कविता : स्नेहिल ब्यथा
∙ विद्या सापकोटा
म
हेर्थे / हेरिरहेको हुन्थें,
चराहरुको स्वछन्द उडान
समानान्तर क्षितिज
निलो आकाश
गुराँसे पहाड
धुलाम्मे सडक
………………..
देख्दादेख्दै
क्रमशः
बन्थ्यो / बन्दै जान्थ्यो
एउटा–एउटा मन ।।
००००००००००००००००००
उदाउने र बिलाउने क्रममा
देखिने र हराउने स्वरुपमा
आकाशदेखी आभाससम्म
अनुमानदेखी प्रभावसम्म
………………………..
जहिँकहिँ
जन्मन्थे / जन्मदै जान्थे रहर ।।
००००००००००००००००००
छाम्थे म – आफ्नो मन
चिमोट्थे – रहरहरु
अझै
छाम्छु / चिमोट्छु / सम्झन्छु
– फक्रन चाहने ओठका पत्ताहरु
– कलमसँगै दौडने उत्साहहरु
फेरी सम्झन्छु
–स्वाभिमान विरोधी मुस्कान
–आफै विरुद्धका आफ्ना अक्षरहरु ।।
००००००००००००००००००
मन कि मस्तिक
रहर कि विवशता
आत्मसम्मान कि बजारी हाँसो
आफू कि आफ्ना सृजना ??
द्धन्द्ध–द्धन्द्ध पुनः द्धन्द्ध
अन्ततः
शहिद भएथ्यो मन
बिस्तारै–बिस्तारै
बन्द भए थे रहरका ढकनी ।।
००००००००००००००००००
पछि पछि त,
बनेनन् / बन्नै सकेनन्
त्यस्ता अनेकै मन
खुलेनन् / खल्नै सकेनन्
रहरका आँखिझ्याल
फेरि पनि,
पहाडी टाकुरा हुदैं
जब ओर्लन्छ प्रभाती किरण
अनायसै,
फटफटाउँछन् अभिप्साका पखेटा
कसोकसो,
चल्न लाग्छ, रगतको ताजा प्रवाह
लाग्न लाग्छ – फुटेको छ मुटुको मुहान
अनि,
पोखिदैं छु म
तप्प तप्प तप्प………… सृजन बागहरुमा ।।





