तिमीलाई भनी
–सागर प्र फुयाल–
सँगै ल्याएँ सातै सागर तारा जून टिपी ल्याएँ
निधारमा टिका भनि चन्द्रमा मैले टिपी ल्याएँ ।
जसो तसो श्रीङ्गारले सजिने तिमी कहाँ हौ र ?
नवै रत्न फिक्का लाग्ने हारमा हराउने कहाँ छ्यौ र ?
मैले त ल्याएँ हिमालचूली, रक्तिम घाम खोसी ल्याएँ
सिउँदो सजाउन तिम्रो मैले छङ छङ झरना बोकि ल्याएँ ।।
पटुकी तिमीलाई कस्न भनि नागबेली नदी ल्याएँ
भिजेका केश सुकाउन मैले तुफानपनि डाकि ल्याएँ ।
अधर तिम्रो सजाउन भनि गुराँसको रंग चोरी ल्याएँ ।
गोधुली साँझमा सुनाउन तिमीलाई कोइलीको धुन टिपी ल्याएँ ।।
हरेक अत्तर अपमान हुन्छ तिम्रो यौवनको सामुन्ने
ल्याएँ मैले रातकी रानी कस्तुरीको सुगन्ध सँगाली ल्याएँ
सुकोमल पाउ तिम्रा सर्दा कतै बिझाउँछ कि भन्दै
जाईजुई वागभरीका मखमलीपनि टिपी ल्याएँ ।।
अत्यास तिमीलाई लाग्छ कि भनि मयुरको छमछम नाच ल्याएँ
रंगीन संसार, रंगीन मौसम, डाँफेको मैले नवै रंग ल्याएँ
सबथोक ल्याएँ तिमीलाई भनि, अझै अपुग लाग्छ भने
मनप्रीतको धागोले उनी सबै ऋतुको मौसम ल्याएँ ।।
(उनी नेपाली दुतावास पेरिसका त्रितिय सचिव हुन् । पेरिसमा गत दशैंमा एउटा नेपाली कार्यक्रम भएको रहेछ । त्यहाँ वाचन गरिएको यो कविताको खेस्रा फोहोरको भाँडोमा फालिएछ । एकजना मित्रलाई मन परेकोले फोहोरको भाँडोबाट टिपेर ल्याएछन् । उनले नेपालप्लसलाई काम लाग्छ कि ? भन्दै दिएपछि मलाई साँच्चै मन परेर यहाँ राखेको हुँ-नेपालप्लस डट कम) ।





