भाँचिएको लौरो (भाग १)
● रमेश गौतम “पाल्पाली”
“स्कुलमा गएको प्रार्थनाको बेला भएको रहेछ, हेरेर आएको”
“हेरेर के गर्छस् पढ्न नपाएपछि । बाख्रालाई बारीका कान्लामा डोर्दे भनेको त्यति पनि गरेन । अघि नै डोर्देको भए केही खान्थे, अहिलेसम्म भोकै छन् ।”
“गोरे, भुन्टे सबैले पढिराछन्, मैले नि पढ्न पाए हुन्थ्यो ।”
“गोरे, भुन्टेको त बाउले कमाउँछन्, साउको रिन पनि छैन र पो पढ्छन्, तेरा बाउले त बाजेले लाको रिन तिर्न नसकेर सकि–नसकि साउको हलो जोत्न भ्याछ । यही भएको एक हलको पाखो पनि कुन दिन साउले गजल्ट्याउने हो, कसरी पढ्छस् बाबै तैँले छोड्दे, भाग्यमा नभएको कुरा संझेर किन टाउको दुखाउनु !”
“पढ्न पनि भाग्यमा हुनुपर्छ र केही नहुने, कोही नहुनेले पनि पढ्छन् रे ! माड्साबले त भनेको । मलाई त जसरी भए पनि पढ्न मन लागेको छ । पढेपछि ठूलो मान्छे भइन्छ रे, पैसा पनि आफैं आउँछ रे ! मैले पढ्न पाको भए पैसा कमाइहाल्थेँ । बालाई जोत्न पनि पर्ने थिएन ।”
“होला खै ! तेरो भाग्यमा पढ्न लेखेको छ छैन मलाई त थाहा छैन । तैँले कहिले पढ्ने, कसरी पढ्ने र कहिले पैसा कमाएर साउको रिन तिर्लास् र तेरा बाको हलो छुट्ला खै ? मलाई त पत्यार लाग्दैन ।”
बिरे, अर्थात् वीरबहादुर । उसको न्वारनमा पुरेतबाजेले “वीरबहादुर पुलामी मगर” भन्ने नामाकरण गरेका थिए । साथै “वीरबहादुर त ठूलो मान्छे होलाजस्तो पो छ है !” भनेर संकेत पनि गरेका थिए । तर ऊ बढ्दै गयो, पुरेतका कुरा पनि बिर्सिँदै गए र बोलाउन सजिलो हुने भएकोले अहिले ऊ बिरे भएको छ । बाबु–आमा, वर–पर सबैले उसलाई बिरे नै भनेर बोलाउने गर्छन् ।
बिरे पाल्पा जिल्लाको बिकट गाउँ ढुकुरखोलामा जन्मेको थियो । यातायात नाउँमा त्यसबेला उसको गाउँमा मात्र होइन, तानसेनमा समेत मोटर पुगेको थिएन । शिक्षाको नाउँमा जेनतेन उसको घर नजिकै एउटा प्राथमिक स्कुल सम्म थियो । गाउँका ४०, ५० जना बिरेकै दौँतरी केटा–केटीहरू त्यही स्कुलमा घोर मिलाएर चिच्याइ चिच्याइ पढेको सुन्दा बिरेलाई औधी मजा लाग्थ्यो आफुले पढ्न नपाएकोमा भने ऊ भित्र–भित्रै कुँडिन्थ्यो ।
राती सुतेको बेला सपनामा पनि बिरेले आफु स्कुलमा गएर पढेको देख्थ्यो । कहिले कहीँ त उसले आफुलाई ठूलो मान्छे (शिक्षा निरीक्षक एर हेड सरलाई पनि गाली गर्न लागेको हुन्थ्यो । झल्याँस्स जाग्दा भने आपूmले पढ्नै नपाएको, साथीहरूले पढेको संझेर रुन्थ्यो । आमाले सुनेर गाली गर्थिन्–
“किन रुन्छ है यो बिरे यति बेला, थपक्क नसुतेर ?”
“म सपनामा पढ्न गएको, ठूलो मान्छे भएको रे ! तर म त पढ्नै जान पाएको छैन । कसरी ठूलो मान्छे हुने ?” बालहृदय खोल्छ बिरेले ।
बिरेको कुरा सुनेर उसकी आमाको मातृहृदय त्यसै छिया छिया हुन्छ । “अरूका छोरा–छोरीलाई ‘पढ्न जा’ भन्दा नमानेर पिटेर पठाउनु पर्छ । मेरो छोराले यति रहर गर्दा पनि पढाउन सकिएन । कस्तो भाग्य मेरो ?” बिरेकी आमा सुन्तली भित्र–भित्रै कुडिन्थी, मनैभरी रुन्थी र प्रकटमा भनेकी थिई–
“के गर्छस् त बाबै, तेरो हाम्रो भाग्यै नभएर त होला नि तैँले पढ्न नपाको । सुत् रोएर के गर्छस् ? भाग्यमा रहिछ भने पढ्लास् के रे, सुत् ।”
बिरे बाहिर निस्केको मात्र थियो । भुण्टे तलतिरबाट आएकोरहेछ । “कता जाने ? ” भनेर सोध्यो
“ माथि दलबहादुर दाइ लाहुरबाट आछन् रे ? हेर्न जाने । तँ पनि हिड्न ।” भनेर बिरेलाई पनि लग्यो । दुई वर्ष कलकत्तामा बसेर आएको लाहुरेको फूर्ती गज्जबकै थियो । ऊ भन्दै थियो
“साला पहाडमा के छ र ? जे छ उतै छ । झिलिमिली बिजुली बत्ति बलेका छन् । रात हो कि दिन हो छुट्याउनै सकिन्न । रेल, मोटर, रेक्सा, टाँगा के के हो के के, हिड्नै पर्दैन । जहाँ गए पनि सबारी पाइहाल्छ । देश भनेको देशै हो । साला पहाड त हड्डी नै हो ।”
सबै गाउँले वरी–परी झुम्मिएका छन्, उसले सिग्रेट बाँड्दै मार्चिस् कोरेर सल्काइदिँदै गरेको छ ।
यो देखेर बिरेलाई लाहुरेले निकै पढेजस्तो लाग्यो र सोध्यो “दाइ, त्यो लाहुरमा पढ्न पनि पाइन्छ ?
“कति पढ्छस् ? त्यहाँ त नपढेको मान्छे नै हुन्न । जे पढे पनि जति पढे पनि हुन्छ त्यहाँ ।”
“त्यहाँ कसरी जाने नि दाइ ?”
“यहाँबाट तानसेन, त्यहाँबाट बटौली झरेसी त्यहाँबाट गाडी चडेर भैरवा, सुनौली हुँदै नौतन्ना गएर छोटी लाइनको रेल चड्ने । गोरखपुर गएर बडीलाइन चढेपछि ठ्याक्क कलकत्ता लगेर छोड्छ । हेर् बिरे ! लाहुरको मजा त्यसपछि हुन्छ । त्यसको बात अलग छ हेर् ।” बिरेले सबै त बुझेन तर लाहुर गएपछि पढ्न पाइन्छ र तानसेनपछि बटौली गइन्छ भन्नेसम्म बुझ्यो । उसलाई लाहुर जान पाए पक्कै पढ्न पाइन्छ भन्ने पनि लाग्यो, लागिरह्यो ।
तर सोचे जस्तो कहाँ हुन्छ र ? बिरेको बाबु हर्केले आफ्ना बाबुका पालाको ऋण सकारेर साहुको हलो थामेको थियो । साहुकोमा जोत्ने काम नहुँदा आफ्नो कुटो–कोदालो गरेर जसोतसो बाँच्ने निर्वाह गरेको थियो । तर दैव उल्टो भएपछि कसको के लाग्दो रहेछ र ?
असारको बेला, झमझम पानी परिरहेको थियो । साहुको खेत रोप्न गोरु घँस्याउन दब्दबेको रूखमा चढेर हर्केले घाँस झार्दै थियो । परको हाँगो काट्छु भनेर तानिएको बेला टेकेको हाँगो भाँचिएर ऊ तल खँगारियो । पानी परेको र अलि अलि कुहिरो लागेको हुनाले वरपरका कसैले पनि देखेनन् । धेरै बेरपछि ‘हर्के घाँस लिन गएको किन आएन ?’ भनेर साहुले हेर्दै जाँदा पो हर्के त इन्तु न चिन्तु भूइँमा लडेको देखियो । साहुले नगिच गएर यता उता पल्टाए, बोलाए तर हर्केले धर्ती छोडिसकेको थियो, किन बोल्थ्यो ? समयमै थाहा पाएर दबाइ–दारु हुन पाएको भए सायद बाँच्थ्यो पनि कि ? त्यो हुन सकेन । आखिर बिरेको पढ्ने सपनामा झन् सारो पानी पर्यो ।
(भाँचिएको लौरो भन्ने उपन्यासको पहिलो भाग हो यो । उपन्यास पठनिय लागेकाले यहाँ राखिएको हो । यसका बाँकि भाग हप्तामा एउटाका दरले क्रमश राखिँदै गईने छ, नेपालप्लस डट कम)





