उपन्यास अंश : भाँचिएको लौरो (भाग-१८)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980कोठामा गएपछि श्रवणले भन्यो :

“बाबालाई काम बढी भयो । एउटा काम गर्ने मान्छे खोज्नुपर्ने भयो ।”

“अर्काको घरमा नोकर बनेर सारा काम सकेर अफिस समेत भ्याएका मान्छेलाई यति काम के बढी हुन्छ ? बसेर खानपाए कसले काम गर्छ ?”

“मान्छेले सधैभरी उत्तिकै काम गर्न कहाँ सक्छन् र ? रिटायर्ड भएकै छ/सात वर्ष भइसक्यो ।”

“गरौँ भने यति काम गर्न सकिन्छ ।” भन्दै लिना गएर सुती । यसले बाबालाई बढी देख्न लागी भन्ने श्रवणले अनुमान लगायो तर केही बोलेन ऊ पनि सुत्यो ।

हिँजो चाँडै नै सुतेकी लिना आज उठेर कुलीनलाई दूध खुवाएर फेरि सुती । त्यो देखेर श्रवणले सोध्यो :

“आज क्लिनिक खोल्ने होइन र ?” ।

“आज सन्चो भएन । टाउको गह्रौँ भएको छ । म आज क्लिनिकमा बस्दिन ।” भनेर ऊ सुतिराखी । बिरुले चिया ल्याएर टेविलमा राखेर बाहिर गयो । श्रवण चिया खाएर बाहिर गयो । लिना चिया खाएर फेरि सुती ।

बिरुले तर्कारी ल्याएर खाना तयार गर्‍यो । श्रवणले आज म पनि घरै खान आउँछु भनेकोले बाहिर आएर बस्यो । त्यसै बेला श्रवणले एक जना काम गर्ने मान्छे लिएर भित्र पस्यो ।

“बाबा, तपाइँलाई काम बढी भयो । अब काम गर्न सक्नुहुन्न । घरको सबै काम यी मायाँ दिदीले गर्नुहुन्छ । तपाइँले किनमेल गर्ने, उहाँलाई सिकाउने र बेला बेलामा कुलीनलाई हेर्ने काम गरे हुन्छ । अब तपाइँको आराम गर्ने बेला भयो ।”

लिनाले श्रवणले भनेका कुरा सुनी, तर यसमा प्रतिक्रिया केही जनाइन । सबै जनाले खाना खाए । लिना र श्रवण अस्पतालतिर लागे । बिरुले मायाँलाई गर्नुपर्ने काम र व्यवस्था बताएर आपूmले कुलीनलाई खुवाउन थाल्यो ।

कहिले कहीँ बुहारीले देखाउने हर्कतले गर्दा मन खिन्न हुने भए पनि मायाँ आएपछि बिरुको काम हल्का भयो । घर खर्चलाई पैसा श्रवणले दिने गरेकोले बुहारीसित माग्नुपर्दैन । तै पनि ऊ बिरुसित तरक तरक गर्छे । लिनाको व्यवहार बिरु र श्रवण दुवैले  बुझे पनि नबुझे झैँ गर्छन्, तर तैँ चुप् मै चुप् कोही बोल्दैनन् । एक दिन लिनाले श्रवणलाई भनी :

“हामीलाई क्वाटरमा नै बस्नु भनेर अस्पताल प्रशासनले भनेको धेरै दिन भयो । अब हामी क्वाटरमा बस्न जाउँ । क्वाटर पाउँदा पाउँदै घर भाडामा लिएर किन बस्ने ? घर भाडामा लिने पैसाले बाबुलाई हेर्चाह गर्ने मान्छे राख्न पुग्छ ।”

“अनि हामी क्वाटरमा बसेर बाबालाई के गर्ने ?”

“बाबालाई एउटा कोठा खोजेर राख्ने । एक जनालाई धेरै कोठा चाहिन्न । ठिक्कको एउटा कोठा भए बाबालाई भइहाल्छ । अहिले जस्तो धेरै पैसा त तिर्नुपर्दैन ।”

“बाबालाई एक्लै छोडेर हामी क्वाटरमा बस्दा राम्रो हुन्छ ?”

“त्यसमा के आपत्ति छ र ? हामीसित बस्दा बाबालाई बढी काम गर्नुपरेको छ । एक्लै बसे पछि काम पनि कम हुन्छ । बाबालाई पनि आराम हुन्छ हामीलाई पनि डेरा र अस्पताल गरिरहन पर्दैन । बाबालाई चाहिने पैसा दिए त भयो । क्वाटरमा बस्दैमा भेटै नहुने होइन, बेला बेलामा भेट गरे भैहाल्छ ।”

“बाबाले मेरो लागि धेरै दुःख गर्नुभएको छ । अहिले उहाँलाई छोडेर जाँदा राम्रो हुन्न । लोकलाज बचाउन पनि उहाँलाई एक्लै पारेर जान हुन्न । उहाँले पनि चित्त दुखाउनुहुन्छ । मेरो लागि पनि यसमा जिद्दी नगर ।”

श्रवणको अप्ठारो बुझेर हो कि के हो ? त्यसपछि लिनाले क्वाटरमा जाने कुरा त गर्न छोडी तर बिरुप्रति उसको नकारात्मक रबैया भने झन् बढ्दै गयो । बिरुले कुलीनलाई ख्वाएको, स्यहार–सम्भार गरेको कुरामा पनि उसले विश्वास गर्न छोडी । बिरुले जतिसुकै राम्रो काम गरे पनि केही न केही खोट लगाउन थाली । श्रवण लिनाको व्यवहार थाहा पाएर पनि उसको विरोधमा बोल्न सकेन । यसबाट बिरु निराश हुँदै गयो । उसलाई सरिताको अभाव अहिले आएर खड्किन थाल्यो ।

विरुले बिस्तरामा पल्टेपछि विष्ट परिवारलाई संझन थाल्यो ।

‘मान्छेले खाली पैसा हेर्दोरहेछ । पैसा, आफ्ना छोरा–छोरी, र लोग्ने–स्वास्नी भएपछि बाबु–आमा, इष्ट–मित्र कोही चाहिँदो रहेन छ । त्यत्रो घरबार, गाडी बैँक–व्यालेन्स भएको परिवारमा त पैसाका लागि आमाबाबुलाई छोडेर छोराबुहारी अमेरिकातिर लागे । आमा मर्दा क्रिया गर्नसम्म अएनन् । बाबु मर्दा संपत्तिको लागि आठौँ दिनमा छोरो मात्र आयो । त्यै पनि क्रिया नगरेर मेरो जिम्मा लगायो भने मेरो के कुरा गर्ने ? म त नङ्गा । एउटा भएको घर पनि त्यही छोरालाई पढाउनमा बेच्नु पप्यो । बुहारीले त घर थियो थिएन त्यो पनि देखिन । उसको लागि मेरो के लेखा ? न मैले कमाएको उसले देखी, न मेरो घरबार । अहिले त उनीहरूले कमाएर मलाई पाल्नुपर्ने । अनि बुहारीको आँखामा म एउटा नोकर सरह नभएर के हुने । संसार यस्तै रहेछ । सबै बलेको आगो न ताप्छन् । निभेको आगो कसले ताप्ने र त्यसबाट के पाउने ?’

यस्तै चिन्तन गर्दा गर्दै विरुको आँखा रसाएर आए । आँसु पुछेर आफूलाई सान्त्वना दिने असफल प्रयास गर्‍यो ।

अर्को दिन बिहान बिरु उठ्न खोज्दा दायाँ गोडा लुलो भएर टेकिएन । हातले सिरक उठाउन खोज्यो, हात पनि लुलो भएजस्तो भयो । बायाँ हातले सिरक पन्छाएर बल्ल बल्ल उठेर बस्यो । तर गोडाले टेकेर उँभिन सकेन । रिँगाएजस्तो भयो, आँखा चिम्लेर फेरि बिस्तरामा पल्ट्यो । त्यसै बेला मायाँले चिया लिएर आई । उसले बिरुलाई दाइ भन्ने गरेकी थिई ‘दाइ ! दाइ !!’ भनेर बोलाई । बिरुले आँखा नखोलीकन ‘हुँ !’ मात्र गर्‍यो अरू हलचल केही गरेन । मायाँ श्रवणको कोठामा गएर भनी :

“दाइ हिँजो अस्ती चाँडै नै उठ्नुहुन्थ्यो । आज उठ्नुभएको छैन । बोलाउँदा एक पटक ‘हुँ !’ मात्र गर्नुभयो । उठ्नुभएन ।”

मायाँको कुरा सुनेर लिनाले मुख बँग्याई श्रवण उठेर बिरुको कोठामा गएर ‘बाबा !’ भनेर  बोलायो तर ऊ बोलेन । नाडी छाम्यो धड्कन बेसुरको देखियो ।

“बाबालाई हृदयाघात भएजस्तो छ तुरुन्तै अस्पताल लानु पप्यो ” भनेर लिनालाई बोलायो । तीन जना मिलेर गाडीमा राखेर अस्पताल लगे । तीन दिन पछि होस् आयो । पन्ध्र दिन अस्पताल राखेर घर ल्याए । तर दायाँ हातले खास काम गरेन, गोडालेसम्म अलिकति काम गर्‍यो पहिलेजस्तो भएन । बिरु अपाहिज भएर अरूको सहारामा बाँच्नुपर्ने भयो ।

मान्छे अप्ठारोमा परेपछि ईश्वर र आफन्त सम्झन्छ । बिरुका आफन्तमा पहिलो त उसका बाबु–आमा थिए, तिनीहरू पहिले नै गएका थिए । दोस्रोमा उसका आफन्त विष्टदम्पति थिए तिनीहरू पनि गइहाले । बाँकी एउटा छोरो श्रवण छ । सहारा भने पनि आश्रय भने पनि उही हो । त्यो पनि लिनाको सामुन्नेमा परेपछि बोल्न सक्दैन । जे भए पनि अहिलेसम्मको आधार त्यही हो । त्यस बाहेक त ईश्वर मात्रै हो बिरुको पुकार्ने आधार ।

द्रष्टव्यः– यस उपन्यासको उन्नीसौँ भाग यस पछि आउनेछ ।

तपाइँको प्रतिक्रिया