फ्रान्सेली अनुभव : पार्टी र नेता प्रमुख कि निति र काम ?

Votez Franceम अहिले समाजवादी पार्टी मेयर भएको नगरपालिकामा बस्छु । मेयर छन्, कडा कम्युनिष्ट जस्ता । अस्ति भर्खरै निर्वाचन भयो यहाँ । फेरिपनि तिनै जँ फँस्वा दार्देनले जिते । अचम्म छ, यहाँ यति छिटो हुन्छ विकासको काम कि कुरै नगरौं । स्कूले बिध्यार्थीहरुलाई स्कूल चल्ने दिन बसको भाडा निशुल्क गरेको छ । ब्रिद्दा बिद्दलाई घुमाउन लैजानेदेखि यि मेयरले धेरै राम्रो र नयाँ काम गरेका छन् । शहरसफा र एकदमै ब्यवस्थित छ । अरु नगरपालिकाको भन्दा फरक देखाउँछु भनेर बसको रङसमेत बदेले यहाँका नगर प्रमुखले । पहिले सन् १९८३ देखि सन् २००८ सम्म दक्षिणपन्थी पार्टी युएमपीका जर्ज लेनले जितेका थिए ।

दक्षिणपन्थी, एकदमै दक्षिणपन्थी र रंगभेदी मेयर भएका ठाउँमापनि बसें म । केहि समय बामपन्थी मेयर भएका ठाउँमा बसियो । केहि समय मध्यपन्थी पार्टीका मेयर भएकाका नगरपालिकामापनि बसें । थरि थरी पार्टीका मेयरले जितेका नगरपालिका पुगें, म जहाँ पुगेपनि कसको कुन पार्टीको मेयर छ ? के काम गरेको छ ? कसरि गर्छ ? भनेर चासो राख्छु । त्यो सबै हेर्दा ब्यवस्था कस्तो भन्दापनि थिति, नियम र कानुन कति मान्छन्, देश निर्माणमा । कति गम्भिर र जिम्मेवारीबोध गर्छन् । नियम र कानुन मान्न बाध्य गराउँछन् । कति सहभागि हुन्छन् विकास र सार्वजनिक चासोमा । मुख्य कुरा नेता र तिनले बोलेका आश्वाशन कति पुरा गर्छन् भन्ने महत्वपूर्ण रहेछ । 

म बसेको नगरपालिकामा २५ वर्ष लगातार यु एम पी भन्ने दक्षिणपन्थी पार्टीका मेयरले जितिराखे । अस्पत्ताल बनाए । पूल बनाए । रेल स्टेशनलाई आधुनिकिकरण गरे । गाउँ गाउँमा बसको सेवा बिस्तार गरिदिए । हुलाक र भित्रि गाउँसम्म पसल अनि बैंक पुर्‍याइदिए । त्यति गर्दापनि जनतालाई पुगेन । २५ औं वर्षमा जनता आजित भएछन् । त्यसपछि तिनले पार्टीप्रतिको आस्थापनि बदले । यु एम पी भन्दा समाजवादी पार्टीलाई रोजे । समाजवादी पार्टीका जँ फँस्वा दार्देनलाई मतदान गरेर जिताए ।

हामी नेपालीहरु पढेलेखेका जाने बुझेका भनाउँदाहरु एउटा पार्टीमा लागेपछि वर्षौं वर्षसम्म त्यो पार्टी छोड्दैनौं । त्यो पार्टीले गलत काम गरेपनि, नेताहरु भ्रस्टाचरमा मुछिएपनि, राष्ट्रियताको विषयमा लत्तु छोडेपनि हामी त्यहि पार्टीमा टाँस्सिइरहन्छौं । यो भ्रस्ट नेता हो, यो खत्तम हो, यसले बिगतमापनि केहि राम्रो काम गर्न सकेन भन्ने जान्दाजान्दैपनि हामी पार्टीको निति र निर्देशन भनेर त्यहि नेतालाई मत दिन्छौं, समर्थन गर्छौं । निति, आदर्श, बिचार त्यागेर गलत कामहरु गर्दा र जनताको पक्षमा माखो नमार्दापनि हामी त्यहि पार्टी भनेर बसिरहन्छौं । तर फ्रान्सेलीहरु त्यसो गर्दारहेनछन् । उनीहरु पार्टी भन्दापनि नेता हेर्दा रहेछन् । कुन नेता वा उमेदवारले कस्तो निति अगाडि सारेको छ । कसको योजना विकास गर्ने खालको छ । कसले जनताका पक्षमा सेवा र सुबिधा दिने विश्वशनिय योजना अघि सारेको छ । फ्रान्सेलीहरु त्यसैलाई मत दिन्छन् ।

यहाँ एउटै घरमा बाउ आमा र छोराछोरीले कसलाई, कुन पार्टीलाई मत दिन्छ । को कुन पार्टीतिर लागेको छ भन्ने मतलब हुन्न । त्यसलाई निजि मामिला, आफ्नो स्वतन्त्र बिचार र अधिकार भनेर कसैले चासो लिन्न । दबाब दिन पाइन्न । एकै घरको मत भिन्न ब्यक्ति र पार्टीलाई गइरहेको हुन्छ । पार्टी अलग हुँदैमा सहकार्य, मित्रता र दैनिक जिवनका अन्य सहभागितामा फरक पार्दैन । घर घरमा नेता आएर सम्झाउने, राजनितिक भाषण दिने चलनपनि हुन्न । पार्टी र नेताले घोषणा गरेका प्रतिबद्दता, तिनले बिगतमा गरेका काम र जनता र समाजलाई कसरि के दिन चाहन्छन् तिनको कार्यशैली र काम हेरेरै कसको पक्षमा लाग्ने भन्ने निर्णय गर्छन् ।

निर्वाचनका बेला प्रशासनिक कार्य प्रणालीलाई निर्वाचनले उति फरक पार्दैन । निर्वाचनपछिको सरकारले मनलागि कर्मचारी सरुवा र बढुवा गर्दैन । नयाँ सरकार आएपछि कहाँ सरुवा गरिदिने होला भन्ने त्रास पनि कर्मचारीमा हुन्न । मेरो पक्षको सरकार आए बढुवा बनौंला भनेर र्‍याल काढेर कामपनि लाग्दैन । त्यसैले निर्वाचनमा कर्मचारीको मनोबल जोसुकैको सरकार आओस जनतालाई सेवा र सुबिधा दिनुपर्ने तहमा कर्मचारी प्रशासन समानरुपमा निरन्तर चलिरहन्छ । कहिलेकाहिँ त कतिपय नगरमा निर्वाचन भैरहेको पत्तो सम्म पाइन्न । किनकि यहाँ कसैका पक्षमा नारा र जुलुस हुन्न । मनपरी भित्ता पोत्ने काम गर्न पाइन्न । नेताका पछाडी लागेर युवाहरु नारा भट्याउँदै हिँडेको देखिन्न । कान फुट्नेगरि कसैको पक्षमा माईक बज्दैन । घर घरमा झुटा आश्वासन बाँड्दै मत माग्न नेताहरु हिँड्दैनन् । त्यसो गर्दैन साखुल्ले बनेर मतपनि यहाँ कसैले दिँदैन ।

यहाँका मानिस जति पढेका जाने बुझेका भनेपनि सधैं एउटै पार्टीको झोला बोकेर हिँड्दैनन् । सधैं भरि उहि नेताको भरिया बोकेर बसिरहने गर्दा रहेनछन् । अहिले दोस्रो पटक समाजवादी पार्टीले जितेको यो नगरपालिकामा अर्को पटक अति दक्षिणपन्थी पार्टीलेपनि जित्न सक्छ । यहाँका मानिस जन्मजात कुनै पार्टीको, परिवार हेरेर कुनै पार्टीको, आदर्श हेरेर भन्दापनि बोलाई र गराई बिच भिन्नता, काम हेरेर छान्ने हुनाले पार्टी बदिलिइरहेको जस्तो देखिन्छन् । एक जना फ्रान्सेली संसदको चुनावमा दक्षिणपन्थी पार्टीको उमेदवारलाई मत दिए स्थानिय निर्वाचनमा समाजवादी पार्टीको नेतालाई चाहिनिरहेको हुन्छ । निर्वाचन नै पिच्छे दल र नेता बदलि बदलि मत दिने गर्छन् । आफ्नो जिवनमा त्यसरि पार्टी र नेता दशौं पटक बदलेका हुन्छन् फ्रान्सेलीहरुले । हुन त फ्रान्समा मात्रै नभएर युरोपका धेरै देशमा यस्तै हुने रहेछ । नेपालमा भए यिनलाई पार्टी बदलिरहने, तिउनचखुवा, पिपलपाते, निति र आदर्श नभएको दोकला भनेर खुब आरोप लाग्थ्यो ।

 

 

तपाइँको प्रतिक्रिया