उपन्यास अंश : भाँचिएको लौरो (भाग १५)

रमेश गौतम पाल्पाली

ramesh-gautam-palpali-110765980श्रबणको अन्तिम परीक्षा सकिएर होस्टलबाट डेरामा आयो । एउटा सानो बेन्चजस्तो खाटमा बिरु सुत्नेगरेको विछौना, एउटा कुनामा एउटा स्टोभ, कुकर, एउटा ताप्के, एक सेट थाल, कचौरा र गिलास, बट्टामा चामल, अरू बाँकी ठाउँमा टेविल, दराज, सोफा र तिनैमाथि सबै सामान खात लाएर राखिएको र त्यसलाई एउटा प्लाष्टिकले ढाकिएको थियो । डेराको छानो जस्ताको थियो । ती जस्ता पनि ठाउँ ठाउँमा प्वाल परेका र कतै उचालिएर बाहिरबाट उज्यालो भित्र पसेको थियो । डेराको यो हालत देखेर ऊ एकछिन जिल्ल पप्यो । अमिलो मन पारेर सोध्यो :

“बाबा, यो हाम्रो डेरा कि कुनै माग्ने मान्छेको ? के तपाइँ यहीँ बस्नुभएको थियो ?”

“बाबु छोरा, म एक्लो मान्छेलाई त्यत्रो चारपाँच हजार तिरेर किन बस्नुप्यो ? त्यति पैसाले त मलाई बस्न र खानसमेत पुग्छ । अनावश्यक खर्च गरेर को ठूलो भएको छ र ? मान्छेलाई बस्न र खान पुगे त भइहाल्यो नि ।”

“तै पनि बाबा, तपाइँ अफिसरजस्तो मान्छे । आफ्नो घरमा त्यो सानसित बस्नुभएको थियो । मेरो पढाइको लागि भनेर घर बेचेर डेरामा बस्नुभएको थियो । कम से कम दुई कोठे डेरा भए पनि ठीकै थियो । तर यो त एकदम भिखारीको डेराजस्तो छ ।”

“बाबु, अब म कहाँ अफिसर रहेँ र ? त्यही अफिरी नै अभिशाप भयो । त्यसले गर्दा जुनसुकै काम गर्न पनि अप्ठारो भयो । अहिले मैले पाँच हजारको जागिर खाएर निर्बाह गरिरहेको छु । यो अवस्थामा डेरामा धेरै खर्च गर्नुभन्दा यसैमा बसेर आरामले काम चलाएको हो ।”

“घर बेचेको पैसा सबै मेरो पढाइमा खर्च भएको हो बाबा ?”

“होइन, तँ बिरामी हुँदा र मामु बिरामी भएको बेलामा करीब छ लाख ऋण लागेको थियो । घरबाट आएको ४५ लाखमा तेरो पढाइलाई डोनेशन २५ लाख, चार वर्षको फिस १० लाख र तेरो पाकेटखर्चलाई २ लाख मात्र लागेको हो । पुरानो ऋण तिरेर मसँग करीब एक लाख बचेको थियो । त्यसले यतिका दिन कसरी पुग्ने ? अब तेरो पढाइ सकियो, तैँले प्राक्टिस गर्न पाइस् भने हाम्रो अवस्था सुध्रिहाल्छ नि । किन पीर गर्नुपप्यो ?”

श्रवण केही बोलेन, किन कि उसलाई थाहा छ । एम। बी। बी। एस।को परीक्षा सकिँदैमा कहाँ प्राक्टिस गर्न पाइन्छ । मेडिकल बोर्डबाट स्वीकृति लिनुपर्ने, त्यो बाँकी नै छ । त्यसको लागि समय लाग्छ । यो कुरा बाबालाई पनि थाहा नभएको त होइन होला । तैँले प्राक्टिस गर्छस् र पैसा आउँछ भन्नुको मतलब तैँले पनि केही काम गर भनेको हुनुपर्छ । यही सोचेर उसले खाना खाएपछि बाहिर निस्केर एउटा अस्पतालमा गयो । त्यहाँ उसलाई पढाउने डाक्टर श्रेष्ठलाई देखेर श्रवणको हौसला आयो । किन कि डाक्टर श्रेष्ठले श्रवणको सधै प्रशंसा गर्थे । उनलाई नमस्ते गरेर सामुन्नेमा उँभिइरह्यो ।

“के छ श्रवण, किन आयौ ?”

“सर, म त्यसै बस्न सक्दिन । मलाई सानोतिनो जे भए पनि काम चाहियो ।”

“तिम्ले मेडिकल बोर्डबाट स्वीकृति लिन बाँकी छ । त्यसैले डाक्टरको पूरा जिम्मेवारी दिन मिल्दैन । के गरौँ ?”

“सहयोगीको रूपमा काम गराउन त मिल्ला नि सर ? मलाई जे भए पनि हुन्छ तर काम त नदिइ भएन ।”

“मेडिकल बोर्डबाट पास भएपछि डाक्टरको पदमा भर्ना गरौँला । अहिले सहयोगीको रूपमा मैसँग बसेर काम गर न त । अहिले पाकेट खर्चको लागि पन्ध्र हजार रुपियाँ दिउँला । ल आजैदेखि नाइट ड्युटीबाट काम सुरु गरे हुन्छ ?”

“हुन्छ सर म साँझ सात बजे आउँछु ।” भनेर ऊ डेरामा फक्र्यो र आफूले जागिर पाएको खुसीको खवर बाबालाई सुनायो । अनि उसलाई भन्यो :

“बाबा, अब एउटा डेरा खोजौँ । यो डेरामा यतिका सामानसित दुई जना सुत्नपनि मिल्दैन । साथै मैले पनि पन्ध्र हजारको जागिर पाइहालेँ । यति भएपछि अब त ठीकैको डेरा खोजेर बस्न सक्छौँ ।”

“हुन्छ, पहिले त म एक्लो थिएँ र पो यसले पुगेको थियो  । अब दुईजना भएपछि अप्ठारो हुन्छ जाऔँ” भनेर दुवै बाबु–छोरा डेरा खोज्न गए । डेरा खोजेर अर्को दिनदेखि नै सरेर नयाँ डेरामा बस्न सुरु गरिहाले ।

अबको डेरा भने पूर्व अधिकृत र डाक्टरको लागि नसुहाउने थिएन । दुई वटा कोठा र ठीकै साइजको एउटा भान्सा भएकोले उनीहरूका सामान पनि अटे र एउटा बैठक जस्तो पनि भयो । छोरो आउना साथै यो व्यवस्था हुनसकेकोमा बिरुलाई छोराप्रति गर्व लाग्यो । हुन पनि छोराको लागि उसले के गरेन ? उमेर छँदै विधुर भएको र साथि–भाइ, इष्ट–मित्रहरूले दोस्रो विवाह गर्नुपर्छ भनेर कर गर्दा पनि उसले विवाह गरेन छोराकै लागि । छोराले डाक्टरी पढ्ने इच्छा गरेकोले भएको एउटा घर पनि बेचेर सबै पैसा छोराको लागि नै खर्च गरेर पढायो । बरु आफूले त्यस्तो छाप्रोमा बसेर एक छाक खाएर दुःख गग्यो, छोरालाई दुःख दिएन । आज छोराले छाप्रे डेराबाट यो डेरामा सारेकोमा छोराको व्ववहारमा सन्तोष मान्यो ।

श्रवणले दिन प्रति दिन प्रगति गरिरहेको छ । मेडिकल बोर्डको परीक्षा पनि पास गग्यो । अब त पूरा डाक्टर भएर विरामी हेर्ने, अस्पतालमा काम गर्ने गरेर महिनामा ६०,७० हजार कमाउन थाल्यो । बाबुलाई प्राइमरी विद्यालयको जागिरबाट राजिनामा दिन लगायो । बाबुका पुराना लुगा फाल्न लगाएर नयाँ नयाँ लुगाहरू बनाइदियो । छोराको प्रगति र आफूप्रति छोराले देखाएको सद्व्यवहारबाट बिरु सारै खुसी भयो । अरू सबै राम्रो भइसक्यो अब छोराको बिहे गरिदिन पाए मलाई ढुक्क हुन्छ भनेर एक दिन बिरुले प्रस्ताव राख्यो :

“बाबु, अब पढाइ पनि भयो, जागिर पनि भयो । यत्तिको व्यवस्थित भएपछि तेरो बिहे गर्ने मेरो धोको छ । तैले रुचाएकी कुनै केटी छ भने भन्, होइन भने एउटी केटी खोजेर बिहे गरौँ ।” श्रवणले लाज मानेजस्तो गरेर भन्यो :

‘बाबा, पढ्दा नै एउटी केटीसित कुरा भएको थियो । त्यस बेला पढाइ सकेर जागिरमा लागेपछि गर्ने, भन्ने पनि भएको थियो । त्यसपछि कुरा भएको छैन । अब त उसले पनि जागिर खान थालेकी छ । एक पटक उसलाई सोधौँ के भन्छे । त्यसपछि म भन्छु ।”

“ठीक छ तैँले जोसित मन मिल्छ उसैसित गर्, मलाई आपत्ति छैन । तर अब बिहे भने गर्नुपप्यो ।”

केही दिनपछि श्रवणले मुख खोल्यो :

“बाबा, उसले हुन्छ भनेकी छ, हजुरले हेर्ने कि ?”

“बाबु, तँलाई विश्वास छैन भने मात्र हेरौँ । होइन भने तँलाई मन परेपछि मैले हेनुपर्ने केही छैन । बरु उसको नाम के हो ? कहाँ बस्छे ? काम त डाक्टरी नै होला ।”

“हो बाबा, सँगै पढेको । उसको नाम लिना हो । मलाई त हुन्छ जस्तो लागेको छ । उसले पनि हुन्छ गरौँ भनेकी छ ।”

“हुन्छ, भनेकी छ भने हामीलाई पनि हुन्छ । त्यसो भए बिहे गर्ने । तर उसका आफन्त को को छन्, अरू कसैलाई पनि सोध्नुपर्ने छ कि के छ ? बिहे कसरी गर्ने ? बाजा बजाएर जन्ती लगेर राम्रैसंग गर्ने कि ?, दुई, चार जना मन्दिरमा जम्मा भएर विधि विधान अनुसार गर्ने कि ? साधारण रूपमा माला साटेर गर्ने कि ? एक पटक सबै सोध । मैले अहिले हेर्नुपर्दैन । बिहे भएपछि एकै पटक हेरुँला । हुन्न छोरा ?”

“हुन्छ बाबा, मैले भोली नै सोधेर सबै निधो गर्छु । हुन त मेरा त बाबा हजुर हुनुहुन्छ । उसको त बाबा, मामु, दाजु–भाइ कोही छैनन् । बालमन्दिरमा बसेर पढेकी हो । उसले पो त्यस्तो फर्मायसी गर्ने प्रस्ताव के राख्ली र ?”

“त्यही पनि एक पटक सोध्नु राम्रो । तँलाई अप्ठारो लाग्छ भने चिया खान भनेर यहाँ बोला । मैले मिलाएर सोध्छु ।”

“हुन्छ बाबा, मेरो भोली नाइट ड्युटी छैन । उसलाई भनेर भोली अस्पतालबाट आउँदा लिएर आउँछु ।”

अर्को दिन बिरुले श्रवण आउनुभन्दा पूर्व नै चिया नास्ता बनाएर ठिक्क पारेको थियो । उनीहरू आएपछि बिरु र लिना कुरा गर्न लागे । श्रवण भित्र गएर चिया नास्ता लिएर आयो । श्रवणले चिया ल्याएको देखेर लिनाले भनी :

“ल, चिया तपाइँले ल्याएको ?”

“म तिमीलाई हेर्न गएको भए तिमीले ल्याउने थियौ । मलाई हेर्न तिमी म कहाँ आएपछि मैले चिया लिएर आउनु परेन ?”

श्रवणको कुराले सबै हाँसे र चिया नास्ता गरे । एक छिनपछि बिरुले सोध्यो :

“लिना, तिम्रो घरमा को को छन् केही भन्न मिल्छ भने भन ।”

“भन्न नमिल्ने त केही छैन बाबा, तर मेरो घरमा कोही पनि छैनन् । अनि के भनुँ र ?”

“नभए त भन्ने कुरै भएन । एउटा कुरा सोधौँ है ? के तिमी र श्रवणले आपसमा सँगै बस्ने कुरा गरेका छौ ?”

“हुन त हो बाबा, तर ।।”

“तर के ?”

“मेरो घर, बाबु आमा कोही छैनन् । अनि हजुर्बाट स्वीकृति मिल्छ र ?”

“म त्यस्तो पुरानो विचारधारा राख्ने मानिस होइन । मलाई जातपातमा विश्वास छैन । तिमी चाहे जुनसुकै परिवारको होउ, मलाई आपत्ति छैन । तिमीहरूको भविष्य राम्रो होस् मलाई त्यति भए पुग्छ ।”

“बाबा, मलाई यत्ति भए पुग्छ । हजुरजस्तो बाबा पाएर म आफूलाई भाग्यमानी संझने छु ।”

“ठीक छ तिम्रो भावनाको कदर गर्छु । एउटा कुरा भन त– विवाह कसरी गर्ने विचार छ तिम्रो ? एउटा मन्दिरमा गएर माला साटासाट गर्ने कि ? धुमधामसंग गर्ने कि के गर्ने ?”

“जसको कोही छैन त्यसले के धुमधामको बिहे गर्ने ? म त माला साटासाट गरे खुसी हुन्छु ।”

“तिमी कहाँ बसेकी छौ ?”

“म चाबेलमा एउटा डेरा लिएर बसेकी छु ।”

“त्यसो भए डेरा छोड्ने व्यवस्था गर । भोली मङ्गल बार भयो । पर्सी बुधबारका दिन साडी चोलो लाएर भद्रकाली मन्दिरमा आउ । तिमीले केही ल्याउनु पर्दैन । चाहिने सामान हामीले ल्याउँछौँ । त्यहीँ सबै काम सकेर पर्सीदेखि तिमी यहीँ आएर बस्ने ।”

“हुन्छ ।” भनेर लिना उठी । श्रवण उसलाई बसपार्कसम्म गएर विदा गरेर आयो ।

द्रष्टव्य : यस पछि क्रमशः भाग १६ आउने छ ।

तपाइँको प्रतिक्रिया