कविता : परदेशबाट
● गौतम “उदय” / हवाई
नभन्नु है आमा तिमीले, टाढा भए छोराछोरी
नझार्नु है बेदनाका, टिलपिल आँशु आँखाभरि
जस्तै दुख गरेर नि, ल्याउँला धन कमाएर
बसौंला नि परिवारै, हाँसीखुसी रमाएर ।
००००००००००००००
तिम्रो काख छाडीछाडी, विदेशिने रहर होइन
गरुं केही स्वदेशमै, टेक्ने कुनै आधार छैन
भोको पेट भरिएन, तराई पहाड हेरीहेरी
नांगो हर छोपिएन, दशैँ पर्खी टालो फेरी ।
००००००००००००००
धेरै आए फर्कीफर्की, हुम्ला जुम्ला बाटो खने
रोल्पालाई डोल्पालाई, जापान भने युरोप भने
भाग्य होइन श्राप होइन, कान्ति रोक्ने सती होइन
शिखर पुग्ने पाइला हाम्रा, डोर्याउने मुली नै भएन ।





