पत्रीकामा लेख नछपाउन आफ्नै नेतामाथि माओवादी व्हिप
के गर्न खोजेको यो एकिक्रित माओवादीले ? नेकपा एकिक्रित माओवादी बिरुद्द हरेक दिन लेख आइरहेकै छन त्यहि पार्टीबाट भागेकाहरुबाट । उनिहरुकै नेता मात्रिका यादवले त आफ्नै पार्टीमा मधेश बिरोधीहरु रहेको, सामान्तहरु रहेको भनेर धेरै पटकनै ठाडै भनिदिए । तर केहि हल्लाउन सकेन माओवादीले । अहिले आफ्नै पार्टीभित्रका कमिकमजोरीहरुलाई समेटेर पार्टीलाई सुझाव दिँदै लेख लेख्ने एक केन्द्रिय नेतामाथि लेख नलेख्न माओवादीले व्हिप लगाएको छ । बिचारमाथि तरबार हानिएका माओवादीका केन्द्रिय नेता हुन अनिल शर्मा ।
उनी माओवादीका केन्द्रिय सदस्य र रसुवा जिल्लाका ईन्चार्जसमेत हुन । उनि काठमाडौंमा दुइ पटक र पटनामा पक्राउ परेर जेल भोगेका नेता हुन । उनीमाथि पार्टीको आलोचना गरेर, केहि नेताका कमजोरीबारे औंल्याइदिएर लेख छाप्दै आएको आरोप लाग्ने गरेको थियो । अहिले माओवादीका पोलिटब्युरो सदस्य अग्नी सापकोटाले उनीमाथि जनआस्था साप्ताहिकमा लेख प्रकाशित नै नगर्न व्हिप लगाएका छन पार्टीको ।
पार्टीमा आफ्नो शक्ति प्रयोग गर्दै उनले कुनैपनि खालको लेख रचना नलेख्न उर्दी जारी गराएको भन्दै एक साप्ताहित पत्रिकाका पत्रकारले मलाई केहिदिन अघि जानकारि दिएका थिए । यिनै नेतामाथि केहि समय अघि डा बाबुराम भट्टराईलेपनि जनआस्थामा उनको लेख नछपाउन दबाद दिएको थाह भएको छ । त्यसपछि शर्माले बिचारमाथि प्रतिबन्ध लगाउन नहुने र पार्टीका कमिकमजोरीहरुबारे बहस गर्न छुट दिनुपर्ने भन्दै लेखहरु छपाएका थिए । उनले पार्टी खुला रुपमा आएपछि कार्यकर्ताहरुमा निराशा छाएको, प्रतिक्रियाबादीहरुले फाईदा लिन खोजेको, हिजो पार्टीका लागि दुख गरेकाहरुको उचित कदर हुन नसकेको,यस्ता विषयमा पार्टी चनाखो हुनुपर्ने आशयका लेख छपाएका थिए ।
शर्माले आफु भारतिय जेलमा रहँदा कस्तो यातना पाइयो, त्यो बेला पार्टीका अन्य कामरेडले कस्तो ब्यवहार गरे, किन सँगैका कोहि साथी पक्राउ परे र कोहि परेनन आदि विषयलाई समेटेर “संझनमा भरतिय जेल” पुस्तक प्रकाशित गरेका थिए । त्यो पुस्तकमा पार्टीका केहि उपल्लो तहका नेतासमेत भारतिय गुप्तचर सरह रहेको आरोप र आशंका गरिएको छ । त्यस्ता ब्यक्ति मध्ये अधिकांश डा बाबुराम भट्टराई पक्षका परेको बताईन्छ । त्यहि कारणले हुनुपर्छ, त्यो पुस्तक प्रकाशनपूर्व त्यसमा रहेका केहि लेख जनआस्थामा प्रकाशित गराउँदा डा बाबुराम भट्टराईले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई सिधै फोन गरेर “त्यस्ता लेखले पार्टीको हित गर्दैन, किशोर जी अनिलजीका त्यस्ता लेख नछापिदिनुहोला” भनेको माओवादी श्रोतले बतायो । तरपनि किशोर श्रेष्ठले बाबुरामका कुरा नसुनी छापिरहेका थिए । त्यहि बेला देखिको रिस फेर्नपनि अहिले अनिल शर्मालाई लेख्न बन्देज गरिएको विश्वास गरेका छन केहिले । जेहोस, ब्यक्तिको बिचारमथि बन्देज गरेर माओवादीले ज्ञानेन्द्रपथको सिको गर्दै छ । अनि सडेगलेकालाई महत्वपूर्ण स्थान दिएर पुरस्क्रित गरिरहेको छ ।
काठमाडौंमा उक्त पुस्तक बिमोचन गराउन खोज्दापनि भट्टराईले पुस्तक सार्वजनिक नगर्न दबाब दिएका थिए । तर अनिल शर्माले आफुले जायज कुराहरु लेखेको र कसैको पनि दबाबलाई चुनौती दिँदै पुस्तक प्रकाशन गराईछाड्ने अडान लिएका थिए । उक्त पुस्तक प्रकाशन भैछाड्यो । अहिले उक्त पुस्तकको दोस्रो संस्करणपनि निस्किएको छ । धैर्य गर्नुस उनको “संझनामा भारतिय जेल” का केहि महत्वपूर्ण भागलाई बुँदागत रुपमै भएपनि नेपालप्लसमा राख्ने छु ।
नमूनाकालागि उनको एउटा लेख हेर्नुस–
हेडक्वार्टरका अगाडि हनुमानको हुल
– अनिल शर्मा विरही
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को बहुप्रतिक्षित राष्ट्रिय भेला सम्पन्न भएको छ। यो भेलालाई देशभरिका लाखौं कार्यकर्ताले जिज्ञासा र कौतुहलताका साथ हेरिरहेका थिए। ०५७ को कार्यदिशा सम्पन्न भइसकेको र नयाँ कार्यदिशा तय नभइसकेको वर्तमान अवस्थामा पुरानै कार्यदिशाको निरन्तरता कि नयाँ कार्यदिशाको प्रारम्भ? भन्ने बहस पनि उठेको थियो। त्यसकारण विश्वभरिका भाइचारा पार्टीहरू, शुभचिन्तकहरूसमेत जिज्ञासु थिए।
माओवादी पार्टी यसबेला ठूलो घुम्तीमा प्रवेश गरेको छ। ठूलो हो–हल्ला गर्दै आएको बजेटले जनताका अपेक्षा पूरा गर्ने सम्भावना छैन। माओवादीको बजेट कर्मचारीतन्त्रको षड्यन्त्रमा रामशरणको पोल्टामा पुर्याइएको छ। एमाले र फोरमको अर्को घेराबन्दी छँदै छ। साम्राज्यवाद चौबाटोमा एम्बुस थापेर बसेको छ। पेट्रोलियम पदार्थमा झन्डै ६६ प्रतिशत मूल्य घट्दा पनि यातायातमा भाडादर समायोजन गर्न सरकार असफल भइरहेको छ। सरकार फुटबलझैँ जताबाट जसले हान्यो उतै ठोक्किँदै छ। कार्ल मार्क्सले सन् १८७२ को पेरिस कम्युनको असफलताको सार खिच्दै निकालेको ‘सर्वहारावर्गले पुरानो बनिबनाउ सत्ता जस्ताको तस्तै आफ्नो पक्षमा उपयोग गर्न सक्दैन‘ भन्ने सानदार निष्कर्ष नेपालको वर्तमान परिस्थितिमा स्पर्शणीय भएको छ। वर्तमान कथित नयाँ सरकार सारतः शोषकवर्गको निकम्मा कारिन्दासिवाय अरू केही हुन सकेको छैन।
पार्टीको पुरानो पंक्ति चिन्तित र निराश त छँदै थियो। निर्वाचनको क्रममा पार्टीवरिपरि गोलबन्द भएको जनताको पंक्तिसमेत अहिले निराश हुँदै गएको छ। जनता एमाले र माओवादीमा के फरक छ? भन्न थालेका छन्। ‘जुन जोगी आए पनि कानै चिरेका‘ भन्ने उखानले जनतालाई निराशातिर धकेल्दै छ। यहीबेला गैरमाओवादी माओवादी पार्टीका विरुद्ध खनिएका छन्। माथि र तल दुवैतिरबाट आक्रमणलाई तीव्र पारिएको छ। तर, पार्टीपंक्ति कार्यदिशाको अन्यौलता र सुदृढ एकताको अभावमा वस्तुगत र आत्मगत दुवै रूपले कमजोर छ। पार्टीपंक्तिमा सुदृढ एकताविना बाहिरी तोडफोडलाई रोक्न सम्भव हुँदैन। राष्ट्रिय भेलाले कार्यदिशाको अन्यौलताको जगमा उठेका विवाद र त्यो विवादलाई निहित स्वार्थका निम्ति प्रयोग गर्न खोज्ने, फुटमा रमाउने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ।
जनकम्युनहरू विघटनको स्थितिमा छन्। पार्टीमा पूर्णकालीनहरूको संख्या धेरै घटेको छ। वाइसिएल विघटनको स्थितिमा छ। पार्टीमा अनेकता, अविश्वास र आशंका बढेर गएको छ। यो स्थिति भनेको पार्टी बिसर्जनको संकेत हो। विघटनको स्थिति हो। त्यसैले यो अन्यौलताको अन्त्य हुनुपर्छ। हाम्रो पार्टीमा लामो समयदेखि दुईलाइन संघर्ष केन्द्रीय तहमा चल्दै आएको थियो। त्यसको प्रभाव तल्ला तहमा नपरेको होइन। तर, आजजस्तो स्पष्ट र प्रस्ट थिएन। आज तलसम्म व्यवस्थित दुई लाइन संघर्ष देख्दा थुप्रै इमानदार कार्यकर्ता पार्टी फुटको आशंकाले भयभीत छन्। ०५७ सालको कार्यदिशा पूरा भएकाले अब नयाँ कार्यदिशा अवलम्बन गर्नुपर्ने, पुरानो कार्यदिशाका अवशेषहरू मूलतः संविधानसभामा बहसलाई एउटा टुंगोमा पुर्याउनुपर्ने तथा नयाँ कार्यदिशा लागू गर्नका लागि तयारी गर्नुपर्ने बहस एकातिर आएको छ। अर्कोतिर ०५७ सालकै कार्यदिशा बाँकी छ र त्यसको निरन्तरता आवश्यक छ भन्ने मत रहेको छ। हाम्रा नेता र युद्धबाट गुज्रेको पार्टी पंक्ति, जसले आफूलाई क्रान्तिकारी सावित गरिसकेका छन्, त्यसमा शंका गर्नु, आफूबाहेक अरु सबै गैरक्रान्तिकारी ठान्नु, सिंगो पृथ्वी आफ्नै औंलाको टुप्पोमा अडेको ठान्नु र अरू सबैको योगदानलाई अवमूल्यन गर्नु सामन्ती सोच हो। आवश्यकता अबका दिनमा पनि हाम्रो नेतृत्वले आफूलाई क्रान्तिकारी सावित गरोस् भन्ने हो।
क्रान्ति कसरी सफल पार्ने भन्ने वैचारिक बहसका बीच जालझेल, तिकडम, बाहुबल प्रयोग गर्ने, किन्ने, उछित्तो काढ्ने काम हुन थालेका छन्। हेडक्वार्टरको वरिपरि रहेर विदेश भ्रमणको डलर र पद–प्रतिष्ठा मुठ्याउन पाएकाहरू, नवप्रवेशी सुधारवादी र पदप्रतिष्ठा नपुगेर असन्तुष्ट बनेकाहरू दुवैतिर उत्तेजना सिर्जना गर्न थालेका छन्। बहसलाई विचारमा केन्द्रित गर्नु, व्यवहारले जे सावित गर्ला, त्यसको समर्थन गर्ने वचनबद्धता व्यक्त गर्नु र अहिले निश्चित विधि बनाएर बहसलाई मर्यादित बनाउन जरुरी छ। यो नै अहिलेको क्रान्तिकारी कदम हो। (यो लेखचाहिँचितवन डटकमबाट साभार गरिएको हो-नेपालप्लस) ।




