उपन्यास अंश : भाँचिएको लौरो (भाग १२)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980बिरु र सरिता नयाँ डेरामा सरेपछि दुई,चार दिन निकै अप्ठारो महसुस् भयो । तर सुस्त सुस्त बानीपर्दै गएपछि त्यो पनि सहज हुँदै गयो । सबैभन्दा अप्ठारो श्रवणलाई भयो । उसले धेरै दिनसम्म पनि डेराको बसाइ पचाउन सकेको थिएन । त्यो पनि कहिले संझाएर कहिले हप्काएर पनि उसलाई मनाए । अथवा बाध्यताबस ऊ पनि यसैमा भिज्न थाल्यो ।

एउटा असजिलो के भयो भने विष्टकहाँ बस्दा श्रवणलाई हेर्न र काम गर्न भनेर मान्छे राखेका थिए भने अब कामको अनुपात र बसाईको अप्ठारोपनले गर्दा काम गर्नेलाई छुटाउनुप्यो । त्यो अप्ठारोलाई पनि श्रवणको स्कुल अफिसको नगिचै सारेर समाधान गरे । उनीहरूको डेरा अफिसबाट अलि टाडा थियो । त्यो पनि अफिसकै नजिक पारेर सारे । घर हुनेले अफिसको पायक पार्छु भनेर सक्दैन तर अरू कुराको असुविधा भए पनि डेरावालाले यो सुविधा लिनसक्छन् बिरुहरूले पनि लिए ।

यति भएर पनि एउटा बास्तविकता के छ भने घरमा बस्नु र डेरामा बस्नुमा आकास जमिनको फरक छ । हाम्रो बिरु परिवारले अहिलेसम्म विष्टको घरमा बसेर कुनै अभावको सामना गर्नुपरेको थिएन । न कहिले पानीको अभाव, न बत्तिको । पानी नपुगे जमिनको पानी तानेर फिल्टर गरे हुन्थ्यो भने बत्ति गए सोलारको बत्ति बाले पुग्थ्यो । न कसैको कच्कच न कसैको झक्झक् । आफैंमा व्यवस्थापक आफैंमा मालिक, कसैले के भन्ला ? भन्ने थिएन । तर डेराको कुरा अर्कै हुन्छ । यहाँ त एक बाल्टी पानी बढी पोखे घरभेटीले आँखा तर्छन् । आधा घण्टा बत्ति बढी बाले बिजुलीको बिल तेर्स्याउँछन् । यत्तिमात्र कहाँ हो र ? केही बोले डेरा छोडेर जानुस् यस्ता डेरावालाको कमी छैन, कालो गए गोरो आउँछ ।’ भन्छन् ।

काठमाडौँ हाम्रो राजधानी, सबै सुविधाको खानी । पढ्न परे काठमाडौँ, जागिर खानपरे काठमाडौँ । भएन राहदानी लिन र औषधिमुलो गर्न परेपनि काठमाडौँ नआइ सुख छैन । गाउँ नगरतिर समाजसेवा गरेर बस्नेले वा राजनीति गर्नेले कुनै सानोतिनो काम गर्न गराउनुपरे पनि काठमाडौँ आउनै पर्छ । अर्को कुरा राजनीति गरेर वा कालोधनले नवधनाड्य बनेका महामहिमहरूको लागि सोखसुविधा पनि काठमाडौंमै केन्द्रित हुने भएपछि तर्कारी फल्ने काठमाडौँमा सिमेण्टका घर नफलेर के फलुन् ? सबैलाई काठमाडौँ चाहिने भएपछि बूढाबूढी दुवैले काठमाडौंमा जागिर खाने भएका बिरुपरिवारले पनि कतिदिन डेरामा बसेर निर्वाहा गरोस् ? अझ यिनीहरूको त काठमाडौँमा घडेरी पनि छँदैछ । त्यस कारण उनीहरूले घर बनाउने बारेमा सोच्नु पनि ठूलो कुरा भएन ।

जग्गा किन्दा सरिताको नाममा लिएको ऋण फर्छिएको थियो । विष्टजीको घरमा बस्दासम्म खास खर्च भएको थिएन । अहिलेसम्म केही पैसा पनि जम्मा भएको थियो, नपुग केही रकम ऋणउधार गरेर चारकोठे सानो घर बनाएर आफ्नै घरमा सरे । अब त उनीहरू पनि घरधनी भए । डेरामा बस्दा सानोतिनो कुरामा पनि बारम्बार खानुपरेको घरधनीको खप्की अब छुट्यो । डेरामा बस्दा पराधीनताबाट हुने मानसिक पीडा त छुट्यो तर दुवै जनाले जागिर खाने भएकोले घरको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता फेरि थपियो । दुवै जनाले घर छोडेर जागिर खान जाउँ भने घरमा भएका भाँडाकुँडा, लुगाफाटो पनि साँझ आउँदा नरहने हो कि ! भन्ने चिन्ता, नजाउँ जागिर छोडेर खाने के ? डेरामा बस्दा पो घरभेटी हुन्थे र घर कुर्थे । आफ्नो कोठामा ढोका लायो हिँड्यो, चिन्ता न सुर्ता । अब त जिम्मेवारी आफ्नै । घरमा बस्दा पनि त्यति सजिलो कहाँ छ र ?

देशभरकै सुरक्षा व्यवस्था नाजुक छ भने काठमाडौँको सुरक्षा कसले गर्ने ? ज्यानको सुरक्षा त हुन नसक्ने ठाउँमा घरको वा धनमालको सुरक्षा खोजेर साध्य पनि छैन । विहान घरबाट निस्केको व्यक्ति साँझ सकुशल घर फर्कने हो होइन भनेर चिन्ता लिनुपर्ने देशमा बसेर जिउधनको सुरक्षा खोज्नु आफैंलाई मूर्ख बनाउनु हो । सबैलाई शहरमा बस्नुपरेको छ त्यो पनि राजधानीमै ।

राजधानीमा बसेपछि मिठो खानुप्यो राम्रो लाउनुपर्‍यो । कामधन्दा, रोजगारी केही छैन । कहाँबाट आउँछ राम्रो लाउने र मिठो खाने पैसा ? कामधन्दा पाए पनि हाडछाला र मथिङ्गल किन खियाउने ? मौका हे्यो कुनै घरको झ्यालढोका उक्कायो भित्र पस्यो । बस्, उस्तै मालदार रहेछ भने दुई चार महिनालाई पुग्छ, नभए केही दिनलाई मोजमजा गर्न त पुगिहाल्छ । वर्षा याममा च्याउ उम्रेजस्ता राजनैतिक पार्टी छँदैछन् एउटा पार्टीको विल्ला भिरेपछि राजनैतिक कार्यकर्ता भइहालिन्छ । पार्टीलाई यस्ता डनहरूको खाँचो भइहाल्छ । एउटा पार्टी खोलेपछि दुई चारसय यस्ता डनहरू नपाले पार्टी खोलेको के मजा भयो र ? आफ्नो सुरक्षालाई होस् वा पार्टीलाई चन्दा उठाउन होस् डन नपाले कसरी राजनीति चल्छ ?

अदालतले हत्यारा करार गरेको व्यक्तिलाई प्रधानमन्त्रीले काखीच्याँपेर हिँड्ने र शान्ति सुरक्षाको नाममा करोडौँ रूपियाँ गजल्ट्याउने गृहमन्त्रीले ‘सबैले डन पाल्न हुन्छ भने मैले पाल्न किन नहुने ?’ भनेर पत्रकारलाई उल्टो प्रश्न गर्ने देशमा जनताको जिउधनको सुरक्षा कसले गर्ने ? त्यसमाथि चार पाँच हजार पुलिस भएका ठाउँमा पचासौँ हजार यस्ता लुच्चा–लफङ्गा, चोर–डाँका र डनहरूको नियन्त्रण कसरी हुन्छ ? यदि कोही समातियो भने पनि राजनैतिक तुरुपको पत्ता फालेपछि पुलिसका बाबुको के लाग्छ ? त्यसो हुनाले सके आफ्नो सुरक्षा आपैम् गर नभए डनको कृपामा छोडिद्यौ । यस्तै छ नेपालीको जिन्दगी । यही भनेर बिरुदम्पति पनि ढोका लाएर हिडे । कसैको आँखा नपरेसम्म उनीहफ्रूको घर पनि सुरक्षित हुन्छ । धन्दामान्नु पर्दैन ।

सरिता र बिरुको एकमात्र छोरो श्रवणकुमार लाखमा एक होइन कि करोडमा एक भएर निस्क्यो । यो उनीहरूको आँखाको नानी, बुढेसकालको एकमात्र सहयोगी लौरो, साँच्चैको होनहार भएर आयो । पूर्वस्कुल पढ्दादेखि पाँच कक्षासम्म त उसलाई कहिल्यै पढ् भन्नु पनि परेन र कहिल्यै अतिरिक्त ट्यूशन पढाउन पनि परेन । सधै कक्षामा प्रथम भएर पास भयो । अनुशासन, आज्ञाकारितामा र उत्साहमा सधै अब्बल रह्यो । बच्चाहरूमा हुनुपर्ने गुण मध्ये उसमा कुनै कमी थिएन । यो देखेर वरपरका अविभावकहरू सधै लोभिन्थे । कसैलाई उदाहरण दिनुपरेमा श्रवणको उदाहरण दिन्थे । हुन पनि शील–स्वभाव, रूप–रङ्ग र व्यवहार–आचरण कुनैमा पनि उसलाई खोट लगाउन सकिने ठाउँ थिएन ।

छ कक्षा पढ्ने बेलामा श्रवण बिरामी भयो । एकाएक उसलाई निमोनियाँले समातेछ । बिरु र सरिताको सातो नै गयो । उनीहरूले छोराको उपचारमा लाखौँ रूपियाँ बगाए । पैसा जति खर्च भए पनि छोरो बाँच्यो, यसैलाई उनीहरूले ठूलो ठाने । श्रवण धेरै दिन थलिएर उठेकोले नातागतले ज्यादै सिथिल भएको थियो । छोराको हेर्विचारको लागि दुवैजनाले करीब बीस दिन जति बेतलवी विदा लिएका थिए भने अस्पतालबाट घरल्याएपछि उसको स्यहार सुसार गर्न भनेर अरू एक महिना सरिताले बेतलवी विदा लिई, बिरु अफिस गयो ।

श्रवणलाई उनीहरूले राम्रै स्कुलमा पढाएकाले दुई जनाको तलब आउने भएपनि उनीहरूले तलबबाट खास केही बचाउन सकेका थिएनन् । ऊ बिरामी भएपछि झण्डै डेडलाख जति ऋण लाग्यो । छोरो बिरामी पर्नाले उसको एक वर्षको पढाइ त विगार्‍यो बिगार्‍यो साथै ऋण समेत लागेकोले उनीहरुलाई केही मानसिक धक्का पनि लाग्यो । तर छोराको जीवनको अगाडि पैसाले कुनै महत्व पाएन ।

सन्चो भएपछि पनि श्रवणको त्यतिराम्रो स्वास्थ्यस्थिति त थिएन तर ऊ ढिपी गरेर पढ्न गयो । त्यति राम्रो पढाइ भएको बच्चालाई छ कक्षा पास गर्न पनि झण्डै तीन महिना जति ट्युशन लिनुपर्‍यो । बल्ल तल्ल सातौँ कक्षामा त गयो तर पहिलेको जस्तो स्वास्थ्य बनाउन उसलाई सात, आठ महिना लाग्यो ।

मान्छेलाई दशा लागेपछि दश थरी हुन्छ, भन्छन् र कसैलाई आपत्ति आउने भएपछि एक्लै आउँदैन रे ! त्यति राम्रो पढाइ चलिरहेको श्रवण बिरामी भएपछि उसलाई कक्षा चढ्न पनि अतिरिक्त समयमा ट्युशन पढ्नुपर्ने भयो । घर बनाउँदा लागेको ऋण तिर्न भ्याइएको छैन, छोरो बिरामी परेर अरू थपियो । छोरो, छोराको पढाइ, छोराको स्वास्थ्य भन्दाभन्दै सरिताले आफ्नो स्वास्थ्यको ख्याल गरिन । उसलाई टीबी लागेको रहेछ । उसले पहिले बिरुलाई पनि बताइन र आफूले पनि वास्ता गरिन, आखिर अहिले आएर जँचाउँदा त अन्तिमजस्तै भएको रहेछ । उसलाई बचाउँन ज्यादै मुस्किल छ भनेर डाक्टरले जवाफ दिए ।

सास रहेसम्म आश मार्न भएन सरितालाई बचाउँन बिरुले नेपालका अस्पताल मात्र होइन भारतका ठूला ठूला अस्पतालमा पनि लग्यो । तर उसको भाग्यमा ऋणमाथि ऋण थपियो । सरितालाई बँचाउन कसैले सकेनन् उसले सदाको लागि बिरुलाई एक्लो र श्रवणलाई टुहुरो पारेर गई ।

सरिता आफू त गई । तर आफ्नो परिवारलाई भताभुङ्ग पारेर गई । श्रवण विचरो बल्ल बार पुगेर तेरमा लागेको छ । भर्खर बिरामी भएर जिउ लिन लागेको उसलाई यो बेला आमाको सक्त जरुरत थियो । उता बिरु यसरी एक्लो भयो कि उसले वास्तवमै आधा अङ्ग गुमायो । यसले गर्दा खास गरेर छोराको लागि दोहोरो भूमिका खेल्नुपर्ने भयो अब । दुई जनाको मायाँले त नपुगेको श्रवणलाई एक्लै कसरी दुई जनाको मायाँ ममता र ओत दिनसक्ला उसले ?

बिरुले समय तालिका निर्धारण गर्‍यो आफ्नो र श्रवणको समेत । छोराको स्कुलबस बिहान साँढे आठ बजे आउँथ्यो भने साँझ साँढे चार बजे । त्यसैले श्रवणलाई साँझ नौ बजे सुत्ने र बिहान पाँच बजे उठ्ने नियम बनाइदियो तर आफू भने बिहान चारै बजे उठ्ने र साँझ सबै काम सकेर दश, साँढे दशमा सुत्ने गर्थ्यो । छोरालाई उठेपछि हातमुख धुन लगाएर एक गिलास दूध ख्वाएर पढ्न बसाउँथ्यो । अनि हल्का नास्ता बनाएर आठ बजे ख्वाएर स्कुल पठाउँथ्यो । बिहानको खाना श्रवणले स्कुलमै खान्थ्यो । स्कुलबाट आएर खानलाई नास्ता बनाएर राखिदिन्थ्यो र आफू जाँगर लागे खाना बनाएर खान्थ्यो भने कहिले त्यसै अफिस जान्थ्यो । श्रवण स्कुलबाट आएर राखिदिएको नास्ता झिकेर खान्थ्यो ।  साँझको खाना भने बाबु छोराले संगै खान्थे । यो बिरुको रुटिङ्ग हो ।

बिरु कामधन्दा सकेर विछौनामा त जान्थ्यो तर एक दुई बजेमात्र केही बेरको लागि निदाउँथ्यो । उसलाई छोराको भविष्य र सरिताको मृत्युले सधै सताइरह्यो । श्रीमतीलाई संझेर रुन पनि उसलाई एकान्त चाहिन्थ्यो । त्यस्तो एकान्त विस्तरामा मात्र पाउँथ्यो ।

(यस उपन्यासको तेह्रौँ भाग यसपछि क्रमशः आउनेछ ।)

तपाइँको प्रतिक्रिया