उपन्यास अंश : भाँच्चिएको लौरो (भाग १४)
● रमेश गौतम “पाल्पाली”
घर बेचेर डेरामा बस्नुपर्दा पनि बिरुलाई एक कुराको सन्तोष के थियो भने उसको प्यारो छोराले चाहेको विषय पढ्न पायो र सरिताको इच्छा पनि पूरा हुने भयो । छोराको चाहना र श्रीमतीको इच्छा पूरा गर्न पाएकोमा ऊ एक्लै बसेर पनि मनमनै खुसी हुन्थ्यो । दुई, चार दिन त उसले यसै गरी दिन बितायो तर छोरासित बिछोडिएकोमा एक दिन त उसलाई छट्पटी भयो ।
छोरालाई कुनै चिजको जरुरत थियो कि ? उसलाई खानापिना कस्तो छ ? कसरी ख्वाएका छन् ? सन्चो भएन कि ? बिरु यस्तै चिन्ताले रातभर सुत्न सकेन । बिहानै उठेर ऊ छोरालाई भेट्न भनेर कलेज गयो । कलेज पुग्दा श्रवण कक्षामा प्रवेश गरिसकेको रहेछ, भेट्न पाएन । यहाँ आइसकेँ नभेटी कसरी जाउँ ? भनेर बिरुले कलेज बाहिर समय बिताउन थाल्यो । पहिलो र दोस्रो कक्षा लगातार परेकोले झण्डै एघार बजे मात्र कक्षा सकियो । पालेले उसको बाबु आएको कुरा सुनायो । श्रवण पनि बाबुसित छुट्टिएको पहिलो पटक भएकोले अस्सिएको थियो, हतारिँदै गेट बाहिर आएर बाबुसित टाँसियो । बाबु छोरामा यस्तो प्रेम देखेर पाले पनि दङ्ग पप्यो । एकछिन भलाकुसारी गरेर छोरो भित्र पस्यो बाबु फर्क्यो । डाक्टर पढ्ने छोरालाई भेटेर आएकोमा बिरुलाई आनन्दानुभूति भयो ।
पहिले पहिले चार दिन पाँच दिनमा बिरु श्रवणलाई भेट्न जान्थ्यो र आवश्यक सर्सामान लगिदिन्थ्यो । एक डेड वर्षपछि यसरी बाबु आइरहनुलाई छोराले पढाइमा बाधा पर्ने अभिनय गर्नथाल्यो । उसले अनावश्यक बाबु आइरहँदा झर्को मानेजस्तो गरेर भन्यो :
“यसरी सधै हजुर आइरहनुभन्दा मोबाइलमा कुरा गरे हुन्छ बाबा, म पनि प्रायः कक्षामा हुन्छु । हजुरलाई दुःख हुन्छ । मलाई केही चाहिएको बेलामा समय मिलाएर मैले भनिहाल्छु ।”
भनेर संपर्कको क्रम छोट्यायो । छोराको चाहना र आवश्यकता नै आफ्नो उद्देश्य र भविष्य संझेको सोझो बिरुले छोराको प्रस्ताव राम्रै ठान्यो । छोराको फोन आउला र भेट्न जाउँला भनेर बिरु पर्खेर बस्न लाग्यो ।
कलेजको चार वर्षकै फिस उसले अग्रिम जम्मा गरिदिएको थियो । छोरालाई कापि, किताब आदिको लागि भनेर उसैको खातामा केही पैसा राखिदिएको थियो । बिरुले आफ्नो नाममा केही रकम राखेको थियो । तर त्यो पैसाले श्रवणले पढेर कमाउने बेलासम्म धान्नसक्ने स्थिति थिएन । त्यसैले उसले सस्तो खाले डेरा लियो र खानामा पनि कमभन्दा कममा निर्बाह गर्न थाल्यो । एक दिन उसले छोरालाई भेट्न गएको बेलामा भनेको थियोः
“बाबु तिम्रो खाताबाट पैसा अलि विचार गरेर झिक्नु है ! घर बेचेको पैसा पनि सकियो । मैले पुरानो डेरा छोडेर सस्तोमा एउटा कोठा लिएर बसेको छु । कलेजको पूरै फिस जम्मा गरिदिएको छु । खाली पाकेट खर्चमा विचार गरे भनेको हो । मेरो त के ठेगान छ र ? बाँचुन्जेल जसरी पनि निर्बाह गर्छु । तिमीलाई दुःख हुन्छ कि भन्ने लागेको छ ।”
विरुको कारुणिक वचनले श्रवणको मन पनि पग्लेछ । उसले भन्योः
“होइन बाबा, त्यस्तो कुरा नगर्नुस् । मेरो पढाइ तीन वर्ष सकिइसकेको छ । अब त एक वर्षमात्र बाँकी छ । त्यसपछि त मैले केही काम पाइहाल्छु । हजुरलाई त्यसपछि केही दुख हुने छैन । सबै काम मै गर्छु र हजुरलाई राम्रो डेरामा राख्नेछु ।”
बिरुले यस्तो अभाव र दुःखको कुरा कहिल्यै छोराका साथ गर्दैनथ्यो । आजको कुरा सुनेर श्रवण पनि छक्क पप्यो । बाबुछोराका आपसी कुराले दुवैका आँखा डब्डबाए । त्यसपछि दुवै केही बोल्न सकेनन् । श्रवण उठेर कलेज भित्र गयो, बिरु डेरातिर फर्क्यो ।
श्रवण सरासर होस्टलको सुत्ने कोठामा पस्यो । अरू कोही साथिहरू पनि आएका थिएनन् । उसले घरको अवस्था संझन लाग्यो ।
‘ऊ पाँचौँ कक्षामा पढ्दासम्म घरमा कति रमाइलो थियो । बाबा, मामु दुवै जना जागिरे । उसले जे इच्छा गरे पनि तुरुन्तै पाउँथ्यो । कहिल्यै कसैले नाइँ भनेनन् । त्यसरी हुर्केको बेलामा ऊ बिरामी पप्यो बाबा र मामुले कति स्यहार गरे । औषधि, फलफुल र अन्य खाने कुरामा उनीहरूले कति खर्च गरेका थिए । कुनै बेलामा पैसा छैन भन्नुभएन, कम खर्च गरौँ भन्नुभएन ।
त्यसपछि मामु विरामी हुनुभयो । त्यस बेला बाबाले कति मेहनत र खर्च गर्नुभयो । त्यो बेलामा बाबाको मात्र जागिर थियो । मामुले मेरै स्यहार सुसारको लागि भनेर जागिर छोड्नुभएको थियो । एक्लो बाबाको जागिरले पनि कहिल्यै अभावको अनुभव हुन दिनुभएन । मलाई सधै चाहिएको कुरा पु्याउनुभएको थियो । अहिले पक्का पनि बाबालाई अप्ठारो परेको छ । ऊ मनमनै कुँडियो ।
विरुलाई छोरासित छुट्टिएपछि डेरामा जान मन लागेन । ऊ घुम्दै घुम्दै बैँकमा पुग्यो । पुराना साथिभाइहरू थिए । एकछिन् कुराकानी गरेपछि उसको मन केही हल्का भयो । अनि आफ्नो खाता चेक गर्यो । खातामा जम्मा दश हजार बाँकी रहेछ ।
‘छोराको पढाइ नै एक वर्ष बाँकी छ । एक वर्षपछि बल्ल उसले परीक्षा दिन्छ, त्यसको नतिजा निस्कने कहिले ? जागिर खाने कहिले ? र उसको आम्दानी सुरु हुने कहिले ? त्यसको लागि त झण्डै दुई वर्ष पर्खनुपर्छ । त्यतिका समयसम्म के खाने ? कसरी डेराभाडा तिर्ने ? दश हजारले त छोप पनि लाग्दैन ।’ मनमा यस्तै गण्टेउना गर्दा गर्दै ऊ डेरामा पुग्यो ।
घडी हे्यो, एक बज्न लागिसकेको रहेछ । संझ्यो, उसले त आज यति बेलासम्म केही पनि खाएको छैन । अहिलेसम्म त उसलाई भोक पनि लागेको थिएन, अहिले संझेपछि बल्ल उसले भोक लागेको थाहा पायो । अनि खाना बनाएर खायो । दुई बजिसके छ । सधै एक पटकजस्तो खानेगरेको विरुलाई आज त झन् दुई बजे खाएपछि साँझ खानुपर्ने कुरै भएन । ढुक्क भएर विछौनामा पल्टेर चारैतिर हे्र्यो र मनमनै विचार गर्यो :
‘टी।भी।, क्यासेट, रेडियो, वासिङमेसिन, अझ यी सोफासेटहरू मलाई के काम ? यिनलाई बेच्यो भने पनि दुई चार महिनालाई पुग्छ । तर बेचेर पनि के गर्ने ? यी सामान श्रवण आएपछि त काम लाग्नसक्छन् । उसले कमाएर यी सामान किन्ने कहिले ? फेरि अहिले कवाडिको भाउमा बेचेर पछि नयाँ किन्न पनि मुस्किल छ । त्यसो हुनाले अहिले यी सामान नबेचेर अरू नै केही उपाय गर्नुपर्ला ।’ यस्तै सोचेर ऊ बाहिर निस्क्यो ।
पैसा आउने काम के गर्ने ? अफिसर भइसकेको मान्छे जे पायो त्यही काम गर्न पनि अप्ठारो । राम्रो र इज्जतदार काम के हुन्छ ? कुनै व्यापारिकहाँ काम खोज्न जान पनि अप्ठारो छ । ऊ बैँकमा लोन अफिसर भएर काम गरेको थियो । त्यो बेला ठूला ठूला व्यापारिहरूसित उसले काम गरेको थियो । व्यापारीहरू आएर उसलाई नमस्ते गर्थे । अब के त उसले तिनै व्यापारीलाई नमस्ते गर्दै उनीहरूसित काम माग्न जाओस् ? यो पनि उसको अहंले स्वीकारेन । हो, उसले कुनै स्कुलमा पढाउने काम गर्न सक्छ । त्यसैले ऊ आफूले चिनेको एक जना विमल भन्ने साथि एउटा प्राइभेट स्कुलमा हेडमास्टर थियो । बिरु उसैकहाँ गयो । केही बेरको भलाकुसारीपछि उसले भन्यो :
“विमलजी आजकाल म एक्लै छु, छोरो होस्टलमा बस्छ मलाई समय बिताउन पनि समस्या भयो । मलाई तपाइँकहाँ केही काम दिनुपर्यो ।”
“बिरुजी तपाइँ बैँक अफिसर भएर काम गरेको मान्छे, तपाइँलाई सुहाउने काम के दिउँ खै ? चार,पाँच हजारको काम गर्ने मान्छेलाई सम्म त हुन्थ्यो । तपाइँलाई त्यो काम गर्नुस् कसरी भनौँ ?”
“के काम हो त्यो भन्नुस्न त्यसपछि मैले विचार गर्छु नि !”
“मकहाँ के काम हुन्छ ? उही भुराहरूलाई पढाउने सिकाउने त हो नि ।”
“विमलजी, म यही आशाले आएको हुँ तपाइँकहाँ । पढाउने काममा पैसा सोधिन्न, इज्जत हेरिन्छ । तलब धेरै थोरै भन्दा पनि समय बिताउन पनि हुने र पाकेटखर्च पनि हुने । पाँचै हजार भए पनि स्वीकार छ । भन्नुस् म कहिलेदेखि आउँ ।”
“ठिकै छ, त्यसो हो भने भोलीदेखि नै आए पनि हुन्छ ।”
अब बिरुलाई बाँच्नको लागि अप्ठारो नहुने भयो । साथै वर्षौँसम्म दश–पाँचको जागिर खाएर साथिभाइ, इष्ट–मित्रका साथमा समय विताउँदै गरेको मान्छेलाई विनाकाममा एक्लो जीवन बिताउनुपर्दा उकुसमकुस पनि भएको थियो । त्यसबाट पनि केही राहत भयो । उसको समय अब रुटिङ्ग अनुसार चल्ने भयो । सबैभन्दा ठूलो कुरा त सबैलाई भनिरहन नसकिने आर्थिक सङ्कटबाट केही हदमा भए पनि राहत मिल्ने भयो । उसले चाहेको यही थियो त्यो भयो । यसैमा ऊ ढुक्क भयो ।
(द्रष्टव्यः यस पछि भाग १५ आउने छ ।)




