कविता : भगौडाको सुनुवाई
• डा. लेखनाथ काफ्ले / ताइपेइ, ताइवान
एकले भन्यो
तिमी भगौडा
यो देशको लागि सके राम्रो सोच
होइन, नराम्रो चिताउने तिम्रो हक नै छैन ।
+++++++++++++++
अर्कोले भन्यो
बाहिर बसेर धेरै नबोल
यहाँ त चाहिने कुरा गर्दा त डराउनु पर्दछ
नचाहिने कुरा गरेर हामीलाई अफ्ठ्यारोमा किन पार्छौं हँ ?
बरु आउ यतै
सेकिउ धुलो, धुँवा, महँगी र भ्रस्टाचारको रापमा
सुन लम्फु नेताका पाँडे कुराहरु
पढ दैनिकीका प्रायोजित सम्चारहरु
खाउ बिदेशीका सल्लाह रुपी कोर्राहरु
र बल्ल गाली गर या रिसाउ देशसँग ।
+++++++++++++++
फेरी अर्कोले थप्यो
लडाईं खप्ने, भिडन्त सहने, यो दुष्चक्रमा खाँदिने हामी
नेटमा पढेकै भरमा
नेपाल खत्तम भयो
नटाँस तिम्रा वालमा यस्ता बकबासहरु
तिमी त्यो अधिकारको लाएकका नै छैनौ ।
+++++++++++++++
अनि अर्को फेरी बम्क्यो
एक हुल बेइमान ब्वासाहरु सिंहदरबारमा डुक्रन्छन
अर्का स्यालहरु सडकमा बन्द, जुलुश र भाषण गर्छन
यी पालैपालो देश लुट्नेहरुको बिरोध गर्न
आऊ, यतै आउ ।
होइन भने, बन्द गर तिम्रा अनाहकका कबिता र लेखहरु
बेसुरका तिम्रा बोलीहरु
तिमीहरु हाम्रा थप भारी हौ
कृपया हामीलाई यतैको भारीले थिचेको छ
अरु नथप ।
तिमी सँग पैसा छ
हामी त फगत नागरिक मात्र
हाम्रो त्यही नागरिकताको अर्को भाग नखोज
पैसाको आडमा नागरिक अधिकार नमाग
हाम्रो यो रगत, पसिना र दुखले आर्जेको
नागरिकता तिमीलाई दिन म सक्दिन
अहिलेलाई दोहोरो नागरिकता नमाग ।
+++++++++++++++
मेरा देशबासी प्रियजन
हो म भगौडा हुँ
जब देश प्रताडित थियो
लड्न सकिन, म भागें
हो, मैले दुई चार रुप्पे घरलाई बाहेक
केहि दिन सकिन देशलाई
खाली मागें र मागिरहेछु ।
+++++++++++++++
तर सुन प्रियजन
मेरो अनुपस्थितिमा देशमा
राँके जुलुशमा एउटा राँको कम बलेको छ
बन्दमा एउटा शिशाको झ्याल कम फुटेको छ
एउटा चोर कम भएको छ
एउटा डाँका घटेको छ
एउटा भ्रस्टचारी, व्यभिचारी घटेको छ ।
पेट्रोलको लाइनमा एउटा टाउको कम भा’को छ
जागिरको निबेदन एउटा कम परेको छ
पार्कमा एउटा कुर्ची खाली भएको छ
बसमा एउटा ज्यानको भिड कम देखिएको छ
मेरो भगाईले
तपाइँहरुले सुन्नु पर्ने एउटा गाली कम भएको छ
तपाइँहरुको भाग खोस्ने एउटा जण्ड घटेको छ
सबै भन्दा ठुलो कुरा
देशको एउटा धमिरा घटेको छ।
+++++++++++++++
त्यसैले
मेरा प्रीय देशबाशीहरु
मेरा कुरा नमाने पनि बिन्ति सुनिदेउ
वास्ता गर वा बेवास्ता तर सुनीदेउ
किनकि जता पुगे पनि
जता भौंतारीए पनि
मेरो भाषा र बोली बुझ्ने तिमीहरु मात्रै छौ यो संसारमा ।
+++++++++++++++
मैले त देश छाडें तर मलाई देशले कहिल्यै छाडेन।
बिन्ति यो कुरा बुझिदेउ
र पर्खिराख
म एक दिन अवश्य आउने छु
काँधमा काँध मिलाउन
किनकी मलाई त्यही धुवाँ, धुलो र बन्दको रापले सेकिन मन छ
जुनीभर नै ।





