सुकरातको डायरी
• धनराज गिरी
“सर यो पुस्तक हरेक स्रष्टाका लागि बाइबल हो । म त यसलाई आफ्नो सिरानीमै राखिरहन्छु ।” चिचिपापा अर्थात चितवन चिनाउने पात्र पात्रामा आफ्नो दरो उपस्थिति र हस्तक्षेप कायम गरिसकेकी स्राष्टा सरिता तिवारीको प्रतिक्रिया हो यो । उपन्यास सुकरातको डायरी पढेपछि हामी दुईका बीचमा दूरभाषमा संवाद भएको थियो । सरिता तिवारी अब्बल दर्जाकी स्रष्टा । त्यस्तै अर्का स्रष्टा छन् चितवनमा भूपिन ब्याकुल । उनी भन्छन “एउटै ढर्राका, पाठकमैत्री ढप र ढाँचाका उपन्यासहरु पढ्दा पढ्दा मनोटनस भएको थियो । वेग्लै स्वादको उपन्यास पढ्न पाउँदा छुट्टै आनन्द आयो । माइन्ड ब्लोइङ, रियल्ली माइण्ड ब्लोइङ ।“ यी दमकका चमक साँच्ची नै औतारी हुन ।
अब पालो आयो दाजै एल.बी. क्षेत्रीको । उहाँको अप्रिसियनको स्टायल “जरा हट्के” हुन्छ । भन्नुहुन्छ, “छोटे, गज्जबको किताब पढ्न दियौ । मजा आयो । भट्टराई सरको भाषाको जादू वाफ रे वाफ मार्भलस् । यो उपन्यास प्रां. डा. गोविन्दराज भट्टराई बाहेक कसैले पनि लेख्न सक्दैन । हाउ ब्यूटीफूल । वाह रे निलिमा म्याडमलाई भेट्न चाहन्छु र उहाँले बताएको बाटोमा हिंडेर एउटा नयाँ उपन्यास लेख्न चाहन्छु । बरु निलिमा म्याडमले मलाई नै “अनन्त” बनाइदिए हुन्थ्यो ।” यी हुन चितवनका मानक स्रष्टाहरुको प्रतिक्रिया ।
नेपाली साहित्यका ज्यूँदा मेघा सर्जक नारायण ढकालको प्रतिक्रिया अर्को महारथी जगदीश घिमिरे दाजुले लेखिहाल्नुभयो । यहाँ पनि उल्लेख गरेर शब्दहरु बढाउने काम नगरौं । अब यो चितवनको गोपीले आफ्नो अभिमत कसरी प्रकट गर्छ त ? सुकरात र गोपीबीचको आत्मिय सम्बन्धका बारेमा सातै महाद्विप जान्दछ । म जे लेख्नेछु फगत् प्रेम लेख्ने छु । मेरो जीवनदर्शन नै “प्रेम” हो । गुरु गोबिन्दले मलाई यही प्रशिक्षण दिनु भयो । “अदभूत हो यो उपन्यास । म गणित शिक्षक हुँ । २०४१ सालमा झुवानी माध्यमिक विद्यालयमा एकजना विद्यार्थीले मात्र ऐच्छिक गणित (अप्सनल म्याथ) पढेको थियो । मा.वि. तहमा विशिष्ट विद्यार्थीहरुले मात्र ऐच्छिक गणित पढ्ने हिम्मत गर्दछन् । यो उपन्यास विशष्ट र बौद्धिक पाठकहरुका लागि हो र धेरैको मत यहि पाइयो । म पनि सदर गर्दछु ।
सुकरातको डायरीको बयानमा सुकरातको पाइला छुटेमा कुन्ती र द्रौपदी नभएको महाभारतझै हुनेछ । सुकरातको पाइलाले मलाई पनि ठूलो गुन लगायो । अनन्त पाइला चितवनमा जन्मियो भने निर्मोचन पोखरामा । “अनन्त” यो पात्र काल्पनिक भएपनि गोपीको सहोदर भाई बन्न पुग्यो । मेरो जीवनमा भाइको दरबन्दी रिक्त छ । “अनन्त खोई ?” अनन्त पाइला उपन्यास पढ्ने धेरै पाठकहरुले मलाई सोधे । छोरी अनिता गिरीले डा. अन्जना भट्टराई (उनकी अन्टी) सित अनन्तका बारेमा जिज्ञाशा राख्दा कीर्तिपुरमा धेरै धेरै अनन्त भएको खुलासा दिनुभएछ । सुकरातका पाइलामा अगम उर्फ सुकरात गुरु प्रा. डा. गोविन्दराज भट्टराई हो कि हो कि मात्र थियो । सुकरातको डायरीमा आउँदा दाजुले यो कुरा आरामासित स्वीकार्नु भएको छ । गोपी र म अब यो जुनीमा छुट्टिन मुस्किल छ । जुन विन्दुबाट सुकरातको डायरी प्रस्थान गर्दछ मैले पनि अनन्त पाइलामा त्यही विन्दु रोजेको हुँ ।
अनन्त इटहरी पुगेर रन्थनिदै सौराहा आइपुग्छ भने (मेरो उपन्यासमा) सुकरातको डायरीमा आफ्नै भ्रमको शिकार भै सुकरात गुरु ग्रीसको यात्रामा निक्लन्छन् । अचानक डिजीटल दुनियाँमा अनन्तसित भेट हुन्छ । पूर्णिमा पनि यही सन्सारमा रहेछिन । सुकरात गुरुको खुशीको सीमाना रहँदैन । गोपी पात्रले उपन्यास लेख्यो, यो यथार्थ हो । अब अर्को मूलपात्र अनन्त पनि उपन्यास लेख्न तम्सिन्छ । फेला पर्छ गुरु सुकरातको । सुकरातले अनन्तलाई सफल आख्यानकार बन्न चाहिने सातुसामलका बारेमा प्राध्यापकीय शैलीमा पढाउन थाल्छन । अर्जुनलाई कुरुक्षेत्रमा विजयी बनाउन देवकीनन्दनले दिव्यास्त्रहरु जम्मा गर्न लगाए । त्यतिले नपुगेर युद्ध सुरु हुनु अघि, गाण्डिब त्यागेका पार्थलाई, विराटस्वरुप देखाएर, अठार अध्याय गीता सुनाएर, गाण्डिब उठाउने बनाए ।
सुकरात र अनन्त पनि यहाँ देवकीनन्दन र कौन्तेय बनेका छन् । बीचमा प्रवेश हुन्छ निलिमा म्याडमको र नारायणगढबाट बसको टिकट काटेर महेन्द्रनगर ताकेको अनन्तलाई निलिमा म्याडमले “ब्रेन वाश” गरी काकडाभिट्टाको बसमा चढ्ने बनाउँछिन । नारीस्पर्शले वशीभूत नहुने पुरुष यो धरतीमा कहिल्यै पनि जन्मिने छैन । बिचरो अनन्त ! पग्लियो, मज्जैसित पग्लियो । मेनका बनिन निलिमा र विश्वामित्र बन्यो बालक अनन्त । उत्तर आधुनिकताका एक मात्र आधिकारिक व्याख्याता प्रा. डा. गोविन्दराज भट्टराईको यो प्रयोग रहर लाग्दो मात्र छैन, ईष्र्यालाग्दो पनि छ । छोरी अनुसित, उपन्यास पढेपछि भनेको थिएं “दाजुले आफ्नो सम्पूर्ण जीवनलाई निचोरेर यो अचम्मको अद्भूत रस निकाल्नुभएको छ । उहाँमाथि पुष्पबृट्टि मात्र हुँदैन । लाठीचार्ज धान्ने क्षमता उहाँसित छ ।”
हुन पनि यो कालखण्डमा गोविन्दराज भट्टराई नामको साहित्यिक मन्दिर परिक्रमा नगर्ने साहित्यिक तीथैयात्री पाउन मुस्किल छ । साहित्यिक मोक्ष प्राप्तीका लागि पनि उत्तर आधुनिक रावणहरु यी “राम” सित टङ्कर लिन तम्सिन्छन् । आखिर कृष्णको तटमा पाइने ढुँगालाई शालीकराम मान्ने चलन जो छ ।
जनै पूर्णिमाको क्वाटी जस्तो भएर आएको छ यो उपन्यास । २४ सै घण्टा मगजकारखानामा व्यस्त रहने दाजु भट्टराईले निलिमाको डायरीमा अझ कुन तरङ्ग उत्पन्न गराउनुहुन्छ, थाहा छैन । नेपालभित्र मात्र होइन विश्वमा जहाँ जहाँ नेपाली पुगेका छन् र नेपाली साहित्य पुगेको छ, त्यो ठाउँका लागि गोविन्दराज भट्टराई नौलो नाम हुँदैन, रहँदैन । “गएको झरीले आउने खडेरीको गर्जो टार्दैन” यसलाई दाजुले राम्रोसित बुझ्नुभएको छ । नयाँ पुस्ताका लागि उहाँ “साहित्यिक मसिहा” नै हो । यही कुरा उहाँको शक्ति र कमजोरी दुबै हुन गएको छ । “अन्तराष्ट्रिय साहित्यिक अभियन्ता” उहाँको थप परिचय हो । उहाँकी जननीले यो गोपीसित २०६६ साल चैत १ गते दमकमा भन्नु भएको थियो, ”बाबु, यो साहिलो अचम्मको औतारी जन्मिएछ । कहाँ कहाँ पुग्छ, के के लेख्छ । कस्ता कस्ता मान्छेहरु लिएर घरमा आउँछ ।”
आमाको स्नेह, नतमस्तक भयो गोपी । साँच्ची नै औतारी हुन यी, शालीन, सभ्य र भव्य जीवनका मालिक । द्वैषबजारमा रमाएका यिनका प्रतिपक्षका मित्रहरुलाई पनि यिनी उत्तिकै सम्मान गर्छन, स्थान दिन्छन् । शिष्ट, मिष्ट र विशिष्ट सर्जक गोविन्दराज भट्टराईको साहित्यिक लगानीको उच्च मूल्याङ्कन देश बाहिर जति भयो देशभित्रै त्यति भएझैं लाग्दैन । उपन्यासको बारेमा लेख्दा लेख्दै दाजुको स्नेहको सम्मोहनले मलाई उपन्यासकारका बारेमा लेख्ने बनायो । आखिर उपन्यास र उपन्यासकार उस्तै उस्तै त होइनन ? धेरै धेरै पाठकहरुले लेखिसकेका कुराहरु दोहोर्याएर म अभिव्यक्ति लम्ब्याउन चाहन्न । यत्ति भन्छु, ”हरेक फूलको आफ्नै सुगन्ध हुन्छ । उपन्यास बजारमा सुकरातको डायरी उपन्यासको पनि आफ्नै सुगन्ध हुनेछ । पाठकहरुको मनमा यसले छुट्टै स्थान बनाइसकेको छ । अझै बनाउनेछ । आदरणीय दाजु गोविन्दराज भट्टराईज्यूको साहित्यिक यात्राले अझै शिखर चम्ने कुरामा यो गोपी भाइ ढुक्क छ ।




