राष्ट्रपतीलाई तिन वटी चाहिने मलाई चाहिँ ?
‘इल्निया पा द फाम पोर म्वा ? पुताँ तुत्ले फाँम सोँ अँ साँथ ? तुत्ले फाँम सोँ देजा तुसे पार ले सेर्ताँ होम? ज सुइ मारुरु, पाद सँस ?’ (यहाँ कोहि महिला छैन मेरो लागि ? कुनै न कुनै पुरुषले जुठो हालिसकेका ? म अक्स्तो अभागि ? मेरो लागि चान्स छैन ।’ शनीबार बिहानै रेलको झ्याल छिचोलेर सिर्स हावा भित्र पसेको मौका पार्दै एउटा अफ्रिकी ढोकाबाट छिरेर बर्बराउन थाल्यो । रेलका डिब्बा आधा भरिएका थिए । साउती मारेर खास खुस गर्दै गरेकापनि एक्कासी चुपचाप लागे । कोहि एक अर्कालाई भन्दै थिए ‘ओइ नहेर त्यता, त्यो पागल हो । यौनले मैमत्ता भएको पागल । त्यसलाई हेर्यो भने भेउ पाउँछ र आएर च्याप्पै समातेर गालामा किस हान्दिननी सक्छ ।
‘उ बर्बराईरहेकै थियो ‘मपनि के कम छु ? शरिर गजजबको छ । सरकारी भत्ता त मपनि खान्छु । बाँचेकै छु । के जागिर नहुनेले महिला नपाउने ? सप्पै जागिरेकै पछि मात्रै लाग्ने ? मेरो जिन्दगी जिन्दगी होइन ? ।’ उ चिच्यायो ‘ ओइ आइ माई हो लु बोल । के सन्तुस्टि म दिन सक्दिन ? ए गाँठे दुई वर्ष भो मैले कोहि नभेटेको । जता हेर्यो यस्तै सपाइ कि हातमा बिहेको औंठी लगाएका । कि भुँडी पुक्क फुलाएका ।’
रेलको डिब्बामा उ यता र उति पस्दै, बर्बराउँदै हिँड्यो ‘हैन जुन डिब्बामा गएपनि सबै कसै न कसैले ओगटिसकेका मात्रै छन् गाँठे आइमाई त । रातभरि यि त साह्रै ब्यस्त पो हुने रैछन् । के बिधी जान्ने हुने रैछन् हँ अरु लोग्ने मान्छे आइमाईलाई फसाउन । म मात्रै के भाको ?’
‘ओइ मेरालागि कोहि नभएपनि सिकाइत देओ कसरि तिमीहरु सप्पइ पट्टियौ ?’ कोहि उ नजिक आउनु अघिनै अर्कोतिर घाँटी मोडेर बसे । कोहि स्कापले मुख छोर मुसुमुसु हाँसे । कोहि कर्के आँखा लगाउँदै थिए । त्यत्तिकैमा उसको आँखा एक महिलामाथि पर्यो जो बल लगाएर हाँसो रोक्न खोज्दाखोज्दै पनि वरिपरिकाले देख्नेगरि छचल्किएका थिए । त्यो देखेर उसले भन्यो ‘ओ ओ ओ ओ यसले चाहिँ साईड हाने जस्तो छ । मुखपनि ननियाली निहुरी परेर उसले सिटमा बसेकि महिलाको पेट नियाल्यो ।
‘पु ताँ एल्ले ए ओसि ओकुपे देजा । स किल दोने दे सुरि ओसी ओकुपे (साला योपनि ओगटिईसकेकि रहिछे । जसले मुस्कान दिन्छ त्योपनि ओगटि ईसकेकि)।’ महिला मुस्काइरही । वरिपरिका कोहि हाँस्दै थिए । कोहि ‘यो पागल हो भनेर आफ्नै कंचटमा चोरी औंलो राख्दै ‘ठिस’ को संकेत गर्दै थिए ।
यसैगरि बर्बराउँदै उ केहि डिब्बा चहार्यो ‘यो देशको राष्ट्रपती निकोला सार्कोजीले चाहिँ तिन चार वटा स्वास्नी फेर्ने । फ्रान्सेली नभएर इटलियन कलाकारसमेत चाहिने । राष्ट्रपतीले स्वास्नी फेरेको फेर्यै गरेपछि अरुलाई चाहिन्न ?’
‘कुनाको सिटमा बसेकि एक अर्ध बैंशे महिला सुस्तरी बोली ‘हो त, राष्टपतीको देखेपछि अरुले त्यहि सिक्नु परेन त ?’ वरिपरिका केहि महिला हाँसे । अफ्रिकी पुरुष झन जंगियो ‘म त यि यसैगरि हसाउँछु । जो मसित बिहे गर्न मञ्जुर हुन्छ उसले यसैगरि हाँसेर, जोकै जोकमा रमाएर जिन्दगी बिताउन पाउँछ । मत जहिलेपनि यस्तै रंग गर्छु’ अंगार जस्तो कालो अनुहारभित्रबाट एकाध जोडी सेता दाँत टल्काउँदै उ हाँस्यो हाहाहाहाहा, जे होस आ इमाईलाई मुर्छा पार्ने गरि हँसाउने खुबि चाहिँ छ है मसित हाहाहाहा ।
रेल अर्को स्टेशनमा रोकिनु अघि उ फेरि करायो ‘ ओइ लु भन म त अहिलेनै बिहे गर्न भनेर लैजान्छु, सकार्छु । लभ न सभ, अति भो । म त आत्तिईसकें । अफ्रिका जाउँ भने फेरि फर्के आउन पाइने कागज छैन । ह्याँकाले पत्याउने होउनन् । साला सरकार पैसो बाँच्न मात्रै पुग्ने दिन्छ । मन बाँच्ने, हिर्दय बाँच्ने, आत्म रमाउने ब्यवस्था गर्दिन्न । मानव अधिकार भन्छ । लूगा दिन्छ । तर आफूलाई जे चाहिएको छ त्यो दिन्न । बाँचेर मात्रै मानव अधिकार हुन्छ ? रेल स्टेशनमा रोकिनासाथ उ फुत्त निस्कियो । उसलाई सम्झेर बल्ल मानिसहरु हाँस्न थाले ।
(बिदेशमा आप्रवाशीले भोगेका अनेक अनुभवलाई समेटेर तयार पारिएको ददि सापकोटाको एक दिनको नोटबुकबाट)



