भाँचिएको लौरो : उपन्यास अंश (भाग १०)

रमेश गौतम “पाल्पाली”

ramesh-gautam-palpali-110765980विरु तानसेनको बसपार्क पुग्दा चार बजिसकेको थियो । ऊ सरासर त्यही होटलमा गयो जहाँबाट ऊ भागेर बुटवल हुँदै काठमाडौँ गएको थियो । त्यहाँ गएर काउण्टरमा हे्यो त्यहाँ पुरानो साहु थिएन । अर्कै नयाँ युवक थियो । उसित पुरानो साहु धर्मदासको बारेमा सोध्यो । काउण्टरमा बस्ने उसको छोरा रहेछ । धर्मदास त ज्वरो आएर माथि सुतिरहेको थाहा भयो । एक जना काम गर्ने केटालाई लिएर ऊ धर्मदास सुतेको ठाउँमा गयो । साहुलाई नमस्ते गरेर बिरु गोडारीमा बस्यो ।

“मैले त बाबुलाई चिनिन । को हुनुहुन्छ कुन्नि ?”

“साहुजी, पश्चिम पाल्पाको ढुकुरखोला गाउँको एउटा बिरे भन्ने दश/बाह्र वर्षको केटा तपाइँकहाँ आएर ‘मलाई केही खानदिनुस्न साहुजी ! मलाई आसाध्य भोक लागेको छ । मैले तपाइँको जे काम पनि गर्छु’ भनेको थियो । ‘तपाइँले उसलाई खान दिनुभयो र तँ यहीँ बसेर होटलको काम गर्छस् ?’ भनेर सोध्नुभयो । उसले ‘गर्छु’ भनेर तपाइँकोमा तीन महिना जति बसेर राम्रोसंग काम पनि गरेको थियो । तर एक दिन ऊ लुसुक्क निस्केर भाग्यो । तपाइँलाई संझना छ ?“

“मलाई संझना छ बाबु, संझना छ । त्यो केटा यहाँ बस्दा सम्म बडो इमानदारी साथ काम गरेको थियो । मैले त्यसलाई गालि गर्ने पिट्ने पनि गरेको थिइन । त्यसलाई केही पैसा पनि दिएको थिएँ, तर त्यो एकाएक किन भाग्यो ? आउला कि भनेर धेरै दिनसम्म पनि बाटो हेरेँ तर आएन ।”

“आयो साहुजी आयो, त्यो केटा आयो ।”

“आएन बाबु, आएन । त्यो केटा फेरि फर्केर आएन ।”

“आयो साहुजी, बिरे भन्ने त्यो केटा मै हुँ ।”

“हँ ! के भनेको बाबुले ?”

“त्यो बेला तपाइँले कम गुन लाउनुभएको हो र ? दुई दिनदेखि मैले केही खाएको थिइन । तपाइँले काम गर्नुभन्दा पहिले पेटभरी खान दिएको, आश्रय दिएको र अझ पैसा समेत दिएको कुरा मैले बिर्सेको छैन । त्यसै भएर आज म तपाइँप्रति कृतज्ञता जनाउन आएको छु साहुजी । तपाइँजस्तो मान्छेलाई केही नभनी भागेकोमा मलाई क्षमा गर्नुस् है ।”

“बाबु, क्षमादिनुपर्ने कारणै छैन । तपाइँप्रति मेरो कुनै गुनासो छैन । तपाइँले मेरो के विगार्नुभएको थियो र ? गुनासो रहनु । मैले त भनिसकेँ इमानदार केटा थियो भनेर । बरु तपाइँ किन जानुभएको थियो र गएर के के गर्नुभयो ? भन्नुस् न ।”

“साहुजी, म पढ्न पाइन्छ भनेर गाउँबाट आएको थिएँ तर यहाँ बसेर पढ्न पाइने छाँट देखिन । अनि बटौली जान हिँडेका ढाक्रेसित पछि लागेर बटौली पुगेँ । त्यहाँ एक जना काठमाडौँबाट आएका मान्छेसित भेट भयो । उहाँले ‘मसँग जान्छस् भने पढ्न स्कुलमा राखिदिन्छु । मलाई पनि सगाउलास्’ भन्नुभयो ।

“हुन्छ” भनेर उहाँसँग काठमाडौँ गएँ ।

तपाइँलाई सोधौँ भने नजा भन्नुहुन्छ कि भनेर नसोधी लुसुक्क गएँ । त्यसै भएर तपाइँसंग क्षमा माग्न आएको ।”

“क्षमा माग्नुपर्ने त केही छैन, तर त्यहाँ गएर तपाइँले के गर्नुभयो ? भन्नुस् न ।”

“यहाँबाट गएपछि स्कुलमा भर्ना भएँ । एस. एल. सी., आइ. ए. र वि.ए. सम्म पढेँ । बिहे गरेँ, जागिर खान्छु । काठमाडौँमा घडेरी किने । अहिले पनि सचिवज्यूकोमा बसी रहेको छु । उहाँ त मान्छे होइन द्यौता हो । उहाँसित गएर मेरो त जिन्दगी नै सुधार्‍यो ।”

“बाबु, ज्यादै खुसी लाग्यो ।”

“लौ त साहुजी, म अहिले जान्छु ।”

“बाबु, रात परिसक्यो, यति बेला कहाँ जाने ? मलाई संझेर आउनुभयो । आज यहीँ बस्नुस् भोली जानुहोला ।”

अर्को दिन उठेर बिरु ढुकुरखोलातिर जान्छु भनेर बाहिर निस्क्यो । उसले “पाल्पा र पाल्पाका गौरब”, “तपाइँ रिडी जानुभयो ?” जस्ता लेख पढेको थियो । यहाँ आएको बेलामा यहाँका दर्शनीय स्थलहरू हेर्ने विचारले टुँडिखेलबाट नारायणस्थानतिर लाग्यो । पहिले चमेरामात्र देखेको ठाउँमै यस्तो विशाल तीनतले मन्दिर, टुँडाल, पोखरीहरू रहेछन् । वि.सं १८६३ मा अमरसिंह थापाले बनाएकोले अमरनायण मन्दिर पनि भन्दा रहेछन् । अलिमाथि धवलपुस्तकालय, नजिकै संस्कृत विद्यालय रहेछन् । तर विहानै खुलिनसकेको हुँदा भित्र पस्न नपाए पनि बाहिरफेर हेर्दै भगवतीस्थान पुग्यो ।

ओहो ! यो पनि तीनतले झन् पुरानो विसं १८१५ मै बनेको रहेछ । अँग्रेजसितको लडाइँ जितेको उपलक्षमा उजिरसिंह थापाले बनाएको भएर रणउज्जेश्वरी भगवती मन्दिर पनि भन्दा रहेछन् यसलाई । बिरु त्यसपछि गणेशस्थान हुँदै श्रीनगर पुग्यो । आहा ! चिउरा पोखेको हो कि म्यालका फूल हुन् यी चौर भरी छरिएका ? माछापुछे «, अन्नपूर्ण हिमाल पोखारामा छन् भन्थे यहीँनिर जस्तो पो देखिन्छन् त ? धौलागिरी पनि नजिकै रहेछ । यति ठूलो टावर पनि बनेको रहेछ । यहाँबाट त सबैतिर देखिने रहेछ । दूरबिन लगाएर हेर्न पाए त पूरै तराई र गोरखपुर सम्म पनि देखिन्छ होला । माण्डव्य ऋषिको तपस्थल माडीफाँट तानसेनको काखमा सुतेको कति विशाल । साँच्चै पाल्पाका गौरवनै हुन् यी त ।

यहाँ आएपछि एसियाको ठूलो त्रिशूल भएको भैर वनै स्थान नहेरी के जानु ? बिरु तेर्छै लाग्यो । करीब ११ किलोमिटर पर माथि डाँडामा रहेको मन्दिर १४६५ मै बनेको भन्दा रहेछन् तर सोह्रौँ शदीमा सेन राजाले बनाएको भन्दा बढी प्रमाण भेटिँदो रहेनछ । त्यहाँबाट उत्तरपश्चिमतिर मणिमुकुन्द सेनको दरबार रहेको ठाउँ सिलङ्गीथोक हेर्दै हाडथोकबाट ओरालो लाग्यो रिडीको लागि । अर्गली पुगेर जुद्धसंशेरले बनाएको विशाल दर्बार हेर्दै मानवनिर्मित सत्यौदी ताल हेरेर हृषीकेश मन्दिर पुग्यो । अहा ! यो दिव्यमूर्ति, काली र रिडीको सङ्गम, शालिग्रामको उद्गमस्थल यस रुरुक्षेत्रको राम्रो प्रचाप्रसार हुनसके कति पर्यटक आउँथे होला । यस्तै सोचेर बिरु रिडीखोलाको तिरैतिर ढुकुरखोलाको लागि हिँड्यो ।

बिरु अर्को दिन सर्देवा, अर्चले हुँदै दिउँसो ढुकुरखोला पुग्यो । ऊ सरासर आफ्नो घर भएको ठाउँमा पुग्यो । त्यहाँ खाली भग्नावशेष मात्र थियो । त्यसपछि उसको बाबा लडेको रूखमुनी गएर नजिकैको बन फूल लिएर ‘आमा–बाबाको आत्माले चिरशान्ति पाओस्’ भनेर कामना गर्‍यो । त्यहाँबाट आफूलाई सधै पिट्ने र गाली गर्ने साउनीको घरमा गएर आपूm पहिलेको बिरे भएको र अहिलेको अवस्था बतायो ।

साहु बितिसकेका रहेछन् । साउनी चाउरी परेर एक्लै बसेकी । उनका दुई छोरा मध्ये एउटा उहिल्यै मरेको र अर्काे विदेशतिर बस्ने गरेको रहेछ । बिरुलाई देखेर साउनीले उसबेला हेला गरेको, बेला–बेलामा पिट्ने समेत गरेको संझेर ठूलो पश्चाताप गर्दै भनिन्

“बिरे ! मलाई माफ गर् है बाबु ! मैले तिमीहरूलाई निकै दुःख दिएँ । त्यही पापले होला अहिले यो अवस्थामा एक्लो जीवन जिउनुपरेको छ । मेरा दुइटा सहयोगी लौरा थिए दुवै भाँचिए । अहिले बेसहारा भएकी छु ।”

“त्यस्तै हो बज्यै, हाम्रो सामाजिक व्यवस्था नै दोषीछ । हुनेले नहुनेलाई हेप्ने परम्परा अहिले पनि कहाँ हटेको छ र ?

“बाबु ! हाम्रो सोचाइ नराम्रो रहेछ । यो सोचाई बदलिनु पर्छ ।”

“बज्यै ! तपाइँको सोच बदलिएकोमा खुसी लाग्यो । अब तपाइँप्रति मेरो कुनै गुनासो छैन । यदि तपाइँले हाम्रो पुरानो घर भएको ठाउँ किन्न दिनुभए त्यसमा आमाबुबाको नाममा बरपिपल रोपेर चौतारो बनाउने थिएँ ।”

“बिरु किन्ने कुरा नगर् बाबै ! तँलाई चाहिएजति जग्गा लिएर चौतारो बना । अब मलाई यो जमीन के काम । जग्गा–जमिन, धन–सम्पत्ति भनेर मरिमेट्नु बेकार रहेछ । उस बेला बुद्धि पुगेन । अहिले हात–खुट्टा गलेपछि होश आएर काम लागेन । अब त पछुताउनु बाहेक मेरो अरू उपाय रहेन । त्यसो हुनाले तँलाई जति जग्गा चाहिन्छ ले बाबु । तैँले चौपारी बनाइस् भने मर्ने बेलामा मेरो आत्माले पनि शान्ति पाउने थियो ।”

“हुन्छ बज्यै ! छिमेकीहरूसित कुरा गरेर काम गर्छु ।” भनेर गोरेको घरतिर गयो । उसका पुराना दौँतरीहरू चार/पाँच जना भेटिए । उनीहरूको सहयोग लिएर बिरुले चौपारी (चौतारी) बनाएर वल्लो–पल्लो छेउँमा बर र पिपल लगायो । अनि साथीहरूलाई “यो सार्वजनिक स्थल हो, यसको संरक्षण गर्ने जिम्मेवारी तिमीहरूको हो है साथी हो ।” भनेर ऊ काठमाडौँतिर लाग्यो ।

बिरु घर आउँदा साँझको छ बजिसकेको थियो । घरमा कोही पनि थिएनन् । बाबालाई फोन गर्‍यो ।  सरितालाई सन्चो नभएर विष्टहरू बिहानैदेखि अस्पताल गएका थिए । विष्टले पाटन अस्पतालमा आउन भने बिरु सरासर अस्पताल पुग्यो । ऊ त्यहाँ पुग्दा सरिताले छोरालाई जन्मदिइसकेकी थिई । घरौँले, ससुराली सबै त्यहीँ थिए, गर्नुपर्ने काम अरूले गरिसकेका थिए । ऊ त बधाइ खाने मात्र भयो ।

विष्टको घरमा नौलो सदस्य आयो चार जनाबाट पाँच जना भए । आफ्नै नतिनातिना नभए पनि कर्मको नाति जन्मेकोमा विष्ट दम्पति आज ज्यादै खुसी भएका थिए । छोरा बुहारी गएपछि आज जत्तिको खुसी पहिले भएका थिएनन् । सुत्केरीको हेर्विचार शारदा स्वयम्ले गर्न लागिन् ।

(द्रष्टव्यः– यसपछि क्रमशः भाग ११ आउनेछ ।)

तपाइँको प्रतिक्रिया