जनजातिका विषयमा आँखा नखोले जिब्रो थुतेर भुस्याहा कुकुरलाई
● बाल कुमार छन्त्याल (फोटो पनि) / बेलायत
बेलायतमा पहिलो पटक जनजातिको तर्फबाट १३६ औ लखन थापा शहीद दिवस मनाए । प्रमूख अतिथी बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे थिए । नेपाल आदिबासी जनजाति महासंघका महासचिब आङकाजी शेर्पाको उपस्थिति । बेलायतमा रहेका बिभिन्न आदिबासी जनजाति संगठनहरुका अगुवाहरुको सहभागीतामा पहिलो पटक सामुहिक रुपमा लखन थापा प्रथम शहीदको सम्झनामा मौनधारण गर्दै नेपाली राष्ट्रिय धुन बजाएर औपचारिक रुपमा शहीद दिवस मनाउँदा ति कम्ति प्रफुल्ल देखिएनन् ।
गत फर्वरी ०९ का दिन बेलायतको फानब्रो शहरमा मगर संघ र नेपाल आदिबासी जनजाती महासंघको संयु क्तआव्हान मा भएको कार्यक्रमा लखन थापाको योगदान, नेपालमा जातिय अधिकार, जातिय पहिचानको महत्वका बारेमा केहि बक्ताहरुले भनाई राखे । हलमा सहभागिहरु खचाखच भरिएका थिए ।
बक्ता तुल प्रशाद छन्त्यालले भने ‘लखन थापा मगरले आज भन्दा १३९ बर्ष पहिले एउटा सपना देखेका थिए, निरंकुश राणाशासनबाट जनतालाई मुक्ती दिएर देशमा प्रजातन्त्रको बहाली गर्ने । तर राणाशासकको लागि आँखाको कसिंगर बनेका लखन थापालाई १८७७ मा फाँसी दिईयो । १३६ बर्षको दौरानमा देशमा धेरै उथलपुथल भएको छ । राणाशासनको अन्त्य भयो । पंचायती ब्यबस्थाले धुलो चाट्यो । राजातन्त्रले पनि बिदाइ पायो र देशमा गणतन्त्र आयो । तर पनि हामी नेपालीले गणतन्त्रको अनुभव गर्न पाईएको छैन । ”
उनले थपे “देशमा शान्ती छैन, संविधानै गायब भएको छ । हामीले बडो आशाकासाथ खोजेको संविधान सभा नै विघटन भएको छ । हामीले साँच्चिकै शान्तिको अनुभुती गर्ने हो भने संविधान सभाको निर्वाचन हुनुपर्दछ र निर्वाचन बाटै संविधान लेखिनु पर्दछ । अनि लेखिने संविधानमा हामी सम्पूर्ण आदिवासी जनजाती, महिला, दलित, किसान र मजदूरहरुको हक अधिकारको सुनिश्चित हुनुपर्दछ । र संविधान बाटनै संघीयता सहितको नयाँ नेपाल स्थापना भए मात्र शहीद लखन थापाको सपना पूरा हुनेछ । सधैं अर्काको झोला बोक्ने प्रथालाई खारेज गर्दै आफ्नै बारीमा मलजल गर्ने परिपाटी बसाल्नु हामी सचेत वर्गको दायित्व हो । ”
आन्दोलनबाट खारिएका कार्यकर्ता राजनीतिज्ञ र बहुमत जनताको लागि लडने ब्यक्ति तथा समय सापक्ष परिवर्तन हुने राजनीतिज्ञ सच्चा राजनेता हुन सक्नेपनि छन्त्यालले औंल्याएका थिए ।
शहीद लखन थापालाई पहिलो शहीद घोषणा गर्न नेपाल सरकारलाई आदिबासी जनजाति महासंघ बेलायत तर्फबाट अध्यक्ष श्रीप्रसाद लिम्बुले राजदूतलाई ज्ञापनपत्र हस्तान्तरण गरेका थिए ।
बेलायतका नेपाली राजदुत सुरेश चन्द्र चालिसेले ज्ञापनपत्र नेपाल सरकार समक्ष पुर्याउने बाचा गर्दै बेलायतमा रहेका भावी पुस्ताले शैक्षिक स्तरमा उन्नती गर्दै अगाडि बढेको आफ्नो ३ बर्षे राजदुतकालमा महशुस गरेपनि आफ्नो मातृभाषा प्रती निरन्तर हुनेमा आशंका ब्यक्त गरे । धैर्यपूर्वक सबैका कुरा सुनेका राजदूतले जनजातिका अधिकार बारेमा कुनै नकरात्मक टिकाटिप्पणी नगरी आफ्नो कुटनितिक कुशलता प्रदर्शन गरेका थिए । राजदूतले जनजातिबिरोधी मन्तब्य राख्छन कि भनेर चनाखो हुँदै रेकर्ड गर्ने बन्दोबस्त समेत मिलाएका मिलाएका थिए त्यहाँ सहभागि केहिले ।
नेपालबाट बेलायत आइपुग्नु भएका नेपाल आदिबासी जनजाति महासंघका महासचिब आङकाजी शेर्पाले आफ्नो मन्तव्य राख्दै भने “शहीद भनेको कुनै एक जाति, वर्ग समुदाय र क्षेत्रको हुँदैन । कुनै पार्टी, धर्म र नेताको हुँदैन । शहीद त पूरा राज्यको, सिङ्गो देशको हुन्छ । ऊ पार्टी र नेताभन्दा माथि हुन्छ । लखन थापा मगर केवल मगर जाति र आदिवासी जानजातिको नभै पुरै नेपाल राष्ट्रको पहिलो सहिद हुन् ।”
हामी जनजातिका सन्ततिहरु राज्यसत्ताबाट अपहेलित, राज्यसत्तामा हुनेहरुको लागि जीवन दान दिनु परेको, बिदेशी सेनामा जान बाध्य पारेको, पृथिवीनारायण शाह देखी विभेद खेप्दै आइरहेको, दरबारमा आदिबासी चेलीहरु दास बनाइएको, शाह र राणा कालमा यौनदासी बनाइएको, गुरुङसेनीबाट जन्मिएका रबिन्द्र शाहलाई जेठा छोरा भएपनि राजा हुनबाट बन्चित गरी दोस्रो सन्तान विरेन्द्रलाई राजा बनाइएको जस्ता विभेदकारी जाल साँजी ईतिहास लेखिएको खुलासा गरे, उनले । आफूहरुले बिदेशी सेनामा सिकेको कला आफ्नो राष्ट्रको जनजातिका अधिकारका लागि खर्चने बेला आएको भनाई थियो ।
पृथिवीनारायण शाहले काठमाण्डौका नेवारहरुको नाक, कान काटेको ईतिहास छ । जङबहादुर राणाले लखन थापालाई गोर्खाबाट काठमाण्डौ ल्याइ झुन्डाइ फाँसी दिएको ईतिहास सांक्षी छ । त्यसैले पृथिवीनारायण शाह र जङबहादुर राणालाई युद्ध अपराधी घोषणा गर्नुपर्ने तर्क पेश गरे । सुकदेब गुरुङ, नारदमुनी थुलुङ, रत्नकुमार बान्तबा आदिलाई राज्यले हत्या गरेको थियो । ति आदिबासी जनजाति भएका कारण शहीदको सूचिमा छैनन । नेपाली कांग्रेस, नेकपा एमाले, कमल थापा, सुर्य बहादुर थापा, चित्रबहादुर केसी र पशुपती शमसेर राणा आदी सबै संघीयता बिरोधिहरु हुन् भन्दै जनजातिका विषयमा हाम्रै जनजातिका राजनीतिज्ञहरुले आँखा नखोले तिनिहरुको जिब्रो थुतेर भुस्याहा कुकुरलाई दिनु पर्ने आफ्नो बिगतको भनाइ पुन : दोहोर्याए ।
संघीयताले देश टुक्रँदैन बरु मजबुट भएको तर्क गर्दै अमेरिका, भारत, स्वीजरल्यान्ड, क्यानाडा जस्ता देशहरु संघीयताले सम्पन्न भएका र संघीयता अस्वीकार गर्दा पाकिस्तान टुक्रिएर बङलादेश भएको उदाहरण दिए । नेपाली कांग्रेस र नेकपा एमालेलाई पश्चगामी पार्टी र संबिधानबिरोधि पार्टी भएको ठोकुवा पनि गरे ।












