पेरिसमा फूटबल प्रतिस्पर्धा: झण्डै मैदान उचालेका नेपालीले

(फाइनलमा भिडेको टिम)

नेपाली एकता आमाजले हिजो पेरिसमा नेपालीहरुका बिच फूटबल प्रतिस्पर्धा आयोजना गरेको थियो । बिभिन्न छ टिमले भाग लिए । तमु समाज फ्रान्स, सिभिल सेतो, लाङ्घाली (मगरहरुलाई भनिने), नेपाली एकता समाज, स्याङ्जा फ्रान्स, सिभिल रातो थिए । पहिलो खेल तमु समाज टिम र सिभिल सेतोका बिचमा भयो। जम्मा एक घण्टा खेलिएको खेलमा बराबरी भएपछि पेलान्टीबाट हारजित गर्दा सिभिल सेतोले जित्यो । यो खेलमा तमु समाजका खेलाडी तगडा थिए उता किपर चाहिँ सिभिलका तगडा ।

लाङ्घाली र एकता समाज भिडे दोस्रोमा । खेल यो खेलमा एकता समाजले जित्यो। तेस्रो खेल स्याङ्जा फ्रान्स र सिभिल रातोका बिच भयो । सिभिल रातोले जित्छ भन्ने अनुमान गरिएको यो खेलमा अचम्मले स्याङ्जा फ्रान्सले जितिदियो । खेलपनि सौम्य थियो । “हाम्रो त लगानीपनि छैन, जर्सीपनि दुईथरी लाका छम्” भन्दै थिए स्याङ्जा फ्रान्सका खेलाडी दिलिप गुरुङ । तर खेल त गज्जबले जितिदिए ।

पहिलो दोस्रो र तेस्रो छुट्ट्याउन भएको पहिलो खेलमा नेपाली एकता समाजले स्याङ्जा फ्रान्सलाई हरायो । पहिलोका लागि भएको खेलमा सिभिल सेतो र एकता समाज टिमका बिचमा भयो । एकता समाजलाई सिभिल सेतोले जितेर प्रथम भयो । सिभिल सेतोले कप उछिट्ट्यायो। एकता दोस्रो र स्याङ्जा फ्रान्स तेस्रो भए ।

पहिलो खेल बराबरीमा टुंगिएपछि हारजित छुट्ट्याउन पेलान्टि हान्ने कि समय थप्ने भन्नेमा केहिबेर बिबाद भएपनि अन्तत खेल अन्तिम सम्म शान्तिपूर्ण भयो ।

खेल राम्रो भएर मात्रै नहुने रहेछ । तमु समजको खेल तगडा थियो । सबैले सायद यसैले जित्छ भन्ने अनुमान गरेका थिए । तर के गरे के पहिलो मध्यान्तरसम्म बल बिरोधीको पोस्टमा लैजाने तर राम्रोसित नियन्त्रणमा लिएर हान्ने नै गर्न सकेनन् । दोस्रोमा खुब राम्रोसित खेलेपनि जित्न सकेनन् । पहिलो खेल यीनले जितेको भए पछिल्ला खेल चाख लाग्दा हुनेथिए भन्नेहरु धेरै देखिए । लाङ्घाली टिमबाट खेलेका थिए जम्मा १४ वर्षका फुच्चे आशिस वाग्ले। उनको खेलको धेरैले प्रशंसा गरे । साँच्चिकै राम्रो थियो ति फुच्चेको खेल । आयोजकले केहि बिचार गर्न भ्याएको भए यीनलाई सान्त्वना पुरस्कारसम्म दिँदा राम्रो हुने थियो ।

(खेलमा कोहि खेलाडी घाइतेपनि भए ।)

सर्बोत्क्रिष्ट खेलाडी राजिव केसी भए । यसमा खासै कसैको बिमत देखिएन । छरितो, पातलो शरिर खुरुरुरुरु दगुरेर फ्याट्टै बल नियन्त्रणमा लिइहाल्ने । खेल एकदम सौम्य भएर खेल्ने । अति सुन्दर थियो यीनको खेल । भाग्यमानी रहेछन् कि मेहनतीला ? सर्बोत्क्रिष्ट स्कोरको कपपनि यीनैले पाए ।

खेलमा प्रथम स्थान जितेपछि एक छिन त सिभिलका पक्षधरले खेलकुद मैनाननै उचलौंला झैं गरिहालेनी । खेलाडीलाई काँधमा बोक्ने । उचाल्ने । रे बाफ । सिठी फुक्ने, गित गाउने बाफ । खुब रमाइलो गरे । यो जित कसको सिभिलको भन्दै कान खाला झैं गरे चिच्याएर ।

खेलमा सर्बोत्क्रिष्ठ स्कोरका लागि खेलाडीलाई दिएको ५१ यूरोको पुरस्कार नेपाली एकता समाजका उपाध्यक्ष प्रमोद पाण्डेले प्रायोजित गरेका थिए । खेलाडीहरुलाई पानी, जुस र अन्य पेयको ब्यवस्था पाको फेनका तर्फबाट भएको थियो । पहिलो हुनेको कप म्याग्दीका विष्णु पुन गर्बुजाले प्रायोजन गरेका रहेछन् ।

खेलमा धेरै नेपालीको चासो रहेछ भन्ने देखियो । थुप्रै थिए दर्शक । सबै उमेरका थिए युवा मात्रै नभएर । खेल छोटो अवधिमै तयारी गरिएको रहेछ । तैपनि यो ब्यवस्थापनलाई राम्रो मान्नु पर्छ । खेल सकेर पुरस्कार दिँडा रातको दशपनि नाघेको थियो तरपनि दर्शकको भिड बाक्लो थियो ।

अघिल्लो साल पेरिसमा नेपालीहरुको फूटबल टिम बनाउन मुस्किल परेको थियो । अनि बुढा खाडालाई समेत समेटेर टिम बनाउनु परेको थियो । अहिले २२, २४ वर्षका ठिटाहरुको राम्रो टिम रहेछ । चितवनका उमेश पौडेल “अर्को वर्ष त हामी चितवनकाहरुलेपनि छुट्टै टिम लिएर भिड्छौं, हामी चितौनेचाहिँ के कम ?” भनेर जोस्सिँदै थिए । एउटा गतिलो टोली बनाउने हो भने यसले यूरोपको कुनैपनि मुलुकमा हुने नेपाली टिमसित टक्कर दिन सक्छ । खेलमा केहि गर्ने संभावना देखिन्छ । तर नेपालीहरुले सिक्नुपर्ने कुरो के छ भने झैझगडा नगर्ने । सानातिना कुरामा मतभेद ननिकाल्ने । नियमको पालना गर्ने र गराउने । खेल जित्न मात्रै होइन रमाइलो, इज्जत, नाम र ब्यायामकालागिपनि हो, आखिर टोलीहरुको प्रतिस्पर्धामा सबैले जित्न संभव छैन भनेर बुझ्ने ।

तपाइँको प्रतिक्रिया