उपन्याँश अंश : भाँचिएको लौरो (भाग छ)

रमेश गौतम पाल्पाली

ramesh-gautam-palpali-110765980अफिस समय पछि बिरु घर आयो । बाबालाई चिया लिएर बैठकमा पस्यो । उसलाई बस्ने संकेत गरेर भनेः

“ल, विवाह त हुने भयो तर कुन तरिकाले कसरी गर्ने र कहिले गर्ने, यी सबै कुराको टुङ्गो लाउनुप्यो नि ।”

“बाबा, बिहे गर्दा धरे तडक–भडक मलाई राम्रो लाग्दैन । दुई–चार जना साथि–भाइ, इष्ट–मित्रलाई बोलाउने । खाने बस्ने भन्ने कुरा आफ्नो औकात अनुसार जहिले गरे पनि हुन्छ । आफ्नो हैसियत भन्दा बढी गर्नु राम्रो हुन्न कि जस्तो लाग्छ ।”

“ठीक भनिस् बाबु तैँले । म पनि फजुलखर्ची हुन चाहन्नथेँ । दादा दिदीको विवाहमा घरपरिवार, इष्ट–मित्रको दवाबमा गर्नुपरेको थियो । अब म उम्केको छु । तेरो मामु र उता जगतको के सोचाइ छ । बुझेर सक्भर छोटकरीमा गर्ने हो ।”

“मामुलाई हजूरले भनेपछि मान्नुहुन्छ । उतातिर पनि मैले सरिता मार्पम्त त्यसै गर्न दवाब दिन्छु ।”

“ठीक छ, तैँले भने अनुसार गर्ने । अब कहिले गर्ने ? त्यो मिलाउनुप्यो ।”

“हुन्छ बाबा, म त कुनै मन्दिरमा गएर माला साट्ने, अझ बढी गर्नुपरे एउटा एउटा औंठी साट्ने काममात्र गर्ने पक्षमा छु । सरितालाई पनि मैले मनाउँछु ।”

यति भनेर बिरु तल भान्सामा गयो, विष्ट चिया खान लागे ।

अर्को दिन बिरु खाना खाएर अफिस गयो, अफिस पुग्दा अरू कोही आएका थिएनन् । सरिता हाजिर गरेर बाहिर बरण्डामा उँभिएकी थिई ।

“सरिता, आज तिमीसित केही कुरा गर्नुछ । साँझ सङ्गै निक्लौँला है ।” भनेर बिरु हाजिर गरेपछि आफ्नो कोठामा गयो । बिरुले फेरि के कुरा गर्न लाग्यो भनेर सरिता दिनभर तर्कना गरेर बसी । अफिस छुट्दा सबैजसो कर्मचारी गइसकेका थिए । नगएका जाने तर्खरमा थिए । बिरुले जानिबुझी केही ढिलै गरेको थियो । ऊ निस्कँदा सरिता गेटनिर उँभिएकी थिई । गेटनिर पुगेर बिरुले सरितालाई “आउ” भनेर अँघि लाग्यो सरिता पछि पछि लागी । केही पर पुगेपछि बिरु रेष्टुरेण्टमा पस्यो । ऊ पनि पसी । भित्र गएर कुनाको टेविलमा बसे ।

“के खाने ?”

“जे खाने हो तपाइँ नै मगाउने । म त तपाइँको इच्छामा चल्नुप्यो नि ।”

“ए ! यस्तो भन्न पनि सिकिसक्नुभयो तपाइँले ।”

“परिस्थितिले सिकायो ।”

“साँच्ची ! मैले तिमीलाई एउटा कुरा भन्नै बाँकी छ । तिमीले त विवाह भइसके जस्तै कुरा गर्न लाग्यौ ।”

“अब पनि रुवाउन बाँकी छ र ?”

“होइन, रुवाउन खोजेको होइन, बास्तविक कुरा भन्न खोजेको ।”

“इच्छा भए जे भने पनि सुन्न तयार छु ।”

“सरिता, म एउटा दुर्गम पहाडी गाउँको मान्छे । तिमी शहरमा हुर्के बढेकी चेली । हाम्रो सङ्गमले तिमीलाई दुःख त हुन्न ?”

“यो कुरा पहिले नै सोच्नुपथ्र्यो । मैले सोच्नुपर्ने आवश्यकता पहिले पनि देखिन । अब त झन् सोच्ने कुरै भएन ।”

“के तिमी त्यो दुर्गम पहाडमा गएर बस्न सक्छ्यौ ?”

“त्यो पहाड भनेको नेपालभित्र पर्दैन ?”

“नेपाल त नेपालै हो । पाल्पाको दुर्गम पहाड । जहाँ सबै ठाउँ मोटर पुगेको छैन, झण्डै दुई दिनको पैदल हिडाइपछि मात्र पुग्न सकिन्छ ।”

“आखिर नेपालै हो भने एउटा नेपाली नेपालको जुनसुकै कुनामा पनि त बस्न सक्छ । त्यहाँ पनि त मान्छे बसेकै होलान् । हामी मात्र बस्ने त पक्कै होइन । हो, म एक्लै बस्नुपर्ने भए केही सोच्नुपर्ने हुन्थ्यो । तर तपाइँसित बस्न पाएपछि नेपालको कुनै कुनामा पनि बस्न म तयार छु ।”

“सरिता, तिमीभित्र यति विशाल हृदय छ र मप्रति यति विश्वास राख्छ्यौ भन्ने थाहा पाएर मैले आफूलाई भाग्यमानी संझेँ ।”

“तपाइँले भन्दा मैले आफूलाई बढी भाग्यमानी संझेकी छु । अफिसरको लाइनमा बसेको सिनियर असिष्टेण्टले आफ्नै अफिसकी पियनलाई अँगाल्न लाग्नुभएको छ । म कति भाग्यमानी हुँ त ?”

“सरिता, प्रेमलाई दर्जासित नदाँज ।”

“म पनि यही संझेर अगाडि बढेकी हुँ ।”

“अँ, मेरो कुरामा तिमी सहमत हुनसक्छ्यौ भने एउटा कुरा भन्नु छ ।”

“तपाइँका जायज हरेक कुरामा सहमत हुनसक्छु, भनेर हेर्नुस् ।”

“तिमीले हाम्रो विवाह भव्यसाथ होस् भन्ने चाहन्छ्यौ कि मितव्ययी होस् र घरका सदस्यलाई कुनै पनि अप्ठारो नपरोस् भन्ने चाहन्छ्यौ ?”

“तपाइँको दोस्रो वाक्यसित सहमत छु ।”

“मैले घरमा कुनै मन्दिरमा गएर माला साटा साट गरेर विवाह सम्पन्न गर्ने प्रस्ताव राखेको छु । बाबाले स्वीकृति दिइसक्नुभएको छ । तिमीले आफ्नो परिवारलाई मनाउन सक्छ्यौ ?”

“यस्तो प्रस्ताव नमान्ने कुरै छैन । म अहिले घर गएर बासित कुरा गरेर तपाइँलाई फोन गर्छु ।”

“त्यसो भए अहिले उठौँ ।”

एक एक कप चिया र केही नास्ता खाएर उनीहरू आ–आफ्ना घरतिर लागे ।

(सातौं भाग आगामी साता आउनेछ)

 

तपाइँको प्रतिक्रिया