कथा : एन आर एनको सन्तान (भाग १)

सोमना थनेत / बेल्जियम 

som-narayan-thanet-somana-tharu-1212गोपालले आफ्ना सबै परिवार विदेश लिएर गयो । अर्थात पिआर (स्थाई बस्ने कागज) पाएपछि आफ्नो श्रीमती र पाँच वर्षे छोरो सरोजलाई पनि बेलायत लिएर गयो । उसले लगभग २० वर्ष अघि आफ्नो गाउँ छोडेको थियो । उसले बेलायतमा बस्न पाउने कागजको लागि अनेक हन्डर खाँदै बस्यो । अन्तत : उसले चाहेकोकागजको खोस्टो हातमा पर्यो ।  दुई सताब्दी सम्म विदेशमा बसेर उसले मनग्गे सम्पति जोड्न सक्षम भएको थियो । सुरु सुरुमा रेष्टुरेन्टमा भाँडा माझ्यो उसले । पछि आफ्नै व्यवसाय सुरु गर्यो । अहिले ऊ बेलायतमा एक दर्जन जति कम्पनीको मालिक भएको छ ।

गोपाल त्यति धेरै वर्षदेखि बेलायतमा बसीरहेको छ । कानुनत ऊ बेलायती नागरिक भएको छ । तर उसले आफु जन्मेको गाउँको माया चटक्कै मारीहालेको छैन । वास्तवमा उसले नेपाली धर्तीलाई भित्री आत्मा देखीनै माया गर्छ । आफ्नो नेपाली पहिचान जीवन्त राख्न चाहन्छ  । यस कारण उसलाई एउटा ठुलो चिन्ताले सताइरहेको छ । त्यो चिन्ता भनेको कतै उसको छोराले नेपाली संस्कृति र नेपालीत्व विर्सने पो हो ? किनकी उसको छोराको संगत बेलायती ठिटाठिटीहरु सँग बढीहिमचिम छ । ऊ बेलायती ठिटाठिटीहरु सँग बेला बेला डिस्को जाने गर्दछ । त्यहा जाँदा अनेक किसिमका गाँजा धतुरोको लत पनि उसमा लाग्न थालेको छ ।  पोहोर साल गोपाल नेपाल गएको बेला आफ्नो सबैभन्दा मिल्ने साथी हरीसँग गुनासो पोखेको थियो –

” हेर हरी ! तिमी र म सबैभन्दा मिल्ने साथी हौं । तिमीले मलाई एउटा सहयोग गर्नुपर्यो । त्यो के भने मेरो छोरो सरोज बेलायती समाजमा बसेर आफ्नो भाषा , संस्कृति बिर्सदै गएको छ । भोली गएर उसले आफ्ना नातागोता पनि विर्सने हो कि भन्ने मलाई चिन्ता छ । उसलाई के गर्न सकिन्छ होला ? तिमी समझदार छौ । लौ मलाई कुनै उपाय दिनु पर्यो । ” यी दुई लङौटिया साथीको गम्भिर छलफल हरिको गोठमा भैरहेको थियो । हरीले त्यही नजिकै बाँधिएका बाख्राहरुलाई डाले घाँस हाल्दै गोपाललाई सुझायो ।  उही आफ्नै गाउँले पारा र गाउँले सिद्धान्त अनुसार –

” ए गोपाल यस्ता बिग्रन लाएका केटाहरुलाई त दुलही भित्रयाइदिनुपर्छ । अनि मात्र ठीक बाटोमा आउँछन । ति पल्ला घरका गोरेको छोरो पनि त लम्फु हुन लाथ्यो । बिहा गरेपछि त कति नरम भाछ । अचेल त खेतीपातीमा  पनि खुब ध्यान दिन्छ । अब तिमले पनि त्यही नै गर । गोरेनी सोरेनी भित्रयाउला । बेलैमा बिचार गर गोपाल । बरु उसको बिहा यतै नेपालतिरबाट गर्नुपर्छ । अलि शुसिल र बानी व्यहोरा राम्री भएकी केटी खोजौंला नी । मैले देखेको उपाय त यही हो गोपाल ।”

गोपाल, ल हिँड मेरो सुन्तला बारी तिर । तिमीले विदेशमा के केको व्यापार गरेका छौ । पैसा र नाम कमाएका छौ । मेरो केही छैन तर बाबाको जे थियो त्यसैलाई निरन्तरता दिँदै अलि कति फराकिलो र विकसित तरिकाले यो कृषि पेशालाई अगाडि बढाइरहेको छु । सुन्तला बारीमा जाँदा एक हुल मजदुरहरु गीत गाउँदै रमाइलो गर्दै सुन्तला टिप्दै थिए । “ल हेर गोपाल मेरो सुन्तला बारी यही हो । यो बारी सप्पै त मेरो होइन । ८ रोपनी मेरो आफ्नो भो केरे । अनि त्यसमा १० रोपनी १० वर्षको लागि ठेक्कामा लिएको छु ।”

गोपालले मनमनै सोच्यो – ” ओ हो ! गर्न सक्यो भने यहीँ पनि त यस्तो गर्न सकिँदो रहेछ । मैले विदेशमा जतिसुकै पैसा कमाएपनि मलाई त्यहाँ कसैले नमस्कार गर्दैन । मनमनले हरिको प्रगति देखेर डाह पनि लाग्यो उसलाई ।”

सुन्तला बारीको अवलोकन गर्दै गर्दा ति दुई पुराना दोस्ती सुन्तला टिपीरहेका मानिसहरुकहाँ पुगे । त्यही नजिकै हरीकी छोरी पनि मजदुरहरुसँग सुन्तला टिप्दै थिइ । हरिले आफ्नो छोरीलाई गोपाल सँग चीनाजानी गराउने विचार गर्यो ।

“छोरी यी अंकललाई चिन्यौ ? सरोजको बाबा के ”

ए लन्डनमा बस्नु हुने अंकल ? नमस्कार ! अंकल ।  अनि सरोज आछैन अंकल ? – बिनाले सादर नमस्कारले अभिवादनको साथसाथै सरोजलाईपनि सोधिन  ।

बिनाको उमेर १९ कटेर २० मा लाग्न लागेको थियो । अग्ली, गोरी र जिउज्यान चटक्क परेकी बिना हँसिली अनुहार कि थिइ । उसको अनुहारमा नजर पर्ने जो कोही युवाको मन रसाउने खालको थियो । “अनि छोरीको पढाई कहाँ पुग्यो हरी ?” गोपालले सोध्यो ।

अहिले गाउँकै क्यापसमा बिए पढदै छ गोपाल । के गर्ने शहरतिर पठाउन पनि मन लागेन । यसकी आमाले पनि कहाँ शहर पठाउने भनेर जिद्दी गरिन । अनि घरमै बसेर गाउँमै खुलेको क्यापसमा पढिछे । ठिकै छ । यी मलाई पनि सहयोग गरेकी छे । पढाईमा पनि राम्रै गरेकी छे त ।

गोपालले विचार गर्यो – यै हरीकै छोरी मेरो सरोजलाई ठीक्क हुन्छ होला । तर खै कसरी कुरो अघि बढाउने ? गोपाल एकछिन टोलायो ” ।

ए गोपाल तिमलाई के भो हँ ? तिमी त टोलाएर पो बसेका छौ त ? के सोच्दै छौ ? हरिले जिज्ञासा राख्यो ।

” हैन हैन, हरी । त्यस्तो केही पनि हैन । यी अचेलका सुन्तला कति ठुल्ठुला फलेका भनेर म दंग छु के । उहिले उहिले त यत्रा दाना फल्दैन्थ्यो त ।” गोपालले बहाना बनायो ।

अब भने गोपालले हरिकी छोरी बिनाको हात माग्न लमी खटायो । यो खबरले हरिको घर परिवारमा हर्ष र विवाद ल्याइदियो । हरिले आफ्नी छोरीको बिवाह गोपालको छोरासँग हुँदा राम्रो नै हुने भनेर दावी गर्यो । उता हरिकी श्रीमती र हरिकी आफ्नै आमाले यो प्रस्ताव कडा रुपमा अस्विकार गरे । बुढी आमैको त यो प्रस्तावले दिमाग तात्यो । उनी बरबराइन । चिच्याइन ‘हुँदैन कि हुँदैन’ भनेर । मेरी नातिनीलाई गोरेको देशमा पठाउने ? धत्त ! गाइको मासु खाने ठाउंमा मेरी नातिनी जान्छे ?

तपाइँको प्रतिक्रिया