फिलिपिनी नेताद्वारा प्रचण्डको धुवाँधार बिरोध

प्रेम पाठक / नेदरल्याण्ड्स

हुनहार नेता प्रचण्ड । संसारका लोकप्रिय कम्युनिष्ट नेता भनिन्छन् उनी । जहाँ कम्युनिष्टहरु जम्मा हुन्छन् त्यहाँ प्रचण्डको गुनगान र वाह वाह हुनुपर्ने होइन ? त्यस्तो हुन्थ्यो कुनै बेला । तर जमाना बदलियो, प्रचण्ड आफैं बदलिए । अहिले जहाँ जहाँ कम्युनिष्टहरु भेला हुन्छन् त्यहाँ प्रचण्डको धुवाँधार बिरोध हुने गरेको छ । त्यसैगरि चर्को बिरोध भयो प्रचण्डको नेदरल्याण्डमा जम्मा भएका थुप्रै मुलुकका कम्युनिष्ट नेताहरुको जमघटमा । युरोपका धेरै मुलुकबाट कम्युनिष्ट नेताहरु भेला भए त्यहाँ ।

भा क पा माओवादीद्वारा संचालन गर्दै आएको जनयुद्धलाइ यूरोपबाट एक्यवद्द्ता र नैतिक समर्थन जनाउन प्रबासी भारतीय माओवादीको आयोजनामा ३ देखी ५ सेप्टेम्बर २०१२ सम्म नेदरल्याण्ड स्थित मास्त्रिट विश्वबिद्यालयमा कार्यक्रम आयोजना गरे । कार्यक्रममा जनयुद्ध प्रति एक्यबद्दता जाहेर गरे हाल नेदरल्याण्डमा अध्ययनरत चीनका तेजु बदिऔले । भारतका नागरिक अधिकारकर्मी गौतम नवलखा र नेदरल्याण्डबाट कात्य कोल्सेकले लिखित कार्यपत्र पेस गरे । विश्व कम्युनिस्ट आन्दोलनलाइ एक्यवद्द्ता जनाउँदै अफगानिस्थान, मलेसिया, भारत, नेपाल, बेल्जियम, फ्रान्स, नेडरल्याण्ड, जर्मनी, क्यानडा लगायतका अन्य युरोपेली मूलुकका कम्युनिष्टहरु त्यहाँ सहभागि थिए ।

कार्यक्रमको अन्तिम दिन अर्थात बुधबार ५ तारिखका दिन आकर्षक वक्ताका रुपमा फिलिपिन्स कम्युनिस्ट पार्टीका संस्थापक तथा पार्टी प्रमुख जोसे मारिया सिसन थिए । उनको नाम सुन्नासाथ धेरैमा चासो बढ्यो । जोसिलो भाषण गर्ने उनले भने “जब चीनमा माओले जनयुद्धलाइ सफलतापूर्वक चिनिया जनतालाइ मुक्ति दिलाए । हाम्रो देस फिलिपिन्समा पनि उही चरित्रको अवस्था रहेकोले हामीले पनि मालेमा विचारले लैस हतियारबद्ध जनयुद्धको सुरुवात गर्यौं । बामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवादको मारमा हाम्रो पार्टी पनि अछुतो रहन सकेन ।”

युद्धको क्रममा आफ्ना कार्यकर्तालाइ जेलबाट छुटाउन होस् वा शक्ती संचयको लागि शान्ती प्रकृयाको नाममा प्रतिक्रियावादी राज्यसत्तासंग वार्ता गर्नुपर्नेपनि उनले उल्लेख गरे । उनको संकेत नेपाल कम्युनिष्ट पार्टी माओवादीतिर सोझिएको थियो । शक्ति संचयपछि पुन: युद्दमा फर्कने क्रान्तिको नियम लाई बिर्सन नहुने उनले बताए । फिलिपिन्स क्रान्तिको वर्तमान अवस्था बारेमा थप प्रष्ट पारे । “फिलिपिन्समा रातो झन्डा बोक्ने फिलिपेनी कामरेडहरु आजपनि लड्दै छन । हामी संग जनसेना छन् । समानान्तर जनसरकार छ ।”

विश्व कम्युनिष्ट आन्दोलनको ब्याख्या गर्दा गर्दै उनले नेपालको प्रसंगमा जोड दिए । ने क पा माओवादीका अध्यक्ष प्रचन्डलाई औंल्याए “पेरु, फिलिपिन्स, भियतनामबाट पाठ सिक्ने भन्दैमा नेपालमा जे भयो त्यो गलत हो । क्रान्तिमा आवश्यकता अनुसार युद्ध बिराम गरिन्छ । राजतन्त्र फाल्ने र संबिधानसभाका कुरा ठिकै हुन् । तर आफ्ना जनसेना संयुक्त राष्ट्र संघलाइ जिम्मा लगाउनु नै गलत थियो । किनकि संयुक्त राष्ट्र संघ भनेको अमेरिकाकै कमाण्ड हो ।”

जोसे मारिया जोस्सिए “जब आफ्ना जनसेना र हतियार बुझाए अनि यो गलत भयो भनेर हामीले पहिल्यै भनेका थियौं । फिलिपिन्स जस्तै हुनबाट बच्न पाठ सिक्नु पर्छ भन्ने प्रचण्डले आज के गरे ? अझै पनि हामीसंग जनसत्ता र जनसेना छन । तर खै प्रचण्डसंग के छ ?’

देशको मौलिकताको नाममा मालेमावादका आधारहरुलाइ छोड्नु संसोधनवाद भएकोपनि उनले सुनाए । सिर्जनशीलताको नाममा संसोधनवाद भित्र्याउनु पतनउन्मुख प्रवित्ती भएको भन्दै प्रचण्डको कदमको तिब्र आलोचना गरे । मालेमावादी बैज्ञानिक बिचारलाई सर्बहारा वर्गको मुक्तिको लागि प्रयोग गर्नुपर्ने उनले बताए । त्यसैले “विश्व भरि चलेका माओवादी आन्दोलनलाइ हाम्रो सहयोग र समर्थन हुनुपर्दछ” उनले भने । उपस्थित अन्य देशका नेताले यसमा ऐक्यबद्दता जनाए ।

तपाइँको प्रतिक्रिया