महामहिम बाजे र ठुल्घरे दिदि
● कुल मगर / बेल्जियम
हाम्रा घर (जनजाती महासंघ) मा बिशेष पाहुना बाजे नै
खोसिएको हाम्रा अधिकारहरु थोरै मात्र के सुनायौं !
न थियो रे नेपाल न थियो रे ”जाती र पाती”
अनाहकमा खानु सम्म बाजेको मुखको गाली खायौं !!
००००००००००००००००
बाबै कस्तरी गर्जेको हाम्रा बाजे ठुल्घरको वार्षिकीमा
गर्जिनु गर्जे ठुल्घरे (एन आर एन) दिदी पनि बाजेसँगै !
मत चकित, नराम्रोलाई नराम्रो भन्नै नहुने रे,
जहाँ भेट्यो त्यहि गर्जिन्छ बाजे के हो ? अचम्मै !!
००००००००००००००००
तिमरका गर्जन कुनै क्षणिक आवेश मात्र पक्कै होइन
कयौं कपट र षडयन्त्रको चित्रहरु छर्लंग चित्रित हुँदैछ !
समानताको एउटा माला उन्नु भन्दा बिभाजनको
पिडाले बाजेले भन्ने ‘’जाती पाती’’ लाइ झन् झन् छुँदैछ !!
००००००००००००००००
भाङ्ग्रा, छिटको गुन्यु, ढाका चोली, आंगी र लंगुटी बस्त्र होइन रे,
तमु मगर शेर्पा थारु राई लिम्बु आदि जात (नेशन) होइन रे !
जगतले दिएको हाम्रो पहिचान बाजेको पुराणमा लेख्या छैन रे,
त्यसैले बाजे भन्छन हाम्रो पहिचान त पहिचान नै होइन रे !!
००००००००००००००००
गर्जनेहरुले खायो संबिधान सभा, तुहियो संविधान पनि
संकट तिमेरले निम्त्यायौं बाजे टारेर के टर्ला र खोइ !
एकल जातीय पहिचान त यसरी जाग्यो नि अब
कपट षडयन्त्र र गर्जनले मार्न खोजेर के मर्ला र खोइ !!
००००००००००००००००
बाजे ! हुनेखाने र हुँदा खानेमा अन्तर नै यहि हो
तिम्ले खाने मासिक भत्ता हाम्रो पनि रगत पसिना हो !
अधिकारले पूर्ण अनि समानताले सजिएको एकल जातीय
पहिचान सहितको नयाँ नेपाल हाम्रो सपना हो !!





