उपन्याश अंश : भाँचिएको लौरो (भाग पाँच)
● रमेश गौतम “पाल्पाली”
आज सरिताको मन चङ्गा भएको छ । उसको दिलले चाहेको मायालुलाई आफूले कसैलाई भन्नै नपरी सचिव र बाबाले जुटाइदिने भएपछि यो भन्दा राम्रो कुरा के हुन सक्थ्यो र ? सधै एउटै कार्यालयमा काम गर्ने हुनाले बिरु र सरितालाई भेट गर्न मुस्किल थिएन । सधैजसो भेट भइरहन्थ्यो र मौका पर्दा कुरा–कानी पनि हुन्थ्यो । तर कार्यालय सम्बन्धी धेरै र मायाँ–प्रीतिका कम । उनीहरू दुवैले एक अर्कालाई मन पार्छन् भन्ने कुरा कार्यालयका धेरै कर्मचारीलाई भित्री रूपमा थाहा पनि थियो । तर प्रकट रूपमा एकअर्कालाई यिनीहरू आफैंले विवाहबन्धनमा नै बाँधिने भनेर खुलेर भन्न सकेका थिएनन् ।
बिरु र सरिताको भेट र सामान्य बोलचाल त यिनीहरूले बैँकमा काम गर्नु अघि नै भएको थियो । विष्टकहाँ जगत काम गर्दा कहिले उसका सामान ल्याइदिने, कहिले बोलाउन आउने, र कहिले के कहिले के गर्ने भनेर सरिता त्यहाँ आउँती भने बिरु पनि जगतलाई बोलाउन तथा अन्य केही काम पर्दा सरिताको घरमा धेरै पटक पुगेको थियो । त्यसै बेलादेखि यिनीहरूले एकअर्कालाई मन पार्न थालेका थिए । अझ एउटै कार्यालयमा काम गर्न थालेपछि त झन् दैवले नै मिलन गराएजस्तो भयो । कुनै दिन कोही कार्यालय आएन वा कुनै कारणले भेट भएन भने उनीहरूका मनमा बादल लाएजस्तो हुन्थ्यो । अर्को दिन भेट हुनासाथ ‘के भयो कसो भयो ?’ भनेर एक अर्काले स्पष्टीकरण दिनुपर्थ्यो । यसरी एकले अर्कालाई चाहेर पनि विवाह नै गरौँ भनेर खुलेर कुरा भने भएको थिएन । आजको कुरा सुनेर सरिताको मन यति हलुङ्गो भएको थियो कि गोडाले भूइँमा पनि टेकेका छैनन् कि जस्तो लाग्थ्यो उसलाई ।
यता सरिताको मनस्थिति यस्तो भएको थियो भने उता बिरुलाई थाहै थिएन । विष्टजी घर फर्कँदा बिरु अफिस गैसकेको थियो । त्यसैले विष्ट र जगतका बीचमा भएको कुरा उसलाई थाहै भएन । सदा झैं यथास्थितिमा ऊ अफिस गयो । सरिता अघिपछि भन्दा केही पहिले नै अफिस पुगेकी थिई । बिरुले हाजिर गरेर ढोका बाहिर आउनै लागेको बेलामा जिसक्याउँदै “मेरो त बिहे हुने भयो, तपाइँले नगर्ने ?” भनेर हाँस्दै फुत्त तल काउण्टर भित्र पसी । कोसित हुने, कहाँ हुने, कहिले हुने ? केही भनिन । बिरु माथि पुगेर आफ्नो कुर्सीमा बस्यो । तर उसलाई रिङ्गटा लाग्लाजस्तो भयो । अनि आँखा चिम्लेर टेविलमा टाउको राखेर बस्यो । संगै बस्ने हरिविनोदले सोध्योः
“तपाइँ त सदैको फुर्तिलो मान्छे हो आज के भयो तपाइँलाई ?”
बिरुले टाउकै नउठाएरै भन्योः
“हरिजी ! आज के भयो के टाउको दुखेर आँखाले हेर्नै भएको छैन ।”
झुठो बोल्यो बिरुले । एकछिन पछि केहि सम्हालियो । तर उसमा काम गर्ने खास जाँगर आएन । टेविलमा भएका कामहरू जसतसो सक्यो । अरू काममा हात बढाएन । निन्याउरो मुख लिएर साँझ घर पुग्यो । ऊ घर पुग्दा विष्ट बाहिर गएका थिए । एकछिन् पछि उनी आए । बाहिरबाट आउनासाथ चिया खाने उनको बानी थियो । बिरुले चिया ल्याएर उनको अगाडि राख्यो । फर्किन लागेको बेलामा हातको ईशाराले रोकेर विष्टले भने :
“अब तँ ठूलो भइस् । बि। कम। पनि पूरा भयो । मौका परे अब अफिसर हुन पनि सक्छस् । तेरो बिहे गरिदिउँ भनेर सोचिरहेको थिएँ । तैंले सरितालाई माया गर्छस् भन्ने थाहा पाएर आज जगतसित गएर बिहेको कुरा मिलाएर आएँ । तँलाई बिहानै भनुला भनेको थिएँ । तँ गइसकेको रहिछस् । भेट भएन । कस्तो लाग्यो त ? मैले गरेको निर्णय ठीक छ कि छैन ?”
“हजूरले गरेको काम कहिले वेठीक भएको छ र ? हजूरको इच्छा पूरा गर्ने मेरो कर्तव्य मात्र हो ।” यति भनेर ऊ बाहिर गयो ।
दिनभर टोलाएजस्तो भएको बिरुको शरीर एकाएक चङ्गा भयो । वर्षौँदेखिको चाहना यति सजिलै पूरा हुन लागेकोमा उसलाई खुसी रोक्न मुस्किल परेकोले ऊ आफ्नो कोठामा पुग्यो । सरिताले स्पष्ट नबताएकोमा उसलाई पनि भोली बदला लिने भनेर योजना बनायो । आफ्नो मनस्थिति र मुड ठीक भएपछि बल्ल ऊ भान्सामा गयो ।
बिरुले बैँकमा जागिर खान लागेको सात वर्ष भइसक्यो । यस बीचमा बि।कम पनि पास गरिसक्यो तर घरको कामबाट ऊ कहिल्यै अलग भएको छैन । मामु, अर्थात् श्रीमती विष्ट, दिदी वा भाउजू कसैलाई पनि उसले काम गर्न पारेको छैन । पहिले काठमाडौँ आएर समालेका काम आजम्म पनि छोडेको छैन । न त कुनै दिन मान्यजनहरू प्रति गर्नुपर्ने व्यवहारबाट अनुशासनहीनता देखाएको छ । यही कारणले गर्दा विष्टपरिबारबाट सधै माया–ममता र आदर सम्मान पाएको हो उसले । काम गर्न राखेको मान्छे भन्ने भावना यस पबिारले कहिले पनि राखेन र बिरुले पनि आपूम्लाई त्यसै परिबारको एक सदस्य संझेको थियो । सबैभन्दा सानो भएकोले ठूला व्यक्तिप्रति सानाले आदर सम्मान राखेर उनीहरूको सेवा गर्नुपर्छ भन्ने भावनाले काम गर्ने गरेको छ उसले । त्यसैले खाना बनाउने लगायतका काम गर्न अरूलाई दिँदैन । कामचोर र वेइमान मान्छेले कहीँ सम्मान पनि पाउँदैनन् र त्यस्ता व्यक्तिले प्रगति गर्न पनि सक्दैनन् । यही गुणले गर्दा ऊ विष्टपरिबारको अभिन्न सदस्य भएको हो ।
आज बिरुलाई कति बेला अफिस पुगौँ, भन्ने भएको छ । उसले छिटो छिटो खाना बनायो । बाबा मामुको सधै अबेला खाना खाने बानी थियो । दिदी बिहेपछि भिनाजुका साथ बिदेशतिर गइसकेकी थिइन् । भाउजू माइत गएकीले दादालाई खाना खुवाएर आफूले खायो र साइकिल टिपेर अफिसतिर लाग्यो । अफिस पुग्दा सरिताले हाजिर गर्न रजिष्टर पल्टाउँदै थिई अरू कोही आएका थिएनन् । बिरुले सरितालाई रल्याउने हिसाबले भन्यो :
“सरिता तिमीले बिहे गर्ने भइछौ बधाइ छ । तिमीले बिहे गर्ने निधो गरेको सुन्दा मलाई पनि बिहे गर्न मन लाग्यो । अब त मैले पनि गर्ने भएँ ।”
“त्यस्तो भाग्यमानी केटी को रहिछ त ? हाम्ले पनि सुनौ न”
“मेरो नगिचै डेरामा बस्ने धेरै पहिलेदेखि चिनेजानेकी हो । उसको घर पहाडतिर हो । यहाँ बसेर पढ्ने मात्र हो । हामीले धेरै पहिलेदेखि एक अर्कालाई मन पराउँथ्यौँ ।”
“घरका मान्छेलाई पनि थाहा थियो ? तपाइँहरूको लभ छ भन्ने ?”
“अरूलाई थिएन ममीलाई थियो ।”
“ममीले पहिले बिहे गर्न भन्नुभएको थिएन ?”
“धेरै पटक भन्नुभएको थियो तर मैले टारिरहेको थिएँ । किन किन तिमीले बिहे गर्ने भनेको सुनेपछि भने मलाई पनि मन लाग्यो । अनि हिँजो अफिसबाट फर्केर गएपछि ममीलाई लिएर उसको दाजुकहाँ गयौँ र निधो गरेर आयौँ ।”
“केटीतिरकालाई पनि थाहा थियो तपाइँहरूको प्रेम छ भन्ने बारेमा ?”
“केटीको दाजुलाई थाहा थियो । यहाँ दाजु बहिनी मात्र बस्छन् । उसका बाबु आमा छैनन्, दाजुसितै कुरा छिनिएको हो ।”
यी बनावटी कुरा भए पनि बिरुले यस्तो भावभङ्गी बनाएको थियो कि सुन्ने जो सुकैले पनि पत्याउनैपर्ने थियो । बिचरी सरिताले झन् नपत्याउनै कुरै भएन । त्यसै बेला अरू कर्मचारी पनि हाजिर गर्न कोठामा पसे । बिरु लुसुक्क कलम खेलाउँदै बाहिर निस्क्यो । सरिता पनि काउण्टरतिर लागि तर उसको मुडअफ भयो दिनभर राम्रोसंग काम गर्न सकिन । एउटा काम गर्न भन्यो भने अर्को काम गर्छे । एउटालाई दिनुपर्ने चिया अर्काको अगाडि लगेर राख्छे । कसै कसैले उसलाई भने पनि “आज मैयाँको सातो गएजस्तो छ । धामी बोलाएर सातो फर्काउनुपप्यो ।” भनेर गिल्ला पनि गरे । उसले रुन्चे हाँसो हाँसेर गल्ती सच्याउने गरेर दिन बिताई । उसलाई कति बेला घर पुगेर आमासित दुख पोखुँजस्तो भइरह्यो । सरिताले पूरा दिन बिताउन पनि सकिन । “आज मलाई ज्यादै टाउको दुख्यो” भनेर आधा घण्टा बाँकी छँदै हाकिमसित बिदा लिएर घर गई । घर पुग्दा आमा पिडीमा बसिरहेकी थिइन् उनको काखमा टाउको राखेर क्वाँ क्वाँ त रोई । यो देखेर आमा अलमल्ल परिन् भने तरकारी छिमलीरहेको बाबु पनि आश्चर्यमा परेर “के भयो यसलाई” भन्दै नजिक आए ।
“विहान सद्दे अफिस गएकी मान्छे के भयो तँलाई ?” बाबु र आमा दुवैले एकै पटक सोधे ।
“बिरुले अर्कै केटीसँग बिहे गर्न लाग्यो रे ।” उसले सुक्सुकाउँदै भनी ।
“के भन्छे नाइँ यसले ? हिजोमात्र सचिवज्यू आफैं आएर तँलाई मागेर जानुभएको छ । आज के भयो ?”
“बिरुले आपैम् भनेको । उसको घर नजिकै बस्ने केटीसित उसको लभ थियो रे उसैसित बिहे हुने भयो रे ।”
जगतलाई विश्वास लागेन । उनले इष्टकोटको खोल्तीबाट मोबाइल झिकेर विष्टलाई फोन लगाएर भने :
“सचिवज्यू, बिरुको त अर्कै केटीसित बिहे गरिदिन लाग्नुभयो रे !”
“कसले भन्यो तपाइँलाई ?”
“मेरो अर्कै केटीसित प्रेम थियो । उसैसित बिहे गर्ने भएँ, भनेर बिरुले सरितालाई भनेको रे । त्यसै भएर यहाँ सरिता रोएर बसेको छ ।”
“होइन होला, सरितासित बिहे हुने कुरा सुनेर ऊ कति खुसी भएको थियो । के भएको रहेछ, ऊ आएपछि मैले सोध्छु ।”
त्यसै बेला बिरु पनि अफिसबाट आएर भित्र पस्न लागेको थियो । विष्टले टिपी हाले ।
“क्या हो ? सरितासित अर्कै केटीसित बिहे गर्ने भएँ भनेको हो ? ऊ रोइरहेकी छ रे !”
“हिजो उसले ‘मैले त बिहे गर्ने भएँ, तिमीले गर्दैनौ ?’ भनेर मेरो मुडअफ गराइदिई क्यारे, मैले आज त्यही बदला लिएको ।” भनेर हाँस्दै भित्र पस्यो । विष्टले फोन लिएर हाँस्दै जगतलाई फोन गरे :
“ओ सम्धीज्यू, के छ छोरीको हालखवर ? छोरीले पनि त अन्तै बिहे गर्न आँटेकी रहिछन् नि त । बिरुको मात्रै दोष देख्ने ? हिजो तपाइँकी छोरीले बिरुलाई के भनेकी थिइन् सोध्नुस् त”
“ए ! सरिता तैँले हिजो बिरुलाई के भनेकी थिइस् ?”
“मैले के भनेर ? ख्यालठट्टा गरेर मैले बिहे गर्न लागेँ, तिमीले गर्दैनौ ? मात्र भनेको हो ।”
“ए ! कुरो यस्तो पो रहेछ । कोसित बिहे गर्ने भनेको तैँले ? मैले त गर्न लागेँ तिमीले गर्दैनौँ ?, भनेको के नि ? तैँले नै उसलाई विच्काएकी रहिछस् ।” जगतले विष्टलाई फोनमा भने :
“सचिवज्यू यो अल्लारे केटीले हिजो ख्याल ठट्टा गरेर मैले त बिहे गर्न लाएँ भनिछ । त्यसै भएर बिरु बाबु विच्केको होला । लौ अब के गर्ने सचिवज्यू ? हजूरले नै मिलाउनु पप्यो । नत्र म त बर्बाद भएँ ।”
“उसले पनि ठट्टा गरेको रहेछ भने म मिलाउने कोसिस गर्छु । भोली अफिसमा भेट्नु, भनेर सरितालाई भनिदिनु ।” भनेर फोन राखे विष्टले । अनि बिरुलाई बोलाएर भने :
“सरिता रोएर बिहाल छ रे ! फोन गरेर संझाइदे ।”
“भोली अफिसमै भेटिहाल्छु नि ।” भनेर ऊ भित्र पस्यो ।
अर्को दिन सरिता कोही नआउँदै पहिले गएर हाजिर गर्न लागेकी थिई । बिरु पनि लुसुक्क हाजिर गर्ने कोठामा पुगेर पछाडिबाट सरिताका आँखा छोप्यो । सरिताले छामेर थाहापाइहाली र भनी :
“कस्तो निष्ठुरी, मान्छेलाई यस्तरी रुवाएर, मायाँ पनि नलाग्ने ।”
“आफूलाई कसले भनोस् नि ! दिनभर मान्छेलाई भोक न प्यास पारेको कसले नि !”
“मैले त ठट्टा गरेको मात्रै हो ।”
“आफूले ठट्टा गर्न हुने मैले गर्न नहुने ?” त्यसै बेला अरू कर्मचारी आए, उनीहरू आ–अफ्ना कोठातिर लागे ।
(क्रमश)




