‘गोरासाहेब’ले पहिलेनै चिनेका माओवादी !

‘के खाने ?’ ।  घरको पहिलो सिँढी उक्लिनासाथै बैठक कोठामा टुसुक्क गर्नासाथ उनले सोधे ।

‘पानी’

‘पानी ?’ आँखि भौं उचाले ।

‘हो पानी, तर एकदम चिसो । कि त जुस’।

‘ए ए बाहुनले रक्सी नखाने भएर हो ?’

‘हाहाहाहाहाहा ! आजकालको बाहुनले खान्न रक्सी ? गर्मी भएर हो, दिउँसै के खानु रक्सी भनेर ।’ फेरी हुस्कीले झन गर्मी बनाउँछ नी !’ ‘ए ए म त खान्छु’ एक लिटरको हुस्की र एक बाल्टि आइस ल्याए । गिलासमा कुलुल्ल बगाए र भने ‘ल खाम, हामी त गोरा साहेबहरु धेरै खान्छौं । रक्सी नभै हुन्न । तर नेपालमा झैं लोकल रक्सी ह्याँ पाइन्न क्यारे ।’

नेपालका लागि प्रथम आवाशिय फ्रान्सेली राजदूत । करिब पाँच वर्ष पहिले म उनको आवासमा पुग्दा गर्मीको चिडचिडाहट बाँकिनै थियो । सरकारी सेवाबाट बिश्राम लिएको दशक नाघ्दापनि त्यो गर्मीमा कुनै ठिटोले झैं उनी रौसिंदै हुस्की ‘अफर’ गर्दै थिए । छिनछिनमै घटाघट पार्थे । हेर्दाहेर्दै उनके एक लिटरको हुस्की त आधा पो पारे ।

एकाध पटक भेट भैसकेका उनीसित नेपाल र नेपाली, नेपाल र फ्रान्सको कूटनीति मात्रै होइन जवाहर नेहरुकालदेखिको भारतीय कूटनितिसमेत खोतलखातल गर्न पाइने । उनी नेपाल पहिलो पटक पुग्दा केहि राणाहरुका लागि चित्लाङको बाटो हुँदै काँधमा बोकेर राजधानी लगिने रहेछ गाडी । काठमाडौंमा गोराको मुलुकबाट पानी जहाज चढेर भारत पुगेका केहि गाडी फेरी नेपालीका ढाड चढेर काठमाडौं भित्रिन्थे । नत्र नेपालमा गाडी देखिंदैनथ्यो । त्यो बेला न थियो टिभी न कसैले सोचेकोनै थियो ईन्टरनेट आउला भनेर । अनि कसरि कहाँ देख्ने गाडी ?

काठमाडौंमै सिमित थिए ति चार पाङ्रेपनि । नेपालकालागि त उनी ज्युँदा ईतिहास भैहाले ।

त्यो बेला माओवादी जनयुद्द जारिनै थियो । माओवादीबारे सोध्दा उनले आँखा तिखार्दै भनेका थिए ‘सबैलाई थाह छ माओवादी के चाहन्छन्’। ‘गोरा साहेबहरु’ कम्युनिष्ट भनेपछि देखि सहन्नन् भन्ने जानकारि नहुने कुरै थिएन । यिपनि तिनै मध्ये थपिएका अर्का पात्र न हुन् । यस्तै सोचियो । उनले प्रस्ट्याउन खोजे ‘सत्ता प्राप्तीकालागि यो र त्यो भनेका हुन् । यिनले पनि सत्ताकै लागि ज्यान फ्याँकेका हुन् । खोजेको आफ्नै सरकार हो । आफ्नै बलियो सत्ता हो । जनताको नाम अगाडि सार्नु त बाध्यता हो । सत्तामा पुग्ने बाध्यता । यि सत्तामा आएभनेपनि यिनले भन्ने गरेको जनताको मुक्ति गर्दैनन् । संभव छैन । त्यो चाहेकै होइनन् ।’

यिनको सरकार आएपनि जनतालाई हुने केहि होइन । मार्क्स, माओ, लेलिनका फोटा झुण्ड्याएर जनतालाई लोभ्याउने होन् । बिकाउनकालागि हो । हरेक कम्युनिष्टका लागि ति पुरुषहरु गतिलो माध्यम बन्ने गरेका छन् भित्तामा झुण्डिएर । सत्ता प्राप्तिकालागि हतियार ।

केहि गर्दैनौं । तिमी गरिब दुखिका दिन ल्याउँदैनौं ।  जमिन बाँड्दैनौं नभनि त कसको समर्थनमा सत्तामा पुग्ने ? त्यसैले जनतालाई हतकण्डा बनाएका हुन् । यिनले केहि गर्दैनन् । आफु सरकार र सत्तामा पुग्छन् त्यत्ति हो ।

वर्षौं भयो रे नेपाल नगएको । नेपाली पत्रिका पढ्न आउन्न । सात समुद्र पारिबाट कसरि बुझ्छन् यिनले नेपालका माओवादी के चाहन्छन् भनेर ? कम्युनिष्ट मन नपरेपछि जे भनिदिएपनि भयो यि गोरेका जिवलाई । यस्तै लाग्थ्यो । तर फँसिस द नोइयलले जानेका रहेछन् । उनले नबुझि, माओवादी राजनितिको उद्देश्यलाई आँकलन नगरि बोलेका होइन रहेछन् । आखिर उनले जे भनेका थिए अहिले माओवादी उनले भनेभन्दापनि कुर्सीको रसातलमा अझै सयौं तल्ला मुन्तिर खसिसकेको छ । जनता नामक बबुरा साँच्चै भर्‍याङ न बनेका छन् ।

करिब दुई वर्ष अघि फेरि भेट भए मिसेल जोलिभे । उनीपनि नेपालमा राजदूत भएर गएका । नेपालमा गएका फ्रान्सेली राजदूत मध्ये लोकप्रिय औधिनै । द्वन्दकालमा अन्य देशका राजदूत डरले दुला भित्र पस्थे । दोहोरो चेपुवामा परिएला भनेर । तर मिसेल जोलिभे चाहिँ एक्लै गाउँ गाउँ चहार्थे । पद यात्रा गर्थे । माओवादीका लडाकू हिँड्ने गोरेटा छोचोल्थे । साराले ‘नेपालमा शान्ति छैन पर्यटककालागि’ भनेर सूचना जारि गरिरहँदा उनी ‘नेपालमा पर्यटकलाई पूर्ण सुरक्षा छ, कसैले धाकधम्कि दिन्न’ भन्दै अन्तर्वार्ता दिन्थे पत्रपत्रीकामा । माओवादी नेता सार्वजनिक हुँदा सबैभन्दा पहिले माओवादीका टाउकेहरुलाई भेट्नेपनि यिनै थिए । उनले माओवादीलाई खुब बुझ्न खोजे । नजिकिए । माओवादीले ठाने ‘यो त मारै मान्छे हो’। डा बाबुराम भट्टराई र प्रचण्डले ‘आफ्नो मान्छे’ ठानिदिँदा उनले धेरै पटक भेट्न पाए, माओवादीको भित्रि उद्देश्य बुझ्न पाए ।

माओवादीहरुले किन लिए होलान् मार्क्स, लेलिन र माओको नाम ? किन झुण्ड्याउँदा हुन् तिनका फोटा ? किन भन्दा हुन् जनताको मुक्ति ? जोलिभेले बुझेकोपनि नोइयलले बुझेभन्दा टाढा छैन । गरिब जनताको, मजदूरको, श्रमिकको मुक्ति गर्न हिँडेका अन्तर्राष्ट्रिय स्तरका नेतालाई देखाएर लोकप्रिय बन्ने । अर्को भाषामा भन्दा तिनलाई भुट्ने । लोभ्याउने । तर बास्तबिक मुक्तिका लागि केहि नगर्ने । आफु सरकारमा पुग्ने । बलियो हुने । मोजमस्ति, सम्पत्ति कमाउने ।

कम्युनिष्ट शासनको चर्को नारा उराल्नु त जनतालाई आशा देखाउन । आन्दोलित बनाउन हो । त्यो त एउटा सिद्दान्त थियो । जनता भुट्ने सिद्दान्त । मार्सिजम र लेनिनिजम एउटा सिद्दान्त हो । उनीहरुले शक्ति जित्ने एउटा तरिकाको रुपमा प्रयोग गरे त्यसलाई । जनताको बास्तबिक मुक्ति गर्नैकालागि भनेर होइन । चिन, रस्सा लगायतका देशमा शक्ति लिन एक तरिकाका रुपमा निकै सफल भयो । त्यहि जनताको मुक्तिको नारा दिएर । तर राज्य चलाउनका लागि भने नाटकिय रुपमा असफल ।

माओवादीले जनयुद्दका बेला जनतालाई आशा दिनलाइ प्रयोग गरे त्यो आदर्श । जोलिभेले त्यो सबै प्रचण्डलाइ ब्याख्या गरे । उनी टाउको हलाउँथे मात्रै । जावाफ केहि हुँदैनथ्यो । बाबुराम भट्टराईसित उनको तारन्तार भेट भैरहन्थ्यो । “राजनितिको मुख्य धारमा आउने र बलियो राजनितिक उपस्थिति जनाउनकालागि उनीहरुले जनयुद्द प्रयोग गरेका थिए भन्ने मलाई लाग्छ । सैन्य तरिकाले कब्जा जमाउने, शासन गर्ने कुरामा उनीहरु विश्वास गर्थे भन्ने मलाई लाग्दैन । जोलिभेले त्यतिखेर मलाई सुनाएका थिए । त्यस्तो शासन भारत र चिनले पचाउन सक्ने छैनन् भन्नेमा उनीहरु विश्वस्त थिए । चिन, रुस, युक्रेन, भियतनाम सबैतिर त्यसले काम गरेन भन्ने उनीहरुलाई थाह थियो ।

तर उनीहरु शसन सत्तामा पुग्न जमिन दिन्छौं, तलब बढाउंछौं । जोत्नेकै हुन्छ जमिन । गास, बास र कपास ग्यारेन्टि हुन्छ । सुकुम्बसीलाई जग्गा दिईन्छ । यस्ता कुरा नभनि तिनका पछाडि लाग्ने मान्छे हुँदैनथे भन्ने तिनलाई थाह थियो । त्यसैले माओवादीले गरिब दुखि जनतालाई गुलिया कुरा देखाए । तर तिनलाई थाह थियो, उनीहरु सत्य बोलिरहेका छैनन् । जे आश्वाशन दिईरहेका छन् त्यो संभवै छैन । अफ्रिकाका अनेकौं देश, कम्बोडिया, भियतनाम, भारत, चिन, सोभियत संघ लगायतका देशमा कम्युनिष्ट आन्दोलनबारे गहिरो रुचि राखेका जोलिभेलाईपनि शुरुमै लागेको रहेछ ‘माओवादी जब बलियो हुन्छ, सत्तामा पुग्छन् । तब तिनले आश्वासन भुल्छन् ।’ नभन्दै त्यस्तै भयो ।

मैले भेटेका अन्य कूटनितिज्ञहरुपनि त्यसै भन्थे । माओवादीहरुले दिएका आश्वासन पुरा गर्नै सक्दैनन् भन्थे । त्यो बेला लाग्थ्यो, माओवादीले केहि गर्छ, पुरा गर्छ । तर होइन रहेछ, माओवादीको मूल्यांकन तिनै गोरेहरुले धेरै पहिले राम्रोसित गरेका रहेछन् । आखिर गोरेले माओवादीहरु जनयुद्द गरेकै बेला जे मूल्यांकन गरे अहिले त्यो भन्दा अझ बढिनै स्वार्थ केन्द्रित र पंगु बनिरहेका छन् ।

(यो लेख म आफैंले लेखेको हुँ तर केहि दिन अघि स्विस नेपाल डट कमकालागि । यो आलेख यहाँ गएरपनि पढ्न सकिन्छ  देब्रेतिरको तस्विर मिसेल जोलिभे र दाहिने चाहिँ फँसिस द नोयलको हो )।

तपाइँको प्रतिक्रिया