उपन्यास अंश : भाँचिएको लौरो (१३ औं भाग)
● रमेश गौतम “पाल्पाली”
सरिताको देहावसान बिरुको लागि असैह्य नै थियो । त्यति व्यवस्थित जिन्दगी उसको अवसानले एकाएक छिन्न–भिन्न हुँदा बिरुको छाती विदीर्ण भएको थियो तर छोराको भविष्य संझेर आफ्नो बेदना कसै सङ्ग साट्न पनि सक्दैनथ्यो । यो एक्लो जीवन लिएर कति दिन बाँच्ने ? उसलाई सबै साथिभाइले अर्को बिहे गर्नैपर्छ भनेर सल्लाह दिन्थे । भर्खर सैतीस अठ्तीस वर्षको मान्छेले एक्लो जीवन कसरी बिताउन सक्छौ ? आफ्नो भविष्य पनि त हेर्नुपर्छ । यो संगीसाथिहरू र हितैषीहरूले दिनेगरेको सल्लाह हो । साथिहरूका अगाडि हो, सोच्दै छु भन्ने गथ्र्यो तर घर आएर छोरालाई देखेपछि फेरि बिरुको मन फेरिन्थ्यो ।
मैले बिहे गरेँ भने यसको भविष्य के हुन्छ ? अब आउने मेरी श्रीमतीले सरिताले जस्तै श्रवणलाई मायाँ गर्ली ? के उसले जस्तै ममता पोख्न सक्छे ? अहँ ! आफ्नी आमाले जस्तै सौतेनी आमाले सौताका छोराछोरीलाई कहाँ मायाँ गर्न सक्छन् । “सौताको छोरोजस्तो” भन्ने त चलनै छ भने बिहे गरेर अब आउनेले यसलाई मायाँ गर्ने सम्भवै छैन । उसका पनि छोराछोरी होलान् । आफ्ना छोराछोरीलाई मायाँ नगरेर सौताको छोरालाई किन मायाँ गर्ने ? कसका घरमा यस्तो भएको छ र ?
उसले आफ्नै साथी जीवनलाई संझ्यो । जीवनले पच्चीस वर्षको उमेरमा बिहे गरेको थियो । बिहे गरेको दोस्रो वर्षमै छोरो जन्म्यो । चौथो वर्षमा छोरी जन्मी । उनीहरूको दाम्पत्यजीवन कति राम्रो थियो । परेवाका जोडीजस्ता आफूहरु थिए भने बाँसका मुनाजस्ता छोराछोरी थिए । दुवै बाबु–आमाले प्राणभन्दा प्यारो गरेर छोराछारीको लालनपालन गरेका थिए । दैवको लीला, अचानक एक दिन जीवनले श्रीमती गुमाएको थियो भने छोराछोरीले ममतामयी आमा गुमाएका थिए ।
भएको के थियो भने बैँककै असिस्टेण्ट म्यानेजरको छोराको पास्नी थियो । त्यसमा बैँकका सबै अफिसरलाई सपरिवार बोलाइएको थियो । जीवन पनि श्रीमती छोराछोरी सहित मोटर साइकल लिएर हाकिमको घर कोटेश्वर गएको थियो ।
पार्टी छ बजेदेखि नौ बजेसम्म चलेको थियो तर जीवनले रक्सी नखाने हुनाले उनीहरू आठै बजे फर्केका थिए । माइतीघर मोडमा आउने बेलामा बेसाइडबाट आएको ट्रकले उसको मोटर साइकलमा हान्यो । उनीहरू उछिट्टिएर यता र उता परे जीवनकी श्रीमती ट्रकको पाँग्रा मुनी पर्न गई जसका कारण उसको जीवनलीला सदाका लागि अस्तायो र जीवन एक्लो भएको थियो भने उसका छोराछोरी टुहुरा भएका थिए । त्यस बेला जीवनको उमेर त्यस्तै तीस वर्ष जति थियो ।
तीस वर्षको उमेर भनेको लोग्ने मान्छेको भर्खर बिहे गर्ने उमेर हो भने पनि हुन्छ । दुई दुई वटा छोराछोरी छन् ऊ एक्लो छ, घरव्यवहार कसरी चल्ने ? उसका इष्टमित्र, साथिभाइ र ससुरालीले समेत बिहे गर्न दबाव दिए । तै पनि ऊ बिहे नगर्नेमै थियो । त्यसपछि उसलाई जेठानले संझाए ।
तपाइँलाई अन्यत्र बिहे गर्दा छोराछोरीलाई हेला गरिदेली कि ? भन्ने डर छ भने मेरी छोरी बिहे गर्नुस् । मेरी छोरीले कति मायाँ गर्छे ती केटाकेटीलाई ! तपाइँले देख्नुभएकै छ । भनेपछि जीवनले दोस्रो विवाह गरेको हो । बिहे भएको एक÷दुई वर्षसम्म त फुपुका छोराछोरी भए पनि राम्रै व्यवहार गरेकी थिई । तर पहिलो छोरो जन्मेपछि सुस्त सुस्त उसको व्यवहार बदलिँदै गयो ।
केटाकेटीको खाने कुरामा हेल्चत्र्mयाइँ गर्ने, सानोतिनो गल्तीमा पनि गाली गर्ने, च्याँठ्ठिएर बोल्ने गर्न थाली । केही दिनपछि त उनीहरूलाई पढाइमा भन्दा काममा बढी जोड्दिने र सानो सानो कुराको पनि श्रीमान्सित पोल लाउने गर्न थाली । यस्तो देखेपछि जीवनले श्रीमतीलाई यसो नगर्न भन्यो भने झगडा समेत हुनथाल्यो । जतिपछि भयो उती उती छोराछोरीप्रति सौतेनी व्यवहार स्पष्टै भयो । यो देखेर जीवन कुँडिएर बस्न थाल्यो । बोलोस् भने झगडा हुन्छ । कहिले कहीँ केही भन्यो भने “तिम्रा छोराछोरीलाई मैले गरेको भएन भने तिमी आपैm गरन ।” भनेर झर्कन्थी । त्यसैले बोल्नै छोडेको थियो जीवन ।
बिरुले कसैले विवाहको कुरा गरे भने जीवनको अवस्था र श्रवणलाई सम्झेर झस्कन्थ्यो । त्यसो भएर केही दिन सम्म त ऊ विवाहको कुरा आउना साथ या त उठेर अन्यत्र जान्थ्यो या त यस बारेमा अहिले कुरा नगरौँ भनेर तर्कने गथ्र्यो । यसरी कति दिन टार्ने ? उसले निधो ग्यो कि ‘अब मैले बिहे गर्दै गर्दिन । श्रवणलाई मान्छे बनाएरै छोड्छु र यसलाई मानसिक चोटपर्ने खाले कुनै पनि काम गर्दिन’ भन्ने अठोट लियो । त्यसपछि कुनै इष्टमित्र वा भाइसाथिले कुरा उठाए भने उसले स्पष्टै भनिदिने गथ्र्यो :
“अब मैले बिहे गर्दै गर्दिन । श्रवणको लागि त्यसै बस्ने निर्णय गरिसकेको छु । मसित अब बिहेको बारेमा कुरा नगर्नुहोस्” ।
उसको निर्णय सुनेपछि त साथिभाइहरू समेत बिहेको बारेमा बोल्न छोडेका थिए । बिरुलाई पनि बिहे गरौँ कि नगरौँ भनेर दोमन हुनुपरेन । ऊ अब तालिका मुताबिक श्रवणको नास्ता, खाना र पढ्ने व्यवस्था मिलाइदिने आपूm दिउँसो अफिस जाने गर्नलाग्यो । यसो गर्दा उसलाई अरू चिन्ता लिनुपरेन । उसको दैनिकी सरल रूपमा चल्न थाल्यो ।
श्रवण पाँचौँ कक्षासम्म जति तगडा थियो छैठौँ कक्षामा विरामी भएपछि केही कम्जोर भएको हो । त्यसपछि केही प्रगति गरिसकेको थियो तर आमाको देहावसानले उसलाई झन् ठूलो झड्का लाग्यो । आठ र नौ कक्षा पढ्दासम्म पनि उसले आमाको अभाव सहन सकेको थिएन । छोराछोरीलाई आमा बराबर अरू कोही हुँदैन । बिरुले छोराको लागि आफ्नो सुखसुविधा र भविष्य पनि नभनेर बस्यो । त्यति गरे पनि सरिताले जस्तो ममता उसले दिनसकेन । त्यसैले त मान्छेहरू भन्दाहोलान् :
“अरूले चाटेको र आमाले पिटेको”
हुन पनि बच्चाहरूलाई आमाको माया–ममता बराबर अरू केही हुँदैन । सरिताले तालिका बनाएर कहिले पनि काम गरिन । जतिबेला जे प्यो त्यही गरी । श्रवणले कहिले बेसरी खान्थ्यो भने कहिले कहीँ एक गिलास दूध पनि नखाइकन स्कुल जान्थ्यो । बिरुले बिहान दूध र आठ बजे नास्ता ख्वाएर स्कुल पठाउँछ । स्कुलबाट फर्केपछि खानलाई नियमित नास्ता बनाएर राखिदिने गरेको छ । सरिता हुँदा बरु कहिले कहीँ स्कुलबाट आएर खानपाउँदैथ्यो । यति हुँदा पनि श्रवणले आमाको अभाव बिर्सन सकेको छैन । त्यसको असर नवौँ कक्षामा पढ्दासम्म पनि परेको थियो ।
“मनको घाउ र जमिनको खाल्टो समय पुगेपछि पुरिन्छ रे !” त्यसैले होला दशौँ कक्षासम्म पुग्दा श्रवणले पनि आमालाई बिर्सँदै गयो र पढ्नमा केही प्रगति पनि ग्यो । तै पनि ट्युशन भने बिरुले चालु नै राखिदियो । एस.एस.सी. जसोतसो प्रथम श्रेणीमा त पास भयो तर त्यति राम्रो अङ्क आएन ।
परीक्षामा अङ्क कम आए पनि उसले फिजिक्स केमेष्ट्री लिएर आइ. एस्सी. पढ्ने इच्छा व्यक्त गरेकोले बढी पैसा तिरेर भए पनि राम्रै क्याम्पसमा भर्ना गरिदियो । श्रवण अब बढी खर्चालु हुँदैगएको थियो । बिरुले उसको इच्छा अकाँक्षामा कहिले पनि नाइँ भनेन । ऋणउधार गरेर पनि चाहना पूरा गर्दै गयो । आइ. एस्सी.मा पनि राम्रो अङ्क ल्याउन सकेन । जसो तसो प्रथम श्रेणी टेक्यो मात्र ।
श्रवण सानो छँदै “ठूलो भएर के बन्ने बाबु !” भनेर कसैले सोध्यो भने “म त डाक्टर बन्ने ।” भन्थ्यो । सरिताले पनि सधै यसलाई डाक्टर बनाउने हो भन्ने गर्थी । आइ. एस्सी. पास भएपछि उसले पनि डाक्टर पढ्ने इच्छा ग्यो तर राम्रो अङ्क नभएकोले एम. बी. बी. एस. पढ्न त्यति सहज थिएन । उसको भर्नाको लागि बिरु धेरै ठाउँमा धायो । बल्लतल्ल वार्षिक साडे दुई लाख फीस बाहेक पच्चीस लाख कलेजलाई सहयोग गरेमा एम. बी. बी. एस. कक्षामा भर्ना गरिदिने एउटा कलेज निस्क्यो । छोराको आकाँक्षा र सरिताको इच्छाको अगाडि ऊ झुक्यो । कलेजको सर्त स्वीकारेर बिरु फक्र्यो ।
घर आएर ऊ घोरियो, अब पैतीस लाख रुपियाँ कहाँबाट निकाल्ने ? उसको लागि यो ज्यादे ठूलो सर्त थियो । यही एउटा घरमात्र बाँकी छ त्यो पनि यसले छ÷सात लाख ऋण बोकेको छ । छोरो बिरामी हुँदा, सरिता बिरामी हुँदा र छोराले आइ. एस्सी. गर्दासम्म भएको खर्च यसै घरमाथि परेको छ ।
बिरुको जागिर छँदासम्म त कम से कम खानबस्न त पुग्थ्यो तर अब त ऊ रिटायर्ड भएको पनि दुइवर्ष भइसकेको छ । अब बाँकी जे छ यही घर छ । आखिर हालसम्मको ऋण तिर्न पनि यही घर बेच्नुपर्छ भने अहिले नै बेचिदिए त छोरो डाक्टर हुन पाउने छ र ऋण पनि तिरिने छ । श्रवण डाक्टर भएपछि त यस्ता घर जति पनि बनाउन सकिन्छ । अब छोरो ठूलो भइसकेको हुनाले उसित पनि सल्लाह गर्न उचित संझेर प्रस्ताव राख्यो । अरू उपाय नभएपछि बाबुको यस प्रस्तावमा छोराको पनि समर्थन रह्यो । दुवै बाबुछोरा लाएर घर बेचियो । छोरो कलेजको होस्टलमा गयो भने बाबुले अमिलो मुख लाएर पुनः डेरामै फक्र्यो ।
मान्छेलाई आपूmले पालेको बाख्रो बेच्नुपर्दा त मनमा कस्तो कस्तो हुन्छ भने रगत पसिना बगाएर बनाएको घर बेचेर डेरामा सर्नुपर्दा बिरुको मन अमिलिनु स्वाभाविकै हो । त्यो घर बनाउन सरिता र बिरुले कम पापड बेलेका थिएनन् । एक त उनीहरूसित घरबनाउन पुग्ने पैसा थिएन । ऋणउधार गरेर, अपूmले लिनुपर्ने सेवासुविधा कटाएर पनि त्यही घरमा लगाए । आपूmहरू दुवै जना जागिरे, घरबनाउन खटिनुपर्ने समय कसरी निकाल्ने ? सिमेण्ट, छड, इँटा, गैँटी, साबेल, बाँस, डोरीजस्ता सामानको जोहो गर्दा गर्दै कहिले कहिँ त खान पनि पाउन्नथे । कम मेहनत, कम धपडी र कम मानसिक चिन्ता झेल्नुपरेको थिएन त्यो घर बनाउन । त्यसरी बनाएको घर बेचेर डेरामा बस्नुपर्दा मनमा चोट पर्नु स्वाभाविक थियो । अर्को कुरा के थियो भने सरिताको साथ छुटे पनि अहिलेसम्म राती त बाबु छोरा सँगै बस्थे, सँगै खान्थे र सँगै सुत्थे । आफ्ना सुखदुखका कुरा हुन्थे तर अब त छोरो होष्टलमा गएपछि बिरु विल्कुल एक्लो भयो त्यो पनि डेरामा ।
(द्रष्टव्यः क्रमशः यस पछि भाग १४ आउनेछ ।)




