ए दिल्लीमा मलाई भेट्ने त्यो फ्याङ्ले बाबुराम अहिले प्रधानमन्त्री ?

एकाध वर्ष अघि साथी रबीन ओलीको रेस्टुरामा उनले सुनाएका थिए, बिध्यार्थीकालका च्याँसे बाबुराम भट्टराईबारे । त्यो बेलाको त्यहि च्याँसे ठिटो अहिले प्रधानमन्त्री डा बाबुराम भट्टराई बनेपछि उनलाई लाग्ने रहेछ्, ए रात्तै मैले जिन्स पाइन्टमा दिल्लीका गल्ली गल्लीमा भेट्या त्यो चिम्से पातलो ठिटो यहि बाबुराम भट्टराई हो र ? गत साल पेरिसको आफ्नै पोखरा रेस्टुरेन्टमा गफ्फिन बोलाएका बेला उनले सुनाए । रामजी गुरुङ अर्थात प्रेम गुरुङ भनेरपनि चिनिने उनलाई अहिलेका प्रधानमन्त्रीसित आफूले गरेको उठबसपनि सामान्य लाग्ने रहेछ । त्यसैले उनी सामान्य तरिकाले अल्छि माने झैं बोल्दै थिए, ‘ए त्यो बेलामा त त्यो बाउराम त्यहिँ दिल्लीको सडकमा बरालिन्थ्यो त । कार्यक्रममा आइराख्थ्यो । पातलो थियो । च्याँस्स परेको । जिन्सको पाइन्ट लाउँथ्यो । प्रधानमन्त्री होला जस्तो लाग्थेन त ।’

समयले अँचेटेर उनी यूरोप आइपुगेपनि यी प्रेम दाइसित नेपालका अहिलेका अब्बल दर्जाका कम्युनिष्ट नेतासित उठबस गरेको अनुभव छ । त्यति मात्रै होइन, उनले यीनै प्रधानमन्त्री भट्टराईका पार्टी कार्यकर्ता र झोले नेता धेरैलाई थुप्रै रात गास र बासको ब्यवस्था गरिदिएका हुन् दिल्लीमा । यीनका कम्युनिष्ट पार्टीलाई जोगाउन, फैलाउन उनले नांगा खुट्टा र भोको पेट सेल्टर खोजिहिँड्नेलाई धेरै पटक जोहो गरिदिएका छन् । नेपालका मै हुँ भन्ने मोहनबिक्रम सिं सम्मका क्रियाकलाप उनले नियालेका छन् ।

त्यतिखेर भारतको सारदामा मोहन बिक्रम सिंङलाई खुब भेट्थे प्रेम दाई । उनलाई २०२६ सालको एउटा घटना खुब ताजा छ । त्यतिबेला मोहन बिक्रमसहित थुप्रै नेता दिल्लीमा भेला भएका थिए । त्यो बेला खै के भाको थियो राजदरबारमा । उनीहरुले त्यहाँको बाराखम्बा रोडमा जुलुस गर्दै रहेछन् । उनीपनि तिनै नेताका रसिला कुरा सुन्न जाने गर्थे । उनी होटेलमा काम गर्थे । त्यो बेला शक्ति गौतम भन्ने अर्घाखाँचीतिरको नेतापनि त्यहिँ आउँथे । उनीहरुले जाउँ जाउँ भन्थे, उनी तिनैका पछि लागेर जान्थे ।

उनलाई त्यो बेला काठमाडौंको डम्मर भन्ने नेवारले एकजना धनी भारतीयको घरमा काम गर्न राखिदिएको थियो । ‘तुल्सिलाल अमात्य भन्ने नेता हो । जर्मन भाषा पढाउँछ रे ‘ भन्थे । त्यहि नेवारले अमात्य भन्ने ठूलो नेता आएको छ जाउँ तिनका कुरा सुन्न भन्दै उक्साउने गर्थ्यो ।

भक्ति भन्ने नेताले एक पटक बाबुराम भट्टराईलाई प्रेम गुरुङको डेरामा लिएर आयो । उनलाई सम्झना छ, त्यो बाउराम उति बोल्दैनथ्यो । गरिब र दुखिका मुक्तिका कुरा गर्थ्यो । हामी गरिब गरिब मिल्नुपर्छ भन्थ्यो । सबै मिल्ने हो भने राजतन्त्र फाल्न सकिन्छ । हाम्रो देशको मुख्य समस्यानै राजतन्त्र हो । त्यो फालियो भने हामीले पनि हाम्रो देशलाई उँभो लान सक्छौं भनेर सुनाउँथ्यो । ‘मोहन बिक्रम र तुल्सिलाल अमात्य चाहिँ मेरो कोठामा दुई तिन पटक आए । कम्युनिस्ट संवन्धि किताब दिएर यो अध्ययन गर्नुहोला भन्थे । जुलुसमा जाउँ भन्थे ‘ प्रेम दाईले सुनाए ।

प्रचण्डलाई चाहिँ दिल्लीमा देखेको उनलाइ कतै सम्झना छैन । पछि कुन्नि के हो मेलमिलाप छ  (बीपीको राष्ट्रिय मेलमिलापको नीतिलाई भन्न खोजिएको हुनुपर्छ), नेपाल जानु पर्छ भनेर सुनाए । तर त्यहाँ दुई थरी देखिए । भक्तिहरुको समूहले चाहिँ जानु हुन्न भन्थे । कसैले चाहिँ ‘बीपी पनि गए हामीपनि जानु पर्छ’ नेपाल भने । ‘म चाहिँ होटेलको पेशामा थिएँ गईन । पछि म जर्मनीतिर आएँ । मेरो बुढीलेपनि यता उति हिँड्न दिन्नथी’ उनले सम्झिए ।

एक पटक के भो भने बाराखम्बा रोडबाट जुलुस गरेर फर्किँदा नेपालीहरुलाई पक्राउ गर्‍यो पुलिसले । थुन्यो । प्रेम गुरुङपनि तिनै २०, ३० नेपालीसित थिए । उनलाईपनि पक्राउ गरेर जेल हाल्यो । तर सोधपुछ गरेर ६, ७ दिनमा छोडिदियो । नारा जुलुसपछि आआफ्नो बस चढ्न भनेर आएको फर्किँदै गर्दा ति पक्राउ परेछन् । कसैलाई दुई तिन महिना राखेछ । गोरखाको पूर्ण गुरुङलाई त दुई महिनानै थुनेछ ।

अहिलेको कुरा हो र ? कति सम्झिने ? ३६ सालको कुरो न हो । त्यतिखेर त १८, २० वर्षको केटौले थिए उनी । बाबुराम त्यहाँ पढ्न आएका थिए भर्खर । बाबुराम चाहिँ प्रवासी नेपाली एकता भन्ने संगठन बाट आउँथे भेटघाटकालागि । ‘पछि मोहन बिक्रमलाई गद्दार गद्दार पनि भन्दै थिए यीनीहरुले । किन हो कुरा बुझ्न चाहिँ सकिएन । मेरो कोठामा बाबुरामलाई दुई पटक सम्म लिएर आएका थिए’ सोझा प्रेम दाइले भने ।

अहिलेको जस्तो हट्टा कट्टा, चिल्लो, कोट र सिलिक्क परेको पहिरनमा कहाँ थियो र त्यो बेलाको बाउराम । पातलो पातलो थियो जिन्सको जाकेट लगाएको । घर गोरखा हो, पढ्न आएको हो भन्थे । जवाहरलाल नेहरुमा पढ्थे ‘यताउति हिँड्ने भएर पढ्न सक्दैन होला भन्ने सोच्थें म । किनभने म त्यति पढे लेखेको भए पो राम्रोसित जान्ने’ हाकाहाकी सुनाए उनले   ।

मोहन बिक्रम मसालको नेता हो भन्थे । कनोट प्यालेसको पार्क भर्खर बनेको थियो । त्यहाँ आउँथे ति नेता । जुलुस र बैठकमा भेट हुन्थ्यो । कहिले नेपालीहरु फूटबल खेल्ने ठाउँमा भेट हुन्थ्यो । उनीहरुले कहिले नेपालगञ्जको गौरीफेन्टा बोर्डर त कहिले सुनौली लैजान्थे बसमा । हिँडाइराख्थे । नेपालको राजनितिक पार्टीको नाम राख्यो भने ईन्डियाले ब्याण्ड गर्छ है त्यस्तो नाम राख्न हुन्न भन्थे । अर्कै नामबाट पार्टी खोल्थे । त्यतिखेर भक्ति भन्ने मान्छे दिनानाथ रहेछन् कि जस्तो लाग्छ अहिले उनको आक्रिति हेर्दा । गुल्मी खलंगाका थुप्रै थिए कार्यकर्ता ।

तिसितको सम्पर्क र संगत प्रेम दाईको झन झन बाक्लियो। ति नेताले प्रेम दाइलाई पश्चिममा स्याङ्जासम्म पुर्‍याए । ‘त्यहि भएर मलाई पश्चिममा बिहे गर्नुपर्‍यो । मैले तिनको संगत नहुँदा पश्चिम चिनेकै थिईन ‘ पारिवारिक रहस्यपनि खोल्दै जान लागे प्रेम दाई ।

नेपालमा राजाले गर्दा यस्तो समस्या भो । पछि पर्‍यो भन्दै राजालाई हटाउने कुरो मात्रै गर्थे । नेपालमा राजा हटाउने, प्रजातन्त्र ल्याउने, सत्ता कब्जा गर्ने । यहि कुरा गरिरहन्थे । बाराखम्बा रोडको जुलुस त्यहि राजसत्ता बिरुद्द हुन्थ्यो । कम्युनिष्ट ब्यवस्था ल्याउनु पर्छ । चाइनाले यसो गर्‍यो । रस्साले उसो गर्‍यो भन्थे । ‘मैले के हो सबै राम्रोसित बुझेको थिईन । आफू त्यति शिक्षित भए पो थाह हुने त । बीपीलाई चाहिँ गद्दारनै हो भन्थे पहिले देखिनै । त्यतिखेर गिरिजाको चर्चा नै थिएन ।’

मधुरो बोलिमा प्रस्तुत प्रेम दाईले एक छिन् है भने । गोजीमा लुत्त हात घुसारेका उनले खैनीको डिब्बा निकाले । दाहिने हातले ओंठ ल्याप्प च्यातेर एक फाँक खैनी ओंठमा घुसारेपछि उनले भने ‘उ बेलाको कुरा के गर्ने?’ ।

‘ह्या दाई चाख लाग्दो छ नी, मलाई क्या सुन्न आनन्द आइराख्या छ’ मैले भने ।

त्यसपछि उनले फेरी शुरु गरे ‘पाल्पातिरको एउटा कट्टर नेता थियो । भारतीयको घरमा काम गर्थ्यो । कुरा चर्का गर्थ्यो । नेतासित भेट्थ्यो । नेपालीलाई सहयोग पनि गर्थ्यो । मलाई प्रचण्ड भन्नुस् भन्थ्यो । तर यो प्रचण्ड त होइन त्यो भक्ति । अर्को थियो गुल्मीतिरको नेत्र भन्ने । त्योपनि देख्दिन म आजकाल । अर्को थियो बिर्ख बहादुर । त्योपनि हरायो । नेता धेरै थिए । सिलोङ, बनारस तिरबाट आइरहन्थे । सहाना प्रधानपनि आइरहन्थिन् ।’

प्रेम दाईले भुलेका छैनन्, त्यतिखेर नेताले पाहुना खुब ल्याउँथे । साथीहरु आउनु भो । अब खाने बस्ने ब्यवस्था गर्नुपर्छ भनेर सहयोग माग्थे । उनले तिनलाई दुई चार रात राख्ने र कहाँ जानु पर्ने हो त्यहाँ सम्मको बसको टिकट काटेर पुर्‍याइदिन जान्थे । ‘देश बनाउने नेता’लाई बसको भाडा आफैं तिरिदिन्थे । अहिले एमालेमा लडाइ, माओवादीमा झगडा, के के पार्टी फूटेर अनेक बखेडा छ । त्यो बेला त्यस्तो थिएन । जनमत संग्रह धोका हो भन्ने तिनले बारम्बार दोहोर्‍याइरहन्थे ।

त्यतिखेर राजा वीरेन्द्र नै थिए । झापातिरका पनि थिए दुई चार जना नेता त । झापाका एक जना नेताको बहिनीको उपचार हुँदै थियो । त्यहिँ म्रित्यु भयो । नाम उनले भुलिसके । बाबुराम पनि पुगे । त्यो बेलापनि उनले बाबुरामलाई त्यहाँ भेटेर यस्सो बातचित गर्न भ्याए । अरुबेलापनि भेट हुन्थ्यो । बाबुरामले भन्थे – हामी गरिव देशको मान्छे । धनी राजा । यस्तो राजा राख्नुहुन्न । तर त्यसै सजिलै राजा फाल्न सकिन्न । पहिले जनतामा चेतना आउनुपर्छ । जनताले कुरो बुझ्नुपर्छ । तपाइहरु प्रवासमा बसेर अर्काको भाँडा माझ्नु परेको, दुख गर्नु परेको सबै राजतन्त्रको कारणले हो । यसलाई फाल्न सबै मिल्नुपर्छ प्रवाशमा भएका हामी दुखि गरिबजति भन्थे । संझाउँथे । बिस्तारै संझाउने उनको बानी थियो ।

तर अहिले यसो सोच्दा राजाकै कारण त होइन जस्तो लाग्छ नेपाल गरिव भएको । नेपालमा कि सुन हुनु पर्‍यो कि त अरबियन मुलुकमा झैं तेल हुनुपर्‍यो । छैन । खेती गरेर सस्तोमा बेच्नु पर्‍यो । बेच्नलाई भन्दा खाने मान्छे धेरै भए । एउटा मान्छेले चार वटा बच्चा पाउँछ । खान लाउन दिन सक्दैन । पढाउन सक्दिन भने त त्यत्तिकै गरिवीमा गैहाल्यो नी । त्यति सानो देशमा त्यो बेलै एक करोड जति थिए नेपाली । अहिले तिन करोड जति भएछ तिस वर्षमा । दोब्बरभन्दा बढि । ‘त्यसैले राजालाई फाल्दैमा सबै हुन्छ जस्तो त मलाई लागेन । खै त भएको ? ‘ उनले भने ।

उनले निकै नेता भेटे । ति मध्ये सिपी गजुरेल, रामराजा प्रसाद सिं सबैलाई भेटे । एक पटक एक जना अपराधी केस लाग्यो भनेर सिपी गजुरेलको आग्रहमा त्यो मान्छेलाई टिकट काटेर गौरीफन्टाबाट नेपाल हुलिदिएको सम्झनापनि ताजै छ उनमा । तिनै नेताको आग्रहमा केहिलाई कामपनि लगाइदिए । भारेभुरे ति नेताले एक दुई महिना कामपनि गरे । उनीहरु फार्ममा काम गर्दै संगठन बनाउँदै गर्ने रहेछन् ।

पछि समय र परिस्थितिले प्रेम दाईलाई जर्मनीतिर अँचेट्यो । दिल्लीका साथी सँगी र नेताहरु सितको उठबसपनि बिगत बन्दै गयो । नेपालमा चुनाव भयो, ति नेतापनि गए रे भनेर सुनाउँथे ।

जर्मनीमा सोचे जस्तो भएन । प्रेम दाई फेरि हान्निए, फ्रान्सतिर । फ्रान्स आएर १२ वर्ष बस्नुपर्‍यो । उनी यस्सो नेपालतिर फर्केर हेर्छन् । उतिबेला जस्तो अस्थिर थियो अहिलेसम्म त्यस्तै छ अवस्था ।

आज देख्दा देख्दै ति नेता कुर्सीमा त पुगे । तर तिनको पनि भविष्य देख्दैनन् उनी । नेताले देश बनाएन भनेर कराउनेसितपनि सहमत छैनन् प्रेम दाइ । उनको बुझाईमा नेताले देश बनाउने होइन जनताले बनाउने हो । शिक्षा, स्वास्थ्य, विकासको राम्रो नियम बनाइदिए भने देश जनताले बनाउने हो । त्यहि गरेरपनि नेपालमा काया पल्टिनेवाला छैन । भारत र चिन सँग सँगै स्वतन्त्र भएको रे । २० वर्षमा चिनले यूरोपको जनसंख्या जति मान्छेलाई गरिवीको रेखा माथि उठायो रे । ईन्डिया अझै लोकतन्त्र भन्दै तलको तल छ । ‘त्यो हिसाबले भारतको पछाडि लागेर हामीलाई फाइदापनि हुन्न । बरु चिनकै ठिक छ । भारतमा लापर्वाही हुन्छ । चिनमा तरिकाले चल्छ । घुस खाए झुण्ड्याईदिन्छ  । अनि पो मान्छेले सहि बाटो अपनाउँछ । भारतमा जसको शक्ति छ, जसको पहुँच त्यसैको माथि हुन्छ हात । चिनमा त छैन नी त्यस्तो । उनीहरु पार्टीमा पकड जमाउँछन् । अनि विकास गर्दै गए । त्यसरि विकास गर्दै गएर बलियो नभएको भए त हङकङ छोड्दैनथ्यो बेलायतले । भारतका पछाडी लागेर हाम्रो धेरै बिग्रिएको छ । हाम्रा नेताको धेरै कमजोरी छ ‘ घत लाग्दा अनुभव सुनाए उनले ।

उनले बिचमा सोधे ‘हँ ल भन्नुस् । तपाइलाई कस्तो लाग्छ ? कि होइन ?’

‘खै के भन्ने दाई ? म त तपाइका कुरा सुन्न आ’को आज । तपाइका कुरा सुनेर जाने हो क्या’ मैले भनें ।

राजाकोपनि आफ्नो देश नबनोस् भन्ने त थिएन होला । आफ्नो घर नबनोस् भन्ने थिएन । तर उनका पछाडीका मान्छे ठिक थिएनन् जसले दिशा देखाए । राजाबारे उनलाई लागेको यहि हो ।

प्रेम दाई अलिकति भावुक बन्न लागे अब । ‘उता बस्या भए त म मरिसक्थें । कसले उपचार गर्ने मेरो ? म एक वर्ष अस्पत्ताल बसेको फ्रान्समा उपचार गर्न । नेपालमा त मानवता नै छैन । कसैको पैसा छैन भने उपचार नै गर्दैनन् । त्यस्तो हुन्न नी यहाँ त । एउटा स्याङ्जाको केटो आयो । पक्राउ परेछ । उसको दुबै म्रिगौला खत्तम रहेछन् । अहिले अस्पतालमा उसको निशुल्क उपचार भैराखेको छ । नेपालमा पैसा नभै त्यसरि म्रिगौलाको उपचार गर्छन् ? गर्दैनन् । ‘

यी देशका मान्छेलाई शोसक, सामान्त जे भनेपनि मानवता छ नी त । यहाँ भोको मर्न दिन्न सरकारले । औषधी नपाएर मर्न पर्दैन । यहाँ तुरुन्तै धेरै पैसा कमाएर माथि जान्छु भन्ने चान्सपनि छैन नी । नेपाल, भारतमा छ । यहाँ ब्यापार गरेको, कमाएको नखाइ तिर्दा तिर्दै सब खत्तम हुन्छ । यहाँ सामाजिक नियम छ लगभग कम्युनिस्टको जस्तो हो ।

जर्मनी आए । सम्बन्ध बिच्छेद भयो । अब यो उमेरमा के बिहे गर्नु ? लड्दा भिड्दा र स्थापित हुन खोज्दा खोज्दै अब ढिलो भयो । बाँकि रहेको सम्पती के गर्ने त ? ‘जसले पढ्न पाएको छैन उसलाई दिन सकिन्छ आफूसित भएको । अहिले बाँचुन्जेल त आफूले खानु पर्‍यो । बाँच्नु पर्‍यो । ‘ मध्यान्हको खाना पछि कडा फ्रान्सेली कफीको चुस्कीसितै झन भावुक बने उनी ।

१५, १६ को उमेरमा भारत छिरेका उनी परदेशमा जिवन झुलाउँदा झुलाउँदै ५१ वर्षको भैसके । खोटाङको खोल्सा खोल्सी छिचोल्दै भारत पुगे । १०, १५ वर्ष दिल्लीमा भाँडा माझ्ने, भारतीयको घरमा काम गर्ने गरे । आफ्नो कोहि थिएन । उनी जस्ता थुप्रो रहेछन् । त्यहिँ नेपालीको सम्पर्कले काम गरे । कहिले होटेलमा त कहिले ड्राइभरी ।

गुल्मीतिरका नेपालीले सुनाए, दाइ यहाँ बसेर काम छैन । जर्मनी गए कूक काम पाइन्छ । पैसा राम्रो कमाइन्छ । के गर्नुपर्छ भनेर सोध्दा बिज्ञापन आउँछ । त्यो हेर्ने गर हिन्दी पत्रीकामा भने । बिज्ञापन हेरेर अन्तर्वार्ता दिए । नभन्दै पाएपनि उनले कुकको काम । यूरोप १९९३ मा आए । उनीसित थुप्रै मान्छे आएका थिए ।

परिवारसित सम्बन्द बिच्छेद भो जर्मनी बस्दा । अनि नेपाल जान मनले मानेन र उनी फ्रान्स हान्निए । सुखद कुरो के भने उनले अरु नेपालीले झैं दुख भोगेनन् । भारतीय खाना बनाउन निपुँण भएकाले उनले जतापनि काम पाउँथे । पेपर नभएपनि कमाइ राम्रो थियो ।

जिन्दगीमा अरुकालागि सहयोग गर्न उनले कहिल्यै छोडेनन् । आफूले कमाएको पैसो धेरै त त्यस्तै सहयोग गर्दै सक्थे । उता दिल्लीमा राजनितिक कार्यकर्तालाइ गरेको सहयोगले यतापनि पछ्यायो । भलै यताका नेता नभएर स्वर्गको नगरीमा अनेक कष्ट भोगेका नेपाली थिए । दिल्लीमा पार्टीका साथीलाई बसको टिकट काटिदिने । खाना खुवाउने । होटेलमा लगेर राख्ने । यस्तो भैराख्थ्यो । काम गरेको घरबाट रोटी र मासु झोलामा लगेर पनि खुवाइयो साथीहरुलाई । नभएपछि के गर्ने त ? त्यसै गरेर उनले कमाएको झण्डै झण्डै रित्याए । यहाँपनि साथी भाइलाई सहयोग गर्दा गर्दै खत्तम भयो कमाएको ।

आफैंले बसको टिकट काटेर, होटेलका रोटी र तरकारी झोलामा हालेर खुवाएका नेता आज मन्त्री नै बनुन् । प्रधानमन्त्रीनै होउन् प्रेम दाइलाई न कुनै पछुतो छ न त इर्ष्या नै । ‘म पनि यूरोपमा राम्रै अवस्थामा छु । नेपालमा नेता बनेका छन् तर म पनि ति भन्दा यहाँ कमजोर स्थितिमा छैन झैं लाग्छ । तिनीहरु मन्त्री भएपनि दुई लाखै कमाउलान् मासिक । मैले कामै गरेरपनि दुई लाख कमाउँछु । उनीहरु शिक्षामा अगाडि गए । मेरो शिक्षा भएन ।  त्यहि हो । लुटेर ढाँटेर खान परेको छैन । आफ्नै मेहनतले खान पाएको छु । त्यसैले म त्यति क्मजोर र नराम्रो मान्दिन । ‘

त्यतिबेला उनी ठूला नेता थिएनन् । अरुनै थिए । तैपनि सहयोग गर्नुपर्छ गुरुङजी भन्थे । बाराखाम्बा रोडमा नारा जुलुस गर्नेको खाँचो थियो । नेतालाई सुताउने ठाउँको खाँचो थियो । बस टिकट काटेर पठाउनुपर्थ्यो । भोका कामरेडलाई खुवाउनुपर्थ्यो । आन्दोलन उठाउन प्रेम दाई जस्ताको आवश्यकता थियो र प्रेम गुरुङ जस्ता सहयोगीको खाँचो पर्थ्यो र चिन्थे त्यतिखेर अहिलेका प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले । गुरुङजी गुरुङजी भन्थे बाबुराम । अहिले केको खाँचो ? ‘म जस्ता कति मान्छे भेट्यो होला बाबुरामले । मलाई के चिन्ने अहिले ? ‘ बिट मारे प्रेम दाइले ।

तपाइँको प्रतिक्रिया