बिदेशमा ‘नेपाल मेला’ गर्ने भन्दै मान्छे ठग्ने ?
पहिले पहिले नेपालका दलालले मान्छे ठगे भन्थे। मेन पावर कम्पनीले ठगेर बिचैमा दुख दिएको सुनिन्थ्यो । तर अहिले त बिदेशमा बस्ने नेपालीलेनै ठग्न थालेछन् । नेपालबाट यस्तो हुन्छ र उस्तो हुन्छ भन्यो अनि लोभै लोभ र आकर्षण देखाएर मान्छे ल्यायो । बिदेशमा खुट्टा र मुन्टो जोडेर कमाउनु पर्छ । तर सोझा नेपालीलाई महिनामै लाखौं कमाईने लोभ देखाएर कमाउन सजिलो हुन्छ । अनि ल्याउने कसरि त ? बिभिन्न लोक न्रित्य, नेपाल मेला, हिमालय मेला भन्यो, भिसा मिलायो मोटो रकम् लिएर अनि बिदेशमा ल्याएर छोड्यो । तर यहां आइपुग्दैमा सब थोक पाइन्छ र ? भने जस्तो सजिलै काम र बस्ने ठाउँ कहाँ पाइन्छ ? यहाँ बाटो बाटोमा टिप्न पाइन्छ र पैसा ? दुख पाएपछि जाने कहाँ ? हो यस्तै घटना भएछ बेलायतमा ।
बेलायतमा हिमालय मेला र नेपाल मेला भन्ने दुइ मेला आयोजना गरिएको रहेछ । ति मेलामा भाग लिन भन्दै नेपालीहरुलाई बोलाएछन् मोरङ जिल्लाको दर्वेशा गावीस वडा नं ९ स्थायी घर भएका तर हाल आयरल्याण्ड बस्ने गोपाल प्रसाद शिवाकोटीले । अनि तिनलाई ठगेछन् । दामलिएर भिसा मिलाउन सफल भए उनी । तर त्यसमा के के लोभ देखाएर ल्याएका थिए कुन्नी । ठगिमा परेको थाह पाएपछि ति नेपालीले गत जनवरी २३ मा बेलायत स्थित नेपाली दूतावासमा उजूरी दिएछन् ‘लौ न कारवाही गर्नुपर्यो फलानालाई‘ भन्दै । अनि बल्ल सन् २००८ मा मेला आयोजना गर्नेको आँखा खुलेछ ।
आज नेपाली मेला आयोजक समिति २००८ ले पठाएको प्रेस बिज्ञप्तीमा त्यहि कुरा उल्लेख छ । दूतावासले त्यहि उजूरीका आधारमा २०६५ साल माघ १३ मा परराष्ट्र, गृह, पर्यटन तथा वाणिज्य मन्त्रालयहरुलाई सो विषयमा सम्पूर्ण छानविन गरी दोषी पाइएमा कडा कारवाही गर्न लेखी पठाएको रहेछ । त्यो मेला आयोजक समितिले दोषीलाई कारबाही गर्न भनेर नेपाल सरकारलाई आग्रह गरेको छ । तर समितिले के प्रष्ट पारेको छैन भने तिनलाई केका आधारमा भिसा दिइयो ? समितिको लेटर प्याड त्यो ठगि गर्नेले कसरि पायो ? ठगिनेहरु को हुन् र कति ठगिए ? सन् २००८मा मेला आयोजना गर्नेले अहिलेसम्म किन थाह पाएन ? किन दुतावासमा उजूरी परेपछि बल्ल चाल पायो ? यो सबै कुरा लुकाउनुको कारण के होला नी मेला आयोजक समितिको ?




