बाजी मारे गौतमले
● प्रा . डा. खेम कोइराला ‘बन्धु’ / त्रि. वि. वि.
(द्रष्टव्यः– रमेश गौतम “पाल्पाली” को उपन्यास “भाँचिएको लौरौ” का बारेमा भूमिका लेखी कमेण्ट गरेको बन्धुको लेख जस्ताको त्यस्तै राखिएको छ । यस पछि अर्को साता उपन्यासको सातौँ भाग आउनेछ ।)
बाजी मारे–गौतमले अर्थात् रमेश गौतम पाल्पालीले, मेरो अन्तर्मनले इमान्दारिताका साथ किटान ग¥यो । कारण थियो गौतमको ‘भाँचिएको लौरो’को प्रकाशनको सन्दर्भ । कृतिको विषयवस्तु छ वृद्धत्वको । आजको प्रचलित जेष्ठ नागरिकको ।
नेपालमा बृद्धहरूबारे धेरै कम साहित्य लेखिएका छन् । जे जति छन् तिनमा उपन्यास त कमै । मूलतः फुटकर छन् । त्यसैले बृद्ध बृद्धाको विषयमा लेखिएका कृति पढ्ने पनि कम छन् । नगण्य प्रायः । मान्छे जन्मन्छ, मर्छ यो जीवनको वास्तविकता हो । जन्मनु, हुर्कनु, तन्नेरी हुनु, प्रौढ हुंदै बूढो हुनु स्वाभाविक पक्ष हो । बूढो वा बृद्धको तह । बूढाका तीन अवस्था छन् । बूढो (old) बूढो बूढो (old old) निकै बूढो (very old) यसरी बूढोको कुरा गर्दा जैविकीय आयु शारीरिक अवस्था र क्षमताका आधारमा हुन्छ भने क्रमिक आयु चाहिँ उमेरको क्रमबाट हेरिने गरिन्छ । बृद्धत्वको पहिचानको सन्दर्भमा ।
x x x
कुरा गौतमकै कृतिको – उनले पढे । बुढेसकालै किन परिवर्तनशील हुन्छ ? शरीरमा परिवर्तन, रूपमा परिवर्तन, सोचाइमा परिवर्तन, शारीरिक क्षमतामा परिवर्तन हृुने गर्छ । परिवर्तनमा १) कपाल झर्नु २) छाला परिवर्तन हुनु, चाउरी पर्नु ३) आँखाको दृष्टिमा असन्तुलन हुनु ४) कान नसुन्नु ५) दाँत झर्नु ६) पेटको समस्या हुनु ७) भोक नलाग्नु ८) कब्जियत हुनु ९) फोक्सोको समस्या १०) मुटुको कार्यक्षमता घट्नु ११) मस्तिष्क वजन घट्नु १२) शारीरिक सन्तुलन हराउनु १३) मृगौलाको क्षमता कम हुनु १४) ग्रन्थी परिवर्तन हुनु १५) पैतालाको क्षमता घट्नु १६) मांसपेसी घट्नु १७) कमजोरी हुनु १९) इम्युनिटी कम हुनु २०) रोगले सहज आक्रमण गर्नु जस्ता पक्षहरू छन् । बृद्ध कालका राक्षस रोग हुन् ः— सुद्धि हराउने, लड्ने, ओछ्यान पर्ने, डिप्रेसन हुने, मानसिक स्नायु प्रणालीका रोग, डिमेन्सिया, अल्जाइमर, पार्किन्सिन, डिप्रेसन आदि हुने हुन्छन् ।
x x x
गौतम सोच्दै अघि बढे । बृद्धहरूका लागि के गर्ने त ? प्रश्न उठ्न सक्छ । भनिन्छ सास रहुञ्जेल आश । हरेक रोगीलाई कष्ट हुन्छ, बृद्ध रोगीलाई झन् बढी । यस अवस्थामा मर्नु भन्दा पहिले बृद्ध बृद्धालाई सुखी र सन्तोषी बनाउनु आवश्यक छ । मान्छे किन मर्न चाहन्छ ? त्यसमा पनि समस्या भएका बृद्ध । कारण स्पष्ट छ– उपचार नपाएर, माया नपाएर, सम्मान नपाएर । बाँच्नु भन्दा मर्नु ठीक ठान्नुको कारण हो जीवनको कष्टकर पक्ष युथनेसिया (गतजबलबकष्ब) यसैका रूपमा लिनुपर्छ ‘सुख मृत्यु’ ।
x x x
धेरै पढे । बृद्ध सम्बन्धमा लेखनको प्रेरणा कसरी पाए त गौतमले ? मनुष्यको जीवन कर्कलाको पात । उनले बृद्धत्वका सन्दर्भलाई राम्ररी समातेका छन् । बृद्धत्व चुनौती– जीवनभरको हाँक । शारीरिक, मानसिक कष्ट । हो पनि, बाल अवस्था खेलको आशक्तिमा बित्छ । युवा युवती वासना मस्तीको आशक्तिमा बित्छ । बृद्धावस्था चाहिँ बूढो शरीर, बूढो मन कमजोरीमा बित्ने गर्छ । अझ रोग ग्रस्तता यसको एउटा महत्वपूर्ण पक्ष छँदैछ । मर्नुभन्दा पहिलेको अवस्था सुख र सन्तोषी बनाउन आवश्यक छ । यस अवस्थामा विरामीलाई स्याहारसम्भार गर्नुपर्ने बनाउने तर्फ चासो दिनुपर्ने – सो प्रयोजनका लागि बृद्धका व्यक्तिगत आकांक्षा, स्वास्थ्य समस्या, आर्थिक अवस्थाको उपयुक्त व्यवस्था, पारिवारिक उत्तरदायित्व विचार गर्नुपर्छ नै ।
x x x
वेदले भन्छ ‘जीवेम शरदं शतम्’ । यो बचाइ÷ जीवन कस्तो ? अदीना स्याम शरदः शतं भूयश्च, शरदं शतम् । बाँच्नु तर अदीन भएर । दीन–दुःखी व्यक्तिलाई स्मृतिदीन, बुद्धिदीन र दीनताको अन्य अवस्थामा ‘नबाँच’ भनिन्छ । बृद्धत्वमा मर्नुभन्दा पहिलेको अवस्था सुखी र सन्तोषी बनाउन सबैको कर्तव्य हो ।
गौतम सामाजिक लेखक । प्रौढ लेखक । यस कृतिले बृद्धत्वको दीनहीन अवस्थालाई इंगित गर्छ । हरेक व्यक्ति बृद्ध हुन्छ नै, बृद्ध शरीर निर्बल हुन्छ । मन निर्बल हुन्छ । प्रकृतितः दिन पछि रात हुन्छ । रातको सङ्केत हो बृद्धत्व । शङ्कराचार्यले सङ्केत गरेका छन्ः–
अङ्गम गलितम् पलितम् मुण्डम्
दर्शनबिहीनम् जातम् तुण्डम्
बृद्धो याति ..गृिहतम् दण्डम्……इत्यादि ।
यसैलाई आधार मानी गौतमले यो कृति लेखेका छन् । यसमा उनले जीवनमा यौवनको सुख भोग पछिको बृद्धत्वको दारुण र कारुणिक अवस्थालाई आफ्नो कृतिका घटना ÷ कथानक, चरित्रचित्रणबाट प्रष्ट गरेका छन् ।
x x x
विश्वमा बृद्धहरूको संख्या बढ्दोछ – विकसित देश संगसंगै विकासोन्मुखमा समेत । बुढ्यौली यदि निरुद्देश्य अर्थहीन छ ? निराश भयो र मानसिक मृत्यु भएमा के गर्ने ? अपहेलित जीवन लिएर दुःख कष्टमय जीवन बाँच्ने ? बृद्ध अशक्त र असक्षम हुन्छन् । कहाली लाग्दो बृद्धावस्था । तुलनात्मक रूपमा बृद्धको मानव अधिकार सुरक्षा गाह्रो, कठिन । अभिशप्त सरह । तर बृद्धत्व नै अभिशप्त त होइन नि ! बृद्धत्व–अनिवार्य कम । यही भन्न रमाएका छन्– गौतम ।
गौतमले आज बृद्धको समस्या बढेको कुरालाई इंगित गरेका छन् । वास्तवमा हाम्रो परम्परागत संयुक्त परिवार पद्धति टुट्दो छ । बृद्धहरूले कानूनी अधिकार सुरक्षित रूपमा उपभोग गर्न पाएका छैनन् । उनीहरूमा आफ्नै शरीर बोझ बनेको छ । मानसिक समस्या त छंदैछ, बौद्धिक क्षमतामा पनि प्रश्न चिह्न छ ! के शहर ! के गाँउ ! बृद्धबृद्धाहरू समस्याको पोकोको रूपमा छन् समाधान चाहीँ ‘पेण्डोरा’को बाकस । आज बुढ्यौलीलाई सहज र सरल बनाउनु पर्छ । तर कसरी त ? बृद्धहरूलाई ज्ञान र सीपमा सहभागी बनाएर, सम्मान र स्नेह दिएर, आत्मीयता जगाएर । आज अन्तर्पुस्ता खाडललाई पुर्नु पर्ने एकातिरको आवश्यकता छ भने अर्काे तर्फ स्वास्थ्यसेवा, मनोवैज्ञानिक शिक्षा, कानूनी सहयोग र निस्वार्थ सेवा गरेर ।
गौतमले नेपालका बृद्धहरूको समस्यालाई औपन्यासिक शैलीमा सटीक ढङ्गले प्रस्तुत गर्ने क्रममा एक्लोपना हटाउने, हेला, उपेक्षा, दुव्र्यवहार कम गर्ने, आदर सम्मान गर्ने, माया–ममता दिने, नियमित रूपमा हेरचाह गर्ने भन्ने कुरा गरेका छन् । उनको आशय हो– यिनीहरूलाई जीवित देवदेवीका रूपमा राख्ने, त्यसै रूपमा श्रद्धाका साथ उनीहरूले सिकेका कुरा सिकी ती कुरा पुस्तान्तरमा लैजाने बातावरण बनाउने । वास्तवमा गौतमको यस कृतिले सामाजिक राजनैतिक प्रतिबद्धता खोजेको छ, एकातर्फ राज्यको जिम्मेबारी अर्को तर्फ समाजको नैतिक र कानूनी पक्षको बाध्यता माथिको प्रतिबद्धतालाई हाल निर्मित कानूनमा संशोधन सुधार आवश्यक छ । जहाँ शिक्षा तालिम दिने, स्वास्थ्य सेवा, रोजगारी दिने पुनःस्थापन गर्ने जस्ता कुरा पर्छन् । गौतमको यस उपन्यासको सार हो– बृद्धहरूको जिम्मा परिवारले नै लिनुपर्छ अन्यथा सरकारले लिनै पर्छ । तेस्रो चाहिँ अन्तर्राष्ट्रिय तहले यसमा विशेष चासो लिनुपर्छ । लेखक गौतम भन्छन्– बृद्धहरू अभिशाप हुनै सक्तैनन् । बृद्धत्व अभिशप्त पनि होइन । आज बृद्धहरू हाम्रै कारणले अभिशप्त छन् । ईश्वर भगवान भनेका बृद्धहरू नै हुन् ।
उखान छ ः बाह्र छोरा तेह्र नाति बूढाको धोक्रो काँधै माथि
दायित्व जति बृद्धपुस्ताको । अनि फुक्का चाहिँ युवापुस्ता । स्वतन्त्रताका नाममा स्वच्छन्द । अर्थात् उत्तरदायित्व नलिने युवापुस्ता । यही समाज छ आजको ।
किन यस्तो ?
आज मानवीय मूल्य र मान्यता ह्रास भएका छन् । संस्कृति र संस्कार कुनामा पसेका छन् । परम्परागत आदर्श क्षीण छ । नेपालको सन्दर्भबाट राम्रा पक्ष विलाएका छन् । तिनलाई सन्दर्भित गरेका छन् गौतमले– कथानक पात्रका माध्यमबाट संयोजन गरेका छन् ।
आजको युवापुस्ता, त्यस्तो दयनीय भएका वर्तमानका बृद्ध नमान्ने । कठै ! ती बृद्धपुस्तालाई वास्तै नगर्ने पुस्ता । के यो अमानवीय होइन र ? ती बृद्ध हिजो यिनीजस्तै जवान थिए । तिनका जवानीका दिनहरू ! ती रमाइला क्षण उनीहरूले गरेका त्याग, सेवा र समर्पण । त्यस वेलामा त तिनीहरूले बृद्धप्रति सम्मानै गरेका थिए । किन बुझ्दैन ? आजको युवापुस्ता ? किन भावविह्वल हुन चाहँदैन आजको समाज ? हिजो नभए आज कसरी भयो ? हिजोका ती पुस्ता थिए र त आजको यो पुस्ता बन्यो । त्यसै मेसोमा साठी बर्ष माथिको उमेरको कुरा । यो शारीरिक, मानसिक, विशेष विचारणीय अवस्था ।
सन्ततिको लागि हिजोको त्यस समर्पणलाई आजले बुझ्न सकेन । ऊ आज आजमै रमायो । ऊ आफैमा चुर्लुम्म डुब्यो अरुलाई हेरेन । बुझ्ने त कुरै भएन । माता पिता पुरानो पुस्ता उनीहरूको पुरानो कठिनतम संघर्षलाई बुझ्न त्यसमा गहिरिन चाहेन । त्यस पुस्ताको दर्द र मर्मलाई बुझ्नै चाहेन । त्यत्रो सहयोग दिएको बृद्धपुस्ता आज कसरी एक्लो बाँच्दो हो ? उसको पनि जीजीविषा हुँदो हो । उसले सोच्तै सोचेन । पूरै स्वार्थतामा हरायो, बिलायो । ढुङ्गा जस्तै बन्यो । पशुभन्दा अविवेकी ।
x x x
बिगतका ती दिन । बिगतका ती रात । चर्का घाम, कठ्याग्रिने जाडो, कसरी हुर्काए होलान्, कसरी बढाए होलान्, कसरी पढाए होलान्, सन्तानलाई ? किन सोच्दैन युवा पुस्ता ?
दरवान बनेको बाबु, गिट्टी कुटेकी आमा ।
बिहान भालेको डाकदेखि साँझ सम्मको श्रम । यो किन बुझ्दैन युवा पीढि ? भुइँफुट्टा भइसोच्छ ऊ ।
कठै आजका निरीह जेष्ठ नागरिकहरू ! शहर हुन् वा गाउ,ं यत्रतत्र सर्वत्र पीडामा छन् । उनीहरूको आफ्नो पीडा, आफै सँग छ । न कसैसँग गुनासो न कसैसँग आश । न माग । आँखा चिम्लेर स्मृतिको भित्री तहमा पुग्दै आँशु निकाल्छन्, मौन रहन्छन् । अपहेलना सम्मपनि सहन्छन् । के यही भविष्यको आशामा ?
x x x
पाटी पाटीमा छन् बृद्धहरू
सडक सडकमा छन बृद्धहरू
छरिएका छन्, भरिने नामै छैन । एउटा कुनामा थन्किएका ।
भरिने भनेको बृद्धाश्रम पनि अपहेलनाले भरिएको छ । शरणार्थी शाला ।
x x x
कतै कतै विशाल महलमा थुनिएका छन् बृद्धहरू । केही बृद्धहरू महल मात्र ठूलो एउटा सानो चीसो कोठामा थन्किएका छन् । उल्टै विशाल भवनको रेखदेखमा खटिएका । ठूलाबडा भनिने धनी–मनी भनिनेका महलका बृद्धहरू छोराबुहारी नाति नातिना पो त्यस घरका मालिक । ऊ त बृद्ध भइगो नि ! बृद्धले इज्जत खोज्छ त ? बृद्धलाई किन सम्मान ? उसलाई किन अधिकार ? कस्तो अधिकारी ? छोरो सत्तामा छ । छोराकी श्रीमती सत्तासीनकी श्रीमती । घरवाली । नाति, नातिना एक्काइसौँ शताब्दीका दर्पण ? यो घरमा मानव अधिकारवादी पस्नै डराउँछ । घरवालाको बृद्धसेवाको भाषण आम सञ्चारबाट प्रसारित हुन्छ, गराइन्छ । बृद्ध बिडम्बना । बृद्धहरू थलिएपछि त झन् भिन्नै कुरा हुन्छ । नथलिउञ्जेल निःशुल्क काम गर्ने भाँडो हुन् उनीहरू । काम गर्दाको भाँडो नगर्दाको ठाँडो– कुनामा थन्क्याइने ।
बृद्धहरूले, मात्र माया खोजेका हुन्, सदभाव रोजेका हुन्, स्वार्थ होइन । उनीहरू कुभलो गर्न चाहाँदैनन्, तैपनि उपेक्षित हुन्छन् । त्यो उपेक्षा कतिसम्म ? कहिले सम्म ? के अब पनि परिवर्तन नआउने ?
x x x
यसै मेसोमा लेखक गौतम अगाडि उभिएका छन् । यो औपन्यासिक कृति लिएर । यो उपन्यास मात्र चाहिँ होइन । नेपाली वाङमयमा नवीन विषय लाग्ने–यो । यहाँ उच्छृङ्खल प्रेमका कुरा छैनन् । बिकृतिका कुरा छैनन्, रङ्गीन कुरा छैनन्, बडप्पनका कुरा पनि छैनन्, प्रचार पनि छैनन् । यहाँ त बृद्ध बृद्धाको एउटा समस्या छ जुन समस्याले मानवीय मूल्यलाई जोड दिएको छ । मानवीय महत्तालाई अगाडि बढाइएको छ । स्वार्थी पुस्तालाई संकेत गरिएको छ । यी हाम्रा श्रद्धेय, आदरणीय हिमालचुली भएका सेता बृद्धको सम्मान संकेत भएको छ । अपमान पिएकाहरूलाई न्यानो माया र स्नेहबाट अंकमाल गर्न खोजिएको छ । यी बृद्धहरूको सम्मान देवी देवताको सम्मान र साक्षात्कारमा परिणत गराइएको छ । घरमा साक्षात् देवी देवताको प्रकटीकरण ।
x x x
उपन्यासकार गौतमले थोरै कुराबाट धेरै कुरा संकेत गर्न खोजेका छन् । उनले यस युगको सभ्यताको नामको विकृतिलाई प्रकारान्तले नंग्याएका छन् । नेपाली धरतीमा बृद्धहरूको मानव अधिकारलाई सुरक्षित गर्न खोजेका छन् । उनले नेपाली वाङमयमा आजसम्म नभनिएका कैयौँ कुराहरू भन्न खोजेका छन् ।
लेखक गौतम भन्छन्– बृद्धहरूलाई सम्मान गर्नुपर्छ । तर कसरी ?
वास्तवमा एउटा व्यक्ति चुप्प लागेर बस्न सक्छ । तर एउटा सचेत शिक्षित व्यक्ति क्रान्तदर्शी हुन्छ लेखक त हुने नै भयो । आफ्नो आवाज वाङमयको माध्यमबाट अगाडि बढाउन चाहन्छ । कुनै समयका लेखक गौतम एउटा सरकारी उच्च अधिकारी हुन् । अर्थात् हिजो थिए । एक स्नातकोत्तर तीन दशक बढी जिम्मेवार सरकारी अधिकारी । आज प्रबुद्ध जेष्ठ नागरिक । जेष्ठ नागरिक ६० बर्ष । जन्म, बालक, युवा, वयस्क र बृद्धावस्था र मृत्यु सामान्य र शास्वत प्रक्रिया हुन् । वयस्क र बृद्धावस्था ६० बर्ष यताका कुरा । शास्त्रीय हाम्रा कुरा वानप्रस्थ र समस्त क्रमशः ५०–७५ बर्षको । बुढो÷बृद्धा÷पाको कुन रुपमा ः
(क) दालन पोक्ता हेरचाहको अधिकार
(ख) परिवारमा बस्नै पाउने अधिकारी
(ग) संपत्ति अफूखुशी गर्न पाउने अधिकार
(घ) स्वेच्छाले रोजेको धार्मिक कार्य गर्न पाउने अधिकार
(ङ) प्राथमिकतामा उभिन पाउने अधिकार
(च) हेरचाह तथा दिवासेवा केन्द्र अधिकार आवश्यक छ ।
(ज) सम्पत्ति सम्बन्धी इच्छा पत्र थप्न आवश्यक छ
(झ) सम्पत्ति नभएका र मेलमिलाप गर्न आफ्नो मानिस नभएको जेष्ठ नागरिकको हेरचाहलाई थप जानकारी दिनु पर्ने कुरालाई यहाँ उठाइएको छैन । संघर्ष त्यो केही सांकेतित छ ।
पुरानो सुन, बूढापाकाको ‘सभा’ दिनु भन्छन् । अनुभव, युक्ति, गम्भीर चिन्तनको सभा ।
मकाउँदैछ यो देह घट्दैछ आयु दिन्दिन
मृत्यु निश्चल सामू छ सुख भन्नु छ खै कुन ?
(महाभारत अनुशासन पर्व)
जेष्ठ नागरिक ऐन २०६३ लेपाल । यो नाम मात्रको लाग्ने । समाजिक सुरक्षा खोई बृद्धहरुको प्रश्न टड्कारो उठ्छ । सम्मानको कुरै छोडौँ ः उपेक्षा, अपमान, घृणा र तिरस्कार यत्र तत्र नै छ । जीवित देवता जेष्ठ नागरिकको समान, आदर, सहजावतार सबै कुरामा चुकेका छाँै । कहाँ मातृदेवः ? कहाँ पितृदेवः ?
स्कूल परिवारका नाममा पश्चिम संस्कृति, परोपकारका नाममा चरमव्यक्तिवाद । जेष्ठ नागरिकमा परेको शारीरिक र मानसिक दुरावस्था । वेवास्ता त थियो । खान लगाउनमा उपेक्षा, अझ कतित घरमा बस्न नदिने, कठीनतम स्थल अनि बृद्धाश्रम, धर्मशाला पाटी परावलम्बन ।
यस्ता अवस्थाका बृद्धहरुलाई अर्थात् ६० बर्ष नाघेका जेष्ठ नागरिकलाई शारीरिक, मानसिक दुव्र्यवहार नहोस्, सुरक्षित र सम्मानसँग जिउन पाउन् ।
आज उनी एक वरिष्ठ समाजसेवी पनि हुन् । त्यो भन्दा बढी उनी मूलतः संवेदनशील व्यक्ति हुन् । मानवतावादी व्यक्ति एउटा सरकारी हैसियत बहन गरिसकेका आजका विशिष्ट साहित्यकार गौतमको यो सिर्जनालाई म विशिष्ट रूपमा लिन चाहन्छु ।
अन्त्यमा, संवेदनशील बृद्धत्व यस अवस्थाको सम्मानमा जो पनि अग्रसर हुन सक्छ । निस्वार्थ रूपमा अघि आउन सक्छ । पीडकको रूपमा चाहिँ मूल रूपमा परिवारकै सदस्य हुन सक्छन् । छोरा बुहारी बढी हुन सक्छन् किनकि दायित्व तिनीहरूकै हो । हिमालचुली सरहका बृद्धहरूलाई आफ्नै घरमा आफ्नै मानिस भनिने आफन्तद्वारा पीडा किन भइरहन्छ ? जिम्मेवारी लिन नचाहेर ? स्वार्थ उत्पत्तिबाट ? बुझेर ? नबुझेर ? बुभ्m पचाएर ? यस्तो प्रश्नको उत्तर गौतमको यस कृतिबाट अभिव्यञ्जित भएको छ । यसमा धेरै कुरा सांकेतित छन् । बृद्धत्वको बारेमा यस्तै धेरै कृतिहरू पढ्न सकिन्छन् विश्व साहित्यमा । बृद्धत्वबारे केही वर्णन, केही विवरण हेर्नुपर्ने हुन्छ । यसका संवाद र चिन्तन पर्गेल्नुपर्ने हुन्छ । डाँडा माथिका घाम बनेका जेष्ठ नागरिक बृद्धहरूबारे कर्तव्य दायित्वलाई वरिष्ठ लेखक गौतमले आफ्नो लेखनीको माध्यमबाट पूरा गरी आजको युगको ज्वलन्त समस्यालाई आत्मसात् गर्ने क्रममा प्रस्तुत कृति हामी नियाली संसारलाई उपहार दिएका छन् । त्यसैले उनी अतिबन्दनीय छन् । उनको कृतिले आज यही भनिरहेको छ ।




