैलियो। मेची महाकाली र हिमाल तराईसम्म बुझ्ने कोशिस गर्दै जाँदा आफ्नै क्यामरा, कम्पुटर, कार, घर, बैंक खाता, नयाँ नागरिकता, आफ्नै तडकभडक, सबैमा दोष भेटायो ।
उसको विवेक उसैसँग बोल्यो फेरि । आखिर नेपालमा जस्तो औकात देखाउन त होइन अमेरिकामा कार किन्ने । कार नभै काममा नपुगिने । जीवनयापन नचल्ने भएर न हो । एक हजार डलरमा रामै अवस्थाको कार पाइने ठाउँमा के ठुलो कुरा भयो र कार किन्न । नेपालमा जस्तो पुरै नगद हालेर किन्नु पर्ने होइन कार । घर अमेरिकामा । आफू वैध हुनु पनि पर्दैन प्रपर्टी किन्न त्यहाँ । ५-१० प्रतिशत जति आफ्नो लगानी गर्न चाहने प्राय सबैले पाइहाल्छ बैंकबाट ५ बर्षे कारको र ३० बर्षे घरको ऋण। काम गरेपछि जसले पनि कमाउँछ कम्तिमा महिनाको २,००० डलर । महिनाको करिब ४०० ले कारको र १,००० ले घरको लोनको किस्ता तिर्न पुग्छ । बैंकिंग सिस्टम चुस्त छ, किस्ता तिर्न २ महिना कटाउने बित्तिकै कर्जामा लिएको बस्तु सबै बैंकले लिन्छ अनि मान्छे बाध्य भएर सबै कुरा छाडेर काममामात्र लाग्छ, पैसापछि मात्र दौडन्छ | पुजिबादले पूंजी देशबाहिर जान नदिन गरेको प्रपन्च, र ३० बर्षसम्मको व्यक्तिको कमाई अहिले नै तमसुक गरेर लिएको कुरा बुझ्दैन मान्छेले । जति सोंच्दै गयो आफूलाई झनै दोषी भएको पाउँदै गयो ।
आफू जस्तै अरुअरुका कुरा पनि सम्झ्यो धनेले । ऊ विदेश लाग्नु भन्दा पहिले पनि धेरैलाई सोधेको थियो उसले “ विदेश किन जाने ?” भनेर, र सोधेजति सबैबाट एउटै उत्तर पाएको थियो “बच्चाको उज्वल भविष्यको लागी” भन्ने । “अमेरिका नेपाल सोसाइटी” को सचिब भैसकेको उसले धेरै नै नेपालीलाई चिनेको थियो । गन्न थाल्यो उसले चिनेका नेपाली डाक्टर, इन्जिनियर, बैज्ञानिक, तर उसका हातका औंला पनि भरिन सकेनन् । सबवे, बर्गर किंग, ग्यास स्टेशन, मिनिमार्ट, कन्भिनियन्ट स्टोर, कस्टमर सर्भिसमा मात्रै भेट्यो हुलका हुल । यही हो त आफ्नो अस्तित्वसँग साटेर पाएको बच्चाको भबिष्य भनेको ? जिल पर्यो ।
त्यो रातभरि नै निद्रा परेन उसलाई । इतिहासमा फर्क्यो, बर्तमानमा अड्क्यो, भविष्यमा फड्क्यो । अर्कै देशका मान्छे अएर कुनै देश बनाइदिएको कतै भेटेन इतिहासमा । बरु जापान अविकसित अवस्थामा हुँदा थुप्रै जापानिजहरु दक्षिण अमेरिकाका बिभिन्न देशमा गएको र अहिले जापान बिकसित भैसकेपछि तिनै व्यक्तिका सन्तति फर्केर आउन खोज्दा दुखको बेलामा मातृभूमिलाई धोका दिएको, देश निर्माणमा उनीहरुको पसिना नपरेको भन्दै उनीहरु प्रति हेर्ने दृष्टिकोण नकारात्मक रहेको र फर्केर आउन नपाएको कुरा पायो ।
बर्तमानमा आफैले अमेरिकन पासपोर्ट बोकेर हिंड्दाका कुराहरु पनि सम्झ्यो । पासपोर्ट अमेरिकन भएर के गर्ने ? अनुहार त नेपाली नै छ । नेपाली अनुहारले अमेरीकन पासपोर्ट बोकेर हिंड्दा चोरेरै ल्याएजस्तो गरी झन् बढी केरकारमा आफू पनि परेको कुरा सम्झ्यो । बुझ्यो बल्ल नेपाली अमेरिकनको अर्थ दोश्रो दर्जाको नागरिक भन्ने प्रष्टसंग । आफूले पनि आफ्नो देश दुखमा भएको बेला छाडेर गएको र आफ्ना सन्ततिलाई उज्वल भबिष्य दिएको नभई माटोको अधिकारबाट नै बन्चित गरेको महसुस गरी भक्कानियो ।
आफू जस्तै अरु कोको दोषी छ त भनी लेखाजोखा गर्दै जाँदा देशमा अवसर सृजना गर्नेतर्फ सोंच्नु भन्दा बिदेशिन मिल्ने बाटो खोलिदिनेहरु, विप्रेषणबाट तलब खानेहरु, सिप सिकाउनुको सट्टा सिधान्त घोकाउनेहरु, देशको सिमाना कट्न दाम्लो चुँडाउनेहरु, बिदेशमा गनिनसक्नु दुख पाएर पनि विलासिताको जीवन बिताएको नाटक गर्ने धनेजस्तैहरु र आफ्नै गर्भमा ९ महिना बोकी जन्माउन हुर्काउन अनेकौं पीडा खप्ने तर यसरी हुर्काएको सन्तानलाई एकतर्फी टिकटमा चन्द्रमामा पठाउन मरिहत्ते गर्ने कान्छी भट्टाइनी जस्ता सबै आमाहरुमा समेत थोरै या धेरै, जानेर वा नजानेर, प्रतक्ष वा परोक्ष दोषी पायो ।
बिहान भयो ! ७ बजेको समाचारपछि अर्को गीत जुन्जियो रेडियोमा ।
शिखरको उचाइ हेरेर, नापिन्न हेर उचाइ देशको
अरुको हाईहाई भजेर, थपिन्न सान कहिलै हाम्रो ।
केही छैन यहाँ भनेरमात्र, उम्रिन्न आफै बिकासको बुटो
सुकिलो मुकिलो बनेरमात्र, पन्छिन्न आफै ढुंगा र माटो
भरिन्न पेट पुस्तौंसम्म, अरुअरुको अनुदानले
बन्दैन देश नसृजेसम्म, हाम्रो आफ्नै बाहुबलले ।
नेपालको सिमाना भित्रै, रुकाउनु पर्छ पाइला हाम्रा
हिमालको सीमा नकट्दै, टुटाउनु पर्छ सपना हाम्रा
धानिन्न देश अनन्तसम्म, विदेशको विप्रेषणले
बन्दैन देश नसिंचेसम्म, नेपालीहरुकै पसिनाले ।
—————————–
धनेको आँखाबाट बलिन्द्र धारा आँसु छचल्किए । धने बेहोस भयो ।




