कविता : मौन संबाद

लेखनाथ काफ्ले / ताइपेई, ताइवान

हरेक साँझ मेरो अन्तर्मनले मलाई सोध्छ

खोइ तेरा साथी?

सेता रौ थपिदा छन

छाला खुम्चिदै छ

हाड चुच्चिदै छन

आँखा गढ़दै छन

तै पनि मनले खाने २ मान्छे आफ्नो बनाउन नसक्ने भाते !

 ०००००००००००००००००

अनि म सम्झन्छु त्यो स्टिलको गिलास संगको मौन संबाद।

र संझन्छु भट्टीको सिसाको अर्को गिलास।

 ०००००००००००००००००

मलाई त्यो गिलासले भन्थ्यो

एउटाले रित्तायो

अर्कोले घोप्टायो

तेस्रोले उचाल्यो

चौथोले सुर्क्यायो

यसरी नै अनगिन्ती पटक

थपिदै, रित्तिदै, फेरी थपिदै र रित्तिदै

जुठिदै, पखालिदै पटकौपटक

एउटा पछि अर्को हातमा सर्दै जाने

त्यस्ता सिसाका गिलास जस्ता साथी के साथी?

 ०००००००००००००००००

मैले सम्झे

हाम्रै वरपरका अधर्मीहरूको भाषामा

छुन नहुने भनिनेलाई सानैमा उसकी आमाले दिएको

त्यो स्टिलको गिलास।

 ०००००००००००००००००

थेप्चिए, कुच्चिए, दोब्रिए र खिइए पनि

सधै उसकै साथै रहने

घाम-पानी, चिसो-गर्मी, दुख-सुखमा पनि

सधै जतनसाथ सम्हालेर राखिने

मदेश, पहाड, हिमालै पुगे पनि

उ हल्लिदा पनि

रल्लिदा पनि

उही ओठमा

सधै उही दुई हातहरुमा

र सधै उसकै कोखिलाको झोलामा निदाईरहने एकनास

त्यो गिलास।

 ०००००००००००००००००

मलाई एक दिन त्यो गिलासले भन्यो

म उ संग हाँस्दछु

रीस, खुशी, दुख देख्दछु उसको  

मलाई उसको मन मनपर्छ

मलाई उसको जीवन मन पर्छ

लड्दा सम्हाल्छ

खस्दा उठाउछ

भट्टीमा जब मान्छेहरु झगडा गर्छन

हामी बाहिर हाँस्दछौ

कुरा गर्छौं मनमनै, मौन संबाद।

 ०००००००००००००००००

उ सबलाई माफी दिन्छ

अलगै राखेकोमा

पर सारेकोमा

एक्लै पारेकोमा।

त्यसैले म ती फुट्ने सिसाका गिलास बन्न चाहन्न

नगरबधु जस्तो

म त सधै तिनै छुन नहुने भनिनेको स्टिलको गिलास बन्न चाहन्छु

जिन्दगी भरलाई प्रियतम जस्तो।

 ०००००००००००००००००

त्यसपछि मैले पनि मेरो अन्तर्मनलाई भन्छु

मलाई पनि बरु पर सारिदेउ

तर मात्र एउटा स्टिलको गिलास देउ

एउटा त्यस्तै साथी देउ

किनकी मलाई पनि फुट्ने सिसाको गिलास र टुट्ने साथी चाहिदैन। 

२०१२/०८/०८, ताइपेई

तपाइँको प्रतिक्रिया