“ह्याप्पी भ्यालेन्टाइन डे”

 गणेश खड्का “प्रतिक्षा”  

ganesh-khadka.jpg

म गाउँमा हुँदा  

सानै थिएँ

र स्कुलमा पढ्थें

त्यतिबेला

बुथुरी ले भन्थी

तिमी कत्ती जाती छौ है ?

सपनामा देख्छु तिमीलाई

जून जस्तै राम्री थी उ

मलाई फूल दिन्थी

झरिलो गुलाबको

र भन्थी-

तिम्रो मायाँ लागिरहन्छ मलाई

गाउँ छोडेर

मझौला शहर पसें

शायद म

अलिक जवान भएँ

र नै त

कलेज पढ्ने भएँ

त्यतिबेला

अङ्ग्रेजी सायरी लेखिएको

ग्रिटिङ्स कार्ड पठाएर

शिखा ले लेखी-

भ्यालेन्टाइन डे को दिन

तिमी सँग म

डेटिङ गर्न चाहन्छु

तिम्रो मुटु सँग मुटु साट्न चाहन्छु

अहिले म

वयस्क छु

झन् जवान छु

र शहर भन्दा पनि

अझ ठुलो

महा शहरमा छु

र यतिबेला

अर्धनग्न आभूषणमा

वर्थ डे पोज भन्दा

अलिक माथिल्लो

थोरै मात्र बिकसित

लघुवष्त्रमा

धडक्क धड्किदै

मेरो सम्मुखमै

रोजमेरी आउँछे

र झ्वाम्मै अङगालिन्छे

म निस्सासिएको हेक्कै नराखी

प्लास्टिक निर्मित मुटु

मेरो हातमा थमाउँछे

र भन्छे-

ह्याप्पी भ्यालेन्टाइन डे माइ स्वीट हार्ट

थाकेको मेरो मथिङ्गलले

ब्रम्हाण्ड परिक्रमा गर्छ

प्रेम प्रदर्शनको

यो शैली

माया गराइको

यो ढङ्ग

समय घर्कीरहेको छ

माया गर्नु र त्याग्नु

ओठमा च्यापेको

खैनी जस्तै

जीवन साथी फेर्नु

चप्पल फेर्नु जत्तिकै

उरालेर

परिवर्तनको नारा

अलापेर

आधुनिकताको राग

कहिल्यै नथक्नुको पराकाष्ठा

अहिले-

प्रेम फूल्दैन

रोधी र हाक्पारेमा

सँस्कृति बोल्दैन

मारुनी र सोरठीमा

यतिबेला-

थुप्रै सुनिताहरु

स्वीटी बनेर

थुप्रै चन्द्रमायाहरु

चाँदनी बनेर

अनि-

कयौं गाउँका माने हरु

माइकल को उपमा भिरेर

शहर पसेको बेला छ

म छोडिएको छु

जमाना सँग

म पिछडिएको छु

समय सँग

मैले नपचाएको

आयतित शब्दावली

मैले नरुचाएको

प्रायोजित वाक्यांश

हुन सक्छ

आफु सँग

गर्ल फ्रेण्डनहुनुको

जबर्जस्त आदर्श

यद्दपी

सलाम त्यो प्रेम पूजारीलाई

युद्दका बिरुद्द

प्रेम र शान्तिका खातिर

बलिदानी बन्ने

सेन्ट भ्यालेन्टाइन लाई

र त्यही एउटा

ओजिलो सम्झनामा

समस्त नव जोडी हरुलाई

ह्याप्पी भ्यालेन्टाइन डे ।

 तिवारी भञ्ज्याङग-४, भोजपुर

हाल : भिक्टोरिया (सिसेल्स)

तपाइँको प्रतिक्रिया