के भनूँ म तिमीलाइ..अनुत्तरित तिम्रा प्रश्नहरु—
–विद्या सापकोटा “निर्जला”
ए मेरो राजा !
म के भनेर बुझाउँ
के भनेर विश्वाश दिलाउँ तिमीलाइ
हरभेट, हरबोली
अझ झस्काइका पलपलमा तिमी सोधिरहेका हुन्छौ
विद्या तिमीलाइ मेरो माया लाग्दैन
विद्या मेरो याद कहिल्यै आउँदैन ??
किन लाग्दैन तिम्रो माया
किन आउँदैन याद
हरपल त तिम्रै याद आउँछ
बिहानीको मिर्मिरेमा
उषाको लालिसँगै तिम्रो याद आउँछ
घडिफुल मध्यान्हमा मस्कँदा
सूर्यमुखी साँझमा निहुरिँदा
गोधुलीमा सन्ध्या, लाजको घुम्टोले छोपिँदा
प्रकृतीको प्रत्येक छटासँगै तिमी स्पन्दनमा आउँछौ ।।
जव हिमाल मुसुक्क हाँस्छ
तराइका फाँटहरुमा तोरीफूलहरु पहेंलिन्छन्
पहाडका खोचहरुबाट झरनाको झनझन सुनिन लाग्छ
तिमि अनेक रङ्गहरुको कुचीसँगै बत्तिएर आउँछौ ।।
लालिगुराँसको रत्तिमता
डाँफेका मनमोहक नचाइहरु
काफल र ऐसेलुका ति मिठा स्वादहरुमा
तिम्रो याद क्षितिजभरी रगमगिएर आउँछ ।।
तिमीसँगै अडि्कएका मेरा खुसीहरु
पिंडामा त तिमी झन् समेटिएर आउँछौ
केकेमा तिम्रो याद आउँछ भनु म ? ?
खुलेका प्रभात र जुनेली रात त के हो र
अँध्याराका प्रत्येक निस्सारहरुमा
शहरका काकाकुल झैं तिर्खाइहरुसँग
छट्पटीयुक्त कर्णालीको सुसेल्याइहरुमा
तिम्रो माया र अभाव एकसाथ भारी पर्छ ।।
अनेक बाहानामा पुछिएका उजाड सिउदोहरुसँग
घात प्रतिघातका वीच रित्तिएका ती काखहरुसँग
प्रेमी विदेशिएका यी चिसा सिरानीहरुसँग
अनि उजाड उराठ यि पाखा र कन्दराहरुसँग
भक्कानिन्छ मुटु अनी
बेहोशीमा पनि तिम्रै मायालु याद बल्झिएर आउँछ, आइरहन्छ ।।
तिम्रै मायाले त मभित्रको आशा मर्न दिएको छैन
म भित्रको उत्साह गल्न दिएको छैन
किन ?? अचम्मको प्रश्न गर्छौ तिमी
माया लागेर नै त याद आउँछ नी हैन ??
अव भन,
तिम्रो ?? याद कहिले र केमा आउँदैन ?
सदियौंदेखी जगेडिएका
अन्धविश्वासी पिँजडाहरुसँग
रातदिन हाड घोटेर पनि
भोका निमुखा ति तनहरुसँग
उपचार नपाएर झोक्राएका
उर्जाशिल मनहरुसँग
जहाँ जहाँ म पुग्छु, डुब्छु र छट्पटिन्छु
तिमी यादको बाटो भएर मलाइ सम्हाल्न आउँछौ ।।
म जीवनका हरपिंडा तिमीसँग बाँड्न चाहन्छु
हर टुक्राटुक्रा खुसी, तिमीमै भिजाउन चाहन्छु
हाम्रो मायाको महल वाकयुद्धवीच किचिंदै गर्दा
कल्पना गर त
म कसरी सम्हालिइरहेको हुँला ??
तिम्रो याद कति आउला ??
ए मेरो प्रिय
मन रुदापनि, मन हाँस्दा पनि
एक्लो हुँदा पनि, भिडमै हराउँदा पनि
जहाँ जे गर्दापनि, जसो गर्दापनी
तिम्रै याद आउँछ
निस्वास लिँदा पनि स्वास फाल्दा पनि
प्रत्येक उच्छबासहरुमा तिम्रै माया गहिरिएर आउँछ
प्रत्येक भोगाइहरुमा तिम्रै याद झुण्डिएर आउँछ ।।
साँच्चै, एक धर रुन सकेकी छैन मैले
तिम्रो अभावमा
एक खित्का हाँसो, खुलेर हाँस्न सकेकी छैन
तिम्रै पर्खाइमा
अझै कसरी प्रमाणित गराउँ
कसरी सम्झाउँ म तिमीलाइ
तिम्रो माया कति लाग्छ
तिम्रो याद कति आउँछ ??
कति अनुत्तरित छन् तिम्रा प्रश्नहरु ??
–यो प्रेमदिवस मान्छे र मान्छेवीचको आपसी प्रेम, सद्भाव, बिश्वास र समर्पणको धुरी छुन सक्षम बनोस् ।
कल्याणपुर ७, नुवाकोट
हाल– शंकरदेव कलेज, काठमाडौं ।
[email protected] (पाठक प्रतिक्रियाहरु सान्दर्भिक र सभ्य भाषामा राख्नुहोला । अनावश्यक र संदर्भरहित पाठक प्रतिक्रिया हटाउन सकिने छ-नेपालप्लस) ।




