दिक्षित र वाङ्देलसित पेरिसमा उपयोगी जमघट

पेरिस आउने निधो रहेछ कनक दाई (कनक मणी दिक्षित) को । करिब एक महिना अघि एउटा फेसबुकमा उनले खबर गर्दा औधि खुशि बनें “लौ अब फेरी नौला विषयमा छलफल गर्न पाइने भो । मनमा रहेका जिज्ञासा सोध्न, बुझ्न, जान्न पाइने भो । उपयोगि बातचित हुने भो” भनेर । गत साल अकस्मात एम्स्टरडममा भेट हुँदापनि उनले मलाई धेरै कुरोको सुझाव दिएका थिए । हौसला थपेका थिए गरिरहेको काममा । यो पटक त झन परिसमै भेट हुने भो । उनी जुन कार्यक्रममा बक्ताका रुपमा पेरिस आएका थिए त्यहि कार्यक्रमका लागि आएकि रहिछिन् प्रसिद्द कलाकार, साहित्यकार र चराविद लैनसिंग वाङ्देलकि छोरी डिना वाङ्देलपनि । आहा ! यो पटक यि दुबैसित मन खोलेर, दिल फुकाएर बातचित, साझेदारी गर्न पाइयो ।

नेपालबाट कुन कुन र कस्ता मूर्ती चोरिए ? ति कहाँ छन् ? नेपालबाट अनेक बाटो र माध्यम हुँदै विदेश ल्याइएका ति मूर्ती नेपाल फर्काउने अभियान थालेको धेरै भो कनकमणी र उनको टोलीले । पेरिसमा आयोजित कला संवन्धि सम्मेलनमा उनी त्यसै विषयमा प्रस्तुत हुन आएका रहेछन् ।

र जानु थियो यहाँको एशियाली संग्राहलय मुजे गिईमे जहाँ नेपालका थुप्रै मूर्ती र कला छन् । हो, त्यहिँ पुगियो सँग सँगै । “मलाई उति ज्ञान छैन” भन्दै थिए उनी । तर उनलाई अथाह ज्ञान रहेछ । संग्रहालयमा राखिएका बुद्द र अन्य थुप्रै मूर्तीका कतै नाक भाँच्चिएका, कतै टाउकै छिनालिएका, कतै हात काटिएक थिए । किन होला भन्ने लाग्थ्यो । रहेछ, ति मुसलमानहरुको आक्रमणमा परेर । खासगरि अफ्गानिस्तानमा मुस्लिमहरुले अन्य धर्मावलम्भिमाथि आक्रमण तिब्र पारेपछि यसरि तोडफोड मच्चाएका रहेछन् । र तिनै मूर्ती रहेछन् यहाँ आइपुगेका ।

पहिलो भेट मै कफीको चुस्कि लिँदै उनले नेपाल पत्रकर महा संघ युरोप शाखाको अधिबेशन बारे चासो राखे । यो अधिबेशन जसरि सम्पन्न भयो, जस्ता मित्रहरु नेत्रित्वमा आए त्यो सुन्दा उनीपनि छक्क परे । तर हामी मोडियौं युरोपबाट कस्ता कस्ता विषय नेपाली पठककालागि चाख लाग्दा र नेपाली मेडियाका निम्ति महत्वपूर्ण हुन्छन् भन्ने छलफलतिर । हामीलाई लागेका, देखेका, संभावित विषय र कारणपनि दिईयो । केहिबेर ध्यान दिएर सुनेपछि उनले निकै सुझाव दिए । ति विषयलाई के कसरि कहाँ प्रस्तुत गर्ने भनेर मिसमास पारिदिनपनि भ्याए । उनले देखेका धेरै विषयमा कलम चलाउनपनि हुटहुटी लगाए ।

बेल्जियमका मित्र उज्जवल केसीले डकुमेन्ट्री बनाउँ दाई सँगै भन्दै धेरै भो रहर गरेको, लौ न लौ भनेको । कस्तो बनाउने त ? आफुलाई ज्ञान छैन । शब्द त अलिअलि खेलाइएला । तर त्यत्तिले पुग्दैन । उज्ज्वल भन्थे “खिच्ने, बनाउने, जोड्ने, काट्ने, संगित भर्ने जस्ता सबै प्राविधिक चिज मै गरुला ।” तर जम्मा पारेका सामाग्रि, सूचनालाई अरुका मन मनमा चस्स भिज्नेगरि कसरि प्रस्तुत गर्ने ? यो हो समस्या । मैले त्यसैकालागि सुझाव लिएँ, विषय वस्तु सुनाएँ । उनले गज्जबका सुझाव दिए । डकुमेन्ट्री बनाउँदा होस् गर्ने, भेटिने, अनि डकुमेन्ट्री गतिलो हुन नाम देखि शुरु र अन्त्यसम्म के कसरि ध्यान दिनु पर्छ भन्ने अक्किलपनि सुनाए ।

त्यसपछि एकदिन फोनमा भने “तपाईले डिन वाङ्देल चिन्नुहुन्छ ?”

किन नचिन्नु ? लैन सिं वाङ्देलको छोरी हैन ? अमेरिका निवासी हाल ।

हो हो, तर अहिले कतारमा केहि समयदेखि । ल भोली बिहान ब्रेकफास्ट खान भेला हुम् एकै ठाउँ । अनि त्यहिँ गफ मारम्ला ।

राती १२.३० मा एसएमस गर्दै रहेका कनक दाइको म्यासेजमा थियो “आठ बजे नगरौं साँढे आठमा गरौं ।” ए राम राम यि जिवलाई त सुत्नपनि उति पर्दैन कि क्या हो ? त्यति ढिलो सम्म मोबाईलमा खबर पठाउँदै गरेका उनी बिहानै भेटुम पो भन्छन् । लक्जम्बर्ग पार्क नजिकै रहेछ बसाई । उतै बोलाए । भेट भईन डिना वाङ्देल । छोटो कद, हँसिलो अनुहार ।  अमेरिकामा पढेर डाक्टरी गरेकि उनलाई कतारमा कला संवन्धि संस्थामा निर्देशक स्तरको काम गर्न बोलाएको रहेछ । बिदेश भासिएका नेपाली महिला कति होलान् यस्तरि प्रगति गर्ने ? यस्तो अवसर पाउने ? त्यति उच्च जिम्मेवारीमा पुगेपनि उनको पारा सामान्य लाग्थ्यो । नेपालको लागि केहि गरौं भन्ने पिरलो थियो ।

लैन सिं वाङ्देलको युरोप यात्रा र उनले लेखेको पुस्तक ‘मुलुक बाहिर म’ को चर्चा भो । मैले त्यो पढ्न खोजेपनि नपाएको गुनासो गरें। फ्याट्टै निकालिहालिन् उनले त्यो किताब । मलाई त्यो किताब पढ्न सुझाव दिएका थिए धेरैनै साथीहरुले । डिनाले मेरैलागि छोडिन् । तत्कालै केहि प्रसङ्ग हेरियो, उनले बिदेशबाट पत्नी, बीपी कोइरालाकालागि लेखेका केहि पत्र । साह्रै मन छुने, मिठास शब्दमा रहेछन् ।

कनक दाइले सुनाए – भक्तपुरको नसमना टोल स्थित हिटीमा ९०० वर्षसम्म ठडिएको हाम्रो उमा महेश्वरको मूर्ती एकाएक चोरी भएछ सन् १९८४ को मे २३ का दिन । त्यसपछि त्यो कहाँ गयो पत्तो भएन । पछि एक्कासि पेरिसको मुजे गिईमे संग्रहालयमा देखा परेछ । यसबारे उनले पत्ता लगाएर लेख लेखे द काठमाण्डु पोष्टमा । स्टोलन स्टाटुअरि शिर्षकमा । त्यसले हंगामा मच्चायो । यो सम्मेलनमा उनले त्यसलाई उठाउन खोजे फिर्ता दिनु पर्छ नेपाललाई भन्दै । नेपालको मूर्ती चोरिएको खबर निस्केपछि त्यो लुकाएको हुनसक्ने आशंका त उनले बाटैमा गरेका थिए संग्रहालय नपुग्दै । त्यो छ कि छैन हेर्न र बुझ्न खोजेका रहेछन् । गएर चक्कर मारियो । कहिँ कतै देखा परेन । संग्रहालयमा राखिएका मूर्ती संवन्धि किताबका पाना पल्टाएर हेरे उनले तैपनि कुनै किताबको पानामा अन्य मूर्तीहरुको चित्रसितै छ कि भनेर । त्योपनि देखा परेन । सानातिना मूर्ती ब्यक्तिका घरमापनि हुनाले त्यो किनेर ल्याएको हुन सक्छन् । तर यस्ता ठूला धातुका मूर्ती सरकारको हुन्छ । ति मूर्ती फिर्ता लैजाने अभियान शुरु गर्नुपर्छ भनेर सुनाउँदै थिए उनी ।

बिदेश बस्यो । देशलाई गालि गर्‍यो । नेतालाई सराप्यो । घर गाउँ सम्झियो । बियर र कुखुराका सपेटा टोक्यो अनि मुलुक हाँक्ने गफ दियो । आफुले देशकालागि गर्ने केहिपनि नदिइ बस्यो । नेपालको हावापानी, औषधी मुलो र हेरचाहले बलिया पाखुरा लिएर बिदेश छिर्‍यो, पौरख जति बिदेशीलाई । नेपाललाई सराप्दै बसेर हुन्छ फाइदा के ? अरुले जे गरुन् हामी केहि गरौं न । हामीले यहि सल्लाह गर्‍यौं । डिना वाङ्देल र कनक दाई देशकालागि दिइरहेकै मान्छे परे । आफु परियो पछाडि । नेपालका लागि के गर्न सकिन्छ त ? यहि विषयमा सल्लाह गर्‍यौं गम्भिर भएर । अक्किल निस्किहाल्छ केहि गर्न तत्पर भए । नेपाल अभिलेखालयमा पछाडि पर्‍यो । हाम्रा धर्म, संस्क्रिति, गित र संगित, हाम्रो बिउ र भण्डार, हाम्रा खोला नाला, जिवजन्तु र अनेक पाटा बारे बिदेशीले धेरै अनुसन्धान गरेका छन् । सयौं किताब लेखेका छन् । हजारौं अनुसन्धानका ठेली तयार परेका छन् । तर हामी नेपालीलाई जानकारि सम्म छैन । ‘लौ उसो भए अब अभिलेखालयतिर लाग्ने ।’ सामूहिक छलफल चित्त बुझ्यो ।

कसरि शुरु गर्ने त ? जति सकिन्छ गर्दै जाने । अब एक एक सूचि तयार पार्ने । कुन कुन देशमा नेपालका के के छन् सबैको सूचि बटुल्ने । त्यसकालागि युरोप, अमेरिका लगायत सबैतिर असल, देशका लागि काम गर्न इच्क्षुक, स्थानिय भाषा जानेको, समय पनि केहि दिन सक्ने नेपालीहरु खोज्ने । कुरा र भाषण हैन काम गर्न रुचाउने । त्यस्ता नेपाली जसको स्थानिय नागरिकसित अझ खासगरि नेपाल र नेपालीबारे देखेजानेका, काम गरेका, अनुसन्धान वा कुनै तरिकाले नेपालसित बाँधिएका र अझै नेपालको सेवा गर्न इच्क्षुक बिदेशीलाईपनि समेटेर काम शुरु गर्ने । सकेदेखि हाम्रो नेपाली साहित्य र गैह्र साहित्यका अन्तर्राष्ट्रिय स्तरमा उपयोगि हुन सक्ने केहि पुस्तकपनि अनुवाद गर्ने । नेपालीको पहुँच बाहिर रहेका प्रसिद्द बिदेशी पुस्तकलाई नेपालीमा अनुवाद गर्ने । जेजे गर्न सकिन्छ त्यो चाहिँ गर्दै जाने ।

विश्वभरिका २० जना नेपाली र अर्को २० जना बिदेशी मिलेर ४० जनाले मात्रै काम गरेपनि केहि वर्षमा हामीले अथाह जानकारि बटुल्न सक्छौं। आँटेर काम गरे केहि न केहि त हुन्छ हुन्छ । यसले एउटा बौद्दिक स्तरका मान्छेहरुसितको सम्पर्कपनि बढाउँछ । हाम्रो ज्ञानलाई फराकिलो पार्छ । नेपालको लागि एउटा ऐतिहासिक काम हुन्छ । मैले आफ्नै उदाहरण दिएँ । युरोपका दर्जभन्दा बढि मुलुकमा नेपाल र नेपाल संवन्धि काम गरेका युरोपेलीको घर आँगन चहारेर तिसित छलफल र बातचित गर्दै हिँड्दा मैसित यति पुस्तक, फोटा, पत्रपत्रीका र अन्य सामाग्रि जम्मा भए कि मैले राख्ने ठाउँको अभावमा मिल्काउनु पर्‍यो । यो सुन्दा डिना र कनक दाइ कम्ति चुकचुकाएनन् । डिन भन्दै थिईन् ‘हेर नफाल्नु पर्ने नी, राख्नु पर्ने नी !’ तर अभिलेखालयको सोचसम्म नआएको बेला, आफुसित स्थानकै अभाव भएपछि कसरि राख्ने ? त्यसरि मिल्काउनु मेरो बाध्यता थियो । यसरि कति नेपालीले मिल्काईरहेका होलान् ? कति बिदेशीले मिल्काइरहेका होलान् ? नेपालको ऐतिहासिक सम्पत्ती यसरि बित्थामा गैरहेको छ खेर । यसमा हामी नेपालीले अलिकति काम गरिदिएपनि ठूलो काम हुन सक्छ देशकोलागि ।

उनी नेपाल फर्किने अघिल्लो साँझ फेरी फोन गरे ‘हामी  सम्मेलनमा सहभागिहरुको डिनर जमघट हुँदै छ । लौ आउनुस् त्यहाँ नेपालसित नातो गाँसिएका केहि मान्छेलाई चिनाउँछु म ‘ लौ गज्जब भो । पेरिसको एउटा रेस्टुरेन्टमा बिभिन्न देशका बिज्ञ भेला भएका । हामी छुट्टै टेबलमा बसियो । खरर नेपाली बोल्ने एक जना जापानी, कोहि चिनमा अनुसन्धान गरेका अस्ट्रेलियाली । नेपाल-चिन, नेपाल- भारत, चिन- अस्ट्रेलिया लगायतका मुलुकबिचको राजनितिक संवन्ध बारेमा उपयोगि अनुभव र बुझाइ सुन्न पाइयो । नेपाल र नेपालबारे अनुसन्धान गर्ने युरोपेलीबारे अनुसन्धान गर्दै छन् ददिजीले भन्दै चिनाए । केहि उपयोगी मानिससित उनले परिचयपनि गराइदिए, सहयोग गरिदिन आग्रहपनि गरिदिए ।

(अन्तिमबाट दोस्रो, नेपालबाट चोरी भएको उमा महेश्वरको मूर्ती । फोटो द काठमाण्डु पोस्टबाट लिएको हो)

तपाइँको प्रतिक्रिया