जाँडले झुल्ल परेर होइन भन्ने बक्तब्य दिने ?

प्रधानमन्त्री पुत्र मात्रै भएनन उनी, थिए नेकपा माओवादी क्षेत्रिय सदस्यपनि। यसको अर्थ photo_prakash1दुबै तरिकाले उनी सार्वजनिक पदमा बसेका मानिस। दिउँसै रक्सीले ढलेको खबर फोटोसहित आयो। समाचार बन्छ र बन्योपनि। कसैले निजि भने। त्यत्रो पदमा बसेका मान्छेको क्रियाकलाप सार्वजनिक हो र सार्वजनिक टिकाटिप्पणी हुन्छ भन्नेसम्म नबुझ्नेलाई नेपालप्लसको भन्नु केहि छैन। तर समाचार होइन, रक्सी खाएको जस्तो छैन, बोत्तल देखिंदैन आदि ईत्यादी टिप्पणी गर्नेलाई म चुनौती दिन चाहन्छु उनले रक्सी खाएर सोह्रै आना टिल्ल पर्दै झल्लिएका हुन्। त्यत्रा मानिस भिडभएको ठाउँमा एक दुई पत्रकारले त्यसरि हुँदै नभएको खबर बनाउन सक्छन् । सुत्नु होटेल बाहिरै थियो भने होटेलमै किन गइयो ? उनलाई मात्रै किन कुर्सीमा ढल्नुपर्‍यो ? के प्रधानमन्त्री पुत्रलाई आरामगर्न पाउने ठाउँपनि होटेलले दिन सकेन ? दिउँसै कार्यक्रममा रक्सीको भाँडो हल्लाउँदै हिँड्ने अवस्थाकामा छ अहिले नेपाल ? रक्सीले झुम्म भएको भनेरै खण्डन गर्नु थियो भने किन पत्रकारका क्यामराका रिल थुतियो थर्काई थर्काइ ? यो समाचार सार्वजनिक हुनासाथ हामीले अड्कल गरेकै थियौं कि अब कुनै नाटक गरेर होइन भन्दै बक्तब्य आउने छ । नभन्दै भयो त्यहि । यो हाम्रा नेता र राजनितिक दलको नियतनै हो, जेपनि बोल्ने, जेपनि गर्ने अनि पछि अप्ठेरो परेपछि ‘पत्रकारले भन्दै नभनेको कुरा लेख्यो, गर्दै नगरेको छापिदियो’ भनेर भाग्न खोज्ने । यहि भएको हो प्रचण्डपुत्रको यो समाचारमापनि । उनले आफ्नो गल्ति छोप्न फेरि अर्को गल्ति गर्दैछन् आफ्नो काँधको गल्ति पत्रकारका काँधमा हुत्याईदिएर । तर तस्बिर र समाचार, त्यहाँका सुरक्षाकर्मी र सहभागि साक्षी छन् उनी रक्सीको नशामा झुम परेको।

सधैं ढाँटेर चल्दैन सुध्रिनु पर्‍यो। रक्सी जसलेपनि खान्छ तर मर्यादा बिर्सनु भएन पो भन्न खोजेको त । त्यसैले प्रधानमन्त्री पुत्र सुध्रनुमै कल्याण छ र तपाईहरु खण्डनका पछाडि दगुर्ने तर स्वतन्त्र ढंगले सोच्ने साथीहरुलेपनि सोच्नुस त्यत्रा मानिस सहभागि भएको ठाउँको समाचार त्यसै आउनै सक्दैन। होइन जे गरेपनि ठिक भन्ने सोच सहितको बैचारिक पार्टी झोला तपाईको काँधमा छ र त्यहि आँखाले हेर्नुहुन्छ भने तपाईले जनादेश र जनदिशा मात्रै पढे पुग्छ । थप हिजो प्रकाशित जनआस्थाको समाचार हेर्नुस—-

प्रमपुत्रले रक्सी पिउँदा हामीलाई पेलान

धुलिखेल रिसोर्ट बाहिर धुलिखेल अस्पतालका निर्देशक रामकण्ठ माकजु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयका उपकुलपति सुरेशराज शर्मा र अन्य एकजना नौला व्यक्ति उभिएका थिए। हाम्रो नमस्कारसँगै उनीहरूले प्रधानमन्त्रीको गोप्य यात्रा पत्रकारले कसरी थाहा पाए? भन्दै होटलका आँखाले इशारा गरे। हामीले प्रधानमन्त्रीको आगमनबारे जानकारी माग्यौँ। उनीहरू निकैबेर अन्कनाए। रामकण्ठले एसियाकै नमुना अस्पतालको बारेमा उहाँलाई जानकारी भएकाले आज सामान्य भेटघाट गर्न मात्र समय मिलाएको हो, एजेन्डा केही नभएको जानकारी दिए। सुरेशराजले त्यस विषयमा बोल्दै बोलेनन्।

होटलमालिक प्रेमकण्ठ माकजुले आफूलाई यो भेटघाटबारे जानकारी नभएको र गोप्य भएकाले पत्रकारहरू नबसिदिन आग्रह गरेका थिए। आग्रहलाई अटेर गर्दै हामी दुई बसिरह्यौँ। हामी बसिरहेको देखेर रामले पत्रकारलाई माथि लगेर केही खुवाऊ भन्दै कर्मचारीलाई निर्देशन दिए। हामी तयार भएनौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री बाबुराम भट्टराई एक हुल सुरक्षा फौज लिएर होटलमा ५.२० मा ओर्लिए। स्वागत गर्न होटलको गेटमा बसेका उपकुलपति शर्मा, निर्देशक माकजु र अन्यले यो नितान्त व्यक्तिगत भेटघाट भएको प्रतिक्रिया दिए। हामीले प्रधानमन्त्रीलाई केही सोध्ने चेष्टा गरेका थियौँ, उहाँका सहयोगीहरूले केही नबोल्ने बताएर एकैपटक होटलको टपमा पुर्यानई कोठामा राखे। स्वागत गर्न अस्पतालका अन्य पदाधिकारी लाइन बसेका थिए। विश्वविद्यालयको हकमा सुरेशराज शर्मा एक्लै थिए।

एस्कर्टिङमा आएका जिल्ला प्रहरी प्रमुख सन्दीप भण्डारी, प्रमका पिएसओ डिएसपी रामचन्द्र भण्डारी, प्रचण्डपुत्र प्रकाश, पिए समिर दाहाल, स्वकीय सचिव, प्रधानमन्त्री कार्यालयमा विभिन्न पद दिएर राखिएका आफन्त वा आसेपासेहरू, शालिकराम जमरकट्टेलका छोरी–ज्वाइँ, आफूलाई जनदिशा दैनिकको पत्रकार बताउने प्रकाशको निकटका साथी, प्रमुख जिल्ला अधिकारी नेत्र न्यौपाने, एसएसपी उपेन्द्रकान्त अर्याल र हामी दुवैजना होटलको रेस्टुरेन्टमा बस्यौँ। आगोको धुनी लगाइएको थियो। सबै आगो ताप्नमा मस्त भए। आफूलाई सूचनाको प्यास लागेको लाग्यै थियो।
सबैको ध्यान आगोको रापमा थियो। प्रचण्डपुत्र प्रकाश जुरुक्क उठेर रेस्टुरेन्ट गए। र, होटलका कर्मचारीलाई रक्सी ल्याउन अर्डर गरे। कर्मचारीले होटलमा तयार गरेको धेरैथरी परिकार ल्याउँदै गए। प्रकाश आफैँले सहभागीलाई रक्सीको गिलास थपिदिँदै गए। स्वयं सुरक्षामा खटिएका उनका सहकर्मीले पनि प्रकाशको आदेशलाई अटेर गर्न सकेनन्। र, बाध्य भएर रक्सी पिउँदै गए। डिएसपी रामचन्द्र भण्डारीले पनि एक गिलास रक्सी सुँघ्दै, तान्दै गरे। उनले आफूसँग आएकाबाहेक एकजना चितवनकै, तर सोही दिन ट्राफिक प्रहरीको इन्स्पेक्टरबाट अवकाश पाएका भीष्म विकलाई रक्सी खान जबर्जस्ती गरेका थिए। सबैका हातमा गिलास रित्तिँदै गए। प्रकाशले चिनेका सबैलाई रक्सी थप्दै गए। उनी घरी कपाल हल्लाउँथे। घरी कुम हल्लाउँथे। गलल्ल हाँस्दासमेत कुम हल्लाएर सबैलाई चकित पारेका थिए। प्रकाश आगोको रापसँगै जोशिँदै गए।
यस्तैमा पत्रकारहरूको एक हुल होटलमा प्रवेश गर्योस। रक्सीले टिल्ल हुँदै गएका प्रकाशलाई अझै थप्न मन लागिरहेको थियो। साथीहरूले नथप्न भन्न सकिरहेका थिएनन्। आफूले के बोलँे भन्ने कुराको कमै मात्र होस पाएका थिए। प्रचण्डको टोलीलाई खाना खान निर्देशन भयो। सबैजना लाइनमा बसे। उनलाई खाना खान साथीले पटक–पटक आग्रह गरे। तर, उनी उठ्न सकेनन्। हँ भन्दै सोफामा ढलेको ढल्यै गरे।
उनी एक्लै हुँदै गए। उनी ढलेको फोटो खिच्न पत्रकारहरूले समय खोजिरहेका थिए। केहीले बाहिरबाट खिचेर क्यामेरामा सुरक्षित पारे भने केहीले भित्रबाटै खिचेर। तर, मैले खिच्न लाग्दालाग्दै क्यामेराको प्रोग्राम चेन्ज गर्न ढिला भयो। सबै मिलाएर खिच्न जान लागेका साथी शिवले खिच्न भ्याए। भगवती तिमल्सिना र म उभिएको स्थानबाट सबै कुरा हेरिरहेका थियौँ। शिव यता आउन पाउँदा नपाउँदै उनलाई च्याप्प समात्न खोजे। हामी भएको स्थानमा आइपुगेका शिवले क्यामेरा हातमै राखेका थिए। प्रकाशका सहयोगी र शालिकरामका ज्वाइँ हामी भएको स्थानमा आए र भन्न थाले, ‘यो तस्बिर डिलिट गर। डिलेट गरेनौ भने क्यामेरा फुटाइदिन्छौँ।’ उनले सीधै मलाई भने, ‘तँ जनआस्थाको पत्रकार रहेछस्, धेरै जान्ने न हो, अघिदेखि तिमीहरूको बारेमा नियालिरहेका छौँ। पत्रकारको काम के हो हामीलाई थाहा छ। म पनि जनदिशाको पत्रकार हो। तस्बिर डिलिट गर, कुरै सकिन्छ।’ उनको कुरा सकिन नपाउँदै जमरकट्टेलका ज्वाइँ चिच्याउँदै भन्न थाले, ‘क्यामेरा फुटाइदिऊँ कि डिलेट गर्छस्?’ हामी बाध्य भयौँ। हातमा भएको क्यामेरा फुट्नुभन्दा तस्बिर नै डिलिट गर्नु राम्रो। साथी शिवले तस्बिर डिलेट गरेजस्तो गरे। मैले केहीछिनमा क्यामेरा खल्तीमा हालेर सुरक्षित पारेँ। अन्य साथीले हामीसँग डिस्कस हुँदाहुँदै तस्बिर कैद गर्न भ्याए। पत्रकारिता जीवनमा दुईपटक परेको यो घटनालाई समान्य रूपमा लिँदै कुनै प्रतिवाद गरिएन। क्यामेरा थन्क्याए पनि तस्बिर सुरक्षित राख्न सकेकोमा हामीले गर्व नै गर्यौँ । जनआस्थाको पत्रकार भएकै नाताले तस्बिर डिलिट गर्नुपर्ने किन हो कुन्नि? उनीहरूको कुरालाई हामीले धेरै प्रतिवाद गरेर वातावरण धमिल्याउन चाहेनौँ। प्रचण्डपुत्र र सहयोगीहरूले पत्रकारलाई तस्बिर नखिच्नू भनिरहँदा प्रकाशलाई आफैँले सुधार्नेतर्फ पो ध्यान दिने हो कि? प्रचण्डपुत्रको तस्बिरले देशको स्थिति बोलिरहेको थियो। प्रधानमन्त्री छलफलमा व्यस्त छन्, छोराचाहिँ रक्सीमा मस्त। कहिले कुन रक्सी, कहिले कुन रक्सी! पत्रकारहरूसँग विवाद भएपछि प्रकाशलाई त्यहाँबाट उठाएर अन्यत्र लगियो। सुरक्षाकर्मीले पत्रकारलाई एकै स्थानबाट अन्यत्र नजान निर्देशन दिए। पत्रकारहरू कोही कता कोही कता गर्दै थिए। यस्तैमा बाबु प्रचण्ड र बाबुराम होटलबाट बाहिरिए। ७.४० मा बाहिरिएका उनीहरूको डिनर त्यहीँ भएको थियो। पत्रकारहरूसँग बोल्न नमानेका उनीहरू दुवै राति काठमाडौं गए। छोरालाई समेत नियन्त्रणमा राख्न नसक्ने प्रधानमन्त्रीले जनता र राष्ट्रलाई कसरी सही स्थानमा राख्न सक्लान्? यो प्रश्नको बारेमा जिज्ञासा राख्दै हामी राति ८.३० मा गन्तव्यतर्फ लाग्यौँ।
– मोतीराम तिमिल्सिना/जनआस्था साप्ताहिक

तपाइँको प्रतिक्रिया